कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा राखिएका ४ सय ७६ जना व्यक्तिहरूको र्यापिड टेष्ट परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङअनुसार कैलाली र कञ्चनपुर जिल्लामा गरिएको र्यापिड डाइगोनोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । कैलाली जिल्लामा ३ सय ३९ जना र कञ्चनपुर जिल्लामा १ सय ३७ जनाको डाइगोनोष्टिक टेष्ट गरिएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीन पटकसम्म नियुक्तिका लागि बोलाइएका १४ जना स्टाफ नर्सले नियुक्ति लिन अस्वीकार गरेका छन् । नियुक्ति लिनका लागि पटक-पटक सूचना जारी गरिए पनि स्टाफ नर्सहरू नियुक्तिका लागि नआएपछि चैत २८ गते अस्पतालले नयाँ भर्नाका लागि सूचना जारी गरेको छ । सेती प्रादेशिक अस्पताललाई सरकारले कारोना विशेष अस्पतालका रूपमा घोषणा गरेको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २८ गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यसप्रकार रहेको छ ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार खाद्य संस्थान, अछाम शाखाले बिक्री गर्दै आएको चामलको मूल्यमा चैत २८ बाट १० प्रतिशत छुट दिन थालेको छ । खाद्यान्न खरिदमा सबैको पहुँच पुर्याउन तीन थरीका चामलको साविक मूल्यमा १० प्रतिशत कम हुने गरी नयाँ दररेट लागू गरेको छ ।
१० प्रतिशत छुटपछि अरुवा मोटो ३० किलो चामलको १२ सय ४२ रुपियाँ, सोना मन्सुली ३० किलो चालमको ११ सय ७५ रुपियाँ र जिरा मसिनो २५ किलो चामलको १३ सय २८ रुपियाँ तोकिएको कार्यालय प्रमुख हिरामणी जोशीले जानकारी दिनु भयो ।
संस्थाको गोदाममा हाल ५ सय २२ क्विन्टल चामल बाँकी रहेको र आवश्यकताअनुसार थप चामल ल्याउन सकिने कार्यालय प्रमुख जोशीको भनाइ छ ।
लकडाउनका कारण नुन अभाव झेलिरहेका साँफेबगर नगरपालिका-१२ खप्तडका स्थानीयहरूलाई निःशुल्क आयोडिनयुक्त नुन वितरण गरिएको छ । प्रत्येक घरलाई तीन पाकेटको दरले ३ सय घरधुरीमा आयोडिनयुक्त नुन वितरण गरिएको वडा अध्यक्ष प्रकाशबहादुर रानाले जानकारी दिनु भयो ।
वडा कार्यालयले खरिद गरेर नगरपालिकाको ढुवानी खर्चमा नुन वितरण गर्दा मास्कसहित आएका स्थानीयले सामाजिक दूरी कायम गरेर नुन लिएको बताइएको छ ।
विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न गैरसरकारी संस्था महासङ्घ, अछामले स्थानीय सरकारको विपद् कोषमा कम्तिमा एक दिन बराबरको पारिश्रमिक सहयोग गर्न अपिल गरेको छ ।
महासङ्घको अछाम शाखामा आबद्ध संस्थामा कार्यरत कर्मचारी र स्वयम्सेवकलाई विपद् कोषमा आर्थिक रकम सहयोग गर्न भनिएको छ । महासङ्घ, अछामका अध्यक्ष टंकप्रसाद ढुङ्गानाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आफू सुरक्षित रहेर कोरोनाविरुद्धका सचेतनामूलक अभियानमा सङ्लग्न हुनसमेत संस्थालाई आग्रह गरिएको छ ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्लाका सात ओटा स्थानीय तहले तयार गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका १ सय २१ जना व्यक्तिहरूको र्यापिड टेष्ट परीक्षण रिपोर्ट नेगेडिभ आएको छ । उनीहरू भारतलगायत अन्य मुलुकबाट फर्किएका हुन् । उनीहरूको र्यापिड टेष्ट र्यापिड रेस्पोन्स टिमले गरेको हो ।
बेलौरी नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा १२ जना, बेलडाँडी गाउँपालिकाको क्वारेन्टाइनमा १२ जना, पुनर्वास नगरपालिकाको क्वारेन्टाइनमा २४ जना, शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा २६ जना, कृष्णपुर नगरपालिकाको क्वारेन्टाइनमा १६ जना, वेदकोट नगरपालिकाको क्वारेन्टाइनमा १३ जना र महाकाली नगरपालिकाले तयार गरेका दुई ओटा क्वारेन्टाइनमा १८ जना गरी जम्मा १ सय २१ जना बस्दै आएका छन् ।
वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले सङ्क्रमितसँगै फर्किएका १० जना र तीन जना कर्मचारीको पनि नमूना सङ्कलन गरिएकोमा सबै जनाको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
सङ्घीय सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्यापिड टेस्ट गर्ने निर्णय गरेअनुरूप कञ्चनपुर क्वारेन्टाइनमा बसेकाहरूको र्यापिड टेस्ट भएको हो । रगतका माध्यमबाट किट प्रयोग गरेर प्रारम्भिक चरणको परीक्षण गरिएको जनाइएको छ ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार मालिकार्जुन गाउँपालिकाका आठ ओटै वडाका ५ सय ९३ जना र मार्मा गाउँपालिकाका ६ वडाका ४५ जना तथा असङ्गठित क्षेत्रका ४५ जना मजदुरहरूलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ ।
मालिकार्जुन गाउँ कार्यपालिकाको चैत २७ गते बसेको बैठकले असङ्गठित क्षेत्र, गरिब र असहाय परिवारको अन्तिम सूची प्रकाशन गरेको छ । गाउँपालिकाका आठ ओटै वडाबाट सङ्कलन गरिएको तथ्याङ्कका आधारमा राहत पाउनेको लिष्ट सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिनु भयो ।
गाउँपालिकाले दुई जनाको परिवारका लागि १० किलो चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन र एक ओटा साबुन राहतस्वरूप वितरण गर्ने जनाएको छ भने चार जना परिवारका लागि १५ किलो चामल, ६ जना परिवारका लागि २० किलो चामल र तीन किलो दाल र ६ जनाभन्दा बढी भएको परिवारका लागि ३० किलो चामल र चार किलो दाल वितरण गर्ने भएको छ ।
गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण एवम् व्यवस्थापनको लागि कूल ५० लाख रुपियाँको विपद् कोष स्थापना गरेको छ ।
मालिकार्जुन गाउँपालिकाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी र गाउँपालिकाका कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको छ । मालिकार्जुन गाउँ कार्यपालिकाको चैत २७ गते बसेको बैठकले जोखिमको अग्रपङ्तिमा रहेर काम गर्ने कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो ।
गाउँपालिकाभरि परिचालन गरिने स्वास्थ्यकर्मीहरूलाई तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनु भयो ।
स्वास्थ्यकर्मीहरूलाई कर्मचारीले हाल खाइपाई आएको तलबको ५० प्रतिशत थप जोखिम भत्ता पाउने छन् ।
बैठकले कोरोना भाइरस नियन्त्रण एवम् व्यवस्थापनमा खटिने गाउँपालिकाका पदाधिकारी, कर्मचारीहरूलाई प्रतिदिन १ हजार रुपियाँ खाजा तथा यातायात खर्चबापत उपलब्ध गराउने निर्णय गर्नुको साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उपचार कोष सञ्चालनसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ ।
मार्मा गाउँपालिकाले ४५ जना असहाय, गरिब र मजदुरहरूलाई राहत वितरण गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानाले जानकारी दिनु भयो ।
नौगाड गाउँपालिकाले विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९)विरुद्ध खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई तलबबाहेक जोखिम भत्ताका रूपमा थप सेवासुविधा दिने निर्णय गरेको छ ।
नौगाड गाउँपालिका बैठकले कर्मचारीहरूका लागि तलब स्केलको जोखिम भत्ता दिने निर्णय गरेको हो ।
हेल्थ डेस्कमा खटिने कर्मचारी, क्वारेन्टाइनमा खटिने कर्मचारी तथा अनुगमनमा खटिएका कर्मचारीहरूलाई जोखिम भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनु भयो ।
कोरोना भाइरसको सामना गर्न गाउँपालिकामा रहेका जनशक्तिलाई तयारी अवस्थामा रहन र आवश्यक परेको बेला उपस्थित हुनुपर्ने समेत गाउँपालिकाले निर्णय गरेको छ ।
व्यास गाउँपालिका-४ का मोहन विष्ट चैत २८ गते महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको छ ।
नेपाल भित्रिएका विष्टलाई सम्मालस्थित क्वारेन्टाइनमा राखिएको व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीका स्वकीय सचिव दिपक खातीले जानकारी दिनु भयो ।
भारतलगायत अन्य मुलुकबाट चैत २८ गतेसम्म जिल्ला भित्रिएकामध्ये २ सय ८० जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको थ्रोट स्वाब सङ्कलनको लागि तयारी सुरु गरिएको छ । केारोना भाइरस रोकथाम उच्चस्तरीय समितिको समन्वयमा हेलिकेप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली दार्चुला बोलाउने विषयमा समन्वय भइरहेको छ ।
महाकाली नगरपालिकाको खलङ्गा, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, मार्मा र अपिहिमाल गाउँपालिकाको लागि लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँ र व्यास गाउँपालिकाको लागि हिकिला र मालिकार्जुनको लागि लेकम क्षेत्रमा थ्रोट स्याब सङ्कलन गर्ने गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।
चैत २९ गतेसम्म हेलिकप्टरमार्फत सामग्री र जनशक्ति जिल्लामा पुर्याउने गरी तयारी भइरहेको र भारतलगायत विभिन्न ठाउँबाट आएका कम्तीमा ५ सय जना व्यक्तिको स्वाब परीक्षण गराउने गरी कुराकानी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीका अनुसार कैलाली जिल्लाका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा राखिएका ३ सय ३९ जना व्यक्तिहरूको र्यापिड टेष्ट परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा कैलालीमा गरिएको र्यापिड डाइगोनोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएको बताएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीन पटकसम्म नियुक्तिका लागि बोलाइएका १४ जना स्टाफ नर्सले नियुक्ति लिन अस्वीकार गरेका छन् । सेती प्रदेश अस्पताललाई कोरोना भाइरस सङ्क्रमितहरूको उपचार गराउने मुख्य अस्पतालका रूपमा सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेपछि स्टाफ नर्सहरूले नियुक्ति लिन अस्वीकार गरेको हुन सक्ने अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार १० गतेको विज्ञापनपछि पहिलो रोजाइमा रहेका २३ जनालाई सुरुमा भर्ना गरिएको र २० जनालाई वैकल्पिकमा राखिएको थियो । कोरोनाको जोखिम बढेपछि वैकल्पिकमा नाम निकालेका १५ जनालाई सुरुमा र त्यसपछि थप पाँच जनालाई पनि नियुक्तिका लागि पटक-पटक बोलाइएको भए पनि हालसम्म ६ जनाले मात्रै नियुक्ति लिएका छन् ।
अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेका अनुसार पटक-पटक सूचना जारी गरिए पनि नियुक्तिका लागि नआएपछि नयाँ भर्नाका लागि सूचना जारी भएको छ । चार जना मेडिकल अधिकृत र केही स्टाफ नर्सका लागि आवेदन खुल्ला गरिएको छ ।
डाक्टर पाण्डेयका अनुसार चैत २८ गते आवेदनका लागि सूचना जारी गरिएको र पाँच दिनभित्रै आवेदन दिन सूचना जारी भएको छ ।
प्रदेश सरकारले कोरोनाको जोखिम बढेसँगै सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरी सङ्क्रमितहरूको उपचार गरिरहेको छ । अहिले अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको छ भने ६ जना शङ्कास्पद बिरामीको आइसोलेसनमा उपचार भइरहेको छ ।
लकडाउनको समयमा पनि भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्र प्रहरीले कैलाली जिल्लाका सीमा क्षेत्रमा सेन्ट्टी स्थापना गरी कडा निगरानी बढाएको छ ।
सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलालीका उपरीक्षक कमल तिउसिनाले १ सय १ किलोमिटर लामो सिमानाको ७२ स्थानमा सेन्ट्री स्थापना गरी सुरक्षा सावधानी अपनाइएको बताउनु भयो । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका १९ स्थानमा टेण्ट र ५३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइरहेको उहाँको भनाइ छ ।
इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार चैत १२ गतेदेखि जिल्लाका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा बस्दै आएका ४८ जनाको र्यापिड टेष्टका लागि लगिएको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो ।
जिल्लाका नौ ओटा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको र्यापिड डाइगोनोष्टिक टेष्ट गरिएको छ । क्वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेका बडिमालिका नगरपालिकाको बडिमालिका माविमा राखिएका ३५ जना, त्रिवेणी नगरपालिकामा राखिएका १० जना, बुढिगङुगामा राखिएका चार जना र गौमुलमा राखिएका दुई जनाको र्यापिड टेष्ट गरिएको छ ।
रिपोर्ट नेगेटिभ आएमा ४८ जनालाई एक हप्ता होम क्वारेन्टाइनमा बस्ने सर्तमा कागज बनाएर घर पठाउने गरेको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भनाइ छ ।
र्यापिड डाइगोनोष्टिक टेष्टका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानीय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएको स्वास्थ्य संयोजक पन्तले जानकारी दिनु भयो । र्यापिड डाइगोनोष्टिक टेष्टका लागि पहिलो चरणमा ३ सय थान र्यापिड डाइगोनोष्टिक टेष्ट किट जिल्लामा ल्याइएको छ ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी र डिउटीमा खटिएका प्रहरीको पनि नमूना परीक्षण गरिने स्वास्थ्य कार्यालय, बाजुराले जनाएको छ । हालसम्म १ सय १७ जनालाई जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।