INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७६ चैत २७ गतेसम्ममा कोरोना भाइरससँग लड्न ४ हजार १ सय ८९ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ३२ वटा आइसोलेशन बेडको व्यवस्था गरिएको छ । प्रदेशभरी चैत २६ गतेसम्म ५ सय ८४ थान पीपीई (पर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ ।

प्रदेश १ मा यस अवधिमा १ सय ७८ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा १ सय ४ जनाको रिपोर्ट नेगेटिभ र ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । चैत २७ गतेसम्म प्रदेश १ मा ५२ महिला र ५ सय ५० पुरुष सहित ६ सय २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइमा ३ हजार १ सय ११ जना बसेका छन् । प्रदेशभरि ५ सय ८१ जना महिला र २ हजार ५ सय ३० जना पुरुष होमक्वारेन्टाइनमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशभरीमा आइसोलेशन वार्डमा दुई जना महिला र आठ जना पुरुष गरी १० जना भर्ना भएका छन् । आइसोलशेनमा बसेका मध्ये चैत २७ सम्म २२ जना डिस्चार्ज भएका छन् ।

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २७ गतेसम्म मोरङमा ९३ जना पुरुष र दुई जना महिला गरी ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मोरङमा १० ओटा स्थानीय तह र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँले २५ गरी ६ सय ७५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।  मोरङमा चैत २७ गतेसम्म १ हजार ५२ जना पुरुष र २ सय ४३ जना महिला गरी १ हजार २ सय ९५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा ५९ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनाको रिपोर्ट नेगेटिभ र ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । रिपोर्ट आउन बाँकी ४१ जना टाँडी क्वारेन्टाइनमा रहेकाहरू र दुई जना जहदा गाउँपालिकाका रहेका छन् । मोरङमा पीपीई ३६ थान वितरण गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनु भयो ।

कोरोना भाइरस (कोभिड- १९) को शङ्कास्पद बिरामीको नमूना परीक्षण कोशी अस्पताल विराटनगरबाट गरिने भएको छ । कोशी अस्पतालबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । परीक्षणका लागि आवश्यक उपकरणहरू र केमिकलहरू चैत २७ गते  हेलिकप्टरबाट विराटनगर आइपुगेको मन्त्री घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सम्भवतः चैत २८ गतेदेखि परीक्षणको तयारी गरिएको छ ।’ कोशी अस्पतालबाट नमूना परीक्षण सुरु भएपछि दैनिक करिब ९६ जनाको नमूना सङ्कलन गर्न सकिने मन्त्री घिमिरेले बताउनु भयो । सुनसरीको धरानबाट दैनिक २० जनासम्म नमूना सङ्कलन भइरहेको उहाँले बताउनु भयो ।

प्रदेश १ का क्वारेन्टाइनबाट र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिने भएको छ । चैत २८ गते झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाइनमा रहेकाहरूको आरडिटी सुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो । आरडिटीका लागि प्राविधिकहरूलाई तालिम दिइसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आरडिटीमा शङ्कास्पद देखिएमा कोरोना परीक्षण हुनेछ ।’ उहाँका अनुसार पहिलो चरणमा ५ हजारको टेष्ट गरिने छ ।

जिल्ला कारागार कार्यालय मोरङले सर्वोच्च अदालतको एक वर्षको प्रक्रिया अन्तर्गत चैत २७ गतेसम्म २७ जना कैदीहरूलाई रिहा गरेको छ । फौजदारी कार्यविधि संहिता दफा १५५ प्रावधान अन्तर्गत एक महिला सहित २७ जना कैदी बन्दीहरूलाई रिहा गरिएको कारागार कार्यालय मोरङका प्रमुख सुभाषकुमार लामिछानेले बताउनु भयो । रिहा गरिएकामा बहुविवाहका आठ जना, सवारी ज्यानका सात जना, लागू औषधका सात जना, वन पैदावरका तीन जना, जबरजस्ती करणीका एक जना र सरकारी छाप किर्ते मुद्दाका एक जना रहेका छन् ।

एनएमबी बैङ्कले प्रदेश १ सरकारलाई चैत २७ गते १ सय थान व्यक्तिगत  सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राइलाई एनएमबी बैङ्कका प्रदेश प्रमुख उत्सव घिमिरेले सो उपकरण हस्तान्तरण गर्नु भएको हो । कोभिड-१९ बाट सङ्क्रमण र रोकथामका लागि एनएमबी बैङ्कले देशभरका शाखा र प्रादेशिक तह मार्फत विभिन्न प्रकारका सहयोग गरिरहेको बैङ्कका प्रदेश प्रमुख घिमिरेले बताउनु भयो ।

बेलबारी नगरपालिकाले ३ हजार ९ सय ४६ जना परिवारलाई राहत वितरण गरेको छ । ११ ओटा वडा रहेको नगरपालिकाका सबै वडामा दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्ने परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । नगरपालिकाले चार जनासम्मको परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन, एउटा साबुन र पाँच जनाभन्दा बढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, एक किलो नुन, एउटा साबुन वितरण गरेको छ ।

नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा.सुनिल शर्माले मोरङको बेलबारी, सुन्दरहरैंचा तथा पथरी शनिश्चरे नगरपालिकालाई ३० लाख रुपियाँभन्दा बढी रकम हस्तान्तरण गर्नुभएको छ । डा. शर्माले विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको छ । डा. शर्माले बेलबारी नगरपालिकालाई ११ लाख ७५ हजार रुपियाँ, सुन्दरहरैंचा नगरपालिकालाई ८ लाख ७५ हजार रुपियाँ र पथरीशनिश्चरे नगरपालिकालाई ९ लाख ८६ हजार रुपियाँको चेक उपलव्ध गराउनु भएको हो ।

मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई कुनै स्वास्थ्य समस्या देखिए अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । संयुक्त एम्बुलेन्स चालक सङ्घ मोरङले विपद्को असहज अवस्थालाई मध्यनजर राख्दै क्वारेन्टाइनमा रहेकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ । क्वारेन्टाइनमा रहेकाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको सङ्घका मोरङ सदस्य एवम् शेरबहादुर श्रेष्ठ प्रतिष्ठान एम्बुलेन्सका सञ्चालक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । मोरङमा मिक्लाजुङका पाँच ओटा, पथरीका दुई ओटा र उर्लाबारीका नौ ओटा एम्बुलेन्सले निःशुल्क सेवा दिने संयुक्त एम्बुलेन्स चालक सङ्घ, मोरङका अध्यक्ष चन्द्र पराजुलीले बताउनु भयो ।

भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरमा चैत २६ गतेसम्म ३० जना पुरुषलाई क्वारेन्टाइनमा, पाँच जना महिला र आठ जना पुरुषलाई होम क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा चैत २७ गतेसम्म १९ बेडको आइसोलेशन वार्ड निर्माण गरिएको छ । चैत २७ गतेसम्मको अवधिमा कसैलाई पनि आइसोलेशनमा राखिएको छैन । जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३ सय ३६ पुगेको छ । बाहिरी जिल्लाबाट जिल्ला प्रवेश गर्ने नाका तथा स्वास्थ्य चौकीहरूमा ७६ वटा हेल्थडेक्स स्थापना गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन पौवादुङमा गाउँपालिकाले विदेशबाट आएका १३ जनाको परीक्षण गराएको छ । भारतबाट आएका पाँच जना, कतारबाट आएका चार जना र अन्य विभिन्न ठाउँबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो । गाउँपालिकाले जिल्ला अस्पतालका डाक्टरहरूको टोली लगेर गाउँपालिका केन्द्र च्याङ्ग्रेमा स्वास्थ्य परीक्षण गराएको हो । परीक्षणमा सबैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल भोजपुरका डाक्टर कैलाश विश्वकर्माले बाताउनु भयो । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा विदेशबाट आएका उनीहरूको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । कोरोनाको जोखिम नियन्त्रणका लागि गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । ६ ओटै वडाको प्रत्येक टोल-टोलमा ५४ जना स्वास्थ्य स्वयमसेविकालाई परिचालन गरेर अन्य मानिसहरूको रेकर्ड राखेर उनीहरूको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताउनु भयो । त्यस्तै, कोरोना भाइरस विरुद्ध प्रचारप्रसार तथा सचेतना फैलाउने कार्यमा सक्रिय सुरक्षाकर्मीका इञ्चार्जलाई दैनिक ३ सय, अन्य सुरक्षाकर्मीलाई २/२ सय, स्वास्थ्य इञ्चार्जलाई ३ सय, अन्य स्वास्थ्यकर्मीलाई २/२ सय रुपियाँका दरले प्रोत्साहन स्वरूप खाजा खर्च र १ हजार रुपियाँ सञ्चार खर्च उपलव्ध गराएको छ । त्यस्तै  स्वयम्सेविकाहरूलाई पनि ५ सय रुपियाँ सञ्चार खर्च उपलब्ध गराएको प्रशासकीय अधिकृत रमेश राईले बताउनु भयो । हेरालुलाई भने दैनिक १ हजार रुपियाँ भत्ता र सञ्चार खर्च एकमुष्ट १ हजार रुपियाँ दिएको गाउँपालिकाले जनाएको छ ।

हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना निकालेर यसअघि निर्वाचनमा खटिएका तथा सेना प्रहरीबाट सेवा अवधि पूरा गरी पेन्सनमा निस्किएकाहरूका लागि दरखास्त आव्हान गरेको हो । गाउँपालिकाले वडा ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा ७ को भँगालेटार, वडा ९ को मचुवा, सिम्ले र चुहार सीमा नाकाबाट बिना अनुमति हुने आवतजावतलाई रोक्नको लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो । सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भयो ।

सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २७ गतेसम्म जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले बताउनु भयो । जिल्लामा अहिलेसम्म १ सय १५ बेडको क्वारेन्टाइन र १६ बेडको आइसोलेशन बेड तयारी अवस्थामा छन् । चैत २७ गते जिल्ला अस्पताल खाँदबारीमा २८ जना महिला र २५ जना पुरुषले वरो क्लिनिकमा जाँच गराएको जिल्ला अस्पतालले जनाएको छ । हालसम्म जिल्लाभर कुनैपनि शङ्कास्पद बिरामी नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मादी नगरपालिकाले चैत २७ गते १५ हजार थान माक्स वितरण गरेको मादी नगर उपप्रमुख उर्मिला नेपाल सुवेदीले बताउनु भयो । मादी नगरपालिकामा १० जनालाई १४ दिन होमक्वारेन्टाइनमा राखेको थियो । उनीहरूमा कुनै प्रकारको स्वास्थ्य समस्या नभएको सुवेदीले बताउनु भयो । त्यस्तै, मादी नगरपालिकाले वडा- १ को तिनजुरे आधारभूत विद्यालय चौकीबजार र वडा ६ को सिंहदेवी आधारभूत विद्यालयमा खाद्यान्न गोदाम राखेको छ । बाहिरी जिल्लाबाट ल्याइएको खाद्यान्नलाई ७२ घण्टा फुड क्वारेन्टाइन राखेपछि मात्र किनबेच गर्न सकिने उपप्रमुख सुवेदीले जानकारी दिनु भयो । त्यस्तै, सिलिचोङ गाउँपालिकाले वडा-३ ताम्कुमा १ सय ३ विपन्न परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

पाँचखपन नगरपालिकाले ५ सय विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको जानकारी गराएको छ । पाँचखपन नगरपालिकाले विभिन्न नाका सिल गरेको जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन स्थानीय तहले आ-आफ्नो क्षेत्रका नाका बन्द गरेर नाकामा स्वास्थ्यकर्मीसहितको हेल्प डेक्स स्थापना गरेका छन् ।

पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार चैत २७ गते पाँचथरमा नौ महिला, ५१ जना पुरुष गरी ६० जनालाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म तीन महिला र ६ जना पुरुष गरी नौ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्थानीय तहहरूले कोराना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरी रकम सङ्कलन गर्न थालेका छन् । कोभिड-१९ रोकथामका लागि गरिएको लकडाउनका कारण मजदूर तथा विपन्न वर्गका समुदायलाई खाद्यान्न उपलब्ध गराउन पाँचथर उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘खाद्यान्न बैङ्क’ मा जम्मा भएको नगद ३ लाख ५८ हजार ८ सय २० रुपियाँ र ५ लाख १५ हजार ९ सय मूल्यको जिन्सी स्थानीय तहहरूलाई हस्तान्तरण गरेको छ ।

चैत २७ गतेसम्ममा ‘खाद्यान्न बैङ्क’ मा जम्मा भएको चामल ७ हजार १ सय ५५ केजी,  नुन २ सय ७० केजी, तेल २ सय लिटर, दाल २ सय ४५ केजी, चाउचाउ ३५ कार्टुन फिदिम नगरपालिकालाई हस्तान्तरण गरेको छ । यसैगरी जिल्लाका फालेलुङ, याङवरक, हिलिहाङ, कुम्मायक, फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाहरूलाई जनही ५१ हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

जिल्लाका स्थानीय तहहरूमा आवश्यकता अनुसारका पीपीई, थर्मल गन लगायतका स्वास्थ्य सामग्री उपलब्ध नभएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । विदेशबाट आएका सबैजना क्वारेन्टाइनमा बसेका छैनन् । बजारमा तरकारी, साग सब्जीको अभाव छ । एकद्वार प्रणालीबाट राहत वितरण हुन सकेको छैन ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत २७ गतेसम्म जिल्लामा १ सय ७४ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । १४ बेडको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सिदिङ्मा गाउँपालिकाको भञ्ज्याङ माविको क्वारेन्टाइनमा दुई जना, पाथीभरायाङवरक गाउँपालिकामा एक जना गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । चैत २५ गते तीन जनाको स्वाब परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । चैत २६ गते प्राप्त रिर्पोटमा तीन जनाकै स्वाबमा नेगेटिभ पाइएको जिल्ला अस्पताल प्रमुख डाक्टर सोनिङ लामाले बताउनु भयो ।

भोजपुर जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार लकडाउनको समय थप भएसँगै सोलुखुम्बुको विभिन्न स्थानीय तहले दीर्घरोगी र विपन्न वर्गको पहिचानलाई तिव्रता दिएका छन् । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा चैत २७ गतेसम्म थुलुङदुधकोशीले अति विपन्न वर्गको पहिचान गरी राहत वितरण गरेको छ । बाँकी स्थानीय तहले चैत २७ गतेसम्म तथ्याङ्क सङ्कलन गर्न सकेका छैनन् ।

जिल्लामा ३ सय ४१ जना क्षमताको क्वारेनटाइन र ४६ बेडको आइसोलेशन वार्ड निर्माण गरिए पनि चैत २७ गतेसम्म कोही कसैलाई नराखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकुनन्द इवा लिम्बूले बताउनु भयो ।

सोताङ गाउँपालिकाले अति विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ । लकडाउनको समयमा आर्थिक अवस्था कमजोर भएका २ सय १२ घरपरिवार विपन्नको तथ्याङ् गाउँपालिकामा आएको गाउँपालिका प्रवक्ता मनसरी राईले बताउनु भयो । तथ्याङ्क सङ्कलनको काम सकिएकाले केही दिनमै राहत वितरण गरिने प्रवक्ता राईले बताए ।

थुलुङदुधकोशी गाउँपालिकाले वडा-२ काँगेलका अति विपन्न ३० घरपरिवारलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनु भयो । ३० केजी चामल, पाँच केजी दाल, एक केजी नुन, एक लिटर तेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । चैत २७ गतेसम्म गाउँपालिकाले ३ सय २५ जनालाई राहत वितरण गरिसकेको छ ।

थुलुङदूधकोशी गाउँपालिकाले दीर्घरोगीलाई राहत स्वरूप एक महिनाको लागि औषधि वितरण गर्ने भएको छ । उनीहरूको तथ्याङ्क सङ्कलनको लागि वडाका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिका अध्यक्ष राईले ताउनु भयो ।

जिल्लाको नेचासल्यान गाउँपालिकाले पनि दीर्घरोगीलाई एक महिनाको निःशुल्क औषधि उपलब्ध गराउने जनाएको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाका अनुसार गाउँपालिकाले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको छ । वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले चिकित्सकले सिफारिस गरेको पत्रसहित विवरण सङ्कलन गरी ल्याउने र गाउँपालिकाले खरिद गरी वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

महाकुलुङ गाउँपालिकाले अति विपन्न परिवारको लगत सङ्कलन कार्य ६० प्रतिशत सकिएको जनाएको छ । चैत २८ गते राहत दिने गरी तयारी थालेको गाउँपालिका अध्यक्ष सागर किराँतले बताउनु भयो ।

माप्यदूधकोशी गाउँपालिकाले अति विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । गाउँपालिका उपाअध्यक्ष जुनीतामाया मगरका अनुसार विपन्न परिवारसँगै दीर्घरोगीको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

लिखुपिके गाउँपालिकाले चैत २७ गते विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानीय तहमा भौतिक संरचना निर्माणको चरणमा रहेकाले यहाँ भारतीयमुलका नागरिक समेत मजदूरीका लागि आएका छन् । उनीहरू के कति छन् ? भन्ने विषयमा चैत २७ गतेसम्म कसैलेपनि तथ्याङ्क सार्वजनिक गरेका छैनन् । यस्तै जिल्ला बाहिर कैलाली, कञ्चरपुर, रामेछाप लगायतका क्षेत्रबाट पनि मजदूरीका लागि आएका छन् ।

उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय तहहरूले सञ्चालनमा ल्याएका फिवर क्लिनिकमा जाँच गराउनेको सङ्ख्या चैत २७ गतेसम्म १ सय ५४ पुगेको छ । भाइरस पहिचानका लागि राखिएका फिवर क्लिनिकमा रूघाखोकी तथा जरो आएका ४४ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार कटारी नगरपालिकामा २८ जना, उदयपुरगढी गाउँपालिकामा चार जना र ताप्ली गाउँपालिकामा १० जना रहेका छन् । त्यसैगरी, सामान्य रूघाखोकीका १ सय १० जना रहेका छन् । फिवर क्लिनिकमा चैत २७ गते आएका ३४ जना बिरामीमध्ये २१ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यसमध्ये महिला सबै १३ जना नै कटारी नगरपालिका छन् भने पुरुष २० जना कटारी नगरपालिका र एक जना उदयपुरगढी गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कटारी नगरपालिकामा १२ ओटा, चौदण्डी नगरपालिकामा ११ ओटा, त्रियुगा नगरपालिकामा १४ ओटा, बेलका नगरपालिकामा ६ ओटा, उदयपुरगढी गाँउपालिकामा सात ओटा, ताप्ली गाउँपालिकामा नौ ओटा, रौतामाई गाउँपालिकामा नौ ओटा र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा पाँच ओटा गरी जिल्लाभरी ७३ ओटा फिवर क्लिनिक स्थापना गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या महिला नौ जना गरी ६९ जना रहेको छ । कटारी नगरपालिकामा तीन महिला र २३ जना पुरष गरी २६ जना, चौदण्डीगढी नगरपालिकामा दुई महिला, चार जना पुरुष, त्रियुगा नगरपालिकामा आठ जना महिला, बेलका नगरपालिकामा १२ जना पुरुष, रौतामाई गाउँपालिकामा आठ जना महिला र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा तीन महिला र चार जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या कटारी नगरपालिका चार जना महिला गरी १ सय ८४ जना पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी बेलका नगरपालिकामा १ सय ७३, त्रियुगामा ७९जना, कटारीमा चार महिलासहित २२ जना, ताप्लीमा सात र लिम्चुङ्गबुङ्गमा तीन जना रहेका छन् ।

सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिकामा वडाबाट गरिएको लगत सङ्कलनलाई लिएर विवाद उत्पन्न भएको छ ।  गाउँपालिकाले राहत वितरण नगरेको भन्दै सर्वसाधारणले गुनासो गरिरहँदा वडाले तयार पारेको विवरणहरू वडाको जनसङ्ख्या भन्दा बढी राहत लिनेको सङ्ख्या भएपछि राहत वितरण कार्य रोकिएको छ । वडागत रूपमा तयार पारिएको विवरणका आधारमा भोक्राहा नरसिंह गाउँपालिकामा झण्डै ८ हजार घरधुरीलाई आधार मानिएको छ । सोही अनुपातमा राहत पाउनु पर्ने परिवारको लगत सङ्कलन गरी वडाले सिफारिस गरेकोमा गाउँपालिकाले भने उक्त सङ्ख्या अत्याधिक र आधिकारीक नभई झुटो भएको भन्दै तत्काल राहत वितरण नगर्ने जनाएको छ । कुल घरधुरी भन्दा बढी सङ्ख्यामा वडागत रूपमा राहतका लागि सिफारिस भएको पाइएपछि तत्कालका लागि राहत वितरणको प्रक्रिया अघि नबढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताउनु भयो ।

घिमिरेका अनुसार सुनसरीको भोक्राहाको कुल जनसङ्ख्या ४१ हजार ९ सय ५० रहेको छ । गाउँपालिकामा ७ हजार १ सय १९ घरधुरी रहेको छ । जसमध्ये विपन्न र गरिब तथा ज्याला मजदूरी गर्ने परिवारलाई वितरण गरिनु पर्नेमा सबै जसोको नाम समावेश भएको पाइएकाले राहत वितरणको कार्य आफूले अघि बढाउन सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

इनरूवा नगरपालिकामा लकडाउनको बेला किसानको माग र मर्कालाई सम्बोधन गरी रासायनिक मल वितरण गरिएको छ । चैत २७ गते इनरूवा र आसपास क्षेत्रमा किसानको मागलाई सम्बोधन गरी जिल्ला सहकारी सङ्घले २ सय किसानलाई मल वितरण गरेको छ ।

प्रतिनिधि सभासदस्य रामकुमारी चौधरीले रामधुनी नगरपालिकाको विपद् राहत कोषमा चैत २७ गते १ लाख रुपियाँ रकम बराबरको खाद्य सामग्री हस्तान्तरण गर्नु भयो ।

झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २७ गतेसम्म झापाका १५ ओटा स्थानीय तहमा २७ ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको छ । ६ सय ९६ जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको स्थानीय तहले जनाएका छन् । हालसम्म क्वारेन्टाइनमा १ सय ३३ जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा १ हजार ४१ जनालाई राखिएको छ । मेची अञ्चल अस्पतालमा आठ बेडको आइसोलेशन निर्माण गरिएको छ । जसमा सात जनालाई राखिएको छ । झापामा चैत २६ गतेसम्म सात जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

झापामा रासायनिक मलको अभाव भएको छ । किसानहरूले चैते धान र मकै खेतीका लागि मल मागिरहे पनि सरकारी संस्थानहरूले दिन सकिरहेका छैनन् । गौरीगञ्ज गाउँपालिकास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका भागवत ताजपुरियाले किसानहरूले मागे जति रासायनिक मल उपलब्ध गराउन नसकिएको बताउनु भयो । कृषि सामग्री संस्थानबाट ल्याएको ५० बोरा युरिया मल किसानहरूलाई बाँडिसकेको उहाँले बताउनु भयो । लकडाउनका बेला पनि सरकारले कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङमार्फत रासायनिक मल बिक्री गरिरहेको छ ।

मेचीनगर-९ स्थित बालुवाटार बस्ने विपन्न वर्गका ४३ घर परिवारलाई बालकृष्ण थापाले राहतस्वरूप खाद्यान्न वितरण गर्नु भएको छ ।

भद्रपुर नगरपालिका क्षेत्रका विपन्न परिवारलाई राहत उपलब्ध गराउन भद्रपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा झापा उद्योग सङ्घले १ लाख रुपियाँ नगद सहयोग गरेको छ । रोटरी क्लव अफ भद्रपुरले १ लाख रुपियाँ मूल्य बराबरकै चामल सहयोग गरेको छ । रोटरीले चैत २७ गते २ हजार २ सय ५० केजी चामल सहयोग गरेको छ ।

मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य सङ्घको संयुक्त बजार अनुगमन टोलीले बजार मूल्यभन्दा बढीमा तरकारी बिक्री गरेको भन्दैं तरकारीसहित मे १ च ५९६९ नम्बरको गाडीलाई चैत २७ गते नियन्त्रणमा लियो । प्याज प्रतिकेजी ७० रूपैयाँमा विक्री गरेको तथा उक्त मुल्य बजारको चलनचल्तीको मूल्यमा प्रतिकेजी २० रूपैयाँ बढी भएकाले कारबाही स्वरूप सवारी साधन नियन्त्रणमा लिइएको सङ्घले जनाएको छ ।

बुद्धशान्ति गाउँपालिकाले अति विपन्न ज्याला मजदुरी गर्ने नागरिकलाई राहत स्वरूप चैत २७ गते २१ लाख ७७ हजार २ सय ५२ रुपियाँ बराबरको खाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका सबै सात ओटै वडाबाट अतिविपन्न नागरिकलाई खाद्यान्न वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए । वडागत तथ्याङ्कको आधारमा गाउँपालिकाका अति विपन्न १ हजार ७ सय ३५ घर सङ्ख्याको ६ हजार ७ सय २१ जनालाई १५ दिन पुग्ने खाद्यान्न उपलब्ध गराइने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो ।

ओखलढुङ्गा जिल्ला प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार चैत २७ गतेसम्म जिल्लामा  विदेशबाट फर्किएका १ सय १५ जना पुरुष र २९ जना महिला गरी १ सय ४४ जना पहिचान गरिएको छ । हालसम्म आठ बेडको आइसोलेशन र १ सय ९० बेडको क्वारेन्टाइन निर्माण गरिएकोमा चार जना आइसोलेशन र एक जना सरकारी क्वारेन्टाइनमा राखिएको छ । ६ जनाको स्वाब सङ्कलन गरिएकोमा दुई जनाको रिर्पोट नेगेटिभ आएको छ । चार जनाको परीक्षण गर्न पठाइएको छ ।

जिल्ला भित्रिने नाकाहरूमा चेकजाँच तथा कडाइ गरिएको छ । जिल्ला अत्यावश्यक खाद्यान्न, तरकारी, तेल, नुन, पेट्रोलियम पदार्थ लगायतका वस्तु जिल्ला प्रशासन कार्यालयले ढुवानीका लागि सवारी पास उपलब्ध गराइ ढुवानी भइरहेको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायले अनुगमन गरिरहेका छन् ।

सङ्घीय प्रतिनिधि सभाका सांसद तथा पूर्व सांसदहरूले व्यक्तिगत सुरक्षा सामग्री पीपीई सहयोग गरेका छन् । स्थानीयत तहबाट समेत खरिद तथा वितरणको व्यवस्था मिलाइएको छ । स्थानीय तहहरूले मजदुरी गरेर परिवार पाल्ने व्यक्तिहरूको अभिलेख तयार पारेर राहत दिने प्रक्रिया थालेका छन् ।

जरो नाप्ने थर्मल गन अभाव छ । खरिद गर्न समेत बजारमा अभाव भएकाले समस्या आएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनु भयो । राहत वितरण गर्ने व्यक्तिले आफुखुसी गर्न थालेको पाइएको छ ।

अन्य

भिडियो