INSEC Online

📅 २०८३ जेष्ठ २१

कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था

प्रदेश ५ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेण्टाइनमा बसेका सबै व्यक्तिहरूको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गर्ने भएको छ ।

स्वास्थ्य परीक्षणका लागि क्वारेण्टाइनमा बसेका सबै व्यक्तिको चैत २७ गतेदेखि आरडीटी जाँचको काम सुरू गरिएको छ । जसका लागि एउटा टोलीले दुई जिल्ला हेर्ने गरी ६ ओटा स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायणप्रसाद भुसालका अनुसार चैत २७ गते लकडाउनको पूर्ण कार्यान्वयन गरिएको छ । पछिल्लो समय अनुमति पत्र समेतलाई व्यवस्थित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट दैनिक रूपमा क्वारेण्टाइन र आइसोलेशन र लकडाउनको अनुगमन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनु भयो ।

जिल्लामा २६ जना क्वारेण्टाइन १३ जना होम क्वारेण्टाइन रहेका छन् । आइसोलेशनमा रहेका तीन जनालाई चैत २७ गते घर पठाइएको छ ।

जिल्लाका ६ ओटै स्थानीय तहले कोरोना राहत कोष स्थापना गरेर गरिब तथा विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिरहेको छ ।

लक डाउनका कारण दुध विक्री नहुँदा कृषकहरू मर्कामा मर्कामा परेका छन् । दैनिक १२ हजार लिटर दुध उत्पादन भइरहेकोमा ३ हजार लिटर खपत भए पनि ९ हजार लिटर खपत हुन नसकेको दूग्ध व्यवसायी सङ्घका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले बताउनु भयो ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा लकडाउन पूर्ण रूपमा कार्यान्वयन गराउन थप सुरक्षाकर्मीहरूको परिचालन गरिएको छ ।

बाणगङ्गा नपामा भारत तथा अन्य देशबाट आएका २ सय ३४ जनालाई होम क्वारण्टाइनमा राखिएको र उनीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूलाई खटाइएको नगरपालिकाका स्वास्थ्य संयोजक ठगराज पौडेलले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत चुरामडी पन्थीले छनोट गरिएका अति विपन्न परिवारहरूका लागि सामग्रीहरू खरिद गरिसकिएको र वितरणका लागि कार्यपालिकाको बैठकबाट निर्णय हुने जानकारी दिनु भयो ।

यसैगरी बुद्धभूमि नपामा बिदेशबाट आएका ३ सय ३२ जना होम क्वारेण्टाइनमा सुरक्षित छन् । उनीहरूको नियमित स्वास्थ्य परीक्षण भइरहेको नगरपालिकाका स्वास्थ्य संयोजक डोलविक्रम बेल्बासेले बताउनु भयो ।

उक्त नपाले २ हजार ८ सय ५१ घर परिवारलाई अति विपन्न परिवारमा छनौट गरेको मेयर केशव श्रेष्ठले जानकारी दिनु भयो । उहाँले खाद्य सामग्रीहरूको टेण्डर भइसकेको बताउनु भयो ।

यसैगरी विजयनगर गाउँपालिकामा ३ सय ९३ जनालाई होम क्वारेण्टाइनमा राखेर दैनिक सचेतना प्रवाह गर्नका लागि ६७ जना स्वयम्सेविका परिचालन गरिएको छ ।

होम क्वारेण्टाइनमा बस्ने घरमा पहिचानका लागि रातो रङ्ग लगाइएको छ । ६७ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई ५ हजार रुपियाँका दरले प्रोत्साहन भत्ता दिइएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनु भयो ।

गाँउपालिकाले चैत २४ गते उपचारका क्रममा आइसोलेशनमा मृत्यु भएका ३० वर्षीय गोवर्धन भरका परिवारलाई २० हजार रुपियाँ सहयोग गरेको छ ।

लकडाउनका कारण वृद्धवृद्धालाई समाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म समस्या भएकोले चैत २६ गतेबाट टोलटोलमा गएर वितरण भइरहेको गाँउपालिकाका प्रशासकीय अधिकृत भट्टराईले बताउनु भयो ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्ला समन्वय समितिले कोराना भाइरस रोकथाम, नियन्त्रणमा भइरहेका कामहरू र लकडाउनको अवस्थाका बारेमा अनुगमन गरेको छ ।

कोरोनाबाट जोगिन गरिएका सचेतना अभियान, शङ्काष्पद व्यक्तिहरूलाई राख्नका लागि बनाइएका क्वारेण्टाइनको अवस्था, विदेशबाट आएकाहरूको व्यवस्थापन तथा लकडाउनका कारण समस्यामा परेका विपन्न नागरिकहरूलाई बाडिएको राहतको विषयमा अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिनुभयो ।

चैत २५ र २६ गते जिल्लाका १० ओटै स्थानीय तहको अनुगमन गरिनुको साथै आवश्यक सुझाव समेत दिइएको समितिले जनाएको छ ।

अनुगमनका क्रममा विदेशबाट आएका व्यक्तिहरूको लगत लिइएको भएपनि उनीहरूको व्यवस्थापन फितलो रहेको, क्वारेण्टाइनमा बसाउन नसकिएको, क्वारेण्टाइनको व्यवस्थापन पनि मापदण्ड अनुसार नभएको पाइएको प्रमुख नेपालीले बताउनु भयो ।

साथै उहाँले राहत वितरण पनि जथाभावी भएको र एकद्वार प्रणालीबाट नभएको भन्दै क्वारेण्टाइनलाई मापदण्ड अनुसार बनाउन, राहत वितरणलाई वास्तविक विपन्नसम्म पुर्‍याउन र कोरोना विपत आइहाले त्यसबाट जोगिनका लागि पूर्व तयारीलाई थप प्रभावकारी र मजबुत बनाउन निर्देशन दिएको प्रमुख नेपालीले बताउनु भयो ।

सामान्य तयारी त छ तर महामारी नै आए थेग्न सक्ने तयारी कतै नभएको भन्दै उहाँले सचेतनालाई प्रभावकारी बनाउन सुझाव दिएको बताउनु भयो ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार दुई जना बिरामीमा कोरोना भाइरस जस्तै लक्षण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ ।

दुवै जनाको स्वाब सङ्कलन गरी बुटवलस्थित प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरेको जिल्ला अस्पतालका फोकल पर्सन डाक्टर सुनिल सुनारले बताउनु भयो ।

चैत ८ गते भारतबाट आएका ३१ वर्षीय पुरुष र १० वर्षीया छोरीलाई ज्वरो र खोकीको समस्या देखिए पछि आइसोलेशनमा राखिएको हो ।

मल्लरानी गाउँपालिकाले राहत वितरण मापदण्ड बमोजिम २ सय २३ घरपरिवारको लगत सङ्कलन गरी वितरण गरिएको जनाएको छ ।

गाँउपालिकामा रकम अभावका काराण राहत दिन पर्ने परिवार पनि समेटन नसकिएको भन्दै सहयोग गर्न इच्छुक व्यक्ति र सङ्घ संस्थालाई सहयोग गर्न समेत अनुरोध गरेको गाउँपालिकाले जनाएको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्लामा लकडाउनलाई कडाई गर्नुका साथै क्वारेण्टाइन बिस्तार गरिँदै लगिएको छ भने पछिल्लो समय क्वारेण्टाइनमा बस्नेहरूको संङ्ख्या पनि बढेको छ ।

धुर्कोट, इस्मा र मालिका गाउँपालिकाले अहिले स्थानीय तहभन्दा बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

इस्मा गाउँपालिकाले चैत २६ गते बुटवलबाट हिँडेर आएका नौ जनालाई क्वारेण्टाइनमा राखेको छ ।

यसअघि इस्मा गाउँपालिकाले भारतबाट आएका ११ जनालाई क्वारेण्टाइनमा राखेको गाउँपालिकाकी उपाध्याक्ष बिमला खत्रीले जानकारी दिनुभयो ।

इस्मा गाउँपालिकामा नौ स्थानमा ४४ बेड क्वारेण्टाइन निर्माण गरिएको छ । यसैगरी धुर्कोट गाउँपालिकाले पनि १३ स्थानमा १ सय ३८ बेडको क्वारेण्टाइन निर्माण गरेको छ ।

स्वदेशकै अन्य भागबाट आएका २४ जना तथा नेपाल बाहिरबाट आएका २५ जनालाई क्वारेण्टाइनमा राखेको गाउँपालिकाले जनाएको छ ।

मालिका गाउँपालिकाले बाहिरबाट आएका सबैलाई अनिवार्य क्वारेण्टाइनमा राख्ने निर्णय गर्दै नौ स्थानमा १ सय ४५ बेड क्षमताको क्वारेण्टाइन निर्माण गरेको छ ।

जिल्लाका १० गाउँपालिका र दुई नगरपालिकामा चैत २७ गतेसम्म १ सय १५ स्थानमा १ हजार ८३ बेड क्षमताको क्वारेण्टाइन निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेण्टाइन, लकडाउन र राहत वितरणको अवस्थाको बारेमा पनि दैनिक अनुगमन गरिरहेको सूचना अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

अहिलेसम्म रेसुङ्गा नगरपालिका, मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, गुल्मी दरवार गाउँपालिका र छत्रकोट गाउँपालिकाले राहत वितरण सम्पन्न गरेका छन् भने मदाने, इस्मा, सत्यवति, रुरु क्षेत्र र कालीगण्डकी गाउँपालिकाले राहत वितरण गरिरहेका छन् ।

इन्सेक नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनले विपन्न परिवारमा खाद्यान्न अभाव देखिएकाले सबै स्थानीय तहले राहत वितरणको कार्यलाई जारी राखेका छन्  ।

जिल्लाका सात ओटै स्थानीय तहले ६ हजार २१ विपन्न परिवारको लगत सङ्कलन गरी राहत वितरण गरेको छ ।

जिल्लामा चैत २७ गतेसम्म १ सय ३१ जना क्वारेण्टाइनमा रहेका छन् । हालसम्म जिल्लामा कोरोना भाइरस सङ्क्रमित बिरामी भेट्टिएका छैनन् ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार लकडाउनलाई पाल्पामा पूर्ण रूपमा कडाइ गरिएको छ ।

जिल्ला भित्रिन र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावत गर्न अत्यावश्यकीय काम बाहेक पुर्ण रूपमा प्रतिबन्ध लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिपेन्द्र जिसीले बताउनु भयो ।

जिल्लाका सबै स्थानीय तहहरूले मातहतका क्वारेण्टाइनमा रहेका व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधि लगायतको टोलीले भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै समस्या समाधानको पहल गरेका छन् ।

यसैगरी जिल्लाका १० ओटै स्थानीय तहहरूले पहिलो चरणमा ४ हजार ५ सय ३७ परिवारलाई राहत वितरण गरेका छन् ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार कोरोना भाइरस विपद व्यवस्थापन कोषमा आर्थिक विपन्न तथा कोरोना सङ्क्रमित व्यक्तिहरूको खान बस्न र उपचारमा राहत होस् भन्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज रोल्पाले ५० हजार रुपियाँ सहयोग गरेको अध्यक्ष सन्दीप थापाले बताउनु भयो ।

लिवाङमा सर्वज्ञय हार्डवयर सञ्चालन गर्दै आउनु भएका व्यवसायी त्रिवेणी गाउँपालिका-५ का ज्ञानबहादुर वलीले पाँच जना श्रमिकलाई १० हजार रुपियाँ बराबरको खाद्यान्न वितरण गर्नु भएको छ ।

माडी गाउँपालिका-६ भावाङमा क्रियाशील रेड स्टार युवा क्लब, सिद्द पुजे परोपकारी सेवा समाज र एस युनिट टिमको संयुक्त लगानीमा साबुन र मास्क वितरण गरेको वडा अध्यक्ष भरतबहादुर बुढाले जानकारी दिनु भयो ।

उहाँका अनुसार जनचेतना फैलाउन र व्यवहार परिवर्तन गर्नको लागि साबुन र मास्क वितरण गरेको बताउनु भयो ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार कामका लागि जिल्ला बाहिर रहेका ६४ जना बर्दियाबासीहरू चैत २६ गते हिँडेर बाँके जिल्लाको मानखोलासम्म आइपुगेका थिए ।

उनीहरू स्वास्थ्य परीक्षणपछि अभिलेख गरेर सम्बन्धित स्थानीय तहले निगरानी गर्ने गरी होम क्वारान्टानमा राख्ने गरी पठाएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो ।

बर्दिया जिल्लामा स्थानीय तहले हालसम्म २८ ओटा क्वारेण्टाइनमा ५ सय ७ बेड तयार गरेका छन्  ।

भारत र नेपालकै विभिन्न जिल्लाबाट घर फर्केका ३४ जना महिला र ३ सय ५६ जना पुरुष गरी ३ सय ९० जनालाई त्यस्ता क्वारेण्टाइनमा राखिएको छ ।

जिल्लामा १७ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा ६ जनाको नेगेटिभ आएको र बाँकी ११ जनाको रिपोर्ट आउनुबाँकी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो ।

सबै स्थानीय तहले राहत वितरण गर्नका लागि दैनिक मजदुरी गरी खाने व्यक्ति र परिवारको तथ्याङ्क सङ्कलनलाई तिव्रता दिएका छन् ।

जिल्लामा भारतसँग जोडिएका पाँच ओटा पोष्ट रहेकोमा लुकेर जिल्ला भित्रिने सम्भावना रहेकाले  ८७ ठाउँमा सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा व्यवस्थासहित निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनु भयो ।

इन्सेक रुकुम पुर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरका अनुसार, स्थानीय तह, प्रशासन, प्रहरी लगायत जिल्ला स्थित सरोकारवाला निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्धको कार्यमा तत्पर भइ आआफ्नो जिम्मेवारी वहन गरिराखेका छन् ।

जिल्लाका नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसको साथै आठ ओटा नाकामा हेल्थ डेस्क राखिएको छ ।

चैत २७ गते हेल्थ डेस्क र स्वास्थ्य संस्थामा गरी १ सय ४५ जनाको स्वास्थ्य चेकजाँच गरिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रभु बैङ्क शाखा कार्यालय रुकुमकोटले सिस्ने गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ५० हजार रुपियाँ सहयोग गरेको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार प्रदेश ५ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका क्वारेण्टाइनमा बसेका सबै व्यक्तिहरूको र्‍यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) गर्ने भएको छ ।

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) भए/नभएको थाहा पाउनका लागि दुई हप्ता क्वारेण्टाइनमा बसेका सबै व्यक्तिको परीक्षण गर्न सुरू गरेको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भयो ।

मन्त्री बरालका अनुसार स्वास्थ्य परीक्षणका लागि क्वारेण्टाइनमा बसेका सबै व्यक्तिको चैत २७ गतेदेखि आरडीटी जाँचको काम सुरू गरिएको छ । जसका लागि एउटा टोलीले दुई जिल्ला हेर्ने गरी ६ ओटा स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

आरडीटीका लागि सङ्घीय सरकाले चैत २७ गते नै प्रदेशमा डा. रमेश खरेलको नेतृत्वमा ५ हजार थान किट सहित विभिन्न स्वास्थ्य उपकरण ल्याएको छ ।

डा.खरेल सहितको चिकित्सक टोलीले सामाजिक विकास मन्त्रालयमा सरोकारवालाहरुलाई भेटेर कोरोना नियन्त्रण तथा रोकथामबारे अहिलेसम्म भएका काम कारवाहीका विषयमा जानकारी लिएको थियो ।

प्रदेशमा अहिलेसम्म कोरोना आशङ्कामा १ सय ५२ जना बिरामीको थ्रोट स्वाब परीक्षण गरिएको र यसमध्ये १ सय २५ जनाको रिपोर्ट  नेगेटिभ आएको छ भने २७ जनाको रिपोर्ट आउन बाँकी छ ।

 

अन्य

भिडियो