INSEC Online

📅 २०८३ जेष्ठ २२

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था

प्रदेश २ मा १ सय ३ जनाको थ्रोट स्वाब परीक्षण भएको छ । परीक्षण भएका सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश २ सरकारले जनाएको छ । विभिन्न स्थानको क्वारेन्टाइन र आइसोलेशनमा रहेका कोरोना भाइरसको आशङ्का गरिएका १ सय १९ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । ती मध्ये १६ जनाको रिर्पोट आउन बाँकी रहेको छ । प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयले चैत २५ गते गरेको मिडिया ब्रिफ्रिङमार्फत उक्त जानकारी दिएको हो ।

प्रदेश २ मा १ सय ४४ स्थानमा ३ हजार १ सय ७४ क्वारेन्टाइन बेड रहेको छ । हालसम्म ९ सय ३६ जनालाई क्वारेनटाइनमा राखिएको छ । यसैगरी १ हजार २ सय १३ जना होम क्वारेनटाइनमा रहेको बताइएको छ । प्रदेश २ मा २२ जनालाई आइसुलेशनमा राखिएको छ । प्रदेश २ मा आइसुलेशन बेड क्षमता २ सय ८ रहेको छ ।

लुकीछिपी नेपाल पस्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रदेश नं. २ का सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रामसद घिमिरेले बताउनु भयो । भारत हुँदै सप्तरीस्थित डाक्नेश्वरी नगरपालिकाको सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको घिमिरेले बताउनु भयो । गत चैत २३ गते राति नेपाल प्रवेश गरेका उनीहरूलाई चैत २४ गते स्थानीय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उहाँका अनुसार पाँच जनामध्ये तीन जना मुस्लिम समुदायसम्बद्ध तब्लिवी जमात अर्थात् धार्मिक भेलाका लागि नेपालबाट भारत गएको बुझिएको छ । प्रदेश २ अन्तर्गत भारतसँग सीमा जोडिएका १ सय ९ ओटै नाकाहरू पूर्ण रूपमा बन्द रहेको घिमिरेले जानकारी बताउनु भयो ।

धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार लक्ष्मीनियाँ गाउँपालिकाले अति विपन्न परिवारलाई राहत सामाग्री वितरण कार्य चैत २५ गते जारी राख्दै पालिकाका ८ सय परिवारलाई राहत वितरण गरेको जनाएको छ । राहत वितरण गर्नका लागि गाउँपालिकाले मापदण्ड तय गरेको छ । चार जना सदस्य रहेको परिवारलाई चामल सात किलो, दाल एक किलो, आलु दुई किलो र नुन एक किलो वितरण गरेको छ ।

६ हजार घरधुरी रहेको गाउँपालिकामा २ हजार बढी परिवारले राहतको माग गरेका छन् । सात सदस्य रहेको परिवारलाई चामल १० किलो, दाल १ किलो ५ सय ग्राम, आलु दुई किलो ५ सय ग्राम र नुन एक किलो वितरण गरिएको गाउँपालिका अध्यक्ष विन्देश्वर यादवले जानकारी दिनु भयो । यसअघि कोभिड-१९ को सङ्क्रमण जोखिम न्युनिकरण गर्न गाउँपालिकाका बासिन्दालाई मास्क, स्यानीटाइजर, हैण्डवाश र साबुन लगायतको सामग्री वितरण गरिसकेको छ ।

लक्ष्मीनियाँ बजारस्थित लक्ष्मीनियाँ जनता माविमा १० सैय्याको क्वारेन्टाइन समेत सञ्चालनमा ल्याइएको छ । क्वारेन्टाइनमा राखिने सम्भावित सङ्क्रमितको स्वास्थ्य जाँच, औषधि, खाना, खाजा लगायतको व्यवस्थापन गाउँपालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले बताउनु भयो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित गरिब, विपन्न र दैनिक मजदुरी गर्नेलाई गाउँपालिकाले राहत वितरण गर्दै आएको वडा अध्यक्ष समेत रहनु भएका गाउँपालिकाका प्रवक्ता फुलगेन यादवले बताउनु भयो । सङ्क्रमण जोखिम न्युनिकरण गर्नका लागि सरकारले लागु गरेको लकडाउनको पालना गर्न गाउँपालिकाका बासिन्दाहरूसँग प्रवक्ता यादवले अपिल गर्नु भएको छ ।

क्षिरेश्वरनाथ नपा-५ महेन्द्रनगरस्थित अमृता सप्लायर्सका सञ्चालक वीरेन्द्र साहले राहतको सामग्रीमा कम तौल दिनुको साथै कालोबजारी गरेको आरोपमा प्रहरीले चैत २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको लागि १ हजार ५ सय पोका राहत प्याकिङ्ग गर्ने जिम्मा पाएको अमृता सप्लयार्सका सञ्चालक वीरेन्द्र साहले कम तौल गर्नुको साथै कालोबजारी गरेको भन्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले गिरफ्तार गरेको हो ।

राहतमा नगरपालिकाले १० किलो चालम, दुई किलो आलु, एक किलो नुन, एक किलो दाल, आधा किलो तेलको राहत प्याकेजको अर्डर पाएको अमृता सप्लायर्सले सबैमा सामानमा तौल कम गरेको थियो । गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले कर्मचारीको टोलीसहीत सामान लोड गर्न पठाएका थिए । प्रशासनको अगाडी नै राहत सामग्री जोख्दा समानहरूमा तौल कम देखिएको थियो ।

चैत २५ गते नै गणेशमान चारनाथका मेयर रामबाबु यादवले बिहान ११ बजे फोन गरी सञ्चालक साहलाई राहत सामग्रीमा कम तौल भएको जानकारी गराउनु भएको थियो । जानकारी पश्चात पनि पुनः गरिएको प्याकिङ्गमा समेत सामानको तौल कम भएपछि प्रहरीले सञ्चालक साहलाई गिरफ्तार गरेको हो ।

गणेशमान चारनाथ नगरपालिकाले वितरण गर्ने भनिएको १ हजार ५ सय पोका अर्डर गरिएकोमा ९ सय पोका वितरण गरिसकेको छ भने ६ सय पोका वितरणका लागि बाँकी रहेको थियो । वितरण गरिएका सबैमा राहत सामग्रीको तौल कम थियो । मेयर यादवले चिसापानीमा समेत तौल गर्न लगाउँदा त्यहाँ पनि पोकामा कम भएपछि शङ्का लागेको बताउनु भयो । सो क्रममा प्रहरीले सोधपुछ गर्दा स्टोरका कर्मचारीले मिस्टेक गरेको हुन सक्ने प्रतिक्रिया दिएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर पप्पु कुमार नायकका अनुसार प्याकिङ गरिएको सबै पोकामा ३ सयदेखि ४ सय ग्राम कम चामल थियो । १० किलो चालम भनिएपनि जोख्दा नौ किलो मात्रै भएपछि सञ्चालकलाई कालोबजारी गरेको आरोपमा गिरफ्तार गरेको बताउनु भयो ।

रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार रौतहटको क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या चैत २५ गते साँझसम्म २ सय ४४ जना पुगेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण भएको क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या २ सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । चैत २४ गतेसम्म क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या २ सय ३६ रहेकोमा त्यो सङ्ख्या बढेर २५ गते सम्ममा २ सय ४४ पुगेको र ती व्यक्तिहरूलाई खानेबस्ने व्यवस्था स्थानीय तहहरूले गर्दै आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो ।

क्वारेन्टाइनमा बस्नेहरूमा १५ जना महिला र २ सय २९ जना पुरुष रहेका छन् । त्यसैगरी रौतहटमा क्वारेन्टाइनमा रहेका १५ जनामा कोरोना भाइरसको कुनैपनि लक्षण देखा नपरेकोले घर पठाइएको छ । आइसोलेशन बेड २५ ओटा रहेकोमा हालसम्म आइसोलेशनमा एक जना पनि नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी २५ गते सम्ममा ४९ जनाको स्वास्थ्य परीक्षण भएतापनि १७ जनाको मात्र रिपोर्ट आएको र १७ जनाकै रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

कोरोना भाइरसका कारण सरकारले लागु गरेको लकडाउनले नेपाल भारतका सम्पूर्ण सीमा-नाकाहरू बन्द रहेकाले भारत तथा अन्य मुलुकबाट चोर बाटो हुँदै नेपाल प्रवेश गर्नेहरूलाई गिरफ्तार गरी क्वारेन्टाइनमा राख्ने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

नेपाल भारत खुल्ला सीमालाई कडाइका साथ आवागमन नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नम्बर ११ गण रौतहटका बोर्डर आउट पोष्ट बेलबिछवाबाट राजदेवी नवा-९ ब्रम्हपुरीमा अस्थायी पोष्ट स्थापना गरिएको बेलबिछवाका सशस्त्र प्रहरी इन्स्पेक्टर अजय थापाले बताउनु भएको छ । चैत २५ गतेदेखि स्थापना गरिएको उक्त पोष्ट र राजदेवी नगरपालिका अन्तर्गत रहेको सम्पूर्ण खुल्ला सीमा नाकाहरू नगरप्रमुख धिरेन्द्रकुमार सिंह र नम्बर ११ गणबाट आउनु भएका सशस्त्र प्रहरी इन्स्पेक्टर गांधिवराज स्याङ्गतान सहितको टोलीद्वारा अनुगमन गरिएको छ । बेलबिछवा अन्तर्गत रहेको सम्पूर्ण नाकाहरूमा २४ घण्टा सशस्त्र प्रहरीको ड्युटी रहने र बोर्डर भरी निरन्तर सेवा दिने सशस्त्र प्रहरी इन्स्पेक्टर अजय थापाले जानकारी दिनु भयो ।

जिल्लामा ८ सय ३६ बेडको क्वारेन्टाइन सञ्चालन अवस्थामा रहेको छ । ५ सय ९१ ओटा पीपीईको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

क्वारेन्टाइनमा बस्ने अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएको र क्वारेन्टाइनमा बस्ने सबै भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरू रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार मलङ्गवा नगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको मारमा परेका अति बिपन्न गरिब र ज्यालदारी गरी जिवन यापन गर्ने वर्गलाई खाद्य सामग्री मलङ्गवा नगरपालिकाले राहत स्वरूप वितरण गरेको छ ।

मलङ्गवा नगरपालिकामा काम विहीन भएर खाद्यान्नको समस्या झेलिरहेका अति विपन्न मजदुर परिवारहरुलाई सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका भित्रका १२ ओटा वडाका वडा अध्यक्षहरूले उपलब्ध गराएको तथ्याङ्कको आधारमा करिब २ हजार घर परिवारहरुलाई चैत २३ गते देखि प्रति घरपरिवारलाई १० किलो चामल, दुई किलो दाल र नगद ३ सय रुपियाँको दरले राहत वितरण गर्न लागिएको मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाका युवराज सुवेदीले जानकारी दिनु भयो ।

नेपाल सरकार र प्रदेश सरकारले लकडाउनको अवधिमा समस्यामा परेका विपन्न वर्ग र ज्यालदारी गरी जीवन निर्वाह गर्दै आएकाहरूलाई राहत उपलब्ध गराउन दिइएको निर्देशन अनुसार स्थानीय तहले राहत वितरण गर्ने कार्यलाई निरन्तरता दिएका हुन् । प्रदेश सरकार र स्थानीय तह दुवैको संयोजनमा राहत वितरणको काम सुरु गरिएको छ ।

राहत वितरणमा प्रदेश सरकारले तयार पारेको कार्यविधि अनुसार १५ लाख रुपियाँ अपुग भएकोले प्रदेश सरकारले उपलब्ध गराएको रकममा मलङ्गवा नगरपालिकाले ६० लाख रुपियाँ थप गरिएको मलङ्गवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो ।

सर्लाहीको सदरमुकाम मलङ्गवा र दक्षिण साइड भारतको बोर्डर खुला भएको कारण मलङ्गवा नगरपालिका-७ (मुसैली) को मुस्लीम समुदायका दुई जना मानिस भारतको सितामढी जिल्ला सोनबरसाबाट लुकिछिपी चैत २३ गते आएकोले चैत २४ गते साँझ शङ्कास्पद भएको कारण मलङ्गवा नगरपालिकाभित्र रहेको कोरोनटाइनमा राखेको नगर प्रमुख साहले बताउनु भयो ।

कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि पिपराभिटा-१५ बस्ने पूर्व नेकपा सांसद हरि उप्रेतीकी छोरी हिना उप्रेती जो काठमाडौँमा रहेको हेलेन केलर नामको गैरसरकारी संस्थामा काम गर्दै आइरहनु भएको छ, उहाँले आफ्नो वडा पिपराभिट्टा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई दुई थान पीपीई र ३० थान मास्क वितरण गर्नु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको समयमा सर्लाहीका स्वास्थ्यकर्मीहरू पनि आवश्यक सुरक्षा सामग्री नहुँदा त्रासमा रहेर काम गर्नु परेकोले आफूले सङ्क्रमणबाट बचाउनका लागि काठमाडौंबाट पीपीई र मास्क लगायतको सुरक्षा सामग्री ल्याएर वितरण गर्नु परेको उप्रेतीले बताउनु भयो ।

यस अघि पूर्व सांसद उप्रेतीले उद्घाटन गरी निर्माण गराएको स्वास्थ्य चौकीमा अहिले क्वारेन्टाइन समेत बनाइएको स्थानीय बासिन्दाहरूले बताए ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार एकडारा गाउँको एक घरमा चैत २४ गते १५ भारतीय मुश्लिम किशोरहरू लुकेर बसेको अवस्थामा फेला परेका छन् ।

कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा-नाका समेत बन्द गरेको अवस्था छ । ती भारतीय मुश्लिमहरू एकडारा गाउँपालिका-५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका उनीहरू १३ वर्षदेखि १८ वर्षउमेर समूहका रहेको र भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका हुन् । उनीहरू बहेडाकै एक साथी सहित भारतको उत्तर प्रदेश स्थित एक मदरसामा पढिरहेका थिए । भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किशनगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरू बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला रायले बताउनु भयो ।

भारतीय १५ जना युवकहरू बहेडा गाउँमा लुकेर बसिरहेको बारेमा गाउँपालिका अध्यक्ष साहलाई समेत जानकारी थिएन । प्रमुख जिल्ला अधिकारी, प्रहरी एसपी सहितकाले श्रोतको माध्यमबाट त्यसबारे जानकारी पाएपछि अध्यक्ष साहलाई जानकारी गराइएको थियो ।

अध्यक्ष साहले वडा नं. ५ का वडा अध्यक्ष शेराजुद्दीन अन्सारीको सहयोगमा चैत २४ गते भारतीय युवकहरूको खोजतलास गर्दा एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका थिए । एकै घरमा फेला परेका ती सबै युवकको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा वरो जाँच गर्दा सामान्य रहेको पाइएको थियो । उनीहरूलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको अध्यक्ष साहले बताउनु भयो ।

सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मीको २४ घण्टा ड्युटी र कडा निगरानी रहेको बेला भारतीय युवकको समूह नेपाल प्रवेश गरेकामा उनीहरूको कामप्रति प्रश्न चिन्ह उठेको छ । स्थानीय बासिन्दा र वडा अध्यक्ष समेतले गाउँमा नयाँ मानिस आएको कुरा प्रहरी प्रशासनलाई जानकारी नगराएर ठूलो लापरबाही गरेको आरोप सर्वसाधारणले लगाएका छन् ।

औरही नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा भर्ना हुनेको सङ्ख्या १२ पुगेको छ । औरही नगरपालिकाको स्वास्थ्य सह-संयोजक रविन्द्र यादवले जनाए अनुसार नौ ओटै वडामा बाहिरबाट आएका र कोरोनाका शङ्कास्पद  व्यक्तिहरूलाई क्वारेन्टाइनमा भर्ना गरी निगरानीमा राखिएको छ  र यो क्रम जारी रहेको छ ।

विदेशलगायत भारतको विभिन्न स्थानबाट आएका व्यक्तिहरूमा रुघाखोकी र ज्वरो देखिएकाले उनीहरूमाथि निगरानीमा राख्न क्वारेन्टाइनमा भर्ना गरिएको र सबैको अवस्था समान्य रहेको स्वास्थ्य सह-संयोजक यादवले बताउनु भयो ।

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया उमनपा-१ र १४ मा रहेका विभिन्न मजदुर, सीमान्तकृत वर्गका १ हजार १ सय ७५ परिवारलाई नगर प्रमुख राजेशराय यादव, नगर उपप्रमुख रहीमा खातुन, वडा अध्यक्ष हरीओम सोनार र सुरेद्र जयसवाजलले स्थानीय र सुरक्षाकर्मीको सहयोगमा राहत वितरण गरेको वडा सचिव रविन्द्र कुमार नेपालले बताउनु भयो ।

त्यस्तै, महागढीमाई गउँपालिका-१ बरियारपुरमा ५ सय १५ जनालाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले राहत वितरण गर्नु भएको वडा अध्यक्ष सुदामा साहले बताउनु भयो ।

त्यस्तै, सिम्रोनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव र ११ जना वडा अध्यक्ष, वडा सदस्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकको सहकार्यमा ३ हजार परिवारलाई राहत सामग्री वितरण गरेको नगर उपप्रमुख रिमादेवी कुशवाहाले बताउनु भयो । नेपाल ट्रेड युनियन कांग्रेस बाराले परवानिपुर गाँउपालिकामा तीन श्रमिक र श्रमिकका परिवारहरूलाई मास्क र औषधियुक्त पञ्जा वितरण गरेको यूनियनका अध्यक्ष विश्वमणि शर्माले बताउनु भयो ।

स्वास्थ्यकर्मीले कुनै पनि व्यक्तिलाई कोरोना भाइरसको शङ्का र लक्षण देख्नासाथ सामान्य उपचार गरी राख्नका लागि निजगढ नगरपालिका उद्योग बाणिज्य सङ्घको सभाहल बकैयामा ३५ बेड क्षमतामा सञ्चालन भएको क्वारेन्टाइन र कोल्हवी नगरपालिका-४ सपहीमा नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयमा सञ्चालन रहेको ३५ बेड क्षमता रहेको क्वारेन्टाइनको चैत २४ गते प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अगुवाइमा अनुगमन गरेको एसपी कृष्णप्रसाद पंगेनीले बताउनु भयो । कलैया उमनपाका शैक्षिक तालिम केन्द्र रंगपुरमा सञ्चालन भएको क्वारेन्टाइनमा चैत २५ गते चितवनको इट्टा भट्टाबाट भारतको मोतिहारी-९ जान लागेका नौ जनालाई कलैयाको शिसहनीयाबाट गिरफ्तार गरी कलैया लगिएको र अस्पतालमा स्वास्थ्य परीक्षण गराई चिकित्कसका सल्लाह अनुसार शङ्कास्पद व्यक्तिहरूलाई क्वारेनटाइनमा राखेको पंगेनीले बताउनु भयो । चैत २५ गतेसम्म जिल्लामा ९५ जना क्वारेन्टाइनमा राखेर स्वास्थ्य निगरानी गरिरहेको र जिल्लामा क्यारेन्टानइनका लागि जम्मा ३ सय ७ ओटा बेड निर्माण भएको डिएसपी गौतम मिश्रले बताउनु भयो । क्वारेन्टाइनको सशस्त्र प्रहरीका एसपी दिग विजय सुवेदी, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक बिमल घिमिरे, चन्दननाथ गणका गणपती धिरज अधिकारी, कलैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद घिमिरे लगायतले अनुगमन गरी सल्लाह सुझाव दिनु भएको नगर प्रमुख राजेश राय यादवले बताउनु भयो ।

नेपाल भारत सीमाबाट नेपाली र भारतीय नागरिक वार-पार गर्न नदिनका लागि ५ सय मिटरमा सशस्त्र प्रहरीलाई पालैपालो डिउटी गर्न व्यवस्था मिलाएको साथै दुवै देशका नागरिकको रक्षा गर्न नेपाल सरकारको नीति र संयुक्त राष्ट्र सङ्घको मापदण्ड पालना गरिरहेको सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदीले बताउनु भयो । उहाँले लकडाउनको समयमा सिम्रोनगढ नगरपालिकाको गोलागञ्ज, कवही गोठ गाउँपालिकाको पंचगछीया र बिश्रामपुर गाउँपालिकाको छतवामा तीन ओटा चेक पोष्ट तयार गरी चैत २५ गतेदेखि थप निगरानी गरेको बताउनु भयो । उहाँले लुकीछिपी सीमापार गरेर आउने र जानेलाई स्थानीयको सहकार्यमा कडाई गरेको बताउनु भयो ।

Table20200408Bara

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले पाँच जनाको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बताउनु भएको छ । उनीहरूको स्वाब परीक्षण गरिएको र हालसम्म तीन जनाको नतिजा निगेटिभ आएको र दुई जनाको रिपोर्ट आउन बाँकी रहेको यादवले बताउनु भयो ।

लकडाउनको अवज्ञा गर्दै चलाएका सवारी साधनहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेले बताउनु भएको छ । चैत २५ गते लकडाउनको उल्लङ्घन गरेको आरोपमा २५ ओटा मोटर साइकल, एउटा एम्बुलेन्स, एउटा ट्रयाकटर र एउटा ट्रक गरी २८ ओटा सवारी साधनलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको डिएसपी घिमिरेले बताउनु भयो ।

मिर्चैया नपा-२ मा चैत २४ गते राहत वितरणको विषयलाई लिएर दुई पक्ष बीच झडप भएको छ । नेपाली कांग्रसेका अमोद यादवले दलित बस्तीमा राहत वितरणको विषयमा मिर्चैया नपा-२ का वडा अध्यक्ष लक्षमेश्वर कापर, मेयर श्रवण यादव र आमोद यादव पक्ष बीच विवाद हुँदा झडप भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो । झडपबाट अमोद र वडा अध्यक्ष कापर सामान्य घाइते भएको डिएसपी जैसवारले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरूलाई निगरानीमा राख्ने क्रम जारी रहेको बताउनु भएको छ । उहाँका अनुसार केही व्यक्तिहरू क्वारेन्टाइनमा बसेर गइसकेका छन् भने चैत २५ गतेसम्म ६ जना महिला १ सय १७ जना पुरुष गरी १ सय २३ जना बसिरहेको बताउनु भयो । त्यसैगरी होम क्वारेन्टाइनमा १ महिला गरी ७७ जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

कोरोनाको महामारीको सङ्क्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आइसोलेशन बेड र १७ ओटै स्थानीय तहको १९ स्थानमा गरी २ सय ४६ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिनु भयो । आवश्यकता अनुसार बेड सङ्ख्या थप्न सक्ने अधिकारी गुरागाईले बताउनु भयो ।

भारत तथा विदेशबाट आएका ४ सय ६८ जनाको पहिचान भएको र उनीहरूलाई होम क्वारेनटाइन तथा सेल्फ क्वारेनटाइनमा राखेर निगरानीमा राखेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । त्यसगरी क्वारेन्टाइनमा बस्ने बिरामीहरूका लागि खाने बस्ने सम्पूर्ण व्यवस्थाहरू स्थानीय तहले गरेको, सुरक्षा तथा उपचारका लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको जानकारी प्रमुख जिल्ला अधिकारी गुरागाईले दिनु भयो ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बस्दै आएका दुई महिला र ३५ पुरुष दुई साताको क्वारेन्टाइन बसाइपछि चैत २५ गते घर फर्किएका छन् ।

राजविराज नगरपालिका-२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलका एक महिला र नौ पुरुष, कञ्चनरूप नपा-८ स्थित सर्वोदय माविका १० पुरुष, बिष्णुपुर गाउँपालिका-७ स्थित जनता मावि बिष्णुपुर कट्टीमा नौ पुरुष तथा छिन्नमस्ता गाउँपालिका-३ स्थित चौरसिया धर्मशालाका एक महिला र सात पुरुष घर फर्किएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि उहाँहरू सकुशल घर फर्किएको बताउनु भयो । यादवका अनुसार क्वारेन्टाइनबाट घर फर्किएकाहरूलाई समेत घरमै सुरक्षित बस्न निर्देशन दिई आफन्तको जिम्मा लगाएर घर पठाइएको छ ।

मजदुरीका लागि भारत, मलेशिया, साउदी अरब, कतारलगायत विभिन्न देश गएका उहाँहरू नेपाल फर्किएपछि क्वारेन्टाइनमा बस्नु भएको थियो । चैत लागेपछि विदेशबाट आउने र भारतमा कोरोना सङ्क्रमण फैलन थालेपछि गाउँ फर्किएकाहरूलाई सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राखिएको थियो । अन्य मुलुकबाट भन्दा भारतबाट आउनेहरूको सङ्ख्या धेरै छ । क्वारेन्टाइनमा रहेकाहरू कसैलाई पनि कोरानासँग मिल्दो मात्रै होइन अरू स्वास्थ्य समस्या पनि नदेखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

यसैगरी महादेवा गाउँपालिका-३ स्थित मावि बथनाहामा ६, सुरुङ्गा नगरपालिका-५ स्थित मसिलाल मावि कुशहामा चार, राजगढ गाउँपालिका-३ स्थित जसमावि नर्र्घोमा तीन र अग्नीसाइर कृष्णसवरण गाउँपालिका-१ स्थित जनचेतना मावि घोघिदाहामा एक गरी थप १४ पुरुषलाई चैत २५ गते क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सप्तरीमा बनाइएको क्वारेन्टाइनहरूमा बस्ने भन्दा घर फर्किनेको सङ्ख्या बढेपछि क्वारेन्टाइनमा चैत २५ गते सात महिला र २ सय २० पुरुष रहेका छन् ।

यस्तै कोरोना सङ्क्रमणको आशङ्कामा सप्तरीको राजविराजस्थित आइसोलेशनमा भर्ना भएकी एक महिलाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई पनि घर फर्काइएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा बसेकी कञ्चनरूप नगरपालिका-११ गोरपारकी महिलाको रिपोर्ट नेगेटिभ आएको र वरो लगायत अन्य स्वास्थ्य समस्या नरहेपछि घर फर्काइएको अस्पतालका प्रमुख डा. चुमनलाल दासले जानकारी दिनु भयो ।

छिन्नमस्ता गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) महामारीमा ज्यान गुमाउने जनप्रतिनिधि र स्वास्थ्यकर्मीको परिवारलाई १५ लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका जनप्रतिनिधी र स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएमा आश्रति परिवारलाई १५ लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले जानकारी दिनुभयो ।

यस्तै विपद् व्यवस्थापन कोषमा विनियोजित २५ लाख रुपियाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपयोग गरिने उहाँले जानकारी दिनु भयो । कोरोना भाइरस र लकडाउनले प्रभावित श्रमिक, गरिब किसान, विपन्नको तथ्याङ्क सङ्कलन गर्न चैत २४ गतेदेखि वडा अध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ । प्रदेश सरकारबाट आएको १० लाख र गाउँपालिकाको १० लाख रुपियाँ गरी २० लाख रुपियाँ राहत वितरणका लागि छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष मण्डलले राहतका लागि ८ हजार थान साबुन, १५ हजार थान मास्क, २ हजार मन चामल, १ सय मन दाल, ४ हजार लिटर खानेतेल, ८ हजार किलो नुन, २ सय क्विन्टल आलु र ५० क्विन्टल चिउरा टेण्डर कोटेशन गरी खरिद गर्न लागिएको बताउनु भयो । यस वर्ष विकासका बजेट समेत कोरोना रोकथाम र नियन्त्रणमै खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार छिपहरमाई गाउँपालिकाले आफ्नो पालिकाभित्र १ हजार ६ सय परिवारलाई राहत उपलब्ध गराउनु पर्ने तथ्याङ्क सङ्कलन गरेको छ । गाउँपालिकामा ९ हजार घरधुरी रहेका छन् । गाउँपालिकाले सर्वदलीय बैठक राखी कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको आव्हानलाई पालना गर्दा समस्यामा परेका श्रममा आधारित घरपरिवारलाई राहत उपलब्ध गराउने नीति बनाएको थियो । सोही अनुरुप नेपाल सरकारले तयारको मापदण्ड अनुसार राहत वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले बताउनु भयो ।

गाउँपालिकाले आज वडा नं. ५ भस्विाका ३ सय ७० परिवारलाई चामल ३० किलो, दाल ३ किलो, आलु २ किलो, प्याज १ किलो, खाने तेल २ लिटर, नुन २ किलो, सोयाबीन २ सय ५० ग्राम र साबुन ४ थानका दरले राहत वितरण गरेको थियो । प्रति परिवार राहत प्याकेजलाई २ हजार ३ सय रुपियाँ परेको अध्यक्ष गुप्ताले बताउनु भयो ।

प्रदेश सरकारबाट राहत वितरणका लागि प्राप्त अनुदान र गाउँपालिकाको बिपद् व्यवस्थापमा राखिएको रकमबाट राहत बाँड्ने काम गरिएको अध्यक्ष गुप्ताले बताउनु भयो ।

छिपहरमाई गाउँपालिका पर्सा जिल्लाको पश्चिमी दक्षिण भारतसँग जोडिएको गाउँपालिका हो । भारतसँगको खुला सीमाका कारण उताबाट मानिसहरू नेपाल प्रवेश गर्न सक्ने कुरालाई पनि पालिकाले गम्भिरतापूर्वक लिएको गुप्ताको भनाइ छ ।

मिर्जापुरमा नयाँ गस्ती पोष्ट खडा गरिएको उहाँले जानकारी दिनु हुँदै त्यहाँबाट वडा नं. १ र २ मा प्रवेश गर्न चाहनेहरूलाई रोकिने र भिस्वामा भएको चौकीले ३ र ५ को सीमा निगरानी गर्ने गरी मिलाइएको उहाँले बताउनु भयो । पालिकासँग १२ जना गाउँ प्रहरी छन् । आठ ओटा मोटरसाइकल पेट्रोलिङ्गका लागि परिचालित  छन्  । पाँच वडामा विभाजित गाउँ प्रहरीसँग सूचना प्रवाहका लागि वकीटकीको व्यवस्था छ । जसले गर्दा सूचना प्रवाह र समस्या समाधानमा प्रभावकारी काम हुन सकेको अध्यक्ष गुप्ताले बताउनु भयो ।

गुप्ता आफै वकीटकी बोकेर मैदानमा उत्रिन्छन् र सूचना आउने बित्तिकै कोसँग समन्वय गर्ने फटाफट गरिहाल्छन् । अहिले राहत वितरणमा गाउँ प्रहरी र प्रविधिको प्रयोगले निकै प्रभावकारी काम हुन सकेको गुप्ताले बताउनु भयो ।

पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा अहिले १२ जनालाई राखिएको छ । उनीहरूलाई बिहानको खाजा १० बजे, खाना दिउँसो, चिया, खाजा र बेलुकाको खानाको व्यवस्था गाउँपालिकाले गरेको छ । क्वारेन्टाइनमा इन्टरनेट सेवा पनि जोडिएको अध्यक्ष गुप्ताले बताउनु भयो ।

अन्य

भिडियो