इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २५ गते पठाउनु भएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेश अन्तर्गत स्थानीय तहले गरिरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण गरिएको छ ।
इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार अमरगढी नगरपालिका-४ ले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित अतिविपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरेको छ ।
लकडाउनका कारण समस्यामा परेका अमरगढी नगरपालिका-४ का अतिविपन्न, असहाय, ज्यालामजदुरी गर्ने ३० परिवारलाई चैत २५ गते सामाजिक दुरी कायम गरी राहत वितरण गरिएको पालिकाका अन्य वडाका असहाय नागरिकहरूलाई घरघरमै गएर राहत वितरण गरिने वडा अध्यक्ष दिपेन्द्र थापाले बताउनु भयो ।
वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द भएकाले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने नागरिकहरूलाई बिहानबेलुकीको छाक टार्न समस्या हुँदै गएको छ । यद्यपी स्थानीय तहबाट सुरु गरिएको राहत वितरण कार्यले उनीहरूलाई केही राहत पुगेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न अमरगढी नगरपालिकाले सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन सुरु गरिएको छ । दमकल प्रयोग गरेर नगरमा कीटनाशक औषधि छर्कन थालेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताउनु भयो ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार कोराना भाइरसको सम्भावित सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लकडाउनको समयावधि थप्दै लगेको भए पनि जिल्लाको महाकाली नदी तरेर नेपाल भित्रिने क्रम रोकिएको छैन ।
भारतका विभिन्न ठाउँमा मजदुरी गरेर नेपालीहरू धमाधम महाकाली नदी तरेर घर फर्किरहेका हुन् । भारतको उक्ला क्षेत्रमा काम गर्दै आएका नौगाड गाउँपालिकाका ६ जना चैत २४ गते मध्यराती महाकाली नदी तरेर नेपाल भित्रिएका हुन् ।
मालिकार्जुन गाउँपालिकाको बाकुमा ट्युब तरेर नौगाड गाउँपालिका-१ का कृष्णसिंह ठगुन्ना, भरत ठगुन्ना, धनबहादुर ठगुन्ना र वडा नम्बर ४ का प्रेमसिंह धामी, जगत ठगुन्ना र वडा नम्बर ५ का प्रकाश टमटा नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् व्यवस्थापन संयोजक भुवन जोशीले बताउनु भयो ।
नेपाल भित्रिएका उनीहरूलाई जौलजीवी प्रहरी चौकीले १० बजे राती सदरमुकाम खलङ्गास्थित महेन्द्र नमूना मावि खलङ्गाको क्वारेन्टाइनमा पुर्याइएको जौलजीवी प्रहरी चौकी इन्चार्ज हरि पन्तले जानकारी दिनु भयो ।
यसअघि चैत २३ गते महाकाली नदी तरेर १० जना भित्रिएका थिए । मालिकार्जुन गाउँपालिका-६ को डिन्सी भएर सात जना र बाकु भएर तीन जना नेपाली नेपाल भित्रिएका हुन् ।
डिन्सी भएर नेपाल फर्किनेमा मार्मा गाउँपालिका-५ का जगदीश बोहरा, प्रकाश बोहरा, उमेश बोहरा, राजेन्द्र महता, जनक महता, रमेश महता र राजेन्द्र महता रहेका छन् । उनीहरू ६ दिनदेखि जिआइसी जौलजीवीको क्वारेन्टाइनमा थिए ।
यस्तै उकुको सलेतीमा ट्युब तरेर तीन जना नेपाल भित्रिएका हुन् । शनिबार राती मार्मा गाउँपालिका-५ का विजय महता, महाकाली नगरपालिका-२ का रुपसिंह सितोली र सन्तोष सितोली नेपाल भित्रिएका थिए उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी जिम्मा लगाइएको नगरपालिकाले जनाएको छ ।
यसअघि ट्युब, तुईन, ढुङ्गामा हामफालेर र महाकाली नदीमा पौडिएर ८१ जना बढी नेपाल भित्रिइसकेका छन् ।
कैलालीको गौरीफन्टा नाका भएर भित्रिएका दार्चुला महाकाली नगरपालिकाका दुई जना र नौगाड गाउँपालिकाका चार जना गरी ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गौरीफन्टा नाका भएर भित्रिएका दुई जनामा कोराना भाइरसको सङ्क्रमण देखिएपछि अहिले हरेक जिल्लामा भित्रिएका व्यक्तिहरूको खोजी भइरहेको छ ।
महाकाली नगरपालिकाले गौरीफन्टा नाका भएर भित्रिएका वडा नम्बर २ का विक्रम लुहार र श्रीराम लुहारलाई चैत २५ गते क्वारेन्टाइनमा राखिएको नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनु भयो ।
गत चैत ११ गते गौरीफन्टा नाका भएर दार्चुला आएका उनीहरू १५ दिनपछि क्वारेन्टाइनमा ल्याइएको हो । नगरपालिकाका नौ जना व्यक्ति गौरीफन्टा नाका भएर आएका थिए । जसमा सात जना व्यक्ति भने घरमै सेल्फ क्वारेन्टाइन बसेको पाइएको संयोजक जोशीले बताउनु भयो । महाकाली नगरपालिकाको क्वारेन्टाइनमा चैत २५ गतेसम्म २६ जना रहेका छन् ।
कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका ६ ओटा स्थानीय तहमा कोष स्थापना गरिएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका एक नगरपालिका र पाँच गाउँपालिकाले छुट्टाछुट्टै कोराना विपद् कोष निर्माण गरेका छन् ।
शैल्यखिर नगरपालिकाले २५ लाख, मार्मा गाउँपालिकाले १५ लाख, नौगाड गाउँपालिकाले १२ लाख ७४ हजार, अपिहिमाल गाउँपालिकाले २५ लाख, दुहुँ गाउँपालिकाले १५ लाख र मालिकार्जुन गाउँपालिकाले ५० लाख रुपियाँ लागतको विपद् कोष बनाउने भएको छ ।
मालिकार्जुन गाउँपालिकाले कोराना भाइरस रोकथाम र नियन्त्रणका लागि हरेक स्वास्थ्य संस्थालाई २० हजार रुपियाँ तथा वडा कार्यालयलाई २ हजार रुपियाँ व्यवस्थापन खर्च दिने निर्णय गरेको छ ।
महाकाली नगरपालिकाले चैत २६ गतेदेखि नौ ओटै वडामा सुपथ मूल्यका पसल सञ्चालन गर्ने तयारी गरेको छ । महाकाली नगरपालिकाको नगर कार्यपालिकाको चैत २५ गते बसेको बैठकले बन्दाबन्दी (लकडाउन) समय एक साता थप गरिएको कारण चैत २६ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
बन्दाबन्दीका कारण गरिब मजदुर, असङ्गठित मजदुर र आर्थिक अभावका कारण समस्यामा परेका व्यक्तिहरूको लागि सहजरूपमा खाद्यान्न उपलब्ध होस् भन्नको लागि तत्कालै सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रवक्ता पुष्करराज जोशीले जानकारी दिनु भयो ।
सुपथ मूल्य पसल स्थानीय प्रशासनले जारी गरेको बिहान ७:३० देखि ९ बजेसम्म मात्रै सञ्चालन हुने छन् । यस्तै बैठकले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरूलाई उपलब्ध गराउने राहतसम्बन्धी मापदण्ड २०७६ संशोधन गरेर राहत वितरण गर्ने निर्णय गरेको छ । राहत वितरणको लागि नौ ओटै वडाबाट तत्काल तथ्याङ्क सङ्कलन गरिने भएको छ ।
यसैबीच मालिकार्जुन गाउँपालिकाले कृत्रिम अभाव र कालोबजारी हुन नदिन अनुगमन गर्ने तथा सहज आपूर्तिको व्यवस्था गर्ने जनाएको छ । गाउँपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्मको समय अवधिमा मात्रै खाद्यान्न पसलहरू खुला गर्ने निर्णय गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
लेकम गाउँपालिकाले हरेक वडाबाट असङ्गठित मजदुर र असहाय विपिन्नहरूलाई राहत वितरणको लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण भट्टले बताउनु भयो ।
अपिहिमाल गाउँपालिका-२ ले कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण रोकथाम तथा न्यूनिकरणका लागि एउटा वडाबाट अर्को वडा र एक बस्तीबाट अर्को बस्तीमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । वडासमिति र सरोकारवालाहरूको चैत २५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउनसँग अन्तरप्रदेश, अन्तरजिल्ला र अन्तरस्थानीय तहको आवतजावतमा रोक लगाए पनि सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएकाले एक वडाबाट अर्को वडामा प्रवेश गर्न प्रतिबन्ध लगाएको सार्वजनिक अपिलमार्फत सार्वजनिक गरेका छन् ।
लकडाउनमा अटेर गर्नेलाई कारबाही गरिने पनि शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताउनु भयो ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार बेलडाँडी गाउँपालिका-२ मा अतिविपन्न ३ सय घरधुरी परिवारलाई बेलडाँडी गाउँपालिकाले चैत २५ गते राहत वितरण गरेको छ ।
बेलडाँडी गाउँपालिका-२ का वडा अध्यक्ष प्रेमराज खातीले बेलडाँडी गाउँपालिकाको सबैभन्दा बढी घरधुरी हुनुका साथै सबैभन्दा विपन्न घरधुरी भएको वडासमेत भएकाले ३ सय घरधुरीका मजदुरी गरी खाने परिवारलाई राहत वितरण गरेको बताउनु भयो ।
विपन्न परिवारको लिस्ट तयार गरी सोही अनुसार राहतमा प्रति परिवार १५ किलो चामल, एक किलो दाल, एक किलो नुन, एक पोका तेल र एक सावुन वितरण गरेको बताउनु भयो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्नका लागि जिल्लामा हालसम्म ४ सय २६ जनाको क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएका छन् ।
जिल्लाका नौ ओटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २ सय १० जना मात्रै बस्दै आएका छन् । उनीहरू सबै भारत र अन्य मुलुकबाट फर्किएकाहरू नै हुन् ।
यस्तै कूल १९ आइसोलेट बेडमध्ये कोही पनि बसेका छैनन् । महाकाली अस्पतालमा आठ, बेदकोट नगरपालिकामा ६ र बेलौरी नगरपालिकामा पाँच बेड गरी १९ बेडको आइसोलेसन बेड तयार गरिएको भए पनि हालसम्म आइसोलेसन बेडमा कोही पनि भर्ना भएका छैनन् । जिल्लामा करीब ५ हजार बढी नागरिकहरू भारत र अन्य मुलुकबाट फर्किएको तथ्याङ्क रहेको छ ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीका अनुसार काठमाडौँबाट आएको तालिम प्राप्त टोलीले जिल्लामा कोरोना भाइरसको र्यापीड टेस्ट चैत २५ गतेदेखि सुरु गरेको छ । टोलीले जिल्लाको गोदावरी नगरपालिकामा रहेको तेघरी व्यारेकको क्वारेन्टाइनमा राखिएका २१ जनाको नमूना सङ्कलन गरिएको जनाएको छ । नमूना सङ्कलनमा खटिएको टोलीको सहजीकरण गरिरहेका स्वास्थ्य कार्यालय, कैलालीका ल्याब टेक्निसियन नारायण ढुङ्गानाले नेपाली सेनाको व्यारेकमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका २१ जनाको रगत र थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको बताउनु भयो ।
टोलीले कञ्चनपुर जिल्लास्थित आइसिएच भवनको क्वारेन्टाइनमा राखिएका ७० जनाको रगत र थ्रोट स्वाबको नमूना सङ्कलन गरिने बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भएपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तयार गरिएका क्यारेन्टाइनमा राखिएका व्यक्तिहरूको नमूना सङ्कलन शुरु गरिएको हो ।
इन्सेक डोटी जिल्ला प्रतिनिधि बासुदेव जोशीका अनुसार सरकारले जारी गरेको लकडाउन पूणरूपमा कार्यान्वयन भएको छ । भारत तथा अन्य मुलुकबाट फर्किएकाहरूमध्ये हालसम्म ४ सय २४ जनालाई जिल्लाका विभिन्न.स्थानमा तयार गरिएका क्वारेन्टाइनमा राखिएको छ ।
पूर्वीचौकी गाउँपालिकाले सङ्कटको समयमा स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ४० देखि ६० प्रतिशतसम्म प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।
जिल्ला अस्पताल, डोटीका स्वास्थ्यकर्मीलाई उपचारका क्रममा चाहिने अतिआवश्यक सुरक्षा सामग्री अभाव भएपछि डोटी जिल्लाबाट नेकपाका तर्फबाट प्रतिनिधिसभाका सदस्य प्रेम आलेले २ सय ओटा सेनिटाइजर, ५० ओटा पीपिइ, १ हजार जोडी सुजकभर, १ हजार ओटा टोपी, १ हजार २ सय जोडी ग्लोब्स र १ हजार थान मास्क हस्तान्तरण गर्नु भएको जिल्ला अस्पताल, डोटीले जनाएको छ ।
जिल्लामा सङ्घसंस्था तथा व्यक्तिहरूले आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाउने भएका छन् ।
सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले कसैको राहत विवरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालय स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो ।
आफूखुसी राहत सङ्कलन गर्ने र वितरण गर्ने वा गराउनेलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीका अनुसार सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको भए पनि यसको पूर्ण कार्यान्वयन भएको छैन । लकडाउनकै समयमा जिल्लामा मनाइने ऐतिहासिक तथा धार्मिक मेला भीडभाडका साथ सञ्चालन भएको छ ।
सरकारले लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम, सभासम्मेलन तथा अनावश्यक भीडभाड गर्न रोक लगाएको भए पनि जिल्लाको छविसपाथिभेरा गाउँपालिका-३ मा मनाइने बान्नीकी चैतली मेलामा स्थानीयको घुइचो लागेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष राधिका रताला जोशीले चैतली मेलामा भीडभाड गरी मनाउन रोक लगाएको भए पनि स्थानीयले अटेरी गरेको बताउनु भयो ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोना भाइरसको सङ्क्रमणको परीक्षणका लागि चैत २५ गते १ सय ६८ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य मन्त्रालयले खटाएको स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको हेलिकप्टरबाट आएर सदरमुकाम मङ्गलसेनका दुई स्थान र वयलपाटाका अस्पतालबाट नमूना सङ्कलन गरिएको हो ।
मङ्गलसेनस्थित क्वारेन्टाइनमा ५१ पुरुष र १३ महिला, जिल्ला अस्पतालमा ४९ पुरुष र चार महिला र वयलपाटा अस्पतालमा ६ महिला र ४५ पुरुषको स्वाब सङ्कलन गरिएको छ । आइसोलेसन र क्वारेन्टाइनमा राखिएका, होम क्वारेन्टाइनमा बसेका र कोरोना भाइरससँग मिल्दो लक्षण भएका, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ ।
सङ्कलित स्वाब चैत २५ गते नै काठमाडौँ लिएर पिसिआर विधिबाट परीक्षण गरेर नतिजा निकाल्ने अछाम अस्पतालका मेडिकल अधिकृत डाक्टर अतुल भारद्वाजले जानकारी दिनु भयो । कमलबजारमा स्वाब सङ्कलन गर्न नाम दर्ता गरिएका ६० जनाको के गर्ने भन्नेमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनु भयो । रोजगारीको क्रममा भारतमा रहेका अधिकांश व्यक्ति भारतबाट अछाम फर्केका छन् ।
इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहले आ-आफ्नो केन्द्र वा पाएक पर्ने स्थानका विद्यालय वा स्वास्थ्यचौकीहरूमा क्वारेन्टाइन तयार गरेका छन् । तर, तयार गरेका सबै क्वारेन्टाइनहरू सरकारले तयार पारेको मापदण्ड अनुसार तयार गरिएका छैनन् । जिल्लामा २ सय १९ जना राख्ने क्षमताका नौ ओटा क्वारेन्टाइनमा हाल १ सय १७ जना राखिएका छन् ।
तयार गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार नभएको र राखिएका व्यक्तिहरूलाई क्वारेन्टाइन मापदण्ड अनुसार सुविधा दिन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समीर भण्डारीको बताउनु भयो ।
‘प्रदेश सरकारले बनाएको निर्देशिका ठीक हो । तर, हाम्रो जस्तो भूगोलमा निर्देशिका काम लाग्दैन । व्यवहारीकताको आधारमा काम चलाउनु परेको छ ।’ भण्डारीले भन्नु भयो ।
मापदण्ड अनुसार सुपरीवेक्षणको लागि एमपीएच वा एमडी एक जना, आठ घण्टाको सिफ्ट, मेडिकल अधिकृत एक जना, प्यारा मेडिकल एक जना, ल्याब टेक्निसियन एक जनालगायत थुपै स्वास्थ्यकर्मीको टीम हुनुपर्ने व्यवस्था रहेको छ ।
क्वारेन्टाइमा राखेकाहरूको लागि अहेब अनमीहरूले सामान्य चेकजाँच गरिरहेको स्वार्मीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताउनु भयो ।
हालसम्म बडिमालिका नगरपालिकाको मालिका माविमा ३५ जना, कालिका आधारभूत विद्यालयमा तीन जना, त्रिबेणी नगरपालिकाको तोली स्वास्थ्य चौकीमा १८ जना, बुढीगङ्गा नगरपालिकाको टाँटे स्वास्थ्यचौकीमा चार जना, त्रिशक्ति माविमा आठ जना र थुमा माविमा दुई जना, खप्तड छेडेदह गाउँपालिकाको मष्टेश्वरी माविमा चार जना, स्वामीकार्तिक खापर गाउँपालिका केन्द्र सुईजीउलामा ३४ जना र गौमुल गाउँपालिकाको कृर्तिचौर माविमा नौ जना गरी १ सय १७ जना क्वारेन्टाइनमा राखिएका छन् ।
नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेसँगै हलिया परिवारले काम पाउन छाडेपछि दैनिक ज्यालादारी गरेर परिवार पाल्ने हलिया बस्तीमा भोकमारी भएको छ ।
नेपाल सरकारबाट कुनै पनि जग्गा जमिन नभएका १५ हलिया परिवारलाई बुढीनन्दा नगरपालिका-१ को तिथिचौरमा घर बनाएर बसालेका थिए । घर नेपाल सरकारले बनाइ दिए पनि दैनिक ज्यालामजदुरी र साहुको काम गरेर साँझ बिहानको छाक टारी रहेका हलिया परिवार १४ दिनसम्म भोकै बस्नु परेको स्थानीय रङ्गी लुहारको दुखेसो रहेको छ ।
बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीले हलिया परिवारदेखि अन्य दैनिक ज्यालादारी गरेर खानेहरूलाई समस्या भएकोले नगरपालिकाले स्थापना गरेको आपतकालिन कोषबाट राहत उपलब्ध गराउने बताउनु भयो ।
नोबेल कोरानाबाट बच्न कर्णाली प्रदेशका बाजुरासँग जोडिएका सबै नाकामा तारबार लगाइएको छ । बाजुरासँग सीमाना जोडिएका कर्णाली प्रदेशका हुम्ला, मुगु र कालीकोट जिल्लाका नाका बन्द गरिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा चार जनामा कोराना पोजेटिभ देखिएपछि जिल्लामा पनि उच्च सतर्कता अपनाइएको छ ।
नगर र गाउँपालिकाको बैठक बसी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक लगाइएको छ । स्थानीय तहसँगको सीमानामा स्वयम्सेवक परिचालन गरेर आवतजावत रोकेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिनु भयो ।