INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण–इन्सेक

कोरोना भाइरस(कोभिड–१९) विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरिरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कोभिड–१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये ८ ओटा छिमेकी मुलुकसँग सिमाना जोडिएका जिल्लाहरूलाई प्राथमिकतामा राखी कोरोनासँग जुध्ने कार्य भईरहेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ०७६ चैत २४ गतेसम्ममा कोरोना भाइरससँग लड्न ३ हजार ७ सय १२ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ४१ वटा आइसोलेशन वेडको व्यवस्था गरिएको छ । प्रदेश भरी चैत २४ गते सम्म ७ सय ७१ थान पीपीई (प्रर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ ।

प्रदेश १ मा यस अवधिमा ८५ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ६९ जनाको रिपोर्ट नेगेटिभ र १६ जनाको रिपोर्ट आउन बाँकी छ । चैत २४ गते सम्म प्रदेश १ का ११ ओटा जिल्लामा पीपीइ वितरण भएको छ । जसमा झापामा १ सय ओटा, मोरङमा ३६ ओटा, सुनसरीमा १२ वटा, तेहृथुममा १ सय ५७ ओटा, सङ्खुसभामा ९३ ओटा, भोजपुरमा १ ओटा, खोटाङमा २२ ओटा, इलाममा ३० ओटा, सोलुखुम्बुमा १ सय ४६ ओटा, उदयपुरमा १ सय ६४ ओटा र पाँचथरमा १० ओटा वितरण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

चैत २४ गते सम्म प्रदेश १ मा ४ सय ६१ जना पुरूष र ४० जना महिला गरी ४ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा २ हजार ४ सय ७८ जना पुरूष र ५ सय ३९ जना महिला गरी ३ हजार १७ जनालाई राखिएको छ । प्रदेश १ मा झापामा ३ सय ७६ जना, मोरङमा ६ सय ५० जना, सुनसरीमा ३ सय ६६ जना, धनकुटामा ९४ जना, तेहृथुममा १ सय २० जना, सङ्खुवासभामा १ सय १५ जना, भोजपुरमा २ सय ६८ जना, खोटाङमा २ सय ८० जना, इलाममा २ सय ७७ जना, ओखलढुङ्गामा १ सय ८६ जना, सोलुखुम्बुमा ३ सय ८० जना, उदयपुरमा ३ सय ९६ र पाँचथरमा २ सय ४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रदेश १ मा ४ सय ४१ वटा आइसोलेशन वेडको निर्माण गरिएको छ । झापामा २७ ओटा, मोरङमा १ सय ३६ ओटा, सुनसरीमा १ सय ४ ओटा, धनकुटामा १२, तेहृथुममा १४ ओटा, सङ्खुवासभामा १६ ओटा, भोजपुरमा ९ ओटा, खोटाङमा ५ ओटा, इलाममा २ ओटा, ओखलढुङ्गामा ११ ओटा, सोलखुम्बुमा २९ ओटा, उदयपुरमा ४२ ओटा, पाँचथरमा २३ ओटा र ताप्लेजुङमा ११ ओटा आइसोलेशन वेड तयार गरिएको छ ।

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २४ गते सम्म मोरङमा १ सय ३८ जना पुरूष र ६ जना महिला गरी १ सय ४४ जनालाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ । त्यसैगरी ९ सय ८३ जना पुरूष र २ सय १२ जना महिला गरी १ हजार १ सय ९५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा चैत २४ गते सम्म ७३ ओटा फिवर क्लिीनिक मार्फत ५ सय ९३ जना महिला र ६ सय ३५ जना पुरूष गरी  १ हजार २ सय २८ जनाको ज्वरो मापन गरिएको छ । मोरङमा १४ जनाको स्वाब परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट नगेटिभ र ३ जनाको रिपोर्ट आउन बाँकी छ । २ जना आईसोलेशनमा भर्ना भएका छन् । मोरङमा चैत २४ गते सम्म सम्भावित सङ्क्रमितको सङ्ख्या २ सय ७३ जना रहेको छ ।

सकारात्मक प्रयास– प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा चैत २४ गतेसम्ममा ११ करोड ६५ लाख रुपियाँ जम्मा भएको छ । कोषमा ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपियाँ जम्मा भएको हो । कोषमा  चैत २४ सम्म थप ५ लाख ९२ हजार ७ सय ४२ रुपियाँ प्राप्त भएको छ । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोषमा बैङ्क, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।

लायन्स क्लब अफ मिल्स एरियाले विराटनगरका ३ सय २० परिवारलाई खाद्यान्न वितरण गरेको छ । विराटनगरको दक्षिणी वडाहरू वडा–१५,१६ र १७ का विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । लकडाउनबाट सबभन्दा बढी विपन्न परिवार नै प्रभावित भएकाले क्लबमार्फत राहत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष कैलाश साहले बताउनुभयो । प्रतिपरिवार चामल १० किलोसहित दाल, नुन, तेल, आलु, चिउराभुजा र साबुन सहितका सामग्री वितरण गरिएको छ । प्रतिपरिवारलाई १ हजार रुपियाँ मूल्य बराबरको सामग्री वितरण गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाले चैत २४ गते वडा –११ को मरिक टोल र व्रह्मपुराका २ सय ५० जनालाई  राहत प्रदान गरेको छ । महानगरले चामल १२ केजी, दाल डेढ केजी, आलु दुई केजी, आधा लिटर खाने तेल, एक केजी नुन र एउटा साबुन रहेको छ । महानगरले आगामी तीनदिनभित्र २६ हजार विपन्न नगरवासीहरुलाई राहत खाद्यान्न वितरण गरीसक्ने जनाएको छ ।

मोरङ क्षेत्र ६ का सांसद एवम् पूर्वमन्त्री लालबाबु पण्डितले बुढीगङ्गा गाउँपालिकाका विपन्न परिवारहरूलाई ५० बोरा चामल १० बोरा आलु वितरण गर्नुभएको छ । विराटनगर उपमहानगरपालिका ५ र ७ को कारखाना टोल, हरियाली टोलका १ सय ६१ विपन्न परिवारलाई  समेत खाद्यान्न वितरण गरिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकामा वसोवास गर्ने विपन्न परिवारलाई वितरण गर्न  १ हजार ५ सय  सय  किलो चामल र १ सय ५० किलो नुन नगरपालिकालाई हस्तान्तरण गरेको स्वकीय सचिव मनोज राईले बताउनु भयो ।

ओखलढुङ्गा प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार चैत २४ गते जिल्लामा १ सय ५८ वेडको क्वारेन्टाइन निर्माण गरी १३ जना राखिएको छ । आठ वेडको आइसोलेशन कक्ष निर्माण गरिएकोमा २ जनालाई राखिएको छ । उनीहरुको स्वाब परीक्षण चैत २१ गते भएकोमा रिर्पोट निगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनुभयो ।

सकारात्मक प्रयास– कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित तथा सङ्क्रमण आशङ्का गरिएका बिरामी राख्न निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार नभएको इन्सेक अनलाइनलगायत सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सङ्घीय प्रतिनिधि सभाका सदस्य सांसद यज्ञराज सुनुवार, प्रमुख जिल्ला अधिकारी गणेश आचार्यसहितको टोलीले मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिकाको क्वारेन्टाइन अनुगमन गरेको छ । अनुगमनका क्रममा क्वारेन्टाइनमा राखिएका व्यक्तिको समेत स्वाब परीक्षण गर्न र क्वारेन्टाइन मापदण्ड अनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ । यस्तै शंङ्कास्पद सङ्क्रमितको स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा  स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) २१ थान र २ चरणमा गरी ३ हजार ३ सय थान माक्स सोम सुनवारले व्यक्तिगत तर्फबाट जिल्लास्थित कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित कमाण्ड पोष्टलाई हस्तान्तरण गर्नुभएको छ । त्यस्तै सुनकोसी गाउँपालिका अध्यक्ष रूद्रप्रसाद अधिकारी गाउँपालिका केन्द्र नबसेको अनुगमन प्रतिवेदन इन्सेक अनलाइनलगायत सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिका केन्द्र पुग्नुभएको छ । चैत २२ गते नै कार्यपालिका बैठक बसेर २० लाख रुपियाँको कोरोना सङ्क्रमण,रोकथाम तथा उपचार कोष निर्माण गर्ने निर्णय भएको छ ।

झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २४ गते सम्मको अवधिमा झापाका १५ ओटा पालिकाले २३ स्थानमा क्वारेन्टाइन निर्माण गरेका छन् । ६ सय ८ जना क्षमताको क्वारेन्टाइन झापामा निर्माण गरिएको छ । चैत २४ गतेसम्म झापमा १ सय ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा राखिएकाको सङ्ख्या १ हजार ४१ जना रहेको छ । आठ वेडको आइसोलेशनमा सात जनालाई राखिएको छ । ७ जनाको स्वाब परीक्षण भएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिर्पोट आउन बाँकी छ । झापामा ३० जना डाक्टर,१ सय ३३ जना नर्स,२२ जना ल्याब टेक्निसियन,१ सय २१ जना सहयोगी,८७ ओटा सुरक्षा दल र ६३ जना स्वयम्सेवक खटाइएको छ ।

सकारात्मक प्रयास– प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मेची अञ्चल अस्पताललाई कोरोना सङ्क्रमितकोे उपचार गर्ने अस्पताल बनाउने बताउनुभएको छ । मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन सकिने नसकिने सम्भावनाको निरीक्षण गर्दै चैत २४ गते मन्त्री घिमिरेले तत्काल आइसोलेशन वेड थप गरी कोरोना उपचारका लागि तयारी गर्ने बताउनुभयो ।

अर्जुनधारा नगरपालिका – ९ले चैत २४ गते १ सय ५० घर विपन्नलाई राहत वितरण गरेको छ । प्रति परिवार १० केजी चामल,एक केजी दाल,एक पोका नुन,एक लिटर तेल, वितरण गरेको वडाध्यक्ष पुष्पकुमार प्रसाईले जानकारी दिए ।

मेचीनगरको लाल भागिरथा बानियाँ प्रतिष्ठानले कोरोना भाइरस विपद् व्यवस्थापनका लागि एघार हजार रुपियाँ सहयोग गरेको छ । घरमै आएका मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचेलाई प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले सहयोग रकम उपलब्ध गराउनु भएको थियो ।

नेकपा हल्दीबारी गाउँपालिकाले आफ्ना कार्यकर्ताहरूबाट चन्दा सङ्कलन गरेर गाउँपालिकाको कोषलाई ७० हजार रुपियाँ सहयोग गरेको छ । गाउँ कमिटी अध्यक्ष याम राईको नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेनलाई उक्त सहयोग हस्तान्तरण गरेको गाउँपलिकाका प्रवक्ता सागर पोर्तेलले बताउनुभयो ।

समस्या– झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् । तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था छ । फार्ममा उत्पादित भुइँकटहर यसअघि काठमाडौँको कालीमाटी तरकारी बजारमा लगेर बिक्री गरिँदै आएको थियो । अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्र समेत बिक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक मनोज सिंहले बताउनु भयो । हाल उहाँको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन् ।

पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार चैत २४ गते पाँचथरमा ११ महिला  ४३ पुरूष गरी ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । फिवर क्लिनिक मार्फत ४ महिला र ८ पुरूष गरी जम्मा १२ जनाको ज्वरो मापन गरिएको छ । स्वाब परीक्षणका लागि सुनसरीधरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको ६ जनाको नजिता नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आईसोलेशनमा १ जना पुरूषलाई राखिएको छ भने यसअघि राखिएका १ महिला र ५ पुरूष गरी ६ जनालाई डिस्चार्ज गरिएको छ ।

सकारात्मक प्रयास– फिदिम नगरपालिका–२ ले परिवार सङ्ख्याका आधारमा ८६ घरपरिवारलाई  १० देखि २५ केजीसम्म चामल, तेल, दाल र नुन वितरण गरेको सो वडाका अध्यक्ष सुकपाल तुम्बापोले बताउनु भयो । हाल कोरियामा रहेका स्थानीय सुरेन्द्र तुम्बापोको सहयोगमा सोही वडाका विपन्न ४० घरपरिवारलाई प्रति परिवार १० केजि चामल, एक–¬एक केजि नुन र दालका साथै आधा लिटर तेल वितरण गरिएको छ ।

फिदिम नगरपालिका –४ ले वडाका ३ सय २५ जना मजदुर तथा विपन्न समुदायलाई चामल, नुन, खानेतेल, दाल वितरण गरिएको वडाअध्यक्ष प्रकाश गुरुङले बताउनु भयो । पाँचथर उद्योग वाणिज्य संघले ‘खाद्यान्न बैंक’ मा चैत २४ गते थप २५ हजार नगद जम्मा भएको छ । यसअघि सो बैंकमा चामल ६हजा २ सय ५५ केजी, नुन १ सय ५० केजी, दाल १ सय ७५ केजी, खानेतेल १ सय ७० लिटरका र चाउचाउ ३५ कार्टुनका साथै नगद एक लाख ९१ हजार ७ सय ९० रुपियाँ जम्मा भएको थियो । सङ्कलन भएको नगद तथा जिन्सी चाँडै नै स्थानीय तहहरु मर्फत मजदुर तथा विपन्न समुदायलाई वितरण गरिने सङ्घका अध्यक्ष दीपक नेपालले बताउनु भयो ।

समस्या स्थानीय तहहरुले विभिन्न राहत वितरण गरेतापनि विपन्न मजदुरहरुको दैनिकी कष्टकर बन्दै गएको छ । उपभोक्ताहरुले फलफूल तथा तरकारी पाउन कठिनाई भएको बताएका छन् । सागम्री अभावले गर्दा विकास निर्माणका कार्यहरु ठप्प भएका छन् । एकद्धार प्रणालीवाट राहत वितरण गर्ने भनिए पनि विभिन्न व्यक्ति तथा निकायवाट आफुखुशी राहत वितरण कार्य भईरहेको छ । यसलाई रोक्न स्थानीय प्रशासन मौन देखिएको छ । लामो समयसम्म यातायातका साधन नचल्दा नियमित चेकजाँच तथा औषधी सेवन गर्ने विरामीहरुले समस्या आएको बताएका छन् ।

सोलुखुम्बु जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार चैत २४ गतेसम्म जिल्लामा बैदेशिक रोजगारीबाट आएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट चैत ४ गते कोरोना सङ्क्रमित युवतीसँगै आएका गोराखानीका युवक र युएईबाट गत चैत ५ गते नेपाल आएकी तिङ्लाकी एक युवतीको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले बताउनुभयो । उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो । यस्तै थुलुङ दुधकोशी गाउँपालिका –४ जुबुका २ जना र वडा –८ देउसाका एक युवकको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । वीपी स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा उनीहरूको स्वाब परीक्षण गरिएको थियो । गत चैत ४ गते वडा – ८ देउसाका सूर्य राई फ्लाई दुवईबाट, सोही दिन हिमालयन एयरलाईन्सबाट वडा –४ जुबुका सूर्य राई र चैत ७ गते नेपाल एयरलाईन्सबाट वडा– ४ जुबुका सुमन गुरुङ नेपाल आएका थिए । जिल्लामा १४ जना बैदेशिक रोजगारीबाट आएका थिए । उनीहरू मध्ये पाँच जनाको स्वाब परीक्षण सकियो भने ९ जना बाँकी छन् । उनीहरु होम क्वारेनटाईनमा बसेका छन् । स्थानीय सरकारले दिएको जानकारी अनुसार उनीहरुको अवस्था सामान्य छ । जिल्लामा ३ सय ४१ जना क्षमताको क्वारेनटाईन र ४६ वेडको आईसोलेशन वार्ड निर्माण गरिए पनि एक जनापनि क्वारेनटाईनमा राख्ने अवस्थामा नभएको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो ।

सकारात्मक प्रयास–जिल्लाको महाकुलुङ गाउँपालिकाले राहत वितरण मार्ग दर्शन २०७६ पारित गरेको छ । गाउँपालिका अध्यक्ष सागर किराँतीको अध्यक्षतामा चैत २४ गते सम्पन्न कार्यपालिका बैठकले गाउँपालिका भित्र रहेका अतिविपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने परिवारलाई राहत वितरण गर्न उक्त मार्गदर्शनलाई आधार मान्ने निर्णय गरिएको बताईएको छ । गाउँपालिका अध्यक्ष सागर किराँतीकाअनुसार चैत २८ गते भित्र सबै वडाबाट विवरण संकलन गर्ने र परिवार संख्याको आधारमा राहत प्रदान गरिने छ । राहत वितरणको क्रममा गत बर्ष हावाहुरी तथा असिना पानीले क्षती पुर्याएको वडा नम्बर ४ र ५ को नुर्कम, सानाम र निमचोला क्षेत्रलाई विशेष प्राथमीकता दिईने गाउँपालिका अध्यक्ष किराँतीको भनाइ छ । सोही बैठकले आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धि कार्यविधि समेत पारित गरेको छ ।

समस्या भौगोलिक निकटताको कारण समयमानै ढुवानी गर्न नसक्दा राहत वितरणको कार्यक्रम प्रभावित बनेको छ । थुलुङदुधकोशी गाउँपालिकाले वडा –८ मा राहत वितरण गर्ने कार्यतालिका भएपनि त्यस क्षेत्रका व्यापारीले दैनिक उपभोग्य बस्तु ढुवानी गर्न नसक्दा कार्यक्रम प्रभावित भएको कार्यबहाक वडा अध्यक्ष तिलक राईले बताउँनुभयो । स्थानीय सरकारले विभिन्न टोलबस्तीमा अति विपन्न परिवारको तथ्याङ्क संकलनमा जाँदा झुटा विवरण दिनेगरेको पाईएको छ । अति विपन्न परिवार भन्दा पनि सम्पन्न परिवारबाटै त्यस्ता विवरण आउने गरेको सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २४ गते सम्म सङ्खुवासभामा २ जना पुरूष र १ जना महिला गरी ३ जनाई होम क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा अहिले सम्म ११५ वेडको क्वारेन्टाइन र १६ वेडको आइसोलेशन वेड तयारी अवस्थामा छन् । २४ गते जिल्ला अस्पताल खाँदबारीमा २० महिला र २१ पुरूषले ज्वरो क्लिनिकमा जाँच गराएको जिल्ला अस्पतालले जनाएको छ । अहिले सम्म जिल्लाभर कुनैपनि शंकास्पद प्रकारका बिरामी नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिनु भयो ।

सकारात्मक प्रयास– सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा एक महिना सम्म पुग्ने खाद्यान्य स्टक भएको उद्योग बाणिज्य संघले अध्यक्ष युवराज शाक्यले जानकारी दिनु भयो । उद्योग बाणिज्य संघले खाद्यान्य ढुवानीका लागि २४ गते बाट २ वटा ट्रकलाई जिल्ला प्रशासन कार्यालय बाट अनुमति मागेको अध्यक्ष शाक्यले बताउनु भयो । त्यस्तै उद्योग बाणिज्य प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले अहोरात्र खटिरहने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएस्पी मिम लामालाई ५सय थान माक्स र सेनिटाईजर ५ लिटर हस्तान्त्रण गरेको छ ।

लक डाउनका समयमा १० वटै स्थानिय तहले विपन्न तथा ज्यालादारी मजदुरलाई राहत वितरण गरिरहेका छन् । कोरोना भाइसरको संक्रमण फैलिन नदिन जिल्लाका १० वटै पालिकाहरुले आ–आफ्नो क्षेत्रका नाका बन्द गरेका छन् । खाँदबारी नगरपालिका,धर्मदेवी ,चैनपुर र पाँचखपन नगरपालिकाले जिल्ला भित्रने नाकामा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरेका छन् ।  २४ गते बाट चिचिला गाउँपालिकाले विपन्न तथा ज्यालादारी मजदुरलाई रातह वितरण सुरु गरेको जनाएको छ । त्यस्तै गरी पाँचखपन नगरपालिकाले प्रत्येक वडामा राहत वितरण भइरहेको पाँचखपन नगरपालिका उपप्रमुख भिमादेवी राईले जानकारी दिनु भयो ।

समस्या-लक डाउनका कारण स्थानीय प्रशासनले साप्ताहिक हाट बजार रोक लगाएपछि तरकारी,फलफुल लगायतका सामग्रीको अभाव देखिएको छ ।

इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलाम अस्पतालले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पठाएको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ वर्षीया युवतीसँग जहाजमा आएका इलाम नगरपालिका–४ का २८ वर्षीय रमेश दुलालको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा दुलालको रिपोर्ट नेगेटिभ आएको इलाम अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ । दुलाल चैत ४ गते कतार एयरवेजको ‘क्युआर ६५२’ विमानमा नेपाल आउनुभएको थियो । दुलाल अहिले पनि होम क्वारेन्टाइनमा हुनुहुन्छ । दुलालको सँगै स्वाब नमुना पठाइएका इलाम नपा–८ का अर्का युवकको भने रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । इलामका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा २ सय ४७ जनाको क्षमता छ । यी क्वारेन्टाइनमा अहिले ६ महिलासहित ७६ जना र होम क्वारेन्टाइनमा ४८ महिलासहित ३ सय ३५ जना छन् । पूर्वमा भारतसँग जोडिएका क्षेत्रबाट आउ–जाउ नियन्त्रण गर्न सशस्त्र प्रहरीको ४० जनाको टोली थप गरिएको छ । जिल्लामा १४ एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला प्रशासनका कार्यालयले जनाएको छ ।

सकारात्मक प्रयास– इलामको चुलाचुली गाउँपालिकाले विपन्न ८ सय परिवारलाई चामल, दाल, नुन, तेललगायत खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले वडा १ का १ सय ३, वडा २ का १ सय २६, वडा ३ का ९२, वडा ४ का १ सय १, वडा ५ का २ सय २८ र वडा ६ का १ सय ३८ परिवारलाई राहत बाँडेको हो । इलाम नगरपालिका वडा ६ ले वडाका १ सय ४६ विपन्न परिवारलाई चामल, दाल, तेल, चिनी, साबुनलगायत वितरण गरेको छ ।

सूर्यादय टी प्रोड्युसर्स एसोसिएसनले एसोसिएसनमा आबद्ध ६२ चिया उद्योग खुल्ने जनाएको छ । कोरोनाबाट जोगिन सरकारले तोकेको सुरक्षा मापदण्ड यथासक्य कार्यान्वयन गरी चिया उद्योग र बगान खुलाइने एसोसिएसनले विज्ञप्तिमार्फत् जनाएको छ । गत १० गतेदेखि बन्द रहेका इलामका चिया उद्योग र बगान बिस्तारै खुल्दैछन् ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत २४ गतेसम्म जिल्लामा निर्माण गरिएको १ सय ५९ बेड क्षमताको क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ । सिरीजंघा गाउँपालिकामा ८ जना,फक्ताङलुङ गाउँपालिकामा २ जना र सिदिङ्मा गाउँपालिकामा १ जना गरि ११ जनालाई राखिएको छ । जिल्लामा १४ बेडको आइसोलेन कक्ष निर्माण गरिएको छ । यहाँका १ नगरपालिकासहित ८ वटा गाउँपालिकामध्ये सिरीजंघा गाउँपालिकामा चैत २० गते ६ जना र २१ गते थप २ जनागरि ८ जनालाई राखिएको हो । सिदिङ्मा गाउँपालिकामा चैत १९ गते र फक्ताङलुङ गाउँपालिकामा चैत १७ गतेदेखि राखिएको हो । यसअघि चैत १२ गते फुङलिङ नगरपालिकास्थित उद्योग वाणिज्य सँघको क्वारेन्टाइनमा राखिएका ३ जनालाई चैत २० गते छाडिएको थियो । बाणिज्य सँघको क्वारेन्टाइनमा चैत १२ गतेदेखि राखिएको थियो । अब ११ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा राखिएका ११ जना नै पुरुष हुन् । क्वारेन्टाइनमा राखिएका कसैको पनि स्वाब परिक्षण गरिएको छैन् ।

सकारात्मक प्रयास– जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ५ ले वडाका आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गरेको छ । ४ जनाभन्दा कम संख्या भएको परिवारलाई १५ केजी चामल,१ केजी नुन,२ लिटर तेल वितरण गरेको छ । ४ जनाभन्दा बढि संख्याको परिवारलाई २५ केजी चामल वितरण गरेको छ । जिल्लाका ९ वटै स्थानिय तहले आर्थिक अवस्था कमजोर परिवारको तथ्याक संकलन अन्तिम चरणमा पुर्याएको जनाएको छ । स्थानिय तहमा खुलेको बैङका शाखामा राहत कोष खोलेर रकम जम्मा गर्न थालेका छन् ।

समस्या–दैनिक उपभोग्य सामाग्री खरिद गर्नका लागि बजारमा त्यति सहज छैन् । प्रत्येक पसलको सटरममा टाँसिएको फोन नंम्बरमा फोन गर्दा समस्या हुने गरेको सेवाग्राहीको भनाई छ । शनिबार र मंगलबार लाग्ने हटिया समेत बन्द हुँदा स्थानिय उत्पादन खेर गएको छ । कुखुरा तथा सुँगुर फर्म संञ्चालका अनुसार उत्पादित मासु विक्री गर्न समस्या छ । अर्कोतिर दाना ढुवानी समस्या बन्दै गएको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार चैत २४ गतेसम्म जिल्लमा कोरोना भाइरस (कोविड १९) को पहिचानका लागि चौदण्डीगढी नगरपालिकाले स्थापना गरेका फिवर क्लिनिकमा ३१ जनाले ज्वरो मापन गराएका छन् । नगरपालिकाले ११ ठाउँमा स्थापना गरेको क्लिनिकमा सामान्य रुघा, खोकी, ज्वरो आएका ३१ जना बिरामीले परीक्षण गरेका हुन् । परीक्षणका क्रममा उनीहरुलाई सामान्य रुघा, खोकी, ज्वरो देखापरेपछि होम क्वारेन्टाईनमै बस्न सुझाब दिइएको छ । यसैगरी अस्पतालमा शंकास्पद देखिएका चौदण्डीगढी नपाका १ र त्रियुगा नपाका २ गरी तीन जनालाई भर्ना गरिएको छ । अस्पतालमा एक जना चौदण्डीगढी नपाका बिरामीलाई आइसोलेशनमा भर्ना गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार कोरोना भाईरसको आशंकामा त्रियुगा नपामा ८ जना, लिम्चुङ्गबुङ्ग गापामा ४ र बेलका नपामा १ गरी १३ जनाको नमुना संकलन गरिएको छ । यसका साथै जिल्लामा होमक्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ५९ रहेको छ । त्यसमध्ये सबैभन्दा बढि बेलका नगरपालिकामा एक सय ७३, त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा ७ रहेको छ । विदेशबाट आएका तर केहि विरामी नदेखिएका उनीहरुलाई स्थानीय प्रशासनले १४ दिनसम्म घरबाहिर ननिस्कन गरी होमक्वारेन्टाईनमै राखेको हो । प्रमुख सुवेदीका अनुसार जिल्लाका ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा ८ जना महिलासहित ६२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनले कटारी नगरपालिकामा ४ र लिम्चुङबुङ गाउँपालिकामा ४ जना रहेको जानकारी दिए । त्यस्तै पुरुषतर्फ कटारी नपामा २२, त्रियुगामा ८, वेलकामा ९, रौतामाई ७ र लिमचुङ्गबुङ्गमा ८ गरी ५४ जना रहेका छन् । आईसोलसनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ । जिल्लाको २९ ठाउँमा तीन सय ८६ क्षमताका क्वारेन्टाइन स्थापना गरिएको छ । बेलका नपामा २०, चौदण्डीमा ३२, त्रियुगामा २५, कटारीमा नपामा दुई सय, उदयपुरगढी गापामा २५, रौतामाई ३१, लिम्चुङ्गबुङ्ग २३ र ताप्लि गाउँपालिका ३० जनाको क्षमता स्थापना गरिएको छ । जिल्लामा फिवर क्लिनिकको संख्या ७० वटा रहेका छन् । कटारी नपामा ९, चौदण्डी ११, त्रियुगा नपा १४, बेलका नपा ६, उदयपुरगढी गापा ७, ताप्लि गापा ९ रौतामाई ९ र लिम्चुङ्गबुङ्ग गापामा ५ वटा रहेका छन् ।

सकारात्मक प्रयास–लकडाउनले सुत्केरी महिलामा समस्या परेको भन्दै कटारी नगरपालिकाकी उपमेयर भिमकुमारी राउतले वडा – ५ भोर्लेकी विपन्न परिवारकी ४ दिनकी सुन्केरी कमला परियारलाइ को घरमै राहत पुर्याउनुभएको छ । खाद्यान्नको अभावमा सुत्केरीको महिलाको विजोग भएको सूचना पाए लगत्तै उपमयेर राउत राहत लिएर पुग्नु भएको हो । सुत्केरी महिलालाई ४ बोरा चामल, ३ किलो दाल, ३ किलो चिनी, साबुन ४ थानको साथमा २ लिटर तेल र २ पोका नुन उपलब्ध गराएको उहाँले बताउनुभयो । यसका साथै स्थानीय तहमा स्थापना भएका क्वारेन्टाईनको अवश्थाको बारेमा प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले अनुगमन गरेको छ । अनुगमनमा कमिकमजोरीलाई सुधार गर्दै लैजाने गरी निर्देशन गरिएको छ । सर्वसाधरणले बैंक तथा वित्तिय क्षेत्रले मनखुशी बैंक सञ्चालनमा ल्याएको, पेट्रोलपम्पहरुले पुरनो मुल्यमा नै विक्री गर्ने गरेको गुनासो गरेपछि अनुगमन गरी बैंकहरुको खोल्ने समय सबैले देख्ने गरी टाँस गर्नु पर्ने र पम्पहरुले पुरानो दररेटमा विक्री गरे कारवाही गर्ने चेतावनी पछि सहजरुले आपुर्ति हुन थालेको छ ।

समस्यालकडाउनका कारण उपभोक्ता जंगल जान नपाएपछि जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा कठिनाई भएको छ । स्थानीय प्रशासनले घर वाहिर ननिस्कन आग्रह गरेपछि वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा कठिनाई भएको हो । साता यताको डढेलोले आधा दर्जन बढि सामुदायिक वनका झण्डै २ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ । विपद्को वेला वितरण गरिने राहत सामग्री एकद्धार प्रणाली गर्न सकिएको छैन् ।

सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयको सहयोगमा सुनसरीको कोशी गाउँपालिका १ र २ मा सर्वसधारणलाई कोरोना भाइरसबाट जोगिन चैत २४ गते माक्स र साबुन वितरण गरेको छ । कोशी गाउँपालिकाको लौकही र पश्चिम कुशाहाका सर्वसधारणलाई लकडाउनको समयमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि भन्दै ४ सय थान साबुन र ८ सय थान माक्स वितरण गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका १ नम्बर वडालाई उधोग वाणिज्य संघ कोशीका अध्यक्ष अरुण यादवले व्यक्तिगत रूपले राहत दिनुभएको छ । यादवले कोशी गापा १ नम्बर वडा १ अध्यक्ष राजकुमार साहलाई लकडाउनमा विपन्न, गरिबहरु तथा पीडितहरुलाई वितरणका लागि भन्दै २ सय केजी चामल हस्तान्तरण गर्नुभयो ।

लकडाउनका वेला कृत्रिम अभाव एवम् ठगी हुने जनगुनासो आए पछी सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । लकडाउन हुनुअघि पनि इनरुवा नगरले बजार अनुगमनलाई जोड दिँदै आएको थियो । इनरुवा नगरपालिकालकी उपप्रमुख जमुना गौतम पोखरेलका अनुसार लकडाउनको अवसर छोपेर जथाभावी मूल्य असुल्न थालेपछि बाजर अनुगमन गरेको हो । अनुगमन टोलीमा उध्योग वाणिज्य संघ इनरुवा, उपभोक्ता मञ्च इनरुवा, नगर प्रहरी तथा नेपाल प्रहरी लगायतको सहभागीता रहेको उपप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार चैत २४ गते सम्म धनकुटामा १५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । जसमा १४ जना पुरुष र १ महिला रहेका छन । उनीहरु सबै विदेशबाट आएका हुन । उनीहरुमा कुनै समस्या नदेखिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो । धनकुटामा विदेशबाट आएका १ सय ५४ जनालाई होम क्वारेन्टाइनमा राखिएको भएपनि १५ जना बाहेकको १४ दिन कटेको र अवस्था सामान्य रहेकोले छोडिएको श्रेष्ठले बताउनु भयो । होम क्वारेन्टाइनमा रहेका १५ जनालाई पनि १४ दिन पुगेपछि क्रमश छोडिने उहाँले बताउनु भयो ।

सकारात्मक प्रयास– धनकुटाको  महालक्ष्मी नगरपालिकाले लकडाउन प्रभावित अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको छ । ९ वटै वडामा रहेका प्रभावितहरुको विवरण संकलन गरेर राहत वितरणको क्रम चलिरहेको महालक्ष्मी नगरपालिकाले जनाएको छ । चैत २४ गतेसम्म ५ सय भन्दा बढी अति बिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराइएको नगर प्रमुख पर्शुराम नेपालले बताउनु भयो । ‘पहिलो चरणमा करिव १० दिनलाई खान पुग्नेगरी राहत बाढ्दै छौ ।’ मेयर नेपालले भन्नुभयो ‘संकटको अवस्था मुल्यांकन गरेर पुर्नबिचार गछौ ।’ चार जनासम्म सदस्य भएको परिवारलाई प्रति परिवार २० किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन प्रदान गरिएको छ । त्यस्तै चार भन्दा बढी सदस्य भएका परिवारलाई सामाग्री थप गरी प्रति परिवार ४० किलोसम्म चामल प्रदान गरिएको छ । हालसम्म महालक्ष्मी वडा नं.१ का ७४, २ का ६८, ३ का ८६, ४ का ७५, ६ का ८५, ७ का ४४, ८ का ४१ र ९ का ५४ परिवारलाई राहत वितरण भइसकेको नगरका सूचना अधिकारी खगेन्द्र नेपालले बताउनु भयो । उहाँका अनुसार राहत वितरण गर्न वाँकी रहेको ५ नम्बर वडामा पनि अव वितरण गरिदैछ । विपतका बेला नगरपालिकाले राहत उपलब्ध गराउँदा केहि दिन भएपनि खानाको जोहो भएको भन्दै राहत पाउँनेहरुले खुःशी व्यक्त गरेका छन् । यस्तै कोरोना भाईरसबाट बच्नका लागि धनकुटा उद्योग बाणिज्य संघले धनकुटा नगरपालिका ९ मुलघाट स्थित विश्रान्ती मन्दिर  बुद्ध आश्रमका बृद्ध बृद्धाहरुलाई स्वास्थ्य सम्वन्धि जानकारी सहित माश्क, सेनिटाईजर, हेण्ड हाउस लगायतका सुरक्षित सामाग्रीहरु वितरण गरेको छ । बिश्रान्ती मन्दिर बृद्ध आश्रमका ४३ जना बृद्ध बृद्धाहरुलाई माश्क, सेनिटाईजर, हेण्ड वास लगायतका सुरक्षित सामाग्रीहरु वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताउनु भयो । एकै ठाउमा ठूलो समुहमा  बुद्ध बुद्धाहरु बस्दै आउनु भएकाले उहाहरुलाई कोरना भाईरसबाट बच्नका लागी उक्त स्वास्थ्य सामाग्रीहरु र सुरक्षित सामाग्रीहरु वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनु भयो ।

समस्या – धनकुटा जिल्लामा सञ्चालित एम्बुलेन्स सेवाहरुले रुघा–मर्की ज्वरो आएका तथा बिदेश वाट आएर भएका बिरामी बोक्नै छाडेका छन । कोरोनाको त्रास बढेपनि सम्बन्धित निकायले सुरक्षा सामाग्री उपलब्ध नगराउदा रुघामर्की ज्वरो आएका तथा बिदेश वाट आएर भएका बिरामी बोक्ने अवस्था नरहेको जनाएका छन । जिल्लामा सञ्चालित विभिन्न एम्बुलेन्सका चालकले सामुहीक रुपमै यस्तो निर्णय गरेको चालक सन्त लिम्बुले जानकारी दिनु भयो । चालक बढि जोखिममा रहेपनि कसैले वास्ता नगरेको उनिहरुको गुनासो छ ।

भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार चैत २४ गते सम्म जिल्लामा १० जना पुरूषलाई क्वारेन्टाइनमा राखिएको छ । अहिले सम्म १९ आईसोलेशन कक्ष निमार्ण गरिएको छ । आईसोलेशन राखिएको संख्या शून्य छ । जिल्लामा क्वारेन्टाइनको संख्या ३ सय १० पुगेको छ । जिल्लाभर विभिन्न बाहिरी जिल्लाबाट जिल्ला प्रबेश गर्ने नाका तथा स्वास्थ्य चौकीहरुमा ७६ वटा हेल्थडेक्स स्थापना गरिएको छ । सरकारले निणर्य संगै एक पालिका देखि अर्का पालिका जान वन्देज गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो ।

सकारात्मक प्रयास– कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिलाई मध्ये नजर गर्दै जिल्ला कारागार कार्यालय भोजपुरका तीन जना कैदी छुटेका छन् । बहुविवाह मुद्दामा जेल जिवन विताईरहेका उनीहरुलाई बाँकी अवधीको कैदको रकम भुक्तान गरेपछि कैदमुक्त गरिएको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । कैदमुक्त हुनेमा आमचोक गाउँपालिकाका दुई र हतुवागढी गाउँपालिका बस्ने एक जना रहेका छन् ।  भोजपुर कारागारमा ९७ पुरुष, १४ महिला र तीन आसृत नाबालक गरी १ सय ११ जना रहेका छन् ।

तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बुका अनुसार चैत २४ गतेसम्म जिल्लामा १ सय २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा १ सय ३७ जना राखिएको छ । जिल्लाको छथर गाउपालिकामा २० जना होम क्वारेन्टाइनमा, फेदाप गाउपालिकामा १५ जना क्वारेन्टाईनमा र १ सय १३ जना होम क्वारेन्टाईनमा राखिएको छ भने मेन्छ्यायेम गाँउपालिकामा २ जना र आठराई गाँउपालिकामा ७ जना क्वारेन्टाईनमा राखिएको छ ।

खोटाङ जिल्ला प्रतिनिधि रामधन राईका अनुसार कोरोना सङ्क्रमति युवतीसँगै नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको रिपोर्ट चैत २५ गते नेगेटिभ आएको छ । फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टी भएको थियो । तिनै युवतीसँग कतारबाट काठमाण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का युवाको नमूना परीक्षणका क्रममा रिपोर्ट नेभेटिभ देखिएको हो । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

अन्य

भिडियो