संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएका छन् ।

सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि गुल्मीका महिलाहरूले विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएको सांसद कमला विश्वकर्माले बताइन् ।
नाराबाजी सहित प्रजिको कार्यकक्षमा महिलाहरू पस्न खोज्दा प्रहरीले रोक्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरीले लगाएको घेरा तोडेर भित्र प्रवेश गरेका महिलाहरूले केहीबेर सरकार विरोधी नाराबाजी गरेका थिए ।
फूलको माला जस्तै गरी मिलेर बसेका जनतालाई कैँचीले काटे झैँ गरी काट्ने षड्यन्त्र सरकारले गरेको भन्दै तत्काल यो कदम फिर्ता गर्न उनीहरूले आग्रह गरेका छन् ।

प्रजिअ ढुङ्गानाले महिलाहरूबाट प्राप्त सामग्रीसहित ज्ञापनपत्र आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए । भोलि प्रदेशकै विषयलाई लिएर युवाहरूले जनमत सङ्ग्रह गर्ने कार्यक्रम राखेका छन् ।
सरकारले संविधान संशोधनमार्फत पाँच नम्बर प्रदेशलाई अलग्याउन लागेको भन्दै १५ दिन देखिको बन्दले जनजीवन कष्टकर बनेको छ । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, नागरिक समाज, नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दललगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।

सरकारले ५ नं. प्रदेश टुक्र्याउन गरिएको प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए ।