बेनिघाट रोराङ गाउँपालिका–६ की ३० वर्षीया सोल्टीमाया चेपाङको सात जनाको परिवार ज्याला गर्नेठाउँ नपाएपछि बिचल्लीमा परेको छ ।
ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको यो परिवारको मुख्य जिम्मेवारी सोल्टीमाया कै हो । उहाँको पति ६० वर्षको भइसक्नुभयो । खोरीया बारीमा बसेको चेपाङ परिवारमा केही दिनअघि दादुरा रुबेलाका कारण एउटा छोरीको ज्यान गयो । खानेकुराका लागि हरेक दिन सङ्घर्ष गर्दै आएको अवस्थामा कोरोना भाइरस (कोभिड १९) को त्रासले काम नपाएपछि गाउँ घुमेर माग्नु मात्र विकल्प भएको उहाँले बताउनु भयो ।
२१ वर्षीया सानुमायाँ चेपाङ सानो बच्चा काखमा बोकर बुमराङ गाउँमा खानेकुरा माग्दै हिडेको अवस्थामा भेटिनुभयो । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे बच्चा बोकेर गाउँमा कपडा र लुगा माग्दै हिड्नु भएकी सानुमाया भन्नुभयो ‘काम गरेर ज्यालले परिवार पालेको थिए, अब काम गर्न नि पाइएन, बाँच्नको लागि माग्नु पर्ने अवस्था आइलाग्यो ।’ केही दिनअघि घर आगलागी भएपछि यो परिवार झन् समस्या परेको छ । ‘कोरोना भइरसको त्रास बढेका कारण सहयोगिहरू कोहि आएनन् ’ उहाँले भन्नुभयो ‘खरको छानाको घर जलेर नष्ट भयो ।’
समस्या माथी समस्या आएको चेपाङ परिवारमा बाँचनका लागि हरेक दिन संघर्ष गरिरहेछ । कोरोना भाइरसको महामारीको हल्ला भएपछि काम नपाएकोले उनीहरू थोरै थोरै खोले खाएर बसिरहेको सोल्टीमायाँले बताउनु भयो ।
यो प्रतिनिधि मूलक दुई घटना हुन् । गाउँमा समेत काम नपाएपछि उनिहरू जस्तै बुमराङ, बुङपुङ तार्केटार र रोतेसमा यस किसिमका ३० परिवार चेपाङ खानेकुरा सकिएर समस्यामा परेको वडा अध्यक्ष देवकृष्ण आलेले बताउनु भयो ।
यो हालको समस्याले बढी समस्यामा परेको भएपनि खोरिया बारी अनि थोरै अन्नले परिवार पाल्दै आएको यो क्षेत्रमा २ सय २० घर चेपाङले सङ्घर्षपूर्ण तरिकाले बाँचिरहेका छन् ।