कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कोभिड–१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये ८ ओटा छिमेकी मुलुकसँग सिमाना जोडिएका जिल्लाहरूलाई प्राथमिकतामा राखी कोरोनासँग जुध्ने कार्य भईरहेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ०७६ चैत २३ गतेसम्ममा कोरोना भाइरससँग लड्न ३ हजार ६ सय ८० जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ३८ वटा आइसोलेसन वेडको व्यवस्था गरिएको छ । प्रदेश भरी चैत २३ गते सम्म ७ सय १७ थान पीपीई (प्रर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ । प्रदेश १ मा यस अवधिमा ७३ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ५७ जनाको रिपोर्ट नेगेटिभ र १६ जनाको रिपोर्ट आउन बाँकी छ । चैत २३ गते सम्म प्रदेश १ का ११ ओटा जिल्लामा पीपीइ वितरण भएको छ । जसमा झापामा १ सय ओटा, मोरङमा ३२ ओटा, सुनसरीमा १२ वटा, तेहृथुममा १ सय ३५ ओटा, संखुवासभामा ६६ वटा, भोजपुरमा १ ओटा, खोटाङमा २१ ओटा, इलाममा ३० ओटा, सोलुखुम्बुमा १ सय ४६, उदयपुरमा १ सय ६४ ओटा र पाँचथरमा १० ओटा वितरण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चैत २३ गते सम्म प्रदेश १ मा ४ सय २ जना पुरुष र ३४ जना महिला गरी ४ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा २ हजार २ सय ९ जना पुरुष र ४ सय २१ जना महिला गरी २ हजार ६ सय ३० जनालाई राखिएको छ ।
प्रदेश १ मा झापामा ३ सय ७६ जना, मोरङमा ६ सय ३० जना, सुनसरीमा ३ सय ७५ जना, धनकुटामा १ सय ५ जना, तेहृथुममा १ सय २० जना, संखुवासभामा १ सय ६ जना, भोजपुरमा २ सय ६८ जना, खोटाङमा २ सय ८० जना, इलाममा २ सय ७७ जना, ओखलढुङ्गामा १ सय ८० जना, सोलुखुम्बुमा ३ सय ७३ जना, उदयपुरमा ३ सय ८६ र पाँचथरमा २ सय ४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रदेश १ मा ४ सय ३८ वटा आइसोशलेन वेडको निर्माण गरिएको छ । झापामा २७ ओटा, मोरङमा १ सय ३५ ओटा, सुनसरीमा १ सय ४ ओटा, धनकुटामा १२, तेहृथुममा १४ ओटा, संखुवासभामा १६ ओटा, भोजपुरमा ६ ओटा, खोटाङमा ५ ओटा, इलाममा २ ओटा, ओखलढुङ्गामा ११ ओटा, सोलखुम्बुमा २९ ओटा, उदयपुरमा ४२ ओटा, पाँचथरमा २३ ओटा र ताप्लेजुङमा ११ ओटा आइसोलेशन वेड तयार गरिएको छ ।
मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २३ गते सम्म मोरङमा १ सय ४० जना पुरुष र १० जना महिला गरी १ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ । त्यसैगरी ८ सय ८७ जना पुरुष र १ सय ९६ जना महिला गरी १ हजार ८३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा चैत २३ गते सम्म ६६ ओटा फिवर क्लिीनिक मार्फत ४ सय ७५ जना महिला र ५ सय २९जना पुरुष गरी १ हजार ४ जनाको ज्वरो मापन गरिएको छ । मोरङमा ११ जनाको स्बाब परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट नगेटिभ र २ जनाको रिपोर्ट आउन बाँकी छ । ४ जना आईसोलेसनमा भर्ना भएका छन् । मोरङमा चैत २२ गते सम्म संभावित संक्रमितको संख्या ९० रहेको छ ।
सकारात्मक प्रयास-(प्रदेश १ सरकारले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण र उपचार कोषमा उच्च अदालत विराटनगर र मातहतका अदालतका न्यायाधीशहरुबाट पनि सहयोग उपलब्ध गराइएको छ । उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाशीले दश दिनको तलब, उच्च अदालत विराटनगर मातहतका मोरङ र सुनसरी जिल्ला अदालतका न्यायाधीशहरुले सात दिनको तलब सरकारी कोषमा दाखिला गरिएको छ । उच्च अदालत विराटनगरका उपरजिष्ट्रार मणिराम पोखरेलले रजिष्ट्रारबाट सात दिनको, अधिकृतस्तरका कर्मचारीहरुबाट पाँच दिनको, नायब सुब्बादेखि श्रेणीविहीन कर्मचारीहरुबाट तीन दिनको तलब बराबरको रकम सहयोग स्वरुप उपलब्ध गराएको बताउनुभयो ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले २४ लाखको खाध्य सामाग्री प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । दुवै संस्थाले २४ लाख वरावरको २ हजार १ सय प्याकेट खाद्य सामाग्री प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलले १ हजार ३ सय प्याकेट प्रदेश सरकार मार्फत, ३ सय ५० प्याकेट विराटनगर महानगरपालिका, २ सय प्याकेट दुहवी नगरपालिका, १ सय २५ प्याकेट वुढीगंगा गाउपालिका र १ सय २५ प्याकेट कटहरी गाउपालिका मार्फत वितरण गर्ने गरि उपलब्ध गराईएको उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।
सिभिल बैंक लिमिटेड प्रदेश १ विराटनगरले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण र उपचार कोषमा ५ लाख जम्मा गरेको छ । चैत २३ गते सिभिल बैंक प्रदेश नं. १ का प्रमूख राजेश ढकालले मुख्यमन्त्री शेरधन राईलाई ५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
विराटनगर महानगरपालिकाले चैत २३ गते ३ वटा वडामा राहत वितरण गरेको छ । तीन वडाका २ हजार ७ सय १२ जनालाई राहत वितरण गरिएको नगर प्रमुख भीम पराजुलीले बताउनुभयो । चामल १२ केजी, दाल डेढ केजी, आलु दुई केजी, आधा लिटर खाने तेल, एक केजी नुन र एउटा साबुन वितरण गरिएको प्रमुख पराजुलीले बताउनुभयो ।
बेलबारी नगरपालिकाले चैत २३ गते १ हजार ७ सय बढी परिवारलाई राहत वितरण गरेको छ । ६ वटा वडाका १ हजार ७ सय ६२ परिवारलाई राहत सामाग्री वडा कार्यालय मार्फत वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । वडा नम्बर २, ३, ६, ७, १० र ११ नम्बर वडामा दैनिक ज्यालादारी गर्ने परिवारलाई पहिलो चरणमा राहत वितरण गरेको उहाँले बताउनुभयो । १५ केजी चामल, १ किलो दाल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको नगर प्रमुख सुवेदीले बताउनुभयो ।
विराटनगरस्थित नेपाल इम्ब्रोइडरी ह्याण्डीक्राफट्स तथा सिलाईबुनाई श्रमिक संघले लकडाउन पीडित विपन्न परिवारलाई चामल वितरण गरेको छ । ट्रेड युनियन काँग्रेस आबद्ध सो संस्थाले विराटनगर ६ का २५ परिवारलाई प्रति परिवार २५ किलोको दरले चामल वितरण गरेको हो । स्थानीय सुन्दरमार्गमा आज आयोजित कार्यक्रमकाबीच आयोजक संस्थाका प्रदेश अध्यक्ष मोहम्मद अफजल हुसैन गुल्जार लगायतले पीडित वर्गलाई राहत हस्तान्तरण गर्नुभयो ।
ओखलढुङ्गा प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार चैत २३ गतेसम्म चार जनाको स्वाब संकलन गरिएको छ । क्वारेन्टाइनमा रहेका २ र घरैमा आराम गरिरहेका २ जना विदेशबाट आएका व्यक्तिको नमुना स्वाब संकलन गरेर परिक्षण गर्न धरान पठाउने तयारी गरिएको छ । चैत २३ गतेबाट उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्य अवस्था स्थिर रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
सकारात्मक प्रयास- चिसंखुगढी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा उपचार कोष निर्माण गरेको छ । कोषमा जनप्रतिनिधीहरुको एक महिनाको सेवा सुविधा र गाउँपालिकाले ३० लाख गोगदान गर्ने निर्णय चैत २३ गतेको कार्यपालिका बैठकले गरेको छ । सुनकोसी गाउँपालिकालाई सोही गाउँपालिका २ का समाजसेवी सुनिल खड्काले ११ थान पिपिइ र २ यि थान सर्जिकल माक्स सहयोग गर्नुभएको छ भने खिजीदेम्वा गाउँपालिकालाई लिखु गाउँपालिकाका खेम बरालले १ हजार ४ सय माक्स सहयोग गर्नुभयो ।
समस्या- सुरक्षा तथा चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरुलाई सर्जिकल माक्स अभाव छ । उनीहरुलाई कपडाको माक्स दिइएको छ । यो उपयोगी नहुने भएकाले सर्जिकल माक्स र पिपिइ उपलब्ध गराउनु पर्ने माग छ ।
सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २३ गते सम्म सङ्खुवासभामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा अहिले सम्म ११ वेडको क्वारेन्टाइन र १६ वेडको आइसोलेसन वेड तयारी अवस्थामा छन् । २३ गते जिल्ला अस्पताल खाँदबारीमा २५ महिला र २७ परुषले ज्वरो क्लिनिकमा जाँच गराएको जिल्ला अस्पतालका प्रबक्ता सुजता पौडेलले जानकारी दिनु भयो । हाल सम्म जिल्लाभर कुनैपनि शंकास्पद प्रकारका विरामी नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रत्रक्ता रोशन श्रेष्ठले जानकारी दिनु भयो ।
सकारात्मक प्रयास– लक डाउनका समयमा १० वटै स्थानिय तहले विपन्न तथा ज्यालादारी मजदुरलाई राहत वितरण गरिरहेका छन् । कोरोना भाइसरको संक्रमण फैलिन नदिन जिल्लाका १० वटै पालिकाहरुले आ–आफ्नो क्षेत्रका नाका बन्द गरेका छन् । भने क्रमण फैलिन जिल्लाका १० वटै पालिकाहरुले आ–आफ्नो क्षेत्रका नाका बन्द गरेका छन् । खाँदबारी नगरपालिका,धर्मदेवी ,चैनपुर र पाँचखपन नगरपालिकाले जिल्ला भित्रने नाकामा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरेका छन् । त्यस्तै गरी खाँदबारी नगरपालिकाले ११ वटै वडामा राहत वितरण कार्यलाई निरन्तरता दिइ रहेको नगरप्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनु भयो । खाँदबारी नगरपालिकाले अहिले सम्म विभिन्न वडामा १ हजार भन्दा बढी संख्यामा विपन्न तथा ज्यालादारी मजदुरलाई राहत वितरण गरिसकेको जनाएको छ । कोरोना विरुद्ध लड्न सरकारको राहत कोषमा पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले ५ लाख सहयोग गर्नु भएको छ । पाँचखपन नगरपालिकाहरुले आफ्ना नागरिकलाई जनचेतना फैलाउदै मास्क वितरण गरिरहेको जनाएको छ ।
समस्या- कोरोना भाइरसको संक्रमण रोक्न स्थानिय प्रशासनले भिडभाड रोक्न साप्ताहिक हाट बजार रोक लगाएपछि तरकारी,फलफुल लगायतका सामग्रीको अभाव देखिएको छ ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार चैत २३ गते जिल्लामा कोरोना (कोविड १९) का बिरामीको आशङ्कामा थप चार जनाको नमुना सङ्कलन गरिएको छ । फ्रान्सबाट आएकी युवतीसँगै एउटै जहाजमा आएका लिम्चुङ्गुङ्ग गाउँपालिका एक जना र उनीसँगै काठमाण्डौँबाट घर फर्र्किएका सोही ठाउँका अन्य तीन जनाको स्वाब परीक्षणका लागि नमुना सङ्कलन गरिएको हो । चारै जना सोही गाउँपालिकाको माध्यमिक विद्यालय वारहाको क्वारेन्टाइनमा बस्दै आएका थिए । यसअघि स्वाब परीक्षणका लागि पठाइएको सात मध्ये पाँचको नतिजा नेगेटिभ आईसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यसकासाथै जिल्लामा होमक्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ५९ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढि बेलका नगरपालिकामा एक सय ७३, त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा ७ रहेको छ । विदेशबाट आएका तर केहि विरामी नदेखिएका उनीहरुलाई स्थानीय प्रशासनले १४ दिनसम्म घरबाहिर ननिस्कन गरी होमक्वारेन्टाईनमै राखेको हो । जिल्लाका ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा ८ जना महिलासहित ६२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनले कटारी नगरपालिकामा ४ र लिम्चुङबुङ गाउँपालिकामा ४ जना रहेको जानकारी दिए । त्यस्तै पुरुषतर्फ कटारी नपामा २२, त्रियुगामा ८, वेलकामा ९, रौतामाई ७ र लिमचुङ्गबुङ्गमा ८ गरी ५४ जना रहेका छन् । आईसोलसनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ । जिल्लाको २९ ठाउँमा तीन सय ८६ क्षमताका क्वारेन्टाइन स्थापना गरिएको छ । बेलका नपामा २०, चौदण्डीमा ३२, त्रियुगामा २५, कटारीमा नपामा दुई सय, उदयपुरगढी गापामा २५, रौतामाई ३१, लिम्चुङ्गबुङ्ग २३ र ताप्लि गाउँपालिका ३० जनाको क्षमता स्थापना गरिएको छ । उदयपुरमा फिवर क्लिनिकको संख्या ७० वटा रहेका छन् । कटारी नपामा ९, चौदण्डी ११, त्रियुगा नपा १४, बेलका नपा ६, उदयपुरगढी गापा ७, ताप्लि गापा ९ रौतामाई ९ र लिम्चुङ्गबुङ्ग गापामा ५ वटा रहेका छन् ।
सकारात्मक प्रयास–कोरोना भाईरसको आंशका लागेका व्यक्तिहरुलाई अस्पतालसम्म पुर्याउनका लागि जिल्लाका ८ वटै स्थानीय तहले १÷१ एम्वुलेन्स तयारी अवश्थामा राखेका छन् । स्थानीय तहहरुले एम्वुलेन्सको भाँडा निशुल्क गरेका छन् । यता चौदण्डीगढी नगरपालिकाले भने विरामीको भाँडा निशुल्क गर्दै एम्वुलेन्स चालकलाई प्रोत्साहन दिनका लागि प्रोत्साहन भत्तासमेत व्यवस्था गरेको छ । त्यस्तै पालिकाका सबै नाकाहरु बन्द गरिएका छन् । स्थानीय आफै पनि जागरुक भई सवारी साधन र नयाँ व्यक्ति प्रवेशमा रोक लगाउन आफ्ना घर अगाडीका सडकहरु ढुङ्गा तेर्साएर अवरुद्ध बनाएका छन् । राहत वितरण कार्यलाई पनि निरन्तरता दिँदै आएका छन् । चौदण्डीगढी नपाले ७० लाख, ताप्लि गाउँपालिकाले १५ लाख र रौतामाई गापाले १० लाखको विपद् कोषको तयारी गरेका छन् ।
समस्या– विपद्को घडीमा जिल्लाका ५ स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गर्न सकिएको छैन् । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका, बेलका नपा, कटारी नपा, उदयपुरगढी गापा र लिम्चुङ्गबुङ्ग गाउँपालिकाले पालिकाको वजेटबाट नभई अन्य सहयोगी निकायले दिएको रकमबाट कोष स्थापना गरेका छन् । भौगोलिक समस्याकाकारण अझै पनि कतिपय विदेशबाट आएकाहरु लुकेर बसेकाले क्वारेन्टाईनमा राख्न सकिएको छैन ।
इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार चैत २३ गते इलाम जिल्लाका विभिन्न क्वारेन्टाइनमा ७७ जना र होम क्वारेन्टाइनमा ३ सय ३१ जना छन् । इलाम नगरपालिका–८ सिङफ्रिङमा रहेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा २ पुरुष थपिएका छन् । यहाँ अहिले ४ महिला र ६ पुरुष रहेको इलाम नगरपालिकाले जनाएको छ । जिल्लाका पूर्वमा भारतसँग जोडिएका क्षेत्रबाट आउ–जाउ नियन्त्रण गर्न सशस्त्र प्रहरीको ४० जनाको टोली ती स्थानमा खटाउने निर्णय गरिएको छ । यो थप टोली सोमबार सीमा क्षेत्र पुग्ने जिल्ला प्रशासन कार्यालयका अधिकृत सफल पोर्तेलले बताउनुभयो । इलाम सदरमुकाममा रहेको जिल्ला समन्वय समितिको नयाँ भवनलाई १२ बेडको आइसोलेसन वार्ड बनाउने तयारी अन्तिम चरणमा पुगेको पोर्तेलले बताउनुभयो ।
सकारात्मक प्रयास– इलामको माई नगरपालिका वडा २ र ४ का युवाले स्वतस्फूर्त रूपमा राहत उठाएर विपन्न ३० परिवारलाई बाँडेका छन् । उनीहरूले आफहरूबाटै उठेको ५० हजार मूल्य बराबरको चामल, दाल, साबुन र खाने तेल बाँडेको स्थानीय विमलकुमार दाहालले बताउनुभयो । माई नगरपालिकाकै नमुना युवा क्लबले स्थानीय शुक्रबारे बजारमा ७ वटा ड्रममा पानी र सँगै साबुन राखेर सातै स्थानमा सर्वसाधारणलाई हात धुने व्यवस्था मिलाएको छ ।
चैत ११ देखि चिया टिपाइ बन्द रहेको इलामको कन्याम चिया बगानमा हरियोपत्ती टिपाइ सुरु गरिएको छ । श्रमिकले कोरोनाबाट बच्न मास्क प्रयोग गरेको, सामाजिक दूरी कायम गरेको कन्याम चिया बगानले जनाएको छ । सूर्याेदय नगरपालिकाको विपद् व्यवस्थापन कोषमा व्यवसायी डम्बर गदालले २५ हजार नगद सहयोग गरेका छन् । इलाम नगरपालिकाले विपन्न परिवारलाई चामल, तेल साबुन, चिनी र नुन बाँड्ने तयारी गरेको छ । नगरले २ जनासम्मको परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ प्याक नुन, १ केजी चिनी र २ वटा साबुन बाँड्ने जनाएको छ । २ जनाभन्दा बढीको परिवारले २५ केजी चामल, २ लिटर तेल, १ प्याक नुन, २ केजी दाल, १ केजी नुन र २ वटा साबुन बाँड्ने भएको नगरले जनाएको छ । फाकफोकथुम गाउँपालिकाका व्यवसायी तेजबहादुर शिवाकोटीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ६ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट(पीपीइ) प्रदान गर्नुभएको छ ।
पाँचथर जिल्ला प्रतिनिधि मंगल बेघाका अनुसार चैत २३ गते पाँचथरमा ८ महिला ३८ पुरुष गरी ४७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाईनमा राखिएका १ महिला र ३ पुरुष गरी ४ जनालाई घर पठाइएको छ । आज फिवर क्लिनिक मार्फत २ जना पुरुषको ज्वरो मापन गरिएको छ । यसअघि ३ महिला र ६ पुरुषको स्वाब परिक्षणका लागि सुनसरी धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा ३ जनाको नतिजा नेगेटिभ आएको थियो भने चैत २१ गते पठाइएका ६ जनाको नजिता आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आईसोलेसनमा १ महिला र ५ जना पुरुष गरी जम्मा ६ जना रहेका छन् ।
सकारात्मक प्रयास– फिदिम नपा वडा नं. १० ले ६२५ केजी चामल, ४२ लिटर तेल, २५ केजी दाल र ३१ केजी नुन सो वडाका ६२ जना विपन्न मजदुरहरुलाई वितरण गरेको छ । पाँचथर उद्योग वाणिज्य संघले ‘खाद्यान्न बैंक’ मा चैत २३ गते सम्ममा चामल ६,२५५ केजी, नुन १५० केजी, दाल १७५ केजी, खानेतेल १७० लिटरका र चाउचाउ ३५ कार्टुनका साथै नगद रु १ लाख ९१ हजार ७ सय ९० रुपैयाँ जम्मा भएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण मजदुर तथा विपन्न समुदायलाई वितरण गर्ने गरी सो बैंक स्थापना गरिएको हो । बैंकमा जम्मा भएका खाद्यान्न सामग्री आवश्यकता अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरुमा वितरण गरिने संघका अध्यक्ष दिपक नेपालले जानकारी दिए ।
समस्या– आईसोलेसनमा राखिएका विरामीहरुको स्वाब परिक्षणका लािग सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाए पनि सो प्रतिष्ठानले समयमा नतिजा उपलब्ध नगराउँदा विरामीको उपचारमा समस्या सर्जना भएको छ । स्वास्थ्यकर्मीहरुका लागि पीपीई तथा ज्वरो मापन गर्ने यन्त्र नुहँदा विरामी जाँच्न समस्या आएको छ । स्थानीय तहहरुले राहत वितरण गर्नु पर्ने मजदुर तथा विपन्न समुदायको तथ्य लगत संकलन नगर्नाले राहत वितरणमा समस्या आएको छ ।
ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत २३ गतेसम्म जिल्लामा निर्माण गरिएको १ सय ५९ बेड क्षमताको क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ । सिरीजंघा गाउँपालिकामा ८ जना,फक्ताङलुङ गाउँपालिकामा २ जना र सिदिङ्मा गाउँपालिकामा १ जना गरि ११ जनालाई राखिएको छ । जिल्लामा १४ बेडको आइसोलेन कक्ष निर्माण गरिएको छ । यहाँका १ नगरपालिकासहित ८ वटा गाउँपालिकामध्ये सिरीजंघा गाउँपालिकामा चैत २० गते ६ जना र २१ गते थप २ जनागरि ८ जनालाई राखिएको हो । सिदिङ्मा गाउँपालिकामा चैत १९ गते र फक्ताङलुङ गाउँपालिकामा चैत १७ गतेदेखि राखिएको हो । यसअघि चैत १२ गते फुङलिङ नगरपालिकास्थित उद्योग वाणिज्य सँघको क्वारेन्टाइनमा राखिएका ३ जनालाई चैत २० गते छाडिएको थियो । बाणिज्य सँघको क्वारेन्टाइनमा चैत १२ गतेदेखि राखिएको थियो । अब ११ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा राखिएका ११ जना नै पुरुष हुन् । क्वारेन्टाइनमा राखिएका कसैको पनि स्वाब परीक्षण गरिएको छैन् ।
सकारात्मक प्रयास- सामुदायिक वन उपभोक्ता महासँघले (फेकोफन) कोरोना संक्रमण तथा रोकथाम कोषका लागि ५० हजार सहयोग गरेको छ । प्रधानमन्त्रि अध्यक्ष रहेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरि चैत २३ गते ५० हजार हस्तान्तरण गरेको हो । जिल्ला अध्यक्ष सुरज ओझाले प्रमूख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई हस्तान्तरण गरे ।
पाथीभरा याङवरक गाउँपालिका–६ थुम्बेदिनमा चैत २३ गते १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । चैत २३ गते बसेको गाउँपालिका बैठकले जनप्रतिनिधिको मासिक १ महिनावापतको ३ लाख ८७ हजार २ सय ,पालिकाको आकस्मिक कोषको ५ लाख र विपद व्यवस्थापन कोषको ७ लाख गरेर १५ लाख ८७ हजार २ सय रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
समस्या- लकडाउन अवधिका बेला सदरमुकाममा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि भएको छ । तरकारी तथा फलफुलमा ४० प्रतिशतसम्म मुल्य वृद्धि भएकाले उपभोक्ता मर्कामा परेका छन् । सहायक प्रमूख जिल्ला अधिकारी केशव खतिवडाको नेतृत्वमा बजार अनुगमनमा निस्किएको टोलीले मृल्य वृद्धि पाइएको जनाएको छ । प्रतिकिलो २ सय रुपैयाँ पर्ने स्याउ २ सय ५० रुपैयाँ,आलु २० रुपैयाँ बढेर प्रति केजी ७० रुपैयाँ पुगेको छ । ढुवानी भाडा विर्तामोड–ताप्लेजुङ प्रतिकेजी २ रुपैयाँ ५० पैसाबाट बढाएर ५ रुपैयाँ पुगेकाले मुल्य बढेको व्यापारीले जनाएका छन् ।
झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २३ गते झापामा १५ ओटा पालिकामा २२ ठाँउमा क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा ५ सय ९६ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । चैत २३ गतेसम्म १ सय ४० जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा १ हजार चार जनालाई राखिएको छ । मेची अस्पतालमा ८ वेडको आइसोलेशन निर्माण गरिएको छ । चैत २३ गतेसम्म सात जना आइसोलेशनमा भर्ना छन् । सात जनाको स्वाब परीक्षण गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । झापामा चैत २३ गतेसम्म मानव स्रोत डाक्टर ३० जना,नर्स १ सय ३३ जना,ल्याव टेक्निसियन २२ जना,अन्य सहयोगी १ सय २१ जना,सुरक्षा दल ८७ ओटा र स्वयमसेवक ६३ जना खटिएका छन् ।
सकारात्मक प्रयास–अत्यावश्यक सामग्री बाहेक कुनैपनि सामान मेची भन्सारबाट नेपालमा आयात आयात नगरिने कार्यालयका प्रमुख विश्वकर्माले जानकारी दिए । सामग्रीमा औषधि, ग्यास र पेट्रोलियम पर्दाथ बाहेकका सामग्री आयातमा पूर्ण रोक लगाइने भएको छ ।
सहारा नेपालद्धारा दमक स्थित बेलडाागी शरणार्थी शिवरिमा एक हजार केजी चामल वितरण गरिएको छ । दातृ संस्थाले केही महिनादेखि खाद्यन्न र औषधि सहयोग गर्न छाडेको थियो ।
निजी तथा आवासीय विद्यालय (प्याब्सन)अर्जुनधाराले २५ केजी चामल उपलब्ध गराएको छ । प्याब्सनका अध्यक्ष रुद्र सिटौलाले सो राहत अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेका थिए ।
मेचीनगर प्यारिभिट्टामा आम्बद्ध युवाहरुद्धारा झापाको मेचीनगरमा १६ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । १० केजी चामल, २ केजी दाल, १ पोको नुन, १ पोको तेल १६ घरधुरीलाई वितरण गरेका गरि सकेका छौँ । १६ हजार मूल्य बराबरको राहत साम्रागी वितरण गरिएको खेलाडी तथा युवा समाजसेवी राजु शिवाकोटीले जानकारी दिए ।
सोखलखुम्बु जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार चैत २३ गते सोलुखुम्बुमा ३ सय ४१ जना क्षमताको क्वारेनटाई र ४६ वेडको आईसोलेशन वार्ड निर्माण गरिएको छ । बैदेशिक रोजगारीबाट आएका १४ जना मध्ये २ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीन जनाको केही दिनमा आउने बताईएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । सगरमाथा क्षेत्र भ्रमणमा आएका करिब ५ सय १७ जना पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बु जिल्ला सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार ३४८ विदेशी र १६९ जना नेपाली गाईडको उद्धार गरिएको हो । उनीहरुलाई विभिन्न एयरलाईन्स कम्पनीको समन्वयमा उद्धार गरिएको बताईएको छ । बैदेशीक रोजगारीबा आएका १४ जना मध्ये २ जनाको स्वाब परिक्षण गर्दा त्यसको रिपोर्ट नेगेटिभ आईको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो ।
सकरात्मक प्रयास–लकडाउन प्रभावित श्रमिक तथा मजदुरलाई थुलुङदुधकोशी गाउँपालिकाले हाल सम्म २४५ घरधुरीलाई दैनिक उपभोग्य बस्तु वितरण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार आज वडा नम्बर ७ का ३५ घर परिवारलाई ३० के.जी चामल, ५ के.जी दाल, १ के.जी नुन, एक लिटर तेल र एउटा साबुन वितरण गरिएको छ
लिखुपिके गाउँकार्यपालिकाको बैठकले अति विपन्न परिवारको तथ्याङ्क तीन दिन भित्र संकलन गरि सक्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतका अनुसार पाँच दिन भित्र राहत वितरण गर्ने गरि तथ्याङ्क संकलन गर्न वडा अध्यक्षलाई निर्देशन दिईएको छ ।माप्यदुधकोशी गाउँपालिकाले लक डाउनको कारण समस्यामा पर्न सक्ने भन्दै आज देखी अति विपन्न घरपरिवारको पहिचान सुरु गरेको जनाएको छ । गाउँपालिका उपाअध्यक्ष जुनितामाया मगरका अनुसार आज देखी पाँच वटै वडामा तथ्याङ्क संकलन सुरु गरिएको छ ।
सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राईसहितको टोलीले विभिन्न स्थानीय तहमा निर्माण गरेको क्वारेनटाईनको निरिक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी रमा अचार्यासहितको टोलीले नेचा सल्यान, थुलुङदुधकोशी, सोताङ र महाकुलुङ गाउँपालिकाले निर्माण गरेको क्वारेनटाईन र आईसोलेसन वार्डको निरीक्षण गरेको हो ।
समस्या–भौगोलिक बिकटता रहेको सोलुखुम्बुमा टेलिफोन समस्या भएको कारण तथ्याङ्क संकलनमा केही समस्या भएको बताईएको छ । लक डाउनको समयमा घरेलु हिंसा बढेको न्यायीक समितिले जनाएको छ । न्यायीक समिति संयोजक नेचासल्यान सोलुखुम्बुकी उपाअध्यक्ष कुमारी देवी शर्माका अनुसार दैनिक एक वटा उजुरी आउँने गरेको छ ।
भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरमा चैत २३ गते सम्म क्वारेन्टाइनमा राखिएको संख्या १३ पुगेको छ जसमा ३ जना घर फर्कीयका छन् भने २३ गते सम्म १० जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । अहिले सम्म १९ आईसोलेशन कक्षा निमार्ण गरिएको छ भने आईसोलेशन राखिएको संख्या शूण्य छ । जिल्लामा क्वारेन्टाइनको संख्या ३ सय १० पुगेको छ । जिल्ला भर विभिन्न बाहिरी जिल्लाबाट जिल्ला प्रबेश गर्ने नाका तथा स्वास्थ्य चौकीहरुमा ७६ वटा हेल्थडेक्स स्थापना गरिएको छ ।
सकारात्मक प्रयास– हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका लागि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि राहत कोषको स्थापना गरेको छ । राहतकोषका लागि गाउँपालिकाका जनप्रतिनिधिहरुले पाउँदै आएको १५ दिनको सेवा सुबिधा बापतको रकम, गाउँ कार्यपालिका कार्यालय तथा सो अन्तर्गतका कर्मचारिहरु मध्ये अधिकृत स्तरको शुरु तलव स्केलको ५ दिन, सहायक स्तर तथा सहयोगिहरुको ३ दिनको तलव बराबरको रकम राहतकोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रेम कमार राईले बताउनु भयो । उक्त राहतकोषमा स्वास्थ्य सेवा वा स्वास्थ्य संस्थामा संलग्न कर्मचारिहरुले भने जम्मा गर्नुपर्ने छैन । साथै प्रत्येक वडामा कोरोना भाईरसका बिषयमा गुनासो संकलनको ब्यबस्था गरिएको तथा सो बिषयमा निरन्तर अद्यावधिक गर्न तथा गाउँपालिकामा प्रत्यक्ष सम्पर्क गर्नका लागि गाउँपालिकामा नियमित हटलाईन टेलिफोन सेवा संचालन गरिएको राईले बताउनु भयो कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाभित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा आवस्यक ब्यक्तिगत सुरक्षा उपकरण इन्फ्रारेड थर्मो्मिटर, मास्क, सेनिटाईजर, भाईरेक्स, ब्लिचिङ्ग पाउडर, तथा सामान्य रुघा, ज्वरोका औषधिहरुको पर्याप्त ब्यबस्था मिलाईएको छ ।
तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बुका अनुसार चैत २३ गतेसम्म जिल्लामा १ सय २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा हालसम्म १५ जना क्वारेन्टाईनमा र १ सय १३ जना गरि जम्मा १ सय २८ जना राखिएको छ । जिल्लाको छथर गाउपालिकामा २० जना होम क्वारेन्टाइनमा, फेदाप गाउपालिकामा १५ जना क्वारेन्टाईनमा र १ सय १३ जना होम क्वारेन्टाईनमा राखिएको छ भने मेन्छ्यायेम गाउपालिकामा २ जना र आठराई गाउपालिकामा ७ जना क्वारेन्टाईनमा राखिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको १० वेडको आइसोलेशन कक्ष निर्माण गरिएकोमा २ जनालाई राखिएको छ । उनीहरूको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पछि नेगेटिभ आएको छ । क्वारेन्टाइनमा राखिएका २ जनालाई घर पठाइएको छ ।
सकारात्मक प्रयास–(कोरोना भाइरस(कोभिड १९)सङ्क्रमित तथा संक्रमण आशङ्का गरिएका बिरामीको उपचार तथा व्यवस्थापनका लागि फेदाप गाउपालिका र आठराई गाउपालिकामा गाउँपालिकाले कोष स्थापना गरेका छन् । फेदाप गाउँपालिकाको कार्यपालिका बैठकले चैत २० को बैठकले १० लाख रुपियाँ गाउँपालिका र आठराई गाउपालिकाले १५ लाख रुपैयाको कोष स्थापना गरेको छ । म्याङलुङ नगरपालिकाले १२ सय ५७ जनालाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लिटर तेल प्रदान गरेको छ ।
सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार सकारात्मक प्रयासका रूपमा सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेरा लगाएको छ । लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ औटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास तेर्साएर बन्द गरिएको छ
सुनसरीको कोशी गाउँपालिकामा स्थानीय सरकारले राहत नदिएकाले समाजसेवी र दाताहरुले भोको पेट बसेका सुकुम्बासी र दलितहरुलाई राहत वितरण गरेको छ । स्थानीय पत्रकार पवन रौनियारले सामाजिक सञ्जाल फेसबुकमा पीडितहरु भोकभोकै बसेको भिडियो पोष्ट गरेपछि त्यसबाट प्रभावित भएर कोशी गाउँपालिका १ लौकहीका व्यापारी शंकर साह र अरुण मेडिकल पसलका सञ्चालक अरुण साहले संयुक्त रुपमा १ सय ५० भन्दा बढ़ी सुकुम्बारी , दलित समुदायका घरपरिवारलाई वडाको सहकार्यमा राहत वितरण गर्नु भयो ।
समस्या–सुनसरीको कोशी गाउँपालिकाका ८ ओटै वडामा लकडाउनको बेलामा सुकुम्बासी, दलित र मजदुरहरुले आफूहरु लकडाउनको मारमा परेको गुनासो गरेका छन् । कोशीमा लकडाउनको १२ दिन वित्दा समेत स्थानीय सरकारले कुनै राहत नदिएको कारणले केही स्थानीयहरु भोकभाकै बसेको गुनासो गरेका छन् । कोशीमा केही समाजसेवी र दाताहरुले बाहेकको कुनै पनि सरकारी निकायले भोको पेटलाई खानाको व्यवस्था नगरेको स्थानीय राधा सदाले गुनासो गर्नुभयो । कोशीको २ , ३, ४ , ५ , ६ , ७ र ८ नम्बर वडाका सुकुम्बासी र दलितहरुले आफूहरुलाई राहत वितरण गर्नुपर्ने माग गरेका छन् ।