विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सङघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । देशमा कोरोना भाइरसको सङ्क्रमण फैलने अवस्था दास्रो स्टेजमा आएकोले अझै उच्च सतर्कता अपनाउन नेपाल सरकारले लकडाउनलाई अझै कडाई गर्ने निर्णय गरेको छ । सम्भावित सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तथा लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि चैत २३ गते प्रदेश सरकार र स्थानीय सरकारले थप निर्णय गरेका हुन् ।
बागमती प्रदेशमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रदेशको विभिन्न जिल्लामा भएको गतिविधिहरू प्रदेश अन्तरगतका जिल्ला प्रतिनधिहरूले पठाउनु भएको सूचनाका आधारमा प्रदेशको अवस्था विश्लेषण गरिएको छ ।
विश्वमा नै कोरोनाको महामारी फैलिइरहेको अवस्थामा बागमती प्रदेशको राजधानी हेटौडामा रहेको एकमात्र सरकारी अस्पताल, हेटौडा अस्पतालमा पाँच थान मात्रै गुणस्तरीय पिपिइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रविन श्रेष्ठका अनुसार अस्पतालमा पाँच थान मात्र ओरिजिनल पिपिइ रहेको छ । यसको प्रयोग कोराना आशङ्काका बिरामीको स्वाब निकाल्न मात्र प्रयोग गर्ने गरिएको उहाँले बताउनु भयो ।
मकवानपुरको हेटौडा अस्पतालमा हाल ३५ सेट पिपिइ स्थानीय स्तरमा अस्पताल आफैले छाताको कपडाले सिलाइएको छ भने ४० सेट पिपिइ स्थानीय क्लव सहयोग गरेको हो । पिपिइको अभावमा हेटौडा अस्पतालले छाता बनाउने कपडाबाट ३५ सेट पिपिइ जस्तो गरि पोसाक सिलाइ प्रयोगमा ल्याएको छ । ‘हामीसँग पिपिइ छैन त्यसैले वाटर प्रुफ कपडाको पिपिइ बनाएका छौ,’ अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले भन्नु भयो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पिपिइ अभावबारे आफै अनुगमनमा जाने तयारीमा रहेको र त्यसपछि मात्रै वास्तविकता बताउन सक्ने जानकारी दिनुभयो ।
यसैबीच कोरोनाको त्रासका कारण लकडाउन भइरहेको समयमा हेटौँडा उपमहनगरपालिका क्षेत्रमा कुनै पनि व्यक्ति, सङ्घसंस्थाहरूले आफुखुसी राहत वितरण गर्न नपाउने भएका छन् । उपमहानगरपालिकाको चैत २३ गते कार्यपालिका बैठकले राहत वितरणमा आफूखुसी वितरण गर्नुभन्दा उपमहानगरपालिकाको एकद्वार प्रणालीमा सहभागी हुनुपर्ने निर्णय गरेको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । आफूखुसी कुनैपनि व्यक्ति, सङ्घ संस्थाहरूले वितरण गर्दा कतै दोहोरो त कतै राहत नपुग्ने भन्दै नगरपालिकाले एकद्वार नीति ल्याइएको हो ।
सिङ्गो बस्तिमै खाद्यान्न सकिदा समस्या
सरकारले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बचाउन गरेको लकडाउन घोषणा गरेपछि ज्याला गरेर छाक टार्दै आएकाहरूलाई समस्या भएको छ ।
उत्तरी धादिङको खनियाँबास गाउँपालिका–२ क्यूङ गाउँमा खाद्यान्न सकिनपछि समस्या भएको धादिङबाट इन्सेक प्रतिनिधि सिताराम अधिकारीले बताउनु भयो । ६१ घर रहेको क्यूङ गाउँ सबै तामाङ समूदायको बसोबास क्षेत्र हो । यहाँका धेरैजसो स्थानीयहरू भारतमा रोजगारीको लागि जाने र परिवार पाल्ने गरेका थिए । यस वर्ष भारत जानुअघि नै भएको लकडाउन र केही अति गरिव परिवारको ज्याला गर्ने अवसर समेत नपाएकोले खानेकुरा नभएको गाउँका चोक्ता तामाङले टेलिफोनबाट जानकारी दिनुभयो ।
लकडाउनपछि व्यापारिक पसलबाट चामललगायत खाद्यान्न उधारो नपाएकोले यो बस्तिको सबैको घरमा खानेकुरा नभएको अम्बर तामाङको भनाई छ । गाउँमै ज्याला गरेर खानुपर्ने परिवारको त चारदिन अघिदेखि नै खानेकुरा सकिएको छ । १२ दिनसम्म काम नपाएको र गाउँमा एक आपसमा ज्याला नहुने र पर्म मात्र हुने भएकोले ज्याला गर्न समेत समस्या आएको छ ।
चारदिन अघिदेखि खानेकुरा सकिएकाहरूमा तङदोल तामाङ, कान्छा तामाङ, चोक्ता तामाङ, अम्बर तामाङ र टेकबहादुर तामाङको पारिवार रहेका छन् । उनिहरूलाई तत्काल सहयोग उपलब्ध गराउनु पर्ने अवस्था आएको वडा अध्यक्ष टेकबहादुर तामाङले बताउनु भयो । वडा अध्यक्ष तामाङले चैत १९ गते नै गाउँपालिका कार्यालयमा लिखित जानकारी गराइ सकेको बताउनु भयो ।
गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकहरूको गुनासो छ ।
नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा ४ सय ६० जना सेल्फ (होम) क्वारेनटाइनमा रहेकामा उनीहरूको स्वास्थ्य सामान्य रहेको छ । दुई जना आइसोलेशनमा राखिएकोमा दुवैमा कोरोना सङ्क्रमण नेगेटिभ आएको छ । उनीहरूको सामान्य ज्वरो पनि निको भएकोले घर पठाएइको छ ।
विदुर नगरपालिकाले चैत २३ गते विज्ञप्ति प्रकाशित गरी लकडाउनको कारण समस्यामा परेका ज्यालादारी मजदुर, सुकम्बासी तथा विपन्न परिवारहरूलाई खाद्यान्न राहत वितरण गरेको जनाएको छ । नगरपालिकाले नौ ओटा वडाका ७ सय ८६ परिवारका २ हजार ९ सय ५९ जनालाई राहत प्रदान गरेको जनाएको छ ।
नुवाकोट इँटा व्यावसायी सङ्घले चैत २३ गते प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई भेटेर इँटा भट्टाका मजदुरहरूलाई स्थानीय तहहरूबाट राहत उपलब्ध गराउन पहल गर्न माग गरेको छ । यस्तै सङ्घले मजदुरलाई घर पठाउन नपाउने हो भने सुरक्षित रुपमा काम गर्न दिन पनि माग गरेको सङ्घका अध्यक्ष जयबहादुर लामाले जानकारी दिनुभयो । यस्तै नुवाकोट उद्योग वाणिज्य सङ्घले लकडाउनको समयमा पनि खाद्यान्न खरिद सम्बन्धी समस्या भएकाले समाधानको पहल गर्न भन्दै सहायता कक्षा स्थापना गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा चैत २३ गते बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय विपद व्यवस्थापन केन्द्रको बैठकले जिल्ला बाहिरबाट आएर इँटा भट्टामा काम गर्ने मजदुरलाई पनि राहत उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।
राहत वितरण : विदुर नगरपालिकाले ५ सय ३६ परिवारलाई राहत दिएको छ । नगरको वडा–१ का २५ परिवार, वडा– ४ का १ सय ६५ परिवार, वडा–५ का १ सय ११, वडा–६ का १ सय ३५ परिवार र वडा–१२ का ६५ परिवारलाई एक हप्तालाई पुग्ने खाद्यान्न सामग्री प्रदान गरिएको मेयर सन्जु पण्डितले जानकारी दिनुभयो । अन्य वडाहरूमा राहत दिनु पर्नेको विवरण सङ्कलन भइरहेको नगरपालिकाले जनाएको छ । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारहरूलाई खाद्य अभाव हुन नदिनको लागि आवश्यकताको आधारमा प्रदान गरिएको हो ।
जिल्लाका अन्य पालिकाहरूले पनि राहत वितरणको लागि तथ्याङ्क सङ्कलनको कार्य भइरहेको जनाएका छन् । नुवाकोट जिल्लाका नियमति रूपमा ज्वारो स्वास्थ परीक्षण कार्य गरिदै आएकोमा चैत २३ गते २ सय २१ जनाको ज्वरो परीक्षण गरिएको ।
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार यहाँ बिदेशबाट घर फर्केका २ सय ६७ जना रहेका छन् । उनीहरूको अवस्थाबारे स्थानीय पालिकाले जानकारी लिने काम सुरु गरेको छ ।
जिल्लाको सुनकोशी गाउँपालिका ५ को क्वाराइन्टाइनमा राखिएका २४ जनालाई आ–आफ्नो घर पठाइएको छ । उनीहरूलाई चैत २१ गते राती काठमाडौँबाट बस रिजर्भ गरेर बाह्रविसे तर्फ घर आउदै गरेको अवस्थामा खाडिचौरबाट प्रहरीले नियन्त्रणका लिएर क्वारान्टाइनमा राखेको थियो । यस जिल्लामा चैत २३ गते १० जना क्वारान्टाइनमा राखिएको छ भने तीन जना बाह्रविसेको आइसोलेशनमा राखिएको छ । आइसोलेशनमा राखिएकाहरूको स्वाब परीक्षणको लागि काठमाडौँ पठाइएकोमा रिर्पोट आएको छैन ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन गर्न ६५ लाखको कोष निर्माण गरेको छ । विपद व्यवस्थापनबाट खर्च हुने ३० लाख र विभिन्न योजनाहरूबाट ३५ लाख गरि ६५ लाखको कोष खडा गरेको जिल्ला प्रतिनिधि बिमला पाण्डे जानकारी दिनुभयो ।
गाउँपालिकाले बाटो निर्माण, लोकसेवा तयारी कक्षा तालिम, सिलाई बुनाई तालिम, कम्प्यूटर तालिम, ड्राइभिङ तालिम, कर्मचारीहरूको तालिमलगायतको कार्यक्रमको लागि छुट्याएको बजेट कटौति गरेर कोष निर्माण गरेको हो । बैठकले तत्काल राहत प्याकेज ल्याउने, कोरोना सङ्क्रमण रोक्न लकडाउनलाई अझ सशक्त रूपमा कार्यान्वयन गर्न लागि पर्ने, व्यापक रूपमा जनचेतना मूलक कार्यक्रम गर्ने, प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।
कमलामाई नगरपालिकाले काठमाडौबाट विपी राजमार्ग हुँदै सप्तरी तर्फ जादै गरेका २७ जनालाई पैदल यात्रुलाई उद्धार गरी खाजा पानी खुवाएर सवारी साधनको व्यवस्था गरी पठाएको छ ।
दोलखा जिल्लाबाट प्रतिनिधि उद्धव पोखरेलका अनुसार मेलुङ गाउँपालिकाले आफ्नो पालिका भित्र टोलटोलमा कोरोना सङ्क्रमण बिरुद्ध सचेतना कार्यक्रम र नेपाल बाहिरबाट आएका नेपालीको घर पहिचानका लागि रातो झण्डा राख्ने कामलाई निरन्तरता दिईरहेको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी स्थानीय स्तरमै रही स्वास्थ्य सम्बन्धि जनचेतना प्रवाह गरिरहेका छन् । लकडाउन र निषेधाज्ञाका कारण खाद्यान्न अभाव हुन नदिन विपन्न र मजदुरहरूको विवरण सङ्कलनको काम जिल्लाका सबै पालिकाहरूले सुरु गरेका छन् ।
जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधीहरूबाट चैत २३ गते जिल्लाको कालिञ्चोक, बिगु र गौरीशङ्कर गाउँपालिकाको स्थलगत अनुगमन भैरहेको छ । उक्त अनुगमनबाट बजार क्षेत्र तथा गाउँमा लकडाउन र निषेधाज्ञा जारी भएको अवस्थामा मानिसको आवतजावत, सवारी साधनको प्रयोगको अवस्था, स्थानीय सरकारले तयार गरेका क्वारेन्टाईन कक्षको अनुगमन गरेको थियो ।
लकडाउनको १३ दिन बित्दैगर्दा बैंक तथा सहकारीहरूले कारोवार गर्ने निश्चित समय तोकका छैनन् । नगद कारोवार बन्द भएको र दैनिक उपभोग्य बस्तु खरिदमा समस्या भएको बिशेष गरी बजार क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बैंक तथा बित्तिय संस्थाको कारोवार समय तोक्ने र समयावधि बढाउन पहल गर्ने बताउनु भयो ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक चोक क्षेत्रमा लकडाउन उल्लङ्घन बढ्दो छ । मानिसको आवतजावत जारी रहेको छ । प्रहरी, प्रशासनले कडाई गर्न नसकेको गुनासाहरू आएका छन् । पालिकाहरूले राहत वितरण कार्य जारी राखेका छन् । हालसम्म ७ हजार परिवारलाई खाद्यान्न राहत वितरण गरेको भक्तपुर नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरि सूर्यविनायक नगरपालिकाले विभिन्न वडामा गरी ५ हजार १ सय ६१ नागरिकलाई राहत वितरण गर्ने भएको छ । जसमा १ देखि ७ नम्बर वडासम्म राहत वितरण गरेको र २४ गते भित्र १० ओटै वडाका विपन्नलाई राहत वितरण सम्पन्न गर्ने नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिनुभयो ।
९४ को रिपोर्ट नेगेटिभ, सबै घर फर्किए
भक्तपुरको खरिपाटी बिद्युत प्राधिकरण तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चैत २१ गते क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित मुलुकबाट आएका ९४ जनाको थ्रोट स्वाब सङ्कलन गरेको थियो । त्यसको रिपोर्ट चैत २३ गते आएको र सबैको कोरोना नेगेटिभ रहेको उहाँले जानकारी दिनुभयो । दुबई, कतार लगायतका विभिन्न देशबाट फर्किएका थाई एयरवेजले ४९ र एयर इण्डियाले १३ गरि ६२ नेपालीलाई चैत ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइन लगिएको थियो ।
भक्तपुर प्रतिनिधि गिरी कै अनुसार कोरोनाकै कारण काठमाडौँ स्थित राष्ट्रपति भवन शीतल निवासमा ०७७ वैशाख १ गते गर्ने भनेर तय भएको विभूषण सुशोभन कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण पूर्वनिर्धारित समारोह स्थगित गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेको विभूषण समितिले सिफारिस गरेका व्यक्तिहरूलाई राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने गरिन्छ । समितिको चैत २१ गते बसेको बैठकले आठ दिनपछि हुने समारोह स्थगनको निर्णय गरेको गृहसचिव महेश्वर न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम तथा उपचारमा स्वास्थ्यकर्मीका लागि प्रयोग हुने १ हजार थान पीपीई प्राप्त गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नेपाल–भारत मानव विकास मैत्री सङ्घको तर्फबाट ३ सय र एनमएबी ग्रुपका तर्फबाट ७ सय थान पीपीई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई २३ गते मन्त्रालय मै हस्तान्तरण गरिएको हो । मन्त्री ढकालले उक्त पिपिइ सातै प्रदेशमा एक–एक सय थानका दरले पठाइने जानकारी दिनुनभयो ।
त्यस्तै काठमाडौँको चन्द्रागिरी नगरपालिकामा बिदेशबाट आएकाहरूको कोरोना भाइरसको स्वाब परीक्षण सुरू गरिएको छ । चन्द्रागिरी–१५ तिनथाना र चन्द्रागिरी–७ महादेवस्थानमा कोभिड १९ को स्वाब परीक्षण सङ्कलन सुरू गरिएको चन्द्रागिरी नगरपालिका–१५ का वडा अध्यक्ष ईन्जिनियर उत्तमबहादुर राउतले चन्द्रागिरी नगरपालिका र सशस्त्र प्रहरी बल अस्पताल बलम्वु अस्पतालको प्राविधिक सहयोगमा बिदेशबाट आएका र होम क्वारेन्टाइनमा बसेकाहरूलाई स्वाब परीक्षण र नमुना सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो । अस्ट्रेलिया, कतार, बङ्गादेश, दुबई, भारतबाट आएका २४ जनाको नमुना सङ्कलन गरिएको छ । नगरपालिकामा १ सय ४६ जना बिदेशबाट आएकाहरू होम क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चित समयसम्मको लागि स्थगित भएको छ । आगामी बैशाख ६ र ७ गतको लागि तय गरिएको कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै दोस्रो पटक स्थगित गरिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जारी बिज्ञप्तिमा जनाएको छ ।
ललितपुर जिल्लाका चैत २३ गतेसम्म कोभिड–१९ को सङ्क्रमण भेटिएका छैन । स्थानीय निकायहरूले सतकर्ता तथा पूर्व तयारी गरिरहेका छन् । जिल्लाभर ६१ ओटा एम्बुलेन्स रहेकोमा हालको अवस्था अद्यावधिक गर्न लागिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनु भयो ।
विपन्न परिवारलाई राहत वितरणका लागि ललितपुर महानगरपालिका सहित ३ वटा नगरपालिकाले तथ्याङ्क फारम सङ्कलन गरेको इन्सेक जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेले जनाकारी दिनुभयो । हरेक वडामा चैत २३ गते साँझसम्ममा तथ्याङ्क लिइसक्ने गरी काम अगाडि बढाइएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनु भयो ।
चैत २३ गते कोभिड–१९ को सङ्कामा एकजना बिरामीलाई पाटन अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ । चैत २३ देखि पाटन र बज्रबाराही चापागाउँ अस्पतालमा कोभिड–१९ को सङ्कामा स्वास्थ्य परीक्षणको दैनिक रिपोर्ट सार्वजनिक गर्ने थालनी भएको
छ । ललितपुर महानगरपालिकाले बजार अनुगमनलाई तिव्र्रता दिइएको छ । चैत २३ गते ४१ ओटा पसलको अनुगमन गरिएको ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताउनु भयो ।
रगतको अभाव
ललितपुर जिल्लाका अस्पतालहरूमा रगत अभाव भइरहेको छ । सामान्य अवस्थामा दैनिक रक्तदान कार्यक्रम सञ्चालन हुने गरेकोमा अहिले ब्लड बैँकमा दैनिक १५ देखि २० पौण्ड रगत सङ्कलन हुने गरेको नेपाल रेडक्रस सोसाइटी ललितपुरका सभापति बाबुराजा महर्जनले बताउनु भयो । ललितपुर रेडक्रसले आपतकालीन अवस्थामा रक्तदान गर्न १ सय ८ जना तयारी अवस्थामा रहेको रेडक्रसले जनाएको छ । ललितपुरमा प्रेस, औषधी, दूध, खाद्यान्नलगायत अति आवश्यक सेवामा दैनिक सेवामा जाने सवारीलाई जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइएको छ । सवारी पास लिन नसकेकाहरूले बिरामी पर्दा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर जानकारी दिएमा बिना रोकतोक यात्रा गर्न पाइने प्रहरीको भनाइ छ ।
चितवन जिल्लामा एउटा कोरोना विशेष अस्पतालबाट १२ जना र अन्य अस्पतालबाट तीन जना गरी कुल १५ जनाको स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । भरतपुर कोरोना विशेष अस्पतालमा चारजना र भरतपुर अस्पतालमा एकजना आइसोलेशनमा उपचार भइरहेको छ । त्यस्तै भरतपुर अस्पतालको आइसीयुमा पाँच जनाको उपचार भइरहेको छ ।
लकडाउनलाई चितवन जिल्ला प्रशासनले कडाइ गरेको छ । लकडाउन उल्लङ्घन गरेको आरोपमा चैत्र २३ गते १६ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो । कोरनो परीक्षण प्रयोगशालाको सबैकाम सम्पन्न भएको र चैत २४ गतेबाट सञ्चालनमा ल्याइने भएको छ । जिल्लाका सबै स्थानीयतहहरूले गरिव, विपन्न नागरिकका लागि राहत वितरण थालेका छन् ।
काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार पनौती नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले सबै वडामा दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको तथ्याङ्क सङ्कलन गर्न वडालाई निर्देशन दिएको छ । राहत वितरमणका लागि नगरपालिकाले मापदण्ड समेत बनाएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । नगरपालिकाले सामाग्री खरिद गरेर १ सय ३० जनालाई राहत उपलब्ध गराईसकेको छ ।
पनौती नगरपालिकाले स्थापना गरेको फूड बैंकमा खाद्यान्न सहयोग गर्नेको ओइरो लागेका छन् । पनौती नगरपालिकाका जनप्रतिनिधिहरू तथा स्थानीय समाजसेविहरूले फूड बैंकमा खाद्यान्न सहयोग गरेका हुन् ।
यसैबीच बनेपा– ८ मा राहत वितरण गरिएको छ । बनेपा नगरपालिका–८ ले अति विपन्न तथा मजदुरलाई राहत वितरण गरेको हो । नेपाल सरकारले तोकिएको मापदण्ड अनुसार खाद्यान्न वितरण गरिएको हो ।
रामेछाप जिल्ला प्रतिनिधि नबराज पथिकका अनुसार यहाँ क्वारेन्टाइनमा राखिएकाहरूको अवस्था सामान्य भएपछि १५ जनालाई निगरानीबाट छाडिएको छ । जिल्लामा अब ६५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मन्थली नगरपालिकलामा एकजना खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगङ्गा गाउँपालिकामा चारजनालाई १४ दिन क्वारेन्टाइन राखी निगरानीबाट छुटाइएको जिल्ला स्वास्थ्य कार्याल रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।
कर्णका अनुसार चैत २३ गते गोकुलगङ्गा गाउँपालिकामा तीनजना, मन्थली नगरपालिकामा नौ जना, रामेछाप नगरपालिकामा २७ जना, सुनापति गाउँपालिकामा १५ जना, खाँडादेवी गाउँपालिकामा ६ जना, लिखुतामाकोशी गाउँपालिकामा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसमध्ये ५७ जना होम क्वारेन्टाइनमा बसेका छन् । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।
यसैबीच जिल्लाका आठ ओटै स्थानिय तहले आफनो पालिकामा रहेका स्वास्थ्य कर्मीहरूलाई अतिआवश्यक काम बाहेक बिदा दिएका छैन् । जिल्लाको सबै पालिकामा गरी ४ सय चारजना स्वास्थ्यकर्मी खटिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले जानकारी दिनुभयो ।
रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने झण्डै ६ सय जना मजदुरहररू अलपत्र परेका छन् । लकडाउनका कारण असङ्गठित क्षेत्रमा कार्यरत कामदारहरू समस्यामा परेका हुन् । क्वारेन्टाईन तथा आइसोलेशन थर्मोमिटर, माक्स, पिपिइ अभाव रहेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवामा चैत २३ गते बसेको Crisis Management Center को बैठकले समूह जम्मा गरेर राहत वितरण गर्न नदिने, जिल्लाबाहिरबाट जिल्ला प्रवेश पूर्ण रुपमा नियन्त्रण गर्ने , पैदल यात्रा गरेर आउनेलाई पनि रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनु भयो । एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री प्रबन्ध गर्ने, जिल्ला प्रवेश गरेका सबैको नमुना (स्वाव) सङ्कलन गरी कोभिड १९ परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने निर्णय भयो । जिल्लामा बन्दाबन्दीमा एक गाउँपालिकाबाट अर्को गाउँपालिका आवागमनमा रोक लगाउने समेत निर्णय भएको छ ।
जिल्लाको विभिन्न बजारमा दैनिक उपभोग्य वस्तुको बजार भाउ बढेको गुनासो आएको छ । जस अनुरुप कालिका गाउँपालिकाले चैत २३ गते पनि बजार अनुगमन गरेर धेरै पसलबाट मिति गुज्रेका खानेकुराहरू भेटेपछि नष्ट गर्न अनुरोध गरेको छ । जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्ट, गाउँपालिका महासङ्घ बागमती प्रदेश सदस्य भवानी न्यौपाने, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र बैठकमा आमन्त्रितका रुपमा अधिकारकर्मी तथा पत्रकार सहभागी थिए ।
कोरोना भाइरस (कोभिड १९) बाट बच्न उच्च सर्तकता अपनाएको छ । स्थानीय तहले क्वारेन्टाईन खोलेको छ भने स्वास्थ्यकर्मी परिचालन र प्रचार प्रसार सुरक्षा निकायसँगको समन्वय राम्रो रहेकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न कालिका गाउँपालिकाले ५० जना क्षमताको क्वारेन्टाइन तथा जिवजिवे ग्रामीण अस्पतालमा १५ सैयाको आइसोलेशन तय गरेको छ । राम्चे स्वास्थ्य चौकीमा चैत २३ गते दुई जना ज्वरोकाे बिरामी जाँचकाे लागि आएका छन् ।
निष्कर्ष
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन १३ दिन बितेको छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि नेपालमा सङ्क्रमण फैलन अवस्था दोस्रो चरणमा प्रवेश गरेको छ । यसअघि देशबाहिरबाट आएकाहरूमा मात्रै कोरोना सङ्क्रमित भेटिएकोमा अब नेपाल भित्रै पनि एक सङ्क्रमितबाट अर्कोलाई सरेर सङ्क्रमित भएको पुष्टि भएको छ । सरकारले मात्रै सतर्कता अपनाएर भाइरस सङ्क्रमण रोक्न सक्ने अवस्था छैन । यसको लागि नागरिक समाज तथा व्यक्ति स्वयम्को सबैभन्दा मुख्य भूमिका हुन्छ । विदेशबाट आएका नागरिकहरूले आफूलाइ सङ्क्रमण हुन सक्ने सम्भाव्यतालाई ध्यान दिँदै सरकारी संयन्त्रको सम्पर्कमा आउनु जरुरी छ । अहिलेको अवस्था भनेको आफू सचेत भएर मात्रै आफू, आफ्नो परिवार तथा समाज र राज्यलाई सङ्क्रमण मुक्त राख्न संभव छ । सचेत बनौ स्वास्थ्य रहौं । लकडाउनको पालना गरौं ।