कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कोभिड–१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये ८ ओटा छिमेकी मुलुकसँग सिमाना जोडिएका जिल्लाहरूलाई प्राथमिकतामा राखी कोरोनासँग जुध्ने कार्य भईरहेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ०७६ चैत २३ गतेसम्ममा कोरोना भाइरससँग लड्न ३ हजार ६ सय ५७ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ ।
प्रदेशभरी ४ सय वटा आइसोलेसन वेडको व्यवस्था गरिएको छ । प्रदेश भरी चैत २२ गते सम्म ६ सय १६ थान पीपीई (प्रर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ । प्रदेश १ मा यस अवधिमा ७२ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ५७ जनाको रिपोर्ट नेगेटिभ र १५ जनाको रिपोर्ट आउन बाँकी छ । चैत २२ गते सम्म प्रदेश १ का ११ ओटा जिल्लामा पीपीइ वितरण भएको छ । जसमा झापामा १ सय ओटा, मोरङमा ३२ ओटा, सुनसरीमा १२ वटा, तेहृथुममा ३४ ओटा, संखुवासभामा ६६ वटा, भोजपुरमा १ ओटा, खोटाङमा २१ ओटा, इलाममा ३० ओटा, सोलुखुम्बुमा १ सय ४६, उदयपुरमा १६४ ओटा र पाँचथरमा १० ओटा वितरण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चैत २२ गते सम्म प्रदेश १ मा ४ सय १९ जना पुरुष र ४१ जना महिला गरी ४ सय ६० जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा २ हजार २ सय ८७ जना पुरुष र ४ सय ८७ जना महिला गरी २ हजार ७ सय ७४ जनालाई राखिएको छ । प्रदेश १ मा झापामा ३ सय ७६ जना, मोरङमा ६ सय ३० जना, सुनसरीमा ३ सय ६५ जना, धनकुटामा ९२ जना, तेहृथुममा १ सय २० जना, संखुवासभामा १ सय ६ जना, भोजपुरमा २ सय ६८ जना, खोटाङमा २ सय ८० जना, इलाममा २ सय ७७ जना, ओखलढुङ्गामा १ सय ८० जना, सोलुखुम्बुमा ३ सय ७३ जना, उदयपुरमा ३ सय ८६ र पाँचथरमा २ सय ४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रदेश १ मा ४ सय वटा आइसोलेसन वेडको निर्माण गरिएको छ । झापामा २७ ओटा, मोरङमा ९८ वटा, सुनसरीमा १ सय ४ ओटा, धनकुटामा १२, तेहृथुममा १४ ओटा, संखुवासभामा १६ ओटा, भोजपुरमा ६ ओटा, खोटाङमा ५ ओटा, इलाममा २ ओटा, ओखलढुङ्गामा ११ ओटा, सोलखुम्बुमा २९ ओटा, उदयपुरमा ४२ ओटा, पाँचथरमा २३ ओटा र ताप्लेजुङमा ११ ओटा आइसोलेसन वेड तयार गरिएको छ ।
मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २२ गते सम्म मोरङमा १ सय ४० जना पुरुष र १० जना महिला गरी १ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ । त्यसैगरी ८ सय ९७ जना पुरुष र १ सय ६ जना महिला गरी १ हजार ३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा चैत २२ गते सम्म ६६ ओटा फिवर क्लिीनिक मार्फत ४ सय ३७ जना महिला र ४ सय ९३ जना पुरुष गरी ९ सय ९० जनाको ज्वरो मापन गरिएको छ । मोरङमा ११ जनाको स्बाब परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट नगेटिभ र २ जनाको रिपोर्ट आउन बाँकी छ ।
नेपाल आएका ९ पाकिस्तानी क्वारेन्टाइनमा-पाकिस्तानबाट नेपाल आएका नौ जना पाकिस्तानी नागरिकलाई मोरङको सुनवर्षी नगरपालिका–९ मा क्वारेन्टाइनमा राखिएको छ । मोरङ प्रशासनको निर्देशनमा मुस्लिम समुदायका उनीहरुलाई मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा राखिएकामा जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन रहेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।
बाल सुधार गृहबाट २३ बालबालिका छुटे-विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमका कारण बाल सुधार गृह विराटनगरमा राखिएका २३ जना बालबालिकालाई रिहा गरिएको छ । बाल सुधारगृहमा अत्यधिक चाप भएपछि कम सजाय भएकालाई अदालतको अनुमतिले छाड्ने प्रक्रिया थालेको थियो । यही प्रक्रिया अन्तर्गत चैत २२ गते सम्म अदालतको अनुमतिले २३ जना बालबालिका छुटेको बाल सुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले जानकारी दिनुभयो । उनका अनुसार मोरङबाट सबैभन्दा धेरै १४ बालबालिका छुटेका छन् । मोरङपछि सुनसरीबाट ५ जना बालबालिका र भापाबाट चार जना बालबालिका छुटेका हुन् । विभिन्न अपराधमा संलग्न रहेर अदालतको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका सबैभन्दा धेरै रिहा भएको चौहानको भनाइ छ । रिहा भएका बालबालिकालाई अभिभावकलाइ जिम्मा लगाएर घर पठाइएको उहाँले बताउनुभयो । विराटनगरमा रहेमा बाल सुधारगृहमा एक नम्बर प्रदेशका १४ जिल्लाका विभिन्न अपराधमा संलग्न रहेका बालबालिका रहेका थिए । २३ जना छुटेपछि अहिले एक सय ४२ जना बालबालिका गृहमा छन् । महान्यायाधीवक्ता कार्यालयले कारागारमा कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै चैत ६ गते एक वर्षसम्म कैद सजाय पाएका कैदीलाई रिहा गर्ने निर्णय गरेको थियो ।
सकारात्मक प्रयास– मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिकालाई ६ लाख रकम वरावरको ५ सय प्याकेट खाध्यान्न सामाग्री हस्तान्तरण गरेको छ । मारवाडी युवामञ्च विराटनगरका अध्यक्ष गोपाल अग्रवालले चैत २२ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई राहत सामगी हस्तान्तरण गर्नुभएको थियो । मारवाडी समाजले १० केजी चामल, २ केजी दाल, ३ केजी आलु, २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन सहित विस्कुट तथ सावुन गरेर २० केजी को ५ सय राहत प्याकेट विराटनगर महानगरपालिकालाई प्रदान गरेको हो । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था चारपाने झापाले ५० लाख रुपैयाँ जम्मा गरेको छ । सहकारीले ५० लाख रुपैयाँको चेक मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको जनाएको छ ।
विराटनगरस्थित रोटरी क्लब र विशाल ग्रुपको सहयोगमा विराटनगरका विभिन्न क्षेत्रका अतिविपन्न परिवारमा राहतस्वरुप आज खाध्य सामग्री वितरण गरिएको छ । राहत स्वरुप १० किलो चामल,दाल, नुन, तेल लगायतका खाध्य सामग्री विपन्नलाई वितरण गरिएको राहत वितरणको संयोजन गरिरहनु भएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । सहयोग राहत स्थानीय जनप्रतिनिधीको रोहबरमा अतिविपन्न परिवारको पहिचान गरेर वितरण गरिएको उहाँले बताउनुभयो ।
मोरङको कटहरी गाउँपालिकाका विपन्न र मजदुर वर्गलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । कटहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको समन्वयमा त्यहाँका ९१ विपन्न र मजदुर परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । वडाध्यक्ष मन्टु शेखसहित राहत सामग्री उपलब्ध गराउने सप्तकोशी सिमेन्टका पदाधिकारीहरु विपन्न र मजदुर परिवारको घरघरै पुगेर राहत वितरण गरेका छन । सो क्रममा प्रतिपरिवार चामल १५ किलो, दाल २ किलो र नुनलगायतका सामग्री उपलब्ध गराइएको छ ।
ओखलढुङ्गा प्रतिनिधी शिवप्रसाद ढुङ्गानाका अनुसार –ओखलढुङ्गामा चैत २२ गतेसम्म १ सय ५८ वेडका क्वारेन्टाइन निर्माण गरि १३ जना राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ८ वेडको आइसोलेशन कक्ष निर्माण गरिएकोमा २ जनालाई राखिएको छ । उनीहरुको स्वाव परिक्षण चैत २१ गते भएकोमा रिर्पोट निगेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनुभयो ।
सकारात्मक प्रयास–कोरोना भाइरस (कोभिड १९) संक्रमित तथा संक्रमण आशंका गरिएका विरामी राख्न निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार नभएको इन्सेक अनलाइन लगायत अन्य सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि संघीय प्रतिनिधी सभाका सदस्य सांसद यज्ञराज सुनुवार, प्रमुख जिल्ला अधिकारी गणेश आचार्यसहितको टोलीले मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिकाको क्वारेन्टाइन अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँहरुले क्वारेन्टाइनमा राखिएका व्यक्तिको समेत स्वाव परिक्षण गर्न र क्वारेन्टाइन मापदण्ड अनुसार व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । यस्तै शंकास्पद संक्रमितको स्वास्थ्य परिक्षण तथा उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) २१ थान र २ चरणमा गरि ३ हजार ३ सय थान माक्स सोस सुनवारले व्यक्तिलगत तर्फबाट जिल्लास्थित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित कमाण्ड पोष्टलाई हस्तान्तरण गर्नुभएको छ । त्यस्तै सुनकोसी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी गाउँपालिका केन्द्र नबसेको अनुगमन प्रतिवेदन इन्सेक अनलाइन लागयत अन्ष्य सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिका केन्द्र पुग्नुभएको छ । चैत २२ गते नै कार्यपालिका बैठक बसेर २० लाख रुपैंयाको कोरोना संक्रमण रोकथाम तथा उपचार कोष निर्माण गर्ने निर्णय भएको छ
ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत २२ गतेसम्म जिल्लामा निर्माण गरिएको १ सय ५९ बेड क्षमताको क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ । सिरीजंघा गाउँपालिकामा ८ जना,फक्ताङलुङ गाउँपालिकामा २ जना र सिदिङ्मा गाउँपालिकामा १ जना गरि ११ जनालाई राखिएको छ । जिल्लामा १४ बेडको आइसोलेन कक्ष निर्माण गरिएको छ । यहाँका १ नगरपालिकासहित ८ वटा गाउँपालिकामध्ये सिरीजंघा गाउँपालिकामा चैत २० गते ६ जना र २१ गते थप २ जनागरि ८ जनालाई राखिएको हो । सिदिङ्मा गाउँपालिकामा चैत १९ गते र फक्ताङलुङ गाउँपालिकामा चैत १७ गतेदेखि राखिएको हो । यसअघि चैत १२ गते फुङलिङ नगरपालिकास्थित उद्योग वाणिज्य सँघको क्वारेन्टाइनमा राखिएका ३ जनालाई चैत २० गते छाडिएको थियो । बाणिज्य सँघको क्वारेन्टाइनमा चैत १२ गतेदेखि राखिएको थियो । अब ११ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा राखिएका ११ जना नै पुरुष हुन् । क्वारेन्टाइनमा राखिएका कसैको पनि स्वाब परिक्षण गरिएको छैन् ।
सकारात्मक प्रयास- जिल्लाको सिरीजंघा गाउँपालिकाले चैत २२ गते कार्यपालिकाको बैठकले ६ वटा निर्णय गरेको छ । गाउँपालिको गाउँपालिकामा असंगठित क्षेत्रमा कार्यरत श्रमिकको तथ्याङ संकलन गर्ने र तत्काल राहत वितरण गर्नेगरि सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा समिति गठन गरेको छ । समितिलाई तथ्याङ संकलन गरि बुझाउनका लागि ५ दिनको समयअवधि तोकिएको छ ।
पाँचथर जिल्ला प्रतिनिधि मंगल बेघाका अनुसार चैत २२ गते पाँचथरमा ९ महिला ३९ पुरुष गरी ४८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाईनमा राखिएका भने ५ जना पुरुषलाई घर फिर्ता पठाइएको छ । आज फिवर क्लिनिक मार्फत ज्वरो मापन र स्वाब परिक्षणका लागि नमुना संकलन नगरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारद सुवेदीले बताए । यसअघि ३ महिला र ६ पुरुषको स्वाब परिक्षणका लागि सुनसरी धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा ३ जनाको नतिजा नेगेटिभ आएको थियो भने ६ जनाको नजिता आउन बाँकी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिए । आईसोलेसनमा १ महिला र ५ जना पुरुष गरी जम्मा ६ जना रहेका छन् ।
सकारात्मक प्रयास– पाँचथर उद्योग वाणिज्य संघले ‘खाद्यान्न बैंक’ स्थापना गरेको छ । कोरोना भाईरस (कोभिड १९) को संभावित महामारीवाट हुन सक्ने खाद्यान्न संकटको सामना गर्न खाद्यान्न बैंक स्थापना गरिएको संघका अध्यक्ष दिपक नेपालले बताए । सो बैंकमा आज चामल ५,५९५ केजी, नुन १५० केजी, दाल १७५ केजी, खानेतेल १६० लिटरका र चाउचाउ १० कार्टुनका साथै ९१ हजार ५ सय ५५ रुपैयाँ समेत जम्मा भएको छ । बैंकमा जम्मा भएका खाद्यान्न सामग्री आवश्यकता अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरुमा वितरण गरिने अध्यक्ष नेपालले जानकारी दिए ।
समस्या– जिल्लामा स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पर्ने उपकरण अझै पनि अभाव भएको अस्पतालहरुले जनाएका छन् । नियमित स्वास्थ्य चेकजाँच तथा औषधी सेवन गर्नु पर्ने विरामीहरुहरु अस्पतालसम्म पुग्न सकेका छैनन् । दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा पाउन सकिएको छैन । खाद्य सामग्री अभावका कारण मजदुर तथा विपन्न समुदायका व्यक्तिहरुको दैनिकी कष्टकर बनेको छ भने स्थानीय तहहरुले समेत सवैक्षेत्रमा राहत वितरण गर्न सकेका छैनन ।
सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २२ गते सम्म सङ्खुवासभामा ६ जना पुरुष र ५ जना महिला गरी ११ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा बैदेशिक रोजगारबाट भारत सहित विभिन्न देशबाट जिल्ला फर्किएका ११ जनालाई जनप्रतिनिधिको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिनु भयो । जिल्लामा २२ गते सम्म कुनैपनि शंकास्पद प्रकारका विरामी नभएको श्रेष्ठले बताउनु भयो । चीनको वुहान प्रान्त बाट फैलिएको कोराना भाइरसका कारण चीनले २०७६ माघ ५ गते बाट एकतर्फी नाका सिल गर्दा भोटखालाको किमाथांकामा खाद्यन्य संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनु भयो ।
सकारात्मक प्रयास– लक डाउनका कारण सङ्खुवासभाको मादी नगरपालिकामा अलपत्र परेका ३० जना मजदुरको उद्दार गरिएको छ । सडक निर्माणका लागि विभिन्न जिल्ला बाट आएका ३० जना मदजुरको उद्दार गरिएको मादी नगरपालिका नगरप्रमुख विदुर सुब्वाले जानकारी दिनु भयो । त्यस्तै कोरोना विरुद्ध लड्न सरकारको राहत कोषमा पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले ५ लाख सहयोग गर्नु भएको छ । पूर्व राज्यमन्त्री खड्काले सरकारको प्रधानमन्त्री कोरोना राहत कोषमा राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा ५ लाख जम्मा गरेको बताउनु भयो । कोरोना भाइसरको संक्रमण फैलिन जिल्लाका १० वटै पालिकाहरुले आ–आफ्नो क्षेत्रका नाका बन्द गरेका छन् । खाँदबारी नगरपालिका,धर्मदेवी ,चैनपुर र पाँचखपन नगरपालिकाले जिल्ला भित्रने नाकामा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरेका छन् । लड डाउन कारण समस्यामा परेका विपन्न बर्गलाई १० वटै स्थानिय तहले राहत साम्रगी वितरण गरिहेका छन् । २२ गते खाँदबारी नगरपालिकाले वडाका ४,९,१०,११ र ८ नम्बरमा ५ सय भन्दाबढी ज्यालादारी मजदुर र विपन्न बर्गलाई रातह वितरण गरेको नगर प्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनु भयो । त्यसै खाँदबारी नगरपालिकाले नगरका विभिन्न बजार क्षेत्रमा किटनाशक औषधी छर्किरहेको जनाएको छ ।
समस्या- कोरोना भाइरसको संक्रमण रोक्न स्थानिय प्रशासनले भिडभाड रोक्न साप्ताहिक हाट बजार रोक लगाएपछि तरकारी,फलफुल लगायतका सामग्रीको अभाव देखिएको छ । जिल्लाको सदरमुकाम खाँदबारीमा शनिबार लाग्ने हाट स्थानिय प्रशासनले प्रहरी लगाएर तरकारी लिएरका आएका स्थानियहरु तितरवितर बनाएको छ । स्थानिय प्रशासनले मुख्य बजार खाँदबारी,तुम्लिङटार,चैनपुर,मानेभञ्याङ लगायतका क्षेत्रमा लाग्ने हाट बजारमा रोक लगाएपछि तरकारी र फलफुलको अभाव देखिएको छ । जसले गर्दा किसानको उत्पादन हाट बजार आउन पाएको छैन ।
झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २२ गते झापामा १५ वटा स्थानीय तहले २२ स्थानमा ५ सय ९६ जना क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन् । चैत २२ गतेसम्मको अवधिमा क्वारेन्टाइनमा १ सय ४० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा ९ सय ७१ जना रहेका छन् । मेची अस्पतालमा ८ जना क्षमता भएको आइसोलेशन वेड निर्माण गरिएको छ ।
सकारात्मक प्रयास–कोरोना संक्रमणको आशंकामा मेचीनगरको क्वारेन्टाइनमा उपचार गराइरहेका बिरामीलाई मेचीनगर–१२ मा सञ्चालित रितिका डेरी उद्योगले दूध उपलब्ध गराउने भएको छ । क्वारेन्टाइनमा रहेका एकजना विरामी बराबर दुईसय ग्राम दुध आइतबारदेखि उपलब्ध गराइने उद्योगका सञ्चालक राजन चिमरियाले जानकारी दिए । क्वारेन्टाइनमा ४४ जना कोरोना आशंका गरिएका व्यक्तिलाई राखिएको विपद् व्यवस्थापन समिति मेचीनगरका संयोजक टिकाराम मंग्रातीले जानकारी दिए ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार चैत २२ गते कोरोना भाइरस (कोविड १९) का बिरामी रहेको आशंकामा नमुना संकलनमा पठाइएका उदयपुरका ५ जना विरामीकै नतिजा नेगेटिभ आएको छ । स्वाब परीक्षणका लागि पठाइएका सात विरामी मध्ये ५ जनाको नतिजा नेगेटिभ आएको हो । बाँकी दुई जनाको चैत्र २१ गते बेलुका खकार संकलन गरी परीक्षणका लागि धरान पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । विदेशबाट आएका त्रियुगा नगरपालिकाका चार जना र बेलका नपाबाट एक जनाको स्वाव परीक्षणका लागि पठाइएको थियो । त्यस्तै चैत्र २१ गते त्रियुगा नपाका दुई जनाको परीक्षणका लागि पठाइएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा ८ जना महिलासहित ६२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनले कटारी नगरपालिकामा ४ र लिम्चुङबुङ गाउँपालिकामा ४ जना रहेको जानकारी दिए । त्यस्तै पुरुषतर्फ कटारी नपामा २२, त्रियुगामा ८, वेलकामा ९, रौतामाई ७ र लिमचुङ्गबुङ्गमा ८ गरी ५४ जना रहेका छन् । आईसोलसनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ । जिल्लाको २९ ठाउँमा तीन सय ८६ क्षमताका क्वारेन्टाइन स्थापना गरिएको छ । बेलका नपामा २०, चौदण्डीमा ३२, त्रियुगामा २५, कटारीमा नपामा दुई सय, उदयपुरगढी गापामा २५, रौतामाई ३१, लिम्चुङ्गबुङ्ग २३ र ताप्लि गाउँपालिका ३० जनाको क्षमता स्थापना गरिएको छ । जिल्लामा फिवर क्लिनिकको संख्या ७० वटा रहेका छन् । कटारी नपामा ९, चौदण्डी ११, त्रियुगा नपा १४, बेलका नपा ६, उदयपुरगढी गापा ७, ताप्लि गापा ९ रौतामाई ९ र लिम्चुङ्गबुङ्ग गापामा ५ वटा रहेका छन् ।
सकारात्मक प्रयास–महामारी फैलिन नदिन जिल्लाका आठ वटै स्थानीय तहले सन्देसमुलक माइकिङ्ग, प्रचारप्रसारलाई तिव्रता दिएका छन् । त्यसैगरी लकडाउनमा अधिक मात्रामा मोटरसाईकल र नयाँ मान्छेको गाउँ प्रवेश हुन थालेपछि युवाहरु आफै गाउँका सडकहरुमा ढाट तेर्साएर पास हेरेर मात्र जान दिएका छन् । स्थानीय सरकारले जनप्रतिनिधि र टोलविकास संस्थालाई परिचालन गरी अतिविपन्न र दैनिक मजदुरी गर्नेको संख्या एकिन गरि राहत वितरण गर्न थालेका छन् ।
समस्या–भौगोलिक विकटताका कारण कतिपय स्थानीय तहमा टेलिफोन सम्र्पक नहुँदा तथ्यांक संकलनमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी एम्वुलेन्स चालकलाई पिपिई उपलब्ध गराउन नसक्दा विरामी ओसारपसारमा कठिनाई भएको जनाएको छन्
सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार चैत २२ गते सम्म सुनसरीमा १ सय ६७ जना क्वारेन्टाइनमा बसेका छन् । जसमा २६ जना महिला र १ सय ४१ जना पुरुष रहेका क्वारेन्टाइनमा राखिएको छ । सुनसरीमा ५१ जनाको स्बाब परीक्षण गरिएकोमा सबै रिपोर्ट नगेटिभ र १२ जनाको रिपोर्ट आउन बाँकी छ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत २२ गतेसम्ममा कोरोना भाईरसका शंकास्पद ५५ जना विरामीले नाम दर्ता गराएका छन् । त्यसमध्ये १० जना आईसोलेसनमा उपचार गराई फर्किसकेका छन् ।
सकारात्मक प्रयास– प्रदेश १ सरकारको पहलमा चैत १८ गतेदेखि २० वेड क्षमताको आईसोलेसन वार्ड र कोरोना परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
सनुसरीको कोशी गाउँपालिका वडा–१ मा १२१ घरपरिवारलाई ५ केजी चामल, आधा केजी दाल र आधा लिटर तेल वितरण गरेको समाजसेवी पवन रौनियारले बताउनुभयो । त्यसैगरी इटहरी उपमहानगरपालिकाले २० वटै वटाका १० हजार विपन्न गरिब घर परिवारका लागी १० केजी चामल, दाल, मसला, नुन उपलब्ध गराएको नगर प्रमुख द्धारिकलाल चौधरीले बताउनुभयो ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार चैत २२ गते सम्म धनकुटामा २५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । जसमा २१ जनापुरुष र ४ महिला रहेका छन । उनीहरु सबै विदेशबाट आएकाहुन । उनीहरुमाकुनै समस्या नदेखिएको जिल्लाप्रशासनकार्यालयका सुचनाअधिकारी जयरामश्रेष्ठले जानकारी दिनुभयो । धनकुटामा विदेशबाट आएका १ सय १४ जनालाई होम क्वारेन्टाइनमा राखिएको भएपनि २५ जनाबाहेकको १४ दिन कटेको र अवस्था सामान्य रहेकोले छोडिएको श्रेष्ठले बताउनुभयो । होम क्वारेन्टाइनमा रहेका २५ जनालाई पनि १४ दिनपुगेपछि क्रमश छोडिने उहाँले बताउनुभयो ।
सकारात्मक प्रयास– लकडाउन प्रभावितश्रमिक, मजदुर, असहायतथाअपाङ्गतावर्गका परिवारलाई राहतवितरणका लागिपाख्रीवास नगरपालिकाले राहत कोष स्थापना गरेको छ। नगरकार्यपालिकाको वैठकले कोरोना भाईरस (कोभिड(१९) को सम्भवित संक्रमण नियान्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा दैनिकज्यालादारी काम गरेर जीवननिर्वाह गर्ने परिवारका समस्यालाई मध्यनजर गर्दै उनिहरुलाई राहतउपलव्ध गराउननगरमा ३० लाखको राहत कोष स्थापनागर्ने निर्णय गरेको हो ।
भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरमा चैत २२ गते सम्म ९ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । भोजपुरमा ३ जनाको स्बाब परीक्षण गरिएकोमा ३ जनाकै रिपोर्ट नगेटिभ आएको छ । अहिले सम्म आईसोलेशनमा राखिएको संख्या ० छ । जिल्लामा क्वारेन्टाइनको संख्या ३१० पुगेको छ ।
सकारात्मक प्रयास– साल्पासिलिछो गाउँपालिकाका महिलाहरुले बजारमा मास्कको अभाव देखिएसँगै आफैँले ९ सय मास्क बनाएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन साल्पासिलिछो गाउँपालिका वडा नम्वर ५ मा रहेको सुम्निमा महिला बिकास संस्थाका महिलाहरुले आफैँले ९ सय मास्क बनाएर गाउँमा वितरण समेत गरेका हुन् ।