INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल–भारत सीमामा अलपत्र नेपालीको उचित व्यवस्थापन गर्न इन्सेकद्वारा माग

नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने तर नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकहरूको उचित व्यवस्थापन गर्न इन्सेकले सरकारसँग माग गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा चैत २२ गते जारी विज्ञप्तिमा यसरी अलपत्र परेका नागरिकको शीघ्र तथा उचित व्यवस्थापन गर्न माग गरिएको हो ।

दार्चुला जिल्लाको सीमाना धारचुलामा ६ सयभन्दा बढी, बैतडीको झुलाघाट नाकामा २ सय २७ जना, कञ्चनपुरको सीमा नाका बनवासामा १ सय १४ जना, भैरहवा सीमानाका बेलहियास्थित नौतुहवा इन्टरकलेजमा ३ सय ५ जना नेपाली क्वारेन्टाइनमा भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालको सीमानामा रहेका भारतीय नागरिकहरूलाई नेपाल सरकारले र भारतमा अलपत्र रहेका नेपाली नागरिकहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राख्ने सहमति दुई देशबीच भए पनि भारतीय सीमानामा नेपाली नागरिकहरूको दैनिकी कष्टकर हुनु दुःखद् पक्षका रूपमा लिइनु पर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।

‘यस विषम परिस्थितिमा नेपाल भारत सीमा क्षेत्रका क्वारेन्टाइनमा राखिएका र अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न र आवश्यकता अनुसार भारत सरकारसमक्ष पनि आवश्यक पहलकदमी लिन हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ ।’–विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो