कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि प्रदेश २ को जिल्लाहरूमा विभिन्न सहयोग तथा पहलहरू भएको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ । शङ्का लागेकाहरूको परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने क्रम बढ्दो छ । घर घरमा गएर परिक्षण गरिँदै छ भने लकडाउन लम्बिँदा दैनिक मजदुरी गरेको ज्यालाले छाक टार्ने समस्या भएका मानिसहरूको पहिचान र उनीहरूलाई बाँच्न आवश्यक खाद्यान्नको व्यवस्था मिलाउन पहलहरू भएका छन् ।
धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार नेकपाका प्रदेश २ सांसद किशोरी साह कमलले प्रदेश २ सचिवालयबाट पाउँदै आएको एक महिनाको तलव कोरोना भाइरसबाट सङ्क्रमितहरूको राहत कोषमा जम्मा गर्ने बताउनु भएको छ । प्रदेश २ सरकारको कोरोना भाइरस राहत कोषमा आफुले पाउँदै आएको एक महिनाको तलब बराबरको रकम पठाइ दिन प्रदेश सचिवालयका सचिवलाई पत्र काटेर अनुरोध गर्नुभएको छ ।
प्रदेश २ का प्रदेश सांसदहरूमध्य सांसद साह अहिलेसम्म राहत कोषमा एक महिनाको तलब दिने घोषणा गर्नु हुने पहिलो सांसद हुनु भएको छ ।
अन्य मन्त्री तथा सरकारी कर्मचारी, विभिन्न सामाजिक संघ, संस्थाका कर्मचारीहरूले आफु अनुकुलको रकमहरू राहत कोषमा जम्मा गरि रहँदा प्रदेश २ का सांसदहरूले भने अहिलेसम्म कुनै प्रकारको राहत कोषमा सहयोगको घोषणा गर्नु भएको थिएन ।
धनुषाको क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचति नेकपाका सांसद किशोरी साह कमलले एक महिनाको तलव राहत कोषमा सहयोगको घोषणा गरेपछि अन्य सांसदहरूले समेत चाँडै नै राहत कोषमा सहयोग गर्ने सम्भावना देखिएको छ ।
प्रादेशिक अस्पतालमा कोरोना भाइरस परिक्षण मेसिन जडान
प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरसको पहिचान गर्न परीक्षण गर्ने पिसिआर मेसिन चैत २० गते जडान गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिको विशेष पहलमा परीक्षण शुरू गरिएको हो ।
प्रदेश २ को प्रमुख व्यापारिक क्षेत्र वीरगंज र सप्तरीको राजविराजमा समेत पिसिआर मेसिन जडान गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।
कोरोना महामारीको सम्भावित खतरालाई मध्य नजर गर्दै प्रदेश भरिमा ५० ओटा भेन्टिलेटर सहितको आईसियु तयारी गर्न समेत समितिले निर्देशन दिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा १०, वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ ओटा जिल्लामा ५/५ ओटा भेन्टिलेटर जडान गरिने निर्देशन दिइएको मुख्यमन्त्री राउतले जानकारी दिनु भएको छ ।
खरिद प्रक्रियामा लचिलो
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समिति प्रदेश २ ले अहिलेको विशेष परिस्थितिमा विगत जस्तो खरिद प्रक्रियाले अहिले कोरोना भाइरस न्युनिकरणका लागि आवश्यक पर्ने उपकरण र सामाग्रीहरू खरिद गर्न नसकिने भएको ठहर गर्दै खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ ।
यस निर्णयले खरिद ऐनको विशेष परिस्थिति बमोजिम दु्रत मार्गबाट आवश्यक सामग्रीहरू खरिद गर्न सकिने छ ।
प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महशुस गर्दै महामारी विरूद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरू सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ ।
समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ ।
उक्त समितिलाई थप विशेषज्ञहरूको राय सुझाव सहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशन बमोजिम शुक्रबारबाट आफ्नो काम समेत शुरू गरि सकेको छ । यो समितिले चिकित्सकहरूको लागि प्रोटोकल निर्माण देखी नियन्त्रणका अन्य उपायहरूबारे आफ्नो सुझाव सरकारलाई दिनेछ ।
यसै गरि निर्देशक समितिको शुक्रवार सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढ स्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिने निर्णय समेत गरेको छ ।
उक्त बैठकले मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । बैठकले महामारी सँग लड्न आठ ओटै जिल्लामा १/१ ओटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनु भएको छ । उहाँले भन्नु भयो,–‘अहिले सम्मको लागि हाम्रो तैयारीमा कुनै कमी छैन तर भोलीको दिनमा हुन सक्ने सम्भावित खतरालाई मध्य नजर गर्दै विशेष तैयारीमा जुट्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छौ । रकमको अभाव हुन दिंदैनौ ।’
बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरूको अभाव देखिए स्वयंसेवकको रूपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तैयारीमा जुट्न समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । मुख्यमन्त्री राउतले यसरी स्वयंसेवकको रूपमा भर्ना हुने चिकित्सक तथा नर्सहरूलाई प्रदेश लोकसेवामा थप नम्बर दिइने व्यवस्था समेत गरिन लागेको बताउनु भएको छ ।
उहाँले भन्नु भयो,–‘अहिले सम्म हाम्रो प्रदेशको अवस्था ठिक छ, अहिलेको अवस्थामा खासै समस्या हुँदैन तर कहिँ कतै महामारी फैलियो भने त्यस्तो अवस्थाको लागि हामीले अहिले देखि नै तैयारी थालि सकेका छौँ।
विज्ञहरूको टोलीले दिने सुझावको आधारमा सबै प्रकारको व्यवस्था गर्न प्रदेश सरकार पूर्ण तैयारीमा जुटेको छ ।
सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलका अनुसार कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सप्तरीमा बनाइएको क्वारेन्टाइनहरूमा बस्नेको सङ्ख्या पछिल्लो २ दिनमा १ सय थप हुँदा जम्मा २ सय ५४ पुगेको छ ।
इस्लाम धर्मको प्रचार गर्ने संस्था तब्लिगी जमातद्वारा भारतको नयाँ दिल्लीस्थित निजामुद्दीनसहित विभिन्न राज्यमा आयोजित जमातमा सहभागी भएर घर फर्किएकाहरू थपिए पछि दुई दिनमै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अत्यधिक बढेको हो ।
एकान्तवासका लागि सप्तरी जिल्लाको विभिन्न ३१ स्थानमा रहेको क्वारेन्टाइनमा भारत, कतार, मलेशिया, साउदी अरब, फ्रान्सलगायत विदेशबाट आएका १२ महिला र २ सय ४२ पुरूषलाई राखिएको छ ।
चैत २१ गते २ महिला र ४३ पुरूष थपिएको र चैत २० गते २ महिला र ५३ पुरूष थपिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार चैत २१ गते राजविराज नपा–९ मलेठस्थित मस्जिदमा २१, कञ्चनरूप नपा–८ स्थित सर्वोदय माविमा १० र महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहामा सात पुरूषसहित ४५ जना थपिएको हो ।
भारतीय खुला सीमामा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नपा–२ स्थित सकरदही विद्यालयमा ११ पुरूष, वडा नम्बर–११ स्थित सामुदायिक भवनमा एक महिला र ११ पुरूष, कञ्चनरूप नपा–१ स्थित लक्ष्मीनारायण मावि वैरवामा २३ पुरूष, कञ्चनरूप नपा–८ स्थित सर्वोदय माविमा १० पुरूष, वडा नम्बर–११ स्थित दुर्गा आधारभूत विद्यालय ठेलियामा तीन महिला र सात पुरूष, बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविमा दुई महिला र १८ पुरूष, डाकनेश्वरी नगरपालिका–५ स्थित कच मावि पातोमा तीन पुरूष, खडक नगरपालिका–९ स्थित स्वास्थ्य चौकी मैना सहर्षबाहुमा तीन पुरूष, सुरूङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा एक पुरूष, राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा एक महिला र १२ पुरूष, राजविराज नपा–४ स्थित इस्लाम मियाँको घरमा आठ पुरूष र राजविराज नपा–९ मलेठस्थित मस्जिदमा २१ पुरूषलाई राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा १५ पुरूष, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा तीन महिला र १६ पुरूष, तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बृद्धाश्रममा १२ पुरूष र वडा नम्बर–८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविमा एक महिला १४ पुरूष, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा एक महिला र १८ पुरूष, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टीमा नौं पुरूष, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीमा सात पुरूष र वडा नम्बर ३ स्थित मावि बथनाहामा नौं पुरूष, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा तीन पुरूष, रूपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा माविमा दुई पुरूष र वडा नम्बर–५ स्थित जनता आधारभूत विद्यालयमा नौं पुरूष राखिएको छ ।
चैत २० गते १५ पुरूषलाई डिस्चार्ज गरिएको र चैत २१ गते एक महिला र सात पुरूष डिस्चार्ज भएको फोकल पर्सन जनस्वास्थ्य निरीक्षक डम्बरलाल यादवले बताउनु भयो ।
नौ जनाको स्वाब परिक्षण
सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा पहिलो पटक नौं जनाको स्वाब परिक्षणका लागि चैत २० गते सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
भारतको विभिन्न राज्यबाट तब्लिगी जमातमा सहभागी भई घर फर्किएका राजविराज नगरपालिकाका आठ जना तथा चैत ४ गते फ्रान्सको विमानबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी नौं जनाको स्वाब टेष्टका लागि पठाइएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।
अस्पतालमा स्वाब सङ्कलन गरी उहाँहरूलाई पुनः क्वारेन्टाइनमा पठाइएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिनु भएको छ ।
स्वाब परिक्षण गर्न लागिएका नौं जनाकै अवस्था सामान्य रहेको छ । स्वाब रिपोर्ट आएपछि थप कुरा स्पष्ट हुने भन्दै अस्पतालले स्वाब रिपोर्ट आउन तीन दिन लाग्न सक्ने जनाएको छ ।
भारत बिहारको अररिया जिल्लाबाट आएका आठ जनालाई राजविराज नगरपालिका–४ स्थित इस्लामा मियाको घरमा तथा अन्य एक जनालाई राजविराज नपा–२ स्थित साइकृष्णा अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।
ज्वरो जाँच गराएका ४५ जना क्वारेन्टाइनमा
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित ‘फिभर क्लिनिक’मा चैत २१ गते सम्म ज्वरो जाँच गराएका मध्ये ४५ जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
स्वास्थ्य परिक्षण गराएकामध्ये ३२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको र १३ जनालाई सम्वन्धित नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाइनमा निगरानीमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दासले बताउनु भयो ।
चैत ९ गतेदेखि सञ्चालित ‘फिभर क्लिनिक’मा महिला ७०, पुरूष ९१, बालिका २१ र बालक २५ जना गरी मा २ सय ७ जनाले स्वास्थ्य परिक्षण गराउनु भएको अस्पतालले जनाएको छ । चैत २१ गते ११ जना ‘फिभर क्लिनिक’मा आएकोमा चार महिला, चार पुरूष र तीन बालक रहेको मेडिकल रेकर्डर श्रवणकुमार सदाले जानकारी दिनु भयो ।
सुनसरीको धरानस्थित वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौं जनाको स्वाबको परिक्षण रिपोर्ट चैत २२ गते भित्र आइपुग्ने अस्पतालले जनाएको छ ।
भारतको विभिन्न राज्यबाट इस्लाम धर्मालम्बीहरूको तब्लिगी जमातमा सहभागी भई घर फर्किएका राजविराज नगरपालिकाका आठ जना र कतार एयर वेजको क्युआर ६५२ बाट नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी नौ जनाको स्वाब परिक्षणका लागि चैत २० गते धरान पठाइएको थियो ।
सर्लाही जिल्ला प्रतिनिधिका बुधन साहका अनुसार बागमती नगरपालिकामा २० हजार भन्दा बढी सुकुम्बासी छन् जो लकडाउन लम्बिँदा दैनिक मजदुरी गरेको ज्यालाले छाक टार्ने गर्दछने । लकडाउन लम्बिँदा यी सुकुम्बासीहरू भोकै हुने सम्भावना प्रवल भएको समूहमा पर्दछन् ।
बागमती नगरपालिका भित्रका ५ हजार सुकुम्बासी घर परिवारको नगरपालिकाले वर्गीकरण गरि रहेको छ । सुकुम्बासी भित्र पनि उच्च, मध्यम र निम्न गरी तीन तहको वर्गीकरण गरिएको छ । निम्न वर्गका लागि तत्काल आवश्यक गर्नुपर्ने व्यवस्था मिलाएको बागमती नगरपालिकाका नगर प्रमुख भरत थापाले बताउनु भएको छ ।
कोरोना भाईरसबाट सङ्क्रमित भएको आशङ्कामा कतार र भारतबाट आएका तीन जना बिरामीलाई काठमाडौंको टेकु पठाएको र तीनजना बिरामीमा कोरोना सङ्क्रमण नदेखिएको पुष्टि गरिसकेको छ ।
बागमती नगरपालिका भित्र २० ओटा क्वारेन्टाइन वेड रहेको र त्यस मध्ये क्वारेन्टाइनमा दुईजनालाई रखिएको छ ।
एक महिनाका लागि सुकुम्बासीलाई सामान्य खाने व्यवस्थापन गर्ने हो भने करिब ५ करोड खर्च लाग्ने र रकम बागमती नगरपालिका आफैले व्यहोर्न नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । सङ्घ र प्रदेश सरकारको अपेक्षा गर्नु हाम्रो बाध्यता रहेको तर कसैले सहयोग नगरे पनि जनता भोकै मर्न नदिने नगर प्रमुखले बताउनु भएको छ । बागमती नगरपालिकाका मेयरदेखि वडासदस्य सम्मका जनप्रतिनिधिहरू सबै सक्रिय भएर समस्या समाधानका लागि लागि परेका छन् ।
नगर प्रमुखले प्रत्येक दिन फरक फरक जनप्रतिनिधिहरूसँग ‘वान टु वान’ मिटिङ्ग गरिरहनु भएको छ । चैत १४, १६ र १९ गते मात्रै मेयर, उपमेयर र सबै वडाका जनप्रतिनिधिहरूको सहभागितामा बैठक बसेको थियो ।
बैठकले यसबीचका समस्या, समाधानका लागि गरिएका प्रयत्न र आगामी कार्यदिशा तय गरेको छ । समिक्षात्मक छलफलले जनताका आवश्यकता र सुरक्षालाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सजिलो हुने बागमती नगरपालिकाका उपमेयर लिलाकुमारी मोक्तानले बताउनुभयो । असहज अवस्थामा जनतालाई सुरक्षित र दैनिक जिवन सहज बनाउन लागि गर्नुपर्ने कार्यहरू हामीले गरिरहेको उपमेयर मोक्तानले बताउनुभयो ।
बागमती नगरपालिका भित्रको जनताले लकडाउनको पूर्ण पालना गरेको बताउँदै प्रमुख थापाले नगरपालिकाले खाद्यान्न ढुवानी सहजताका लागि पास बनाइदिएको तथा सामाजिक दुरी कायम गर्नुपर्छ भन्दै एकै ठाउँमा झुरूप्प भएर किनमेल नगर्न समेत आग्रह गरेको बताउनु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण पहिचान गर्न विदेशबाट आएका स्थानियहरूको घर–घरमा स्वास्थ्य परिक्षण
चन्द्रनगर गाउँपालिकामा स्वास्थ्यकर्मीहरूले विदेशबाट आएका स्थानियहरूको घरमै पुगी स्वास्थ्य जाँच गरिरहेका छन् ।
नोबेल कोरोना भाईरसबाट बच्न सचेतना जगाउँदै गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीहरूले विदेशबाट आएका स्थानीयहरूको प्रत्येक दिन घर–घरमै पुगेर थर्मोगनले स्वास्थ्य परिक्षण गर्ने काम गरिरहेको चन्द्रनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र साहले जानकारी दिनुभएको छ ।
चन्द्रनगर गाउँपालिकामा पनि भाईरसको उच्चजोखिम रहेको हुँदा विदेशबाट आएका गाउँपालिका स्थानियहरूलाई हामीले घरमै पुगेर कोरोना भाईरस सम्बन्धि जनचेतना जगाउँदै उनिहरूको स्वास्थ्य जाँच गरिएको छ । खटिएका कर्मचारी स्वाथ्यकर्मीहरूलाई कोरोना सङ्क्रमनबाट बच्नको लागी सेनिटाईजर, ग्लोभ्स, मास्क, डिटोल साबुन समेत वितरण गरिएको छ .।
त्यस्तै वडा नं.२ मा रहेका क्वारेन्टाईनमा शङ्कास्पद बिरामीको स्वास्थ्य परिक्षण गर्नका लागी २४ घण्टा स्वास्थ्य कर्मीहरू खटाईएको छ भने क्वारेन्टाईनमा कामगर्ने कर्मचारीहरूको लागि प्रत्येक स्वास्थ्य संस्थामा पिपिई सेट, एप्रोन, गाउन, फेनाईल र डिटोल लिक्विड समेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिनु भएको छ ।
सर्लाही जिल्लामा कोरोना भाइरसको अवस्था
१९ भाइरसको विश्वव्यापी संक्रमण, माहामारी तथा यसको असर र उत्पन्न हुनसक्ने विपत्को सामना गर्न नेपाल सरकारले गरेको तयारीको अवस्था एवम् जिल्लाको विवरण यस प्रकारका छन् ।
हालसालै विदेशबाट फर्केका व्यक्तिहरूको सङ्ख्या सर्लाहीमा ४७ पुगेको छ । सर्लाही जिल्लामा हालसालै तयार गरिएको क्वारेन्टाईनको सङ्ख्या र क्षमता जम्मा ३ सय ६६ जनाहरूलाई राख्ने क्षमता रहेको छ ।
यस जिल्लामा स्थानीय सरकारले तयार गरेको क्वारेन्टाइनको संख्या ३ सय ६६ रहेकोमा हरिपुर न.पामा १०, ईश्वरपुर न.पामा आठ, मलंगवा न.पामा.२५, लालबन्दी न.पामा २०, हरिपुर्वा न.पामा १०, हरिवन न.पामा ३५, बरहथवा न.पामा ३०, बलरा न.पामा १०, गोडैता न.पामा २८, बागमती न.पामा २०, कविलासी न.पामा २४, चक्रघटा गाउँपालिकामा सात, चन्द्रनगर गाउँपालिकामा १५, धनकौल गाउँपालिकामा.२०, ब्रह्मपुरी गाउँपालिकामा १०, रामनगर गाउँपालिकामा नौं, बिष्णु गाउँपालिकामा १०, कौडेना गाउँपालिकामा ६०, परसा गाउँपालिकामा पाँच र बसबरिया गाउँपालिकामा २० ओटा क्वारेन्टाइन वेडको व्यवस्था मिलाइएको छ ।
३ सय ६६ वेड व्यवस्था भएकोमा जम्मा ४१ जना व्यक्तिहरू क्वारेन्टाइनमा रहेको छन् । क्वारेन्टाइनमा खाना नास्ताको व्यवस्था रहेका छ । स्वास्थ्य कर्मीहरूको व्यवस्था हुनुका साथै साधारण उपचारका लागी दबाईको पनि व्यवस्था रहेको छ ।
क्वारेन्टाइनमा सेटिराईजरको अभाव रहनुका साथै अक्सीजनको समस्या समेत रहेका छ । उपचारको लागी मेशीन उपलब्ध नभएको, ग्लोभस, मास्क र जिल्लाका हरेक स्थानीय निकायहरूमा पिपिईको अभाव रहेको छ । थम्रोमिटर, एप्रोन लगायत अन्य धेरै आवश्यक सामाग्री अभाव रहेका छन् । क्वारेन्टाइनमा खाने–बस्नेको पुर्ण रूपमा व्यवस्था भई नसकेको तर क्रमस समय अनुसार सुधार भईरहेको छ ।
अस्पतालहरूमा पीपीई आवश्यक मात्रामा नभएका तर प्रभावकारी रुपमा कोरोना भाइरस सम्बन्धी चेतनामूलक सूचना प्रचार प्रसार भई रहेको छ । मलंगवा नपा–४ मा रहेको श्री देव पोलनिक हस्पिटलले जनताहरूलाई स्वास्थ्य सुविधा दिएको छैन ।
सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार विश्वभर देखिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आईसोलेसन अस्पताल र १७ ओटै स्थानीयतहको १९ स्थानमा गरी १ सय ९१ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनु भयो ।
भारत तथा विदेशबाट आएका ४ सय ६८ जनाको पहिचान भएको र उनीहरुलाई क्वारेनटाइन तथा सेल्फ क्वारेनटाइनमा राखेर निगरानी गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । त्यसगरी क्वारेन्टाइनमा बस्ने बिरामीहरुको लागि खाने सम्पुर्ण व्यवस्थाहरु स्थानीय तहले गरेको बताउनु भयो । सुरक्षा तथा उपचारको लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको जानकारी प्रमुख जिल्ला अधिकारी गुरागाईले दिनु भयो ।
त्यसैगरी सिरहा अस्पतालमा सात बेड, लहान अस्पपतालमा पाँच बेड, महेन्द्र गेनाई अस्पतालमा १८ बेड, आरके मेडिसिटि अस्पतालमा पाँच बेड र फुलकुमारी अस्पतालमा पाँच बेड गरी ४० बेडको आसुलेसन बेडहरु तयार गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । महेन्द्र गेनाइ अस्पताललाई हाल अस्थाइ रुपमा आजै देखि सञ्चालन हुने गरी कोरोना भाइरस विशेष अस्पताल सञ्चालनमा ल्याएको बताउनु भयो । हाल सम्म आइसोलेसन वार्डमा कोइ पनि उपचारको लागि नरहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरुरुलाई निगरानीमा राख्ने क्रम जारी रहेको बताउनु भयो । उहाँका अनुसार केही व्यक्तिहरु क्वारेन्टाइनमा बसेर आफ्नो घर फर्किसकेका छन् भने चैत २१ गते सम्म ६ जना महिला गरी १ सय ३४ जना क्वारेन्टाइनमा रहेको बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले कोरोना परिक्षणको लागि हाल सम्म कसैको पनि नमूना सङ्कलन नगरिएको बताउनु भयो । प्रदेश सरकार र नेपाली सेनाले हाल सम्म १ सय २५ थान पीपीइ उपलब्ध गराए पनि सो पीपीइ जिल्लाको आवश्यकता भन्दा निकै कम भएको प्रमुख यादवले बताउनु भयो ।
स्थानीयतहहरु तथा व्यापारीहरुले जिल्लाका विभिन्न भागमा गरीब विपन्न समुदायका व्यक्तिहरुलाई राहत सामग्रीहरु वितरण गरी रहेका छन् ।
यसैगरि स्थानीय तहले प्याकेज बनाएर पार्दशीरुपमा राहत वितरण गर्नु आवश्यक देखिन्छ । बजारमा भइ रहेको मुल्य बृद्धि र कालो बजारीहरुलाई अनुगमन गरी कारवाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।
महोत्तरी जिल्ला प्रतिनिधिका अजयकुमार साहका अनुसार महोतरीको विभिन्न नगरपालिका र गाउँपालिकामा बाहिरबाट आउने व्यक्ति र शङ्कास्पद कोरोनाको विरामीको लागि धमाधम क्वारेन्टाइन भवनको तयारी गरिएको छ । चैत २० गते राती सम्ममा क्वारेन्टाइनमा १४ जना भर्ना समेत गरिएकोे छ ।
सोनमा गाउँपालिकामा तयार गरिएको ५० बेडको क्वारेन्टाइनमा दुई जना भर्ना भएको स्वास्थ्य संयोजक शिव शंकर यादवले बताउनु भएको छ ।
त्यसैगरी औरहीमा १४ बेडको क्वारेन्टाइनमा ११ जना भर्ना गरिएको जानकारी स्वास्थ संयोजक रबिन्द्रकुमार यादवले बताउनु भएको छ ।
गौशाला नपा–५ स्थित त्रिभुवन मा.वि. गौशालामा १५ बेडको क्वारेन्टाइनमा एक जना भर्ना गरिएको छ ।
त्यसैगरी रामगोपालपुर नपा–५ स्थित महेन्द्र मा.विमा २० बेड र लोहारपट्टी नपा–६ स्थित सहिद शिवचन्द्र मिश्र आश्रममा १५ बेडको क्वारेन्टाइन बनाईएको छ । यद्यपी यी तयारी अवस्थामा रहेका क्वारेन्टाइनहरूमा अहिले सम्म कसैलाइ भर्ना नगरिएको जानकारी जनस्वास्थ्यका कोरोना फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिएका छन् ।
बारा जिल्ला प्रतिनिधिका भोलानाथ पौडेलका अनुसार जितपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको नोबल कोरोना भाइरस (कोभिड–१९) बिशेष अस्थायी अस्पतालमा चैत २१ गते शुक्रबार १० जनानै मुस्लिम समुदायका सदस्यहरू तर्बालगी जमातका लागि निस्किएकालाई क्वारेन्टाइनमा राखिएको ईलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण गैरेले बताउनु भएको छ ।
उहाँले जमातका लागि हिँडेका पर्सामा बस्ने नागरिक रहेको बताउनु भएको छ । उहाँले नेपाल सरकारको नीति अनुसार १४ दिन क्वारेन्टाइनमा राखेर निगरानी गर्ने बताउनु भएको छ ।
मुस्लिम समुदायको धार्मिक संस्था तबलीगी जमात १९२० देखि सञ्चालनमा रहेको मौलाना आजाद नेशनल उर्दू युनिभर्सिटीका उपकूलपति जफर सरेशवाल तबलीगी जमातसँग जोडिएका र यो मुसलमानहरूको १ सय ४० देशमा शाखा रहेको विश्वकै ठूलो संस्था हो ।
जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया नजिक बन्द रहेको गार्मेन्ट उद्योगमा ५ सय बेड क्षमताको क्वारेन्टाइन बनाउन चैत २० गते देखि कार्य शुरू गरीएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका क्वारेटाइन ५० ओट र आइसोलेसन वेड २६ ओटा चैत २० गते देखि सञ्चालन गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासन राजकिशोर पण्डितले बताउनु भएको छ ।
अस्पतालमा नियमित ६ जना चिकित्सकको टोलीले पालै पालो २४ सै घण्टा सेवा प्रवाह गर्ने ईलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण गैरेले बताउनु भएको छ ।