मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड सङ्कट ब्यवस्थापन समिति गठन
कोरोना भाईरस (कोभिड) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरूलाई व्यवस्थित र समन्वयात्मक रूपमा गर्नका लागि सशक्त र प्रभावकारी संयन्त्रको रुपमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड सङ्कट ब्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कार्यदिशा अनुसार समिति गठन गरिएको हो ।
समितिको सदस्यहरूमा सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, प्रमुख सचिब, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान बिभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य रहनुभएको छ ।
सो समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक बस्तु वा सेवाको आपूर्तिको ब्यवस्थापन र अनुगमन गर्ने, आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने, अस्पतालहरुको मापदण्डअनुसारको आईसोलेशन र आईसीयुको व्यवस्थापन गर्ने, मापदण्डअनुसारको क्वारेन्टाईनको निर्माण तथा व्यवस्थापनलगायतका कार्य गर्नेछ ।
आशङ्का गरिएका पाँच जनाको नतिजा नेगेटिभ
कोरोना भाइरस रोग (कोभिड–१९) शङ्का गरिएका चार जना बिरामीको ल्याव परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको छ । चितवन जिल्लाबाट कोरोना भाइरसको आशङ्कामा पाँच जनाको ल्याब परीक्षणको लागि श्वाब परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
चितवनको आइसोलेसनमा मृत्यु भएका एक जना र अरु चार जना गरी सबै जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनु भयो । ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न सकिन्छ । परीक्षण थालिएको साढे दुई घण्टाजतिमा नतिजा प्राप्त हुन्छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ । मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ ।
बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना भाईरस (कोभिड) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका चैत २१ गतेको अवस्था विश्लेषण निम्नानुसार रहेको छ ।
कोरोनाको सङ्क्रमण रोकथामको लागि सरकारले लागु गरेको लकडाउन उल्लङ्घन गरेको आरोपमा चितवनमा चैत २१ गते २५ जनालाई नियन्त्रणमा लिएको छ । चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रशासनले यहाँ लकडाउनलाई कडाइ गरेको छ । खाद्यान्न र औषधि पसलहरू केहीमात्रामा खुलेका छन । कोरोना परीक्षणका लागि भरतपुर स्थित राष्ट्रिय पंक्षिरोग अन्वेषण प्रयोगशालामा मेसिन सेटअपको काम भइरहेको छ । भरतपुर महानगरको पहलमा राष्ट्रिय पक्षिरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कारोना परीक्षण ल्याब स्थापना गरिँन लागिएको हो । कारोना विशेष अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।
ललितपुरमा चैत २१ गतेसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका बिरामी भेटिएका छैनन् । महाँकाल गाउँपालिकामा २ सय ५१ जना पश्चिम नेपालबाट दैनिक ज्याला गर्न आएकाहरूलाई खाद्यान्न व्यवस्था गर्नु पर्ने अवस्था रहेको ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरे जनाउनु भएको छ । कोभिड–१९ का ३३ जना सङ्काष्पद बिरामीको स्वास्थ्य परीक्षण गर्दा ३० जनाको नेगेटिभ नतिजा आएको छ भने तीनजनाको नतिजा आउन बाँकी रहेको छ ।
ललितपुरमा अहिलेसम्म ४० थान पिपिइ जनस्वास्थ्य कार्यालय मार्फत उपलब्ध गराइएको छ । यसको आवश्यकता धेरै सङ्ख्यामा रहेको जनस्वास्थ्य प्रमुख डाक्टर खगेश्वर गेलालले बताउनु भयो । गोदावरी नगरपालिकाले जुनसुकै बिरामी बोक्ने एम्बुलेन्सलाई प्रति बिरामी एक हजार रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनु भयो ।
भक्तपुर जिल्लाको स्थानीय निकायहरूले नागरिकको अवस्था हेरी राहत विवरण सुरु गरेको इन्सेक प्रतिनिधि रमेश गिरीले जानकारी दिनुभयो ।
सङ्कमण रोक्न लकडाउनमा भएपछि भक्तपुर जिल्लाका स्थानीय तह तथा विभिन्न सङ्घ संस्थाले राहत वितरण सुरु गरेका हुन् । सूर्यविनायक नगरपालिकाले चैत २१ गते ५ सय परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार गरिब, न्यून आय भएका, दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई राहत वितरण सुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।
मध्यपुरथिमि नगरपालिकाले २० गतेबाट अहिलेसम्म १५ हजार परिवारलाई राहत वितरण गरिसकेको मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अब तीन वटा वडामा मात्रै बाँकी रहेकाले दुईदिन भित्र सबै वडामा राहत वितरण सकिने जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले भने केही अत्यावश्यक व्यक्तिलाई वडा मार्फत राहत वितरण गरे पनि वडागत रुपमा विपन्न तथा मजदुरको लगत सङ्कलन भईरहेको जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाले पनि गरिब, विपन्न मजदुरहरूको लगत सङ्कलन गरिरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
दोलखा जिल्ला प्रतिनिधि उद्धब पोखरेलका मेलुङ गाउँपालिकाले आफ्नो पालिका भित्र टोलटोलमा सर्वपक्षिय छलफल गर्दै कोरोना सङ्क्रमण बिरुद्ध सचेतना कार्यक्रम तथा नेपाल बाहिरबाट आएकाहरूको घर पहिचान गर्दै रातो झण्डा राख्ने काम जारी राखेको छ । स्वास्थ्य संस्थाहरूमा आवश्यक स्वास्थ्य सामग्री पठाउने कार्यलाई सबै स्थानीय तहले निरनतरता दिएका छन् । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी स्थानीय स्तरमै रहि स्वास्थ्य सम्बन्धि जनचेतना प्रवाह गर्दै आएका छन् । गाउँघरमा हुने अनावश्यक भीडभाड कम गर्न र कारोना भाईरसबारे जानकारी गराउँन जिल्ला प्रहरी कार्यालयले माईकिङ गर्दै आएको छ ।
रामेछाप जिल्ला प्रतिनिधि नबराज पथिकका अनुसार यहाँका सबै स्थानीय तहले कोरोनाको सङ्क्रमण नियन्त्रण तथा उपचार कोष स्थापना गरेका छन् । लकडाउन र निषेधाज्ञा घोषणा गर्दा पनि अनुमतिबीनाका सवारी साधनहरू सञ्चालन नरोकिएपछि रामेछाप नगरपालिकाले रामेछाप बजार हुँदै गुड्ने सवारी साधान सञ्चालनमा रोक लगाएको छ । रामेछापको रामेछाप बजारमा नेपाली सेनाको ब्यारेक छेउको सडकमा बार लगाइएको छ ।
रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार लकडाउनको कारण जिल्लामा उपभोग्य बस्तुको मूल्य बढेको भन्ने सूचना इन्सेक प्रतिनिधीलाई दिएपछि कालिका गाउँपालिका र इन्सेक प्रतिनिधिले बजार अनुगमन थालेको छ । कालिकास्थान, घुम्ती, जिवजिवे, गोम्बोडाडाँ, धारापानीलगायतका बजारमा माइकिङ गरेर प्रचार तथा केही पसल अनुगमन गरी केही खुल्ला गरेको पसलमा व्यापारीसँग भेटेर मूल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, मिति सकिएको खाद्यान्न विक्री नगर्न, मूल्य बृद्धि गरेर बेचबिखन गरे नियमानुसार कानुनी कारवाही गर्ने अनुरोध गरिएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाचस्पत्ती सुनारले चैत २२ गतेबाट पसल खुल्ने समयमा अनुगमन गर्ने बताउनु भएको छ । रसुवा जिल्लामा भारत तथा तेस्रो मुलुकबाट फर्कनेको सङ्ख्या स्थानीय तहका वडाबाट अद्यावधिक गर्ने काम सुरु गरिएको छ । हालसम्म जिल्लाभर १६ जनाको मात्र जानकारी आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउँनु भयो । लकडाउनपछि पर्यटकीय क्षेत्र रसुवाको लाङटाङ २८ जना विदेशी पर्यटकको उद्दार भएको छ । चिनियाँ १९, जर्मनी सात, अमेरिकी र बेलायती एक/एक जना गरी २८ जनाको उद्धार गरिएको हो । जसमध्ये १९ जनालाई चीन तथा नौ जनालाई काठमाण्डौ पठाइएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन राखिएका तीन जनाको श्वाब परीक्षणको लागी काठमाडौँ लगिएमा अझैसम्म नतिजा आएको छैन । चौतारा सागाँचोकगढी नगरपालिका–७ स्थित मेलचौरमा रहेको क्वाराइन्टाइन्ड केन्द्रमा इर्खुका पाँच जनालाई राखिएको छ ।
छिटपुट घटना बाहेक सरकारले घोषणा गरेको लकडाउन सबै नागरिकहरूले पालना गरेको र नागरिकहरूले सचेतना अभियानका कारण निकै सुरक्षित महसुस गरेका जिल्ला प्रतिनिधि नातिबावु धिताल बताउनुभयो ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका अन्तर्गतको विपद व्यवस्थापन समितिको बैठक ०७६ चैत २१ बसेको छ । बैठकले लक डाउनको कारणले आय आर्जनको काम हुन नसक्दा उत्पन्न आर्थिक कठिनाईलाई न्यून गर्न नगर क्षेत्रमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूलाई चैत बैसाख महिनाको भत्ता उपलव्ध गराउने निर्णय गरेको जिल्ला प्रतिनिधि बिमला पाण्डेले जानकारी गराउनु भयो ।
यसैगरी सिन्धुली अस्पतालमा स्थापित आईसोलेसन सेन्टरमा काम गर्ने फ्रन्ट लाइनर चिकित्सक र स्वास्थ्यकर्मीलाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने, वडास्तरमा राहत वितरण गर्नको लागि वडास्तरीय राहत ग्राह्य व्यक्तीहरूको नामावली वडाबाट नगरकार्यपालिका कार्यालयमा चैत २३ गते भित्र अनिवार्य पेश गर्ने निर्णय गरेको छ ।
यस्तै दुधौली नगरपालिका नगर कार्यपालिकाको ०७६ चैत २१ गते बसेको बैठकले नगरपालिकाका सबै विपन्न वर्गको लगत सङ्कलन गर्ने र राहत दिने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको मापदण्ड अनुसारको सुविधा दिने र नगरभित्रका सामाजिक सुरक्षा भत्ता पाउने सबै नागरिकलाई चैत र बैशाख महिनाको भत्ता तत्कालै वितरण गर्ने निर्णय गरेको छ ।
फिकल गाउँपालिकाले कोराना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाईरस विपद व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त कोषमा जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बापतको रकम र कर्मचारीले १ दिनको रकम सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा स्थानीय तहहरूले लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरेर खान पर्ने परिवारदलाई राहत वितरण गर्न थालेको छ । विदुर नगरपालिकाले चैत २१ गतेदेखि राहत वितरण गर्न थालेको हो । चैत २१ गते विदुर नपा–१ मा २५ परिवार र वडा–१२ का ५५ परिवारलाई राहत दिएको विदुर नगरपालिकाका प्रवक्ता तथा वडा–४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण सेवा अन्तरगत नुवाकोट जिल्लामा चैत २१ गते १ सय ६८ जनाको ज्वरो परीक्षण गरिएको छ ।
यहाँ विभिन्न निर्माण आयोजनामा कार्यरत करिब ६ सय ९५ सय जना मजदुरहरूलाई यातायात पास बनाएर उनीहरूकै जिल्लामा पठाइए पनि बाँकी २ सय जना मजदुरलाई उनीहरूको गृहजिल्ला पठाउन सकिएको छैन ।
धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीले जनाए अनुसार प्रशासन कार्यालयले चैत २१ गतेदेखि नयाँ सवारी पास नदिने सूचना सार्वजनिक गरेको छ । जिल्ला स्तरीय कोरोना महामारी नियन्त्रण समितिको बैठकले सबै स्वास्थ्य संस्थामा ज्वारो नाप्ने थर्मलगन
पु-याउने तयारी थालेको छ । जिल्लामा हुने सम्पुर्ण राहतलाई एकद्धार प्रणाली मार्फत् जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत प्याकेजहरू वितरण गर्ने निर्णय गरेको छ । जिल्लामा रहेका ५६ एम्बुलेन्सहरूलाई २४ घण्टा तयारी रहन आग्रह गरिएको छ । विदेशबाट फर्केका नागरिकहरूलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न स्थानिय सरकारहरूलाई निर्देशन गर्दै अटेर गर्ने व्यक्तिलाई कानुन अनुसार कारवाही गर्ने भएको छ ।
हाल जिल्लामा ५ सय १५ वटा क्वारेन्टाइन र ३९ वेडको आइशोलेसन रहेको छ । हालसम्म ८८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अति आवश्यकीय सामग्रीहरू खाद्यान्न ग्यास तरकारी फलफुल दुधलगायत दैनिक उपभोग्य वस्तुहरूको व्यवस्थापन उद्योग वाणिज्य सङ्घले मिलाउने र कालाबजारी नियन्त्रण गर्ने गरी सङ्यन्त्र बनाएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभएको छ ।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखाल नगरपालिका भित्र रहेका असहाय, वृद्धबृद्धा, विपन्न तथा दैनिक ज्याला गर्ने परिवारलाई राहत वितरण सुरु गर्नुभएको काभ्रे जिल्लामा प्रतिनिधि हिरामान तामाङले जानकारी दिनुभयो । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ ले आफ्नो वडा भित्र रहेका अति बिपन्न परिवारलाइ राहत बाँडेको छ । वडाका अति बिपन्न परिवार छनौट गरि राहत वितरण गरिएको वडा अध्यक्ष हरिशरण घिमिरेले जानकारी दिनुभयो ।
काभ्रेको तेमाल गाउँपालिकाले यो वर्षको तेमाल जात्रा आ–आफ्नै घरमा मनाउन अपिल गरेको छ । पालिका प्रमुख सलामसिंह तामाङले चैत २१ गते सूचना सार्वजनिक गर्दै ऐतिहासिक तेमाल जात्रा आ–आफ्नो घरमै बसेर मनाउन अपिल गर्नुभएको हो । कोरोना भाइसरको विश्वव्यापि महामारीबाट सिर्जित परिस्थितिलाई ध्यानमा राख्दैँ लकडाउनकै मिति भित्र तेमाल जात्रा परेकोले पालिका अध्यक्ष तामाङले आफ्नै घरमा पितृ पूजा गर्न आग्रह गर्नुभएको हो । तेमाल जात्रा चैत २५ बौद्ध र २६ गते स्वयम्भुमा हुने मिति तय भएको थियो ।
आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको मकवानपुरको मनहरी गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरूको घरघरै पुगेर ज्वरो जाँच गर्ने कार्य सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामका लागि गाउँपालिकाले नौ ओटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरूको नामावली सङ्कलन गरी गरेको मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीले बताउनु भयो ।
लक डाउनका कारण सवारी सुविधा नभएपछि घरघरै पुगेर ज्वरो जाँच तथा परामर्श दिन थालिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो । उहाँका अनुसार मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसहितको स्वास्थ्य जाँच टोली विभिन्न वडाहरुमा पुगिरहेका छन् । वडामा पुगेको स्वास्थ्य जाँच टोलीले विदेशबाट फर्केकाहरूलाई होम क्वारेन्टाइनमा बस्न र आवश्यक परामर्श दिइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकामा १ सय ५० भन्दा बढी व्यक्तिहरू पछिल्ला एक महिनायता विदेशबाट फर्केको पाइएको बताइएको छ ।
साथै विदेशबाट फर्किएका व्यक्तिको घरमा रातो चिन्ह लगाउने कार्य पनि गरिएको छ । गाउँपालिकाले भीडभाड हुने नौ वटै वडाका चोक चौतारा तथा सडक आसपासका क्षेत्रमा किटनाशक स्प्रे समेत गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणविरुद्ध परिचालनका लागि २५ देखि ५० प्रतिशत अतिरिक्त भत्ता तथा आवासीय सुविधा दिएर १५ जना स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरेको छ ।
निष्कर्ष
कोरोनाको सङ्क्रमण फैलिन नदिने प्रभावकारी उपाय नै लकडाउनको पालना हो । लकडाउनको पूर्ण पालना नगरेको कारण विभिन्न देशहरूमा सङ्क्रमितको सङ्ख्या तिव्रतर रूपमा बढीरहेको छ । बागमती प्रदेशको केही जिल्लाहरुमा लकडाउन पालना नहुँदा कर्फ्यु तथा निषेधाज्ञा समेत जारी गर्नुपरेको छ ।
रामेछाप जिल्लामा देश बाहिरबाट आएका मानिसहरू गाउँमा भित्रिएका कारण जोखिम बढेको छ । उनीहरू होम क्यावारेन्टाइनमा बस्नुभन्दा पनि गाउँगाउँमा घुमेर भोजमा सहभागी भएको गुनासाहरू आएका छन् । निषेधाज्ञा जारी गरी स्थानीयलाई घर बाहिर निस्कन रोक लगाइएको भए पनि शहरबाट यातायात साधानहरूले मानिसहरू ल्याउने क्रम रोकिएको छैन । यसले सङक्रमण फैलने खतरा बढेको छ । तसर्थ बाहिरबाट आउने मानिसहरूलाई रोक्ने र आउनै पर्ने बाध्यता हुनेलाई सोझै क्वारेन्टाइनमा राख्ने कुरामा ध्यान दिनु आवश्यक छ ।
ढुवानिका साधन नियमित नचल्दा बजारमा उपभोग्य सामाग्रिको अभाव हुन सक्छ । अहिले पनि यहाँ सङ्क्रमण फैलियो भने उपचार गर्ने स्वास्थ्यकर्मीलाई अत्यावश्यक उकरणको अभाव छ । त्यसको व्यवस्थापनमा पनि ध्यान जान आवश्यक छ । राज्यले नागरिकका अवश्यकता र समस्या बुझ्न जरुरी छ । सङ्ककटको समयमा संयमित भएर राज्यको निर्णय पालना गर्नु आमनागरिकको कर्तव्य हो ।