INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धमा सुदूरपश्चिम प्रदेशको अवस्था

विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाउनु भएको सूचना अनुसार सतर्कताका लागि प्रदेश सरकार र स्थानीय सरकारले गरेका पुर्व तयारी र समस्याहरूको जिल्लागत अवस्था यस प्रकार रहेको छ ।

इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामौती चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चैत २० गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीबाट कोरोना भाइरसको नमुना स्वाब परीक्षण शुरु भएदेखि नमुना परीक्षणका लागि काठमाडौँ पठाउनु पर्ने बाध्यता हटेको छ ।

संघिय सरकारको पहलमा सेती प्रादेशिक अस्पताल,धनगढीमा मोलेकुलर माइक्रो बायोलोजिष्ट उपकरण जडानका साथै आवश्यक किट तथा केमिकल उपलब्ध भएपछि दुई घण्टा भित्रै कोरोना जाँचको रिपोर्ट आउने प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले बताउनु भयो । चैत २१ गते एक जनाको नमुना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको सापकोटाले भनाइ छ ।

यसभन्दा अगाडी नमुना रिपोर्टका लागि एक हप्ता कुर्नु पर्ने बाध्यता थियो ।

हालसम्म सुदूरपश्चिमबाट ४० जनाको नमुना परीक्षणका लागि काठमाडौँ पठाएको तथ्याङ्क रहेको छ । जसमध्ये २५ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । एक जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जिल्लाका २४ स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन् ।

इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले विभिन्न प्रकारका सर्तकता तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।  जिल्लाका १२ ओटा स्थानीय तहमा २० ओटा हेल्थडेस्क स्थापना गरिएको छ । भने , २५ ओटा आइसोलेसन कक्ष जिल्ला अस्पताल सिमखेतमा तयार गरिएको छ । आवश्यकता अनुसार सबै गाउँपालीकाले विद्यालयमा  क्वारेन्टाइन तयार गरिरहेको जनाएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा चैत १२ गतेदेखि हालसम्म १० जना महिलासहित ३ सय ७९ जनालाई राखिएको छ । तलकोट गाउँपालीका घर भएका एक जनालाई आइसोलेसनमा राखिएकोमा उनको नमुना रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको छ ।

जिल्ला अस्पतालमा चेकजाँचको लागि चाहिने अतिआवश्यक सुरक्षाका सामाग्री पीपिइ, ग्लब्स र माक्सको अभाव रहेको अस्पताले जनाएको छ ।

जिल्लामा दैनिक उपभोग्य बस्तु  चामल ,दाल , नुन, ग्याँसको अभाव नभएको र स्थानीय तहमा समेत खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन व्यापारीहरुलाई पासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पान्डेले बताउनु भयो ।

थलारा गाउँपालिकाले राष्ट्रिय बाणिज्य बैङ्क शाखा चैनपुर र एन.आइ.सी .एसिया बैङ्कमा १० लाख बराबरको राहात कोषको स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भुवनेस्वर उपाध्यायले बताउनु भयो ।

थलारा गाउँपालीकामा रहेका ३० परिवार बादी समुदायलाई १० केजीका दरले चामल वितरण गरेको अध्यक्ष उपाध्यायको भनाइ छ ।

जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाले पनि तथ्याङ्क संकलन गरिरहेको र छिटो भन्दा छिटो आर्थिक अवस्था कमजोरा र ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने परिवारलाई खाद्यान्न विवरण गर्ने  तयारीमा रहेका छन् ।

भोकमारीमा परेको बादी समुदायको गुनासो

बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजारमा बस्दै आएका १४ घर बादी समुदायले आफूहरु भोकमारीको चपेटामा परेको दुखेसो गरेका छन् ।

मागेर जिविका चालाउँदै आएका बादी समुदायमा सरकारले लकडाउन गरेसँगै भोकभोकै बस्नु पर्ने अवस्था आएको हो ।

गाउँघरमा मागेर जम्मा गरेको खाद्यान्न सकिएपछि आफूहरु भोकभोकै बस्नु परेको चैनपुर बजार निवासी हरिना बादीले दुखेसो पोख्नु भएको छ ।

दुई छोराछोरीकी आमा हरिनाले आफूले दुई दिनदेखि केही नखाएको र छोराछोरीलाई छिमेकीको घरबाट मागेर खान दिएको बताउनु भयो ।

‘लकडाउनका कारण बजार सबै बन्द छन् । चैत १९ गते एउटा गाउँमा गए तर गाउँलेले अन्न दिन मानेनन् ।’ हरिनाले भनिन ।

हरिना जस्तै यहाँका १४ घर बादी समुदायको अवस्था दयनिय रहेको राधा बादीले गुनासो गर्नु भयो ।

अहिलेसम्म आफूहरुको अवस्था बुझ्न उद्योग वाणिज्य संघ बझाङको टोली पुगेको र खाद्यान्न दिने भनेर गएको जानु बादीको भनाइ छ ।

जयपृथ्वी नगरपालिकाका उपप्रमुख जुना जाग्रीले आर्थिक अवस्था कमजोर भएका र ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने परिवारको तथ्याङ्क संकलन भइरहेकोले खाद्यान्न विवरण गर्न केही समय लाग्ने बताउनु भयो ।

 

इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुंगानाका अनुसार कोरोना भाइरस सङ्क्रमणको आङ्शकामा जिल्लाबाट पाँच जनाको स्वाब परीक्षणका लागि चैत २१ गते धनगढी पठाइएको छ ।

वयलपाटा अस्पतालमा उपचार भइरहेका दुई जना सर्वसाधारण, सोही अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी र एक जना होम क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षणको लागि धनगढी पठाइएको छ ।

कोरोना भाइरसका किटाणु नष्ट गर्ने उद्धेश्यले सदरमुकाम मंगलसेन बजार र जिल्ला अस्पतालमा क्लोरिन किटनासक औषधि छर्किएको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको किटनासक औषधिलाई सेनाका तालिम प्राप्त व्यक्तिले बढी भीड हुने गरेको मंगलसेन बजार र अस्पतालमा छर्किएको भवानीबक्स गणका कर्णेल लोचन कार्कीले जानकारी दिनु भयो ।

लकडाउन र स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञाका कारण स्थानीय कामदार, असहायलाई खाद्यन्न अभाव भएको भन्दै मेल्लेख गाउँपालिकाले ३ सय ४० क्विन्टल चामल वितरण गर्ने निर्णय गरेका छ ।

गाउँपालिकाले एकल महिला, असाहय, अपाङ्ग र टुहुरा घरपरिवारलाई चामलसहित दाल, तेल र नुन निशुल्क वितरण गर्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराको भनाइ छ ।

मंगलसेन नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष गाउँगाउँमा गएर मास्क वितरण गर्ने र सचेतना अभियान सञ्चालन गर्दै आएका कार्यालयका सूचना अधिकारी खकेन्द्रबहादुर सोडारीले बताउनु भयो ।

तुर्माखाँद गाउँपालिकाले हरेक घरघरमा मास्क वितरण गर्न थालेको छ । संगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत वितरण गर्ने तयारी भइरहेको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनु भयो ।

भागेश्वर गाउँपालिकाले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० लाख रुपियाँको आपतकालिन कोेष निर्माण गरेको गाउँपालिका अध्यक्ष कौशिला भट्टको भनाइ छ ।

अलपत्र नागरिकको उद्धार गरिदिन नवदुर्गाद्धारा प्रशासनलाई पत्र

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले भारतमा अलपत्र परेका आफ्ना गाउँपालिका १० जना नागरिकको उद्धार गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको छ । सुदूरपश्चिम प्रदेशका अधिकाङ्श स्थानीय भारतमा अलपत्र परेको अवस्थामा नबदुर्गाले आफ्ना नागरिकको उद्धारका लागि पहल थालेको अध्यक्ष कबिन्द्र बिष्टले बताउनु भयो ।

उहाँले  भन्नु भयो , “गाउँपालिकाका नागरिकहरु भारतमा भोकभोकै भएकाले उनीहरुको उद्धारका लागि पहल गरिदिन प्र्रशासनलाई आग्रह गरेका छौ ।”

कोरोना आशङ्का गरिएका एक जनाको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस आशङ्का गरिएका डडेल्धुराका २० वर्षीय एक पुरुषको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अमरगढी नगरपालिका– ९ का ती व्यक्तिको चैत १४ गते नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं पठाइएको थियो ।

भारतको मुम्बईबाट घर आएको र रुखाखोकी तथा समान्य ज्वरो देखिएकाले उनलाई डडेल्धुरा अस्पतालमा ल्याइ थ्रोट स्वाब संकलन गरिएको थियो । उनलाई अस्पताले घरमै क्वारेन्टाइन बस्न भनी यस अगाडी नै घर पठाएको थियो । डडेल्धुरा अस्पतालले थ्रोट स्वाब संकलन गरेको थप एक जनाको रिर्पोट आउन बाँकी रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जगदिशचन्द्र बिष्टको भनाइ छ ।

नेपाल प्रवेश गरेका तीनजना क्वारेन्टाइनमा

भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका – ३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरूलाई आलिताल गाउँपालिकाले तयार गरेको क्यारेन्टाइनमा राखिएको गाउँपालिका उपाध्यक्ष जलाकुमारी विष्ट वोगटीले बताउनु भयो ।

ठेकेदारले कामबाट निकालेर २ हजार रुपियाँ गाडी भाडा दिएर पठाएकोमा तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गर्न बाब्य भएको उनीहरूको भनाइ छ ।

क्वारेन्टाइनमामा राखिएका तीनै जनाको  स्वास्थ्य अवस्था सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।

 

अन्य

भिडियो