कोरोना भाइरस(कोभिड–१९)को महामारी फैलिए पश्चात तीन महिनायता चीनले किमाथाङ्का नाका बन्द गरेपछि भोटखोलामा खाद्य सङ्कट सुरू भएको छ ।
चीनले किमाथाङ्का नाका सिलगरेपछि सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्य सङ्कट भएको हो ।
कोरोना त्रासले किमाथाङ्का बन्द गरेपछि भोटखोलामा खाद्यान्न सङ्कट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनु भयो ।
कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने भन्दै चीनले किमाथाङ्का नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार प्रवेश गर्ने नाका बन्द गरेपछि भोटखोलाको वडा–१ र २ मा खाद्य सङ्कटको अवस्था सिर्जना भएको गाउँपालिका अध्यक्ष भोटेले बताउनु भयो ।
किमाथाङ्का सदरमुकाम खाँदबारीबाट ४ दिनको पैदल दुरीमा पर्दछ । भौगोलिक रूपमा विकट मानिएको भोटखोलामा सञ्चार र यातायातका साधनको पहुचँ छैन ।
कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन चीनले ०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका बन्द गरेको थियो ।
चिनको सिमानामा पर्ने वडा – १ र २ का रिदाक,थुदाम, छुमसुर लगायतका स्थानमा खाद्य सङ्कटको अवस्था सिर्जना भएको अध्यक्ष भोटेले बताउनु भयो । वडा – १ र २ वडाका २ सय १४ घरपरिवारलाई खाद्य सङ्कट भएको अध्यक्ष भोटेको भनाइ छ ।
खाद्य सङ्कट टार्न गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष भोटेले भन्नुभयो “खादबारीबाट ढुवानी भएको राहत सामग्री केही दिन भित्रमा वितरण हुन्छ ।” खाद्य सङ्कट टार्न प्रतिघर २ बोरा चामल, ५ किलो नुन, ४ लिटर तेल प्रदान वितरण गर्ने अध्यक्ष भोटेले बताउनु भयो ।
किमाथाङ्का लगिने खाद्यान्न सदरमुकाम खाँदबारीकै दररेटमा खरिद गर्न सक्ने अध्यक्ष भोटेले जानकारी दिनुभयो ।
भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण कोदो,मकै र आलु बाहेकका खाद्यान्न उत्पादन हुँदैन । उत्पादन भएका कोदो,मकै र आलुले चार महिना मात्र पुग्ने अध्यक्ष भोटेले बताउनु भयो ।
उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा,देन्दाङ बजारमा आश्रित छन् । त्यस क्षेत्रमा आउनसक्ने सङ्कटलाई मध्यनजर गर्दै राहतका सामग्री ढुवानीमा अनुमति प्रदान गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो ।