INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा पछिल्लो समय भारतबाट आएकाहरू थपिँदै गएका छन् । विभिन्न ठाउँमा मानिसहरू अलपत्र परेका र लकडाउनसँग सँगै औषधी अभावहुन सुरु भएको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलका अनुसार राजविराजस्थित अस्पतालमा चैत ९ गतेदेखि सञ्चालित ‘फिभर क्लिनिक’ मा चैत १९ गतेसम्म महिला ६६, पुरुष ८५, बालिका १७ र बालक १९ गरी १ सय ८७ जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य परीक्षण गराएकामध्ये २८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको र १३ जनालाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाइनमा निगरानीमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दासले बताउनु भएको छ ।

चैत १९ गते १८ जना ‘फिभर क्लिनिक’ मा आएकोमा ६ महिला, सात पुरुष, तीन बालिका र दुई बालक रहेको मेडिकल रेकर्डर श्रवण सदाले जानकारी दिनु भएको छ । सदाका अनुसार हालसम्म शंकास्पद व्यक्ति नपाइएकोले कसैको पनि स्वाव परीक्षणका लागि पठाउनु परेको छैन् ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीहरू मास्क, गाउन, गगल्स चश्मा, सेनिटाइजर र पञ्जालगायत उपलब्ध भएपछि सुरक्षित महसुस गरेका छन् ।

सप्तरीमा ५६ शैया आइसोलेशन

सप्तरी जिल्लाको विभिन्न चारओटा अस्पतालमा ५६ ओटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ६, राजविराजस्थित छिन्नमस्ता अस्पताल र रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा २०/२० तथा रुपनी गाउँपालिकास्थित ठाकोदेबी जोगेन्द्र भगत क्षेत्रीय प्रहरी अस्पतालमा १० शैयाको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेको छ ।

छिन्नमस्ता र युनिक अस्पतालमा आइसियु सेवा समेत उपलब्ध रहेकोले त्यसलाई प्रयोग गर्न सकिने सञ्चालकहरुले प्रतिवद्धता जनाएका छन् । हाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सामाग्री उपलब्ध रहेकोले कोरोनाका सम्भावित विरामीलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिने अवस्था बनेको प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा. चुमन लाल दासले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं आपूर्ति व्यवस्था महाशाखाले पठाएको २० थान पिपिई सेट, एक सय थान गाउन, पाँच हजार थान मास्क, पाँच बोतल सेनिटाइजर प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार स्वास्थ्य सेवा विभाग टेकुबाट पठाएको नौ थान पिपिई सेट, चौधरी समूहबाट पठाएको १५ थान पिपिई सेट पनि प्राप्त भएको छ । कोरोना परीक्षण सम्वन्धी ‘ल्याब टेक्निसियन’का लागि दुई थान पिपिई सेट पहिले नै प्राप्त भएको छ ।

यो सँगै गजेन्द्रनारायण सिंह अस्पतालमा कुल ४६ थान पिपिई सेट र एक सय थान गाउन मौजुद रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बताउनु भयो । उक्त सामग्रीहरु आइसोलेसनमा पठाईएका कोरोनाका विरामीहरुको उपचारका क्रममा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने जनाईएको छ । अस्पतालमा उक्त सामाग्री उपलब्ध भएपछि स्वास्थ्यकर्मीहरुले सुरक्षित महसुस गरेका छन् ।

तत्कालका लागि विकल्पको रुपमा ४६ थान रेनकोट (वर्साती), ५० थान कपडाको गाउन, क्याप, गमबुट, गोगल्स चश्मा लगायतका सामग्रीहरु अस्पतालले व्यवस्था गरेको थियो ।

सप्तरीको क्वारेन्टाइनमा ११ महिलासहित २११ जना

कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन एकान्तवासका लागि सप्तरी जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा भारतलगायत विदेशबाट आएका ११ महिला र २०० पुरुषलाई राखिएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा पछिल्लो समय भारतबाट आएकाहरु थपिँदै गए पछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २११ पुगेको हो ।

भारतीय खुला सीमामा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नपा–२ स्थित सकरदही विद्यालयमा १० पुरुष, वडा नम्बर–११ स्थित सामुदायिक भवनमा १ महिला र ११ पुरुष, कञ्चनरुप नपा–१ स्थित लक्ष्मीनारायण मावि वैरवामा २३ पुरुष, वडा नम्बर–११ स्थित दुर्गा आधारभूत बिद्यालय ठेलियामा २ महिला र ७ पुरुष, बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविमा २ महिला र १७ पुरुष, डाकनेश्वरी नगरपालिका–५ स्थित कच मावि पातोमा ५ पुरुष, खडक नगरपालिका–९ स्थित स्वास्थ्य चौकी मैना सहर्षबाहुमा ३ पुरुष, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा १ पुरुष, राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा १ महिला र १२ पुरुष र राजविराज नपा–४ स्थित इस्लाम मियाँको घरमा ७ पुरुषलाई राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा १४ पुरुष, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा ३ महिला र १४ पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बृद्धाश्रममा १२ पुरुष र वडा नम्बर–८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविमा ७ पुरुष, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा २ महिला र १८ पुरुष, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टीमा ९ पुरुष, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीमा ७ पुरुष र वडा नम्बर ३ स्थित मावि बथनाहामा २ पुरुष, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा २ पुरुष, तिरहुत गाउँपालिका–५ स्थित सरस्वती जनता मावि लोहजरामा ६ पुरुष, रुपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा माविमा २ पुरुष, वडा नम्बर–५ स्थित जनता आधारभूत बिद्यालयमा १० र वडा नम्बर–६ स्थित मावि तेरहौतामा १ पुरुष राखिएको छ ।

चैत २० गते २ महिला र ४३ पुरुष थपिएको र १५ पुरुषलाई डिस्चार्ज गरिएको फोकल पर्सन जनस्वास्थ्य निरीक्षक डम्बरलाल यादवले बताउनु भयो । सप्तरी जिल्लाको १८ ओटै स्थानीय तहले अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, सामुदायिक भवन गरी विभिन्न २९ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ ।

सप्तरीमा चार सय ९५ शैयाको क्वारेन्टाइन सञ्चालित

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि एकान्तवासमा बस्न सप्तरीको विभिन्न २९ स्थानमा ४ सय ९५ शैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

पछिल्लो समय भारतलगायत विदेशबाट आएका व्यक्तिहरु फेला पर्दै गएपछि क्वारेन्टाइन स्थल र शैयाको सङ्ख्या बढाउँदै लगिएको हो । विदेशबाट आएकाहरुको खोजी गरी १४ दिनसम्म निगरानीमा राख्न सप्तरीको १८ वटै स्थानीय तहले आ–आफ्नो श्रोत साधनलाई उपयोग गर्दै क्वारेन्टाइन थप्दै गएपछि ४ सय ९५ शैया पुगेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ ।

राजविराज नपा–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा २५, कञ्चनरुप नपा–१ स्थित लक्ष्मीनारायण मावि वैरवामा २५, वडा नम्बर–१० स्थित बदगामा स्वास्थ्य चौकीमा १०, वडा नम्बर–८ स्थित सर्वोदय मावि, वडा नम्बर–११ स्थित दुर्गा आधारभूत विद्यालय ठेलिया र वडा नम्बर–१२ स्थित शंकर माविमा १२/१२, डाकनेश्वरी नगरपालिकास्थित कच मावि पातोमा ५, बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविमा २५ र जीवनदिप अस्पतालमा ५, खडक नगरपालिका–९ स्थित स्वास्थ्य चौकी मैना सहर्षबाहुमा २०, शम्भुनाथ नगरपालिका–७ स्थित बुद्धिलाल बिद्या मुनर नमूना मावि भगवतपुरमा–१०, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा २०, हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदही विद्यालयमा २० र वडा नम्बर–११ स्थित सामुदायिक भवनमा ३०, सप्तकोशी नगरपालिका–२ स्थित गोबैज मावि फत्तेपुर र वडा नम्बर–१० स्थित जनता मावि भगनी मलेठमा २१/२१ शैया क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा ३०, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा २४, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा २५, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरी र वडा नम्बर–३ स्थित मावि बथनाहामा २५/२५, तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित बृद्धाश्रममा १० र वडा नम्बर–८ स्थित लबनमावि बमनगामा कट्टीमा १५, रुपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा आधारभूत बिद्यालयमा १०, वडा नम्बर–५ स्थित जनता आधारभूत माविमा बसविट्टीमा ६, वडा नम्बर ६ स्थित मावि तेरहौतामा १५, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टीमा १५, बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा १८ र तिरहुत गाउँपालिका–५ स्थित सरस्वती जनता मावि लोहजरामा ४ शैया क्षमताको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

सर्लाही जिल्ला प्रतिनिधिका बुधन साहका अनुसार भारतको दिल्लीबाट चैत १८ गते राती आएका सर्लाहीका १२ जना नेपाल भारत सीमा नाका सितामढी जिल्लास्थित सीमावर्ती बजार सोनवरसामा अलपत्र परेका छन् ।

अलपत्र पर्नेहरुमा मलंगवा नपा–७ मुसैलीका धिरेन्द्र महतो, रुदल महतो, हरेन्द्र महतो, बंजरंगी महतो, प्रेम महतो, मिठु राम, बरहथवा नपा–३ का भरत राउत, शत्रुधन महतो, गंगा राम सहनी, ब्रहम्पुरी गाउँपालिका–३ भेल्हीका राजकुमार यादव, बलरा नगरपालिका गडहीया डुमरीयाका अनिल महतो, बसबरिया गाउँपालिका मानपुरका शम्भु राय रहेको सोनबरसाका एसएसवी दिलाबर साहेबले जानकारी दिनु भएको छ ।

उनीहरुलाई एसएसवीले सोनवरसामा रहेको अस्पतालमा चेकजाँचको लागि पठाएको थियो । अहिले उनीहरुलाई राजकीय मध्य विद्यालय सोनवरसामा राखिएको छ । उनीहरु बिहानदेखि भोकै रहेका कारण सोनवरसाका स्थानीयहरुले केही बिस्कुट र खानाको व्यवस्था गरेको सोनबरसाका स्थानीय अविनाश कुमार पटेलले जानकारी दिनु भएको छ ।

सर्लाहीको बरहथवामा विभिन्न जिल्लाबाट आएका इट्टाभट्टा मजदुरको स्वास्थ्य परीक्षण

बरहथवा नगरपालिकामा नेपाल बाहिर तथा जिल्ला बाहिरबाट आएका बरहथवा नपा–१, २, ३, ४, १४ र १५ वडाका २ सय ३१ जना इट्टाभट्टाका मजदुरको चैत १९ गते स्वास्थ्य परीक्षण गरिएको बरहथवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिनु भएको छ ।

जिल्ला बाहिरबाट आएका सबै कामदारहरुको थर्मोगणले शरीरको तापक्रम जाँच गरि घर पठाइएको बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतोले जानकारी दिनु भएको छ । स्वास्थ्य परीक्षण गरिएकोहरु मध्ये एक जना बच्चामा समान्य ज्वरो भएकोले चेकजाँच गरी होम क्वारेन्टाइनमै पठाइएको उहाँले बताउनु भएको छ ।

मजदुरहरुको स्वास्थ्य परीक्षणमा बरहथवा नगरपालिकाको ऐडभान्स सनजिवनी अस्पताल र बरहथवा प्राथमिक उपचार केन्द्रका स्वास्थ्य कर्मीहरुले सहयोग गरेको छन् ।

त्यस्तैगरि चैत १९ गते मात्र चितवन र काठमाडौँबाट आएका इट्टाभट्टाका २ सय ७ जना कामदारहरुको स्वास्थ्य परीक्षण गरी होम क्वारेनटाइनमा पठाइएको छ । हालसम्म बरहथवा नगरपालिकामा नेपाल बाहिर तथा जिल्ला बाहिरबाट आएका ६ सय ५० जना स्थानीयलाई होम क्वारेन्टाइनमा राखिएको नगर प्रमुख महतोले बताउनु भएको छ ।

बरहथवा नगरपालिकाबाट भारतीय सीमा नाकाहरु नजिक भएकोले लकडाउनमा कडाई तथा नगर बासीहरुको विशेष निगरानीमा सोही नगरापालिका वडा नं. १५ मा १७ र वडा नं. ६ मा १० गरी २७ जनाको क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको नगर प्रमुख महतोले बताउनु भएको छ ।.

महोत्तरी जिल्ला प्रतिनिधिका अजयकुमार साहका अनुसार वर्दिवासमा २५ जना भारतीय नागरीकको बिचल्ली भएको कारण भोक भोकै बस्न बाध्य भएका छन् । लकडाउन पछि बर्दिबासमा भोकले २५ जना भारतीय नागरिकको विचल्ली भएको हो । नारायणघाटबाट कुखुराको चल्ला ल्याएर बिक्री गरेर व्यापार गर्दै आएका उनीहरू लकडाउनले भोकभोकै परेका हुन् ।

कोरोना भाइरस फैलिन सक्ने र दाना नपाएर उनीले ८ हजार चल्ला खाल्टो खनेर गाडेका थिए । त्यसबाट उनीहरुलाई साँढे ३ लाखको आर्थिक क्षति भएको थियो ।

कोरोना भाइरस फैलिन नदिन नेपाल–भारतको सीमा नाका सील गरिएको छ । उनीहरु घर पनि फर्किन सक्ने अवस्था छैनन् । कोठामा चामल, दाल पनि छैन ।

व्यापार, रोजगारीको क्रममा नेपाल र भारतमा रहेका मानिस लकडाउनले सङ्कटमा परेका छन् ।

बर्दिबासमा कोठा भाडा लिएर कुखुराको चल्ला बिक्री गरेर परिवार चलाउँदै आएका भारतको पश्चिम बंगालका २५ जना खाना नपाएर भोकै रुँदै सहयोगीलाई खाना व्यवस्था गरि दिन बिन्ती गरिरहेका छन् ।

‘हामीलाई भारत सरकारले आफ्नै देशमा लैजाने व्यवस्था गरोस् नभए नेपालमै खानापानको बन्दोबस्त मिलाउन लगाई दिनुहोस् ।

‘केही व्यवस्था नभए हामी भोकैले मर्नु पर्ने आवस्था आयो’, भारतीय नागरिक मोहम्मद नजरुलले भकानिँदै भने,‘२० बर्षदेखि बर्दिबास बसेर व्यपार गर्दै आएको छु । बन्दा बन्दीले खानेकुरा केही पाउँदैन । साथमा रुपियाँ पनि छैन, भएको पुँजी पनि चल्लामै डुब्यो ।’

बर्दिबास नगरपालिकाले  आफुहरुको अवस्था बुझेर गएको तर हाल सम्म केही व्यवस्था नभएको भारतीय नागरीकहरूले बताउनुभयो । नेपाल सरकारले पनि केही सहयोग गर्नु पर्छ नत्र हामी सबै जना भोकै मर्ने उनीहरूले दुःखेसो पोखेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोक्न नेपाल र भारत लकडाउन भएपछि भारतमा रहेको नेपाली र नेपालमा रहेका भारती नागरिक अलपत्र परेका छन् ।

बर्दिबासमा स्थानीय ज्ञानबहादुर खड्का भन्नुहुन्छ,‘दुबै देशका सरकारले भारतमा रहेका नेपाली र नेपालमा रहेका भारतीय नागरिकलाई दानापानीको व्यवस्था र सुरक्षा प्रदान गर्नु पर्छ ।’

पर्सा जिल्ला प्रतिनिधिका केसी लामिछानेका अनुसार पटेर्वा सुगौली गाउँपालिका–१ कन्चनपुरबाट प्रहरीले गिरफ्तार गरेका ११ व्यक्तिहरुलाई वीरगंजको वडा नम्बर १३ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

दिल्लीको निजामुद्दीन मर्कजमा भएको भेलामा सहभागी रहेको र लुकिछिपी नेपालमा प्रवेश गरेको आशङ्कामा उनीहरूलाई प्रहरीले गिरफ्तार गरेर क्वारेन्टाइनमा राखेको हो ।

तर, उनीहरुले आफूहरु दिल्लीमा नभएको बताएका छन् । उनीहरु फाल्गुन  ३ देखी ५ सम्म नेपालको सप्तरी जिल्लाको वोदेवरसाइन नपा–५ जाँजरमा भएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) मा सहभागी भएका व्यक्तिहरु हुन ।

सोनवर्षाको कन्चनपुर स्थित मस्जिदमा रहेको बेलामा कसैले दिल्लीबाट आएका जमाती भनेर दिएको सूचनाको आधारमा बिशेषत भारतीय महावाणिज्य दुतावासको चासोका कारण उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको स्थानीय बुद्धिजीवीहरुको प्रतिक्रिया रहेको छ ।

सप्तरीको कार्यक्रमबाट बनेको जमातमा यो टोलीलाई बारा र पर्साका मस्जिदमा पुगेर रोजा नमाज गर्न लगाउने भगवानको महिमा सुनाउने जिम्मेवारी परेको थियो । गिरफ्तार गरिएका सबै रौतहट जिल्लाका हुन् ।

जमातीहरु केही समय वीरगंजका मस्जिद र त्यसपछि कौवावन कटैया, देउरवाना, सोलखपुर, बैरिया, कन्चनपुर र सोनवर्षाको मस्जिदमा रहेका थिए ।  सोनवर्ष–१ का वडाध्यक्ष फरमान अन्सारीले कसैले सूचना दियो उहाँहरुलाई प्रहरीले खोजी गरेपछि ट्रयाक्टरमा राखेर थाना लगेको बताउनु भयो  ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले उहाँहरुले आफूहरु दिल्ली नगएको बताउनु भएको छ र सो सम्बन्धमा अझै अनुसन्धान हँुदै गरेको बताउनु भयो ।

दिल्लीको निजामुद्दीन मर्कजमा भएको तीन दिने आन्तर्राष्ट्रिय जमातिहरुको भेलाबाट फैलिएको कोरोनाको सङ्क्रमणको त्रास नेपालका सिमावर्ती जिल्लाहरुमा पनि फैलिएको छ ।

यसैबीच भारतबाट बारा जिल्लाको बिश्रामपुरमा आएका १७ जना ब्यक्तिहरुलाई पनि आजबाटै सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको छ ।

पटेर्वा सुगौली गाउँपालिका–४ देउरिया बाँधको चेक पोवाईण्टहुँदै दिल्लीबाट घर फर्किएको पाँच जना राती गाउँमा आउँदै गरेको सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र गाउँ पालिकाका स्वास्थकर्मीको टोलीले नियन्त्रणमा लिई निचुटा क्वारेण्टाईनमा राखिएको पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चोधरीले बताउनु भयो । उहाँका अनुसार वडा न. २ गादीमा बनाईको क्वारेन्टाइनमा पनि चार जना राखिएको छ ।

त्यस्तै पोखरियामा तीन जना र पकाह मैनपुरमा दुई जनालाई क्वारेन्टाइन्मा राखिएको छ । क्वारेन्टाइनमा रहनेहरुकोलागि खाना झूल आदिको व्यवस्था गरिएको बताइएको छ ।

सिरहा जिल्ला प्रतिनिधिका दुर्गा परियारका अनुसार विश्वभर देखिएको कोरोना महामारीको सङ्क्रमण फैलि रहेकाले सोबाट बच्न नेपाल सरकारले लक डाउनको व्यवस्था चैत १० गते देखिनै नेपालमा पनि लागु गरेको छ । लकडाउनको कारणले सिरहा जिल्लामा अत्यावश्यक औषधीहरुको अभाव भएको छ ।

दिर्घकालिन रोगिहरु सुगर, प्रेसर तथा थाइराईडका रोगिहरुले खाने औषधीहरुको अभाव भएको हो । यि बिरामी भएका रोगिहरुले नियमित औषधी सेवन गर्नु पर्ने हुन्छ तर नियमित खाने औषधीहरु अभाव भएको सुगरका बिरामी विष्णु महराले बताउनु भयो ।

औषधी लिन जाँदा नियमित खाने औषधी सकिएकोले साटोमा अर्काे औषधी लग्नुहोस् भनेर औषधी पसलवालाले त्यही औषधी अर्काे कम्पनिको दिएको बताउनु भयो । यो पनि सकिन्छ नत्र पाइँदैन भने पछि लिएर आएको महराले बताउनु भयो ।

जिल्ला औषधी व्यवसाय सङ्घ सिरहाका अध्यक्ष श्याम प्रसाद राउतले लक डाउन भए देखि औषधीहरुको प्रमुख डिलरहरुले ढुवानी नगर्दा अत्यावश्यक औषधीहरुको अभाव भएको बताउनु भयो । भारत र वीरगंजबाट औषधीहरु आउनु पर्ने भएकोले औषधीहरु नआएकोले यो समस्या आएको अध्यक्ष राउतले बताउनु भयो ।

अत्यावश्यक औषधीहरु दैनिकरुपमा खपत हुने भएकोले हाललाई अभाव भए पनि चाँडै औषधीहरु आयात गराएर आपुर्ती व्यवस्थालाई सुचारु बनाउने राउतले जानकारी गराउनु भयो । अहिले औषधीको बदला अरु कम्पनीको भए पनि उपभोक्ताहरुलाई औषधी दिएर पठाउने गरेको र यो समस्या केही दिनमै समाधान हुने अध्यक्ष राउतले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइका अनुसार सबै औषधी डिलर र व्यवसायीहरुसँग छलफल गरी अत्यावश्यक औषधी हरुको आपुर्ती व्यवस्था सहज बनाउन पहल गर्ने बताउनु भयो ।

बारा जिल्ला प्रतिनिधिका भोलानाथ पौडेलका अनुसार क्यान्सर पिडितलाई भर्ना नलिएकाले बिरामी मर्कामा परेका छन् ।देवताल गाउँपालिका–१ बडकीफुलवरीया निवासी ५० बर्षीय लालबहादुर बैठाका २५ बर्षीय छोरा अर्जुन कुमार बैठालाई चैत ७ गते नेशनल मेडिकल कलेज वीरगंजले उच्च ज्वरो आएकाले अस्पतालको गेटबाट भित्र पस्न दिइएन ।

उहाँ सोही दिन भरतपुर स्थित बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच किसिमका परिक्षण गरि क्यान्सर प्रमाणीत भएपछि अस्पतालले नोभेल कोरोनाको समस्या भएकाले भर्ना लिन मिल्दैन कोरोना भाइरसको हल्ला शान्त भएपछि आउनुभनि फिर्ता पठाएकाले आफ्नै घरमा आएर बसेको मिति २०७६ चैत १९ गते विरामीको स्वास्थ्यमा समस्या भएको पिडा सहन नसकि उपचार गर्न पहलगरी विरामीको जिवन रक्षाका लागि पिडित परिवारले अनुरोध गर्नु भएको छ ।

नेशनल मेडिकल कलेजले उच्च ज्वरो आएका बिरामीलाई परिक्षण गर्ने सामाग्री नभएकाले चिकित्सक र अस्पतालमा रहेका बिरामीको स्वास्थ्यमा ख्याल राखेर कोरोनाको लक्षण मिल्ने बिरामीलाई उपचार नगरेको अस्पतालका प्रवन्ध निर्देशक बसरुदिन अंसारीले बताउनुभयो ।

बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पतालका प्रमुख डा. बिजय न्यौपानेले अति आवश्यक बिरामीलाई भर्ना गरिरहेको र सामान्य बिरामीलाई केही दिन पछि भर्ना हुने समय दिएर पठाउने गरेको बताउनुभयो । उहाँले अर्जनलाई केही समय पछि भर्ना हुन आउनु भनि पठाएको बताउनुभयो ।

बारा जिल्कोलामा कोरोना भाइरसको अवस्था

कोरोना भाइरसको संक्रमण, माहामारी तथा यसको असर र उत्पन्न हुनसक्ने विपदको सामना गर्न बारा जिल्लामा भारतबाट जमात पुरा गरि नेपाल प्रवेश गरेका ११ जना मुस्लिम धर्मगुरुहरुलाई नियन्त्रणमा लिएर प्रहरीले क्वारेन्टाइनमा पठाएको छ ।

विभिन्न स्थानीयतहरुमा गरि बारा जिल्लामा चैत २० गते सम्ममा कुल २ सय ३३ शैयाको क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ । कलैया उमनपामा ५० आटा, जीतपुरसिमरा उमनपामा ५० ओटा, निजगढ नपामा ११५ ओटा, फेटागाउँपालिकामा पाँच ओटा, बिश्रामपुर गाउँपालिकामा १० ओटा र कलैया अस्पतालमा तीन ओटा शैयाको व्यवस्था गरिएको छ ।

बारा जिल्लाको जीतपुरसिमरा उमनपा सिमरामा २६ ओटा आईसोलेसन वेड र निजगढ नगरपालिकाको उद्योग वाणिज्य संघ निजगढ शाखाको सभाहलमा पाँच आईसोलेसन वेड गरि जम्मा ३१ आईसोलेसन वेडको व्यवस्था मिलाइएको छ ।

भारतबाट जमात पुरा गरि नेपाल प्रवेश गरेका ११ जना मुस्लिम धर्मगुरुहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको डिएसपी गौतम मिश्रले बचाउनु भयो ।

विश्रामपुर गाउँपालिको खुला नाका छाडि लुकेर खेत बाट कान्तिपुर टोल स्थित मस्जिदमा भारत हुँदै आएका सप्तरी जिल्लाको तिलाठी र कोइलाडी गाउँपालिकाका मुस्लिम धर्मगुरुहरुलाई वीरगञ्जस्थित चिनी कारखाना भित्र रहेको सिद्धार्थ माविमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको छ । धर्मगुरुहरु भारतमा ४० दिनको जमात पुरा गरि घर फर्किनका लागि आएको बताउनुभयो ।

स्थानीयको सहकार्यमा लकडाउनको समयमा मस्जिदमा आएकालाई स्वास्थ्य परीक्षण गरि १४ दिन क्वारेन्टाइनमा पठाएको एसपी कृष्ण कुमार पगेनीले बताउनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) उपचार, रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं २ सरकारका तर्फबाट प्रदेश सभाका सभामुख सरोज यादव र भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कलैया अस्पताललाई चैत २० गते कोरोना सङ्क्रमण, सुरक्षा तथा जाँच गर्ने मेडिकल सामाग्री वितरण गर्नु भएको छ ।

उहाँहरूले पिपिइ कीट ३० ओटा, गलब्स ४०० ओटा, माक्स १०० ओटा साथै जनस्वास्थ्य कार्यालयलाई पिपिइ कीट २० ओटा, ग्लबस १०० ओटा र माक्स ५०० ओटा प्रदान गर्नु भएको कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट वीरेन्द्र मण्डलले बताउनुभयो ।

अन्य

भिडियो