INSEC Online

📅 २०८३ जेष्ठ २१

हेटौँडा र भक्तपुरमा पनि कोरोनाको परीक्षण सुरु

मकवानपुरको हेटौंडा र भक्तपुरको मध्यपुरथिमिमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा चैत २० गतेबाट कोरोना परीक्षण सुरु गरिएको हो ।

दाताको सहयोगमा पाँच वर्षअघि हेटौंडामा स्थापना भएको आधुनिक पोलिमेयर चेन रियाक्सन (पीसिआर) ल्याबमा जनशक्ति र केमिकलको व्यवस्थापन हुन नसक्दा कोरोना भाइरसको परीक्षणका लागि नमुना काठमाडौँको टेकु नै पठाउनुपर्ने बाध्यता अब हटेको छ ।

सरकारले ल्याब सञ्चालनको लागि आवश्यक दक्ष जनशक्ति, किट तथा केमिकल उपलब्ध गराएसँगै हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा कोभिड–१९ (कोरोना) को परीक्षण सुरु भएको इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिनुभयो । प्रयोगशालामा ६ सय परीक्षण किट आइ सकेको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालका अनुसार कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण सुरु गरिएको हो । हेटौंडामा रहेको ल्यावले प्रदेश २ का विभिन्न जिल्लालाई सेवा दिन सकिने मन्त्री दुलालले बताउनु भयो ।

भाइरस, ब्याक्टेरिया, प्यारासाइटको प्रजाति अध्ययन गर्ने र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्ने पीसीआर मेसिन पाँच वर्षअघि नै थियो । तर, परीक्षण किट र आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको थियो,’ मन्त्री दुलालले भन्नुभयो । अहिले ल्याबमा पीसीआर मेशीन थप गरिएको छ ।

भाइरस ब्याक्टेरिया, प्यारसाइटहरूको प्रजाति अध्ययन गर्न, भाइरसको स्वरुप परिवर्तनबारे बुझ्न ०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको यो ल्याबमा पाँच जनाको दरबन्दी भएपनि दुइजना प्राविधिक मात्रै थिए । उक्त ल्याब सञ्चालन गर्न सङ्घीय स्वास्थ्य मन्त्रालयको टोली हेटौंडा आएर अध्ययन गरेको थियो । सरकारले दुइजना माइक्रोबायोलोेजिस्ट पठाएपछि बागमती प्रदेशका कोरोना आशङ्का लागेका व्यक्तिको स्वाब परीक्षण हुने भएको हो । ल्याबमा एकपटकमा ६० ओटा नमुना परीक्षण गर्न सकिन्छ । परीक्षण थालिएको तीनघण्टामा नतिजा प्राप्त हुन्छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एक पटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ । मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ । यो ल्याब निरन्तर सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र सङ्क्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गरेर यहीँ उपचार गर्न सकिने चिकित्सकहरू बताउँछन् । बागमती प्रदेश सरकारले चितवन र काभ्रेको धुलीखेलमा समेत केही दिनभीत्रै पिसीआर ल्याब स्थापना गर्ने तयारी गरिरहेको छ ।

यस्तै इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि चैत २० गतेबा कोरोना परीक्षण सुरु भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने ल्याब स्थापना गरेको दुइ सातापछि आधिकारिक रुपमा भक्तपुरमा पहिलो पटक कोरोना परीक्षण सुरु गरेको हो ।

यसअघि नमुना सङ्कलन गरी टेकु अस्पताल पठाउदै आएकोमा अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस परीक्षण गर्न सुरु भएपछि यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्ला मै पहिलो अस्पताल बनेको हो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अब कोरोना परीक्षणका लागि टेकु अस्पताल जानु नपर्ने बताउनु भयो । मध्यपुरथिमि नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेशनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ ।

नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर ‘पोलिमराइज चेन रिएक्सन’ (पीसीआर) मेशिन सहितको ल्याब सञ्चालनमा ल्याएको छ । यो ल्याबमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

यो ल्याबमा विभिन्न रोगहरू सार्स, डेंगु, स्वाइनप्mलूलगायत क्यान्सर एवम् शरीरका विभिन्न अङ्गका ट्युमरहरूको समेत परीक्षण गर्न सकिने छ । ल्याब टेष्टका लागि विदेश पठाउदा मङ्हगो र रिपोर्ट आउन धेरै समय लाग्ने गरेकोमा अब यो समस्याबाट मुक्त हुने आशा गरिएको छ ।

यही ल्याबमा कोरोना परीक्षण गरि एकजना बिरामीलाई आइसोलेशनमा राखेको जानकारी दिदै उहाँले अस्पतालले कोरोनाको उपचारका लागि चारओटा भेन्टिलेटरसहितको आइसियू र १६ ओटा आइसोलेशन वार्ड निर्माण गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नगर प्रमुख श्रेष्ठका अनुसार अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीे टोलीलाई आवासीय सुविधा सहित २४ सै घन्टा अलर्टमा राखिएको छ ।

अन्य

भिडियो