INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेशको अवस्था विश्लेषण : प्रदेश अस्पतालमा कोभिड–१९ को परीक्षण सुरु

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा चैत २० गतेदेखि कोभिड–१९ को नमुना परीक्षण सुरु भएको छ । नमुना सङ्कलन जारी रहेको र संकलित नमुना मध्ये चैत २० गते आठ जनाको परीक्षण गरिने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारीले जानकारी दिनुभयो ।

नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिनसहित सम्पूर्ण सामाग्री र प्रयोगशाला संचालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति खटाएपछि परीक्षण थालिएको हो । एक दिनमा १० जनासम्मको स्वाब परीक्षण गर्न सकिने चिकित्सकले बताएका छन् ।

चैत १९ गते बसेको विपद व्यवस्थापन परिषद् र विपद व्यवस्थापन कार्यकारी समितिको संयुुक्त बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडा स्तरसम्म एकीकृत संरचनालाई क्रियाशील तुल्याउने, अवस्थालाई मध्यनजर गर्दै नगरपालिका र गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी द्रुत कार्य समूह गठन गर्ने र कोरोना नियन्त्रण तथा रोकथाम कार्यलाई छरितो बनाउन हेलिकप्टर प्रयोग गर्ने पनि बैठकको निर्णय छ ।

सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशको सीमानामा कुनै पनि व्यक्ति अलपत्र परेका छैनन । सुर्खेतमा अलपत्र परेका जुम्ला र कालिकोटका नागरिकलाई पास उपलब्ध गराएर यस अघि नै घर पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार घर फर्किएका नागरिकलाई आवश्यकता अनुसार क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसनमा राखेर उपचार गरिने व्यवस्था मिलाइएको छ ।

वीरेन्द्रनगर नपामा १ सय ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो समयमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या थप भएको छैन् । हालसम्म सुर्खेतबाट १७ जनाको स्वाब जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेसनमा एकजना पनि राखिएको छैन ।

वीरेन्द्रनगर नगरपालिकाका सबै वडाले सडक तथा बस्तीमा क्लोरिन छरेको छ । सबै स्थानीय तहहरूले लकडाउन कार्यान्वयनका लागि विभिन्न उपाय अवलम्बन गरेका छन् । साथै जनचेतनाको कामलाई पनि प्रभावकारी बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चैत १९ गते लकडाउन उल्लङ्घन गर्ने २५ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जुम्लाबाट कोरोनाको आशंकामा स्वाब परीक्षणका लागि काठमाडौं पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जानकारी दिएको छ ।

भारतबाट आएका जुम्ला तातोपानीका एक जना र उनका छोरालाई ज्वरो आएपछि आइसोलेसनमा राखिएको थियो । अब उनीहरूलाई अस्पतालले घर पठाउने तयारी गरेको छ ।
जुम्लाको तातोपानीमा ५०, तिलामा ५०, हिमामा ३०, सिँजामा ४० र कनकासुन्दरीमा २० बेडको निगरानी केन्द्र निर्माण भएका छन् । यता चन्दननाथ नपामा ३०, गुठिचौरमा ६ र पातारासी गाउँपालिकामा ६ बेडको निगरानी केन्द्र बनाइएको छ ।

जुम्लाको एक नगरपालिका र सात गाउँपालिकामा ७१ जना क्वारेन्टाइनमा बसेका छन् भने सेल्फ क्वारेन्टाइनमा ४६ जना बसेको जिल्ला प्रशासनले तथ्याङ्क सार्वजनिक गरेको छ ।
त्यसैगरी हेल्थ डेक्समा चेकजाँच गरिएका ३ हजार ८ सय ७९ जना मध्ये ३ सय ७९ जना भारतबाट र १३ जना अन्य तेस्रो मुलुकबाट आएको जनाइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जुम्लाबाट १५ जना विदेशी पर्यटकलाई फिर्ता पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरिएको १ सय २० बेडको आइसोलेसनमा दुई जनाको उपचार भइरहेको छ ।

गर्भवतीको उद्दार
तिला गाउँपालिका–८ जुम्लाकोट गाउँकी २९ वर्षीया महिलालाई घरमा सुत्केरी हुन नसकी छट्पटी हुँदा गाउँबाट उद्वार गरी गाउँपालिकाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ । बिरामी र सुत्केरीका लागि आठ स्थानीय तहमा पालिकाले गाडिको व्यवस्था गरेका छन् ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार मानिसमा कोरोना भाइरसको सन्त्रास व्याप्त छ । स्थानीय प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विभिन्न सरोकारवाला निकाय र स्थानीय तह तथा स्वास्थ्यकर्मी रोकथाम तथा नियन्त्रणका लागि खटिरहेको भएपनि भारत तथा अन्य जिल्लाबाट आउने मानिसबाट संक्रमण फैलिन सक्नेमा स्थानीयको चिन्ता छ । भारतबाट आउने मानिसहरू प्राय चेकजाँच तथा क्वारेन्टाइनमा बस्न नमानिरहेको अबस्था छ ।

शंका लागेका मानिसहरूको स्वास्थ्य जाँच भईरहेको छ । जुनीचाँदे गाउँपालिकामा ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसैगरी बारेकोट गाउँ कार्यपालिकाको बैठकले २० लाखको विपद व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

जाजरकोट जिल्लाबाट कामको लागि विभिन्न जिल्लामा गएका मजदुर लकडाउनका कारण समस्यामा परेका छन् ।

डाँडागाउँको २१ जनाको समूह नुवाकोटको पञ्चकन्यामा छन् । काठमाण्डौं महानपा–३२ बालकुमारी पुलवारी नलगाड नगरपालिकाका तिलक कामी सहित २० जनाको समूह छ ।
भक्तपुर नयाँठिमीको कमेरेटारमा जगतिपुर, पुन्मा लगायतका ४५ जनाको समूह छ । यसैगरी काभ्रेको मण्डनदेउपुरमा भुरका गौरीबहादुर केसी लगायत २१ जनाको समूह छ ।
सिन्धुपाल्चोकमा पुन्माका करिव २० जनाको समूह छ । तनहुको भानु नगरपालिकामा नलगाड नगरपालिकाका धनबहादुर चदारा लगायतको २० जनाको समूह रहेको र उनीहरू विचल्लीमा परेका छन् ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार दार्मा गाउँपालिकाले कोरोना रोकथामका लागि कोष निर्माण गरी गाउँपालिकाको ८० लाख, जनप्रतिनिधिहरूले न्यूनतम २ हजार ५ सय रुपियाँसम्म र कर्मचारीहरूले कम्तीमा पाँच दिन बरावरको तलव पहिलो चरणमा जम्मा गर्ने निर्णय गरेको छ ।

गाउँपालिका भित्र रहेका विपन्न परिवारलाई राहत दिन मापदण्ड तयार गरेर लागु गरेको र प्रत्येक वडामा २५ घरधुरी बराबर टोलस्तरमा एक जना संयोजकसहित पाँच सदस्यीय खोजी तथा निगरानी समूह गठन गरेर परिचालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीेले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडास्तरमा क्वारेन्टाइन निर्माण गरी सञ्चालनका लागि भौतिक पूर्वाधारहरू तयार गर्ने र गाउँपालिका भित्रका स्वास्थ्य संस्था र एम्वुलेन्सलाई पिपिई वितरण गर्ने तयारी समेत गरेको छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार देशभर लकडाउन भइरहेकै बेला उच्च हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव हुन नदिन चैत १९ गतेबाट खाद्यान्न ढुवानी सुरु भएको छ । प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले सीता, समिट र तारा एयरलाई अनुरोध गरेपछि सिमकोटमा चामल ढुवानी सुरु भएको हो ।

सीता एयरले चैत १९ गतेबाट खाद्यान्न ओसारेको थियो भने समिट र तारा एयरले पनि चैत २० गतेबाट चामल ढुवानी सुरु गरेको सीता एयरका सिमकोट स्टेशनका निमित्त इन्चार्ज सूर्य लामाले बताउनु भयो । जिल्लामा हवाइमार्गबाट २ सय ८ क्वीन्टल खाद्यान्न ढुवानी गरिएको छ ।

खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टका अनुसार हुम्लामा करिव २ हजार ५ सय क्वीन्टल खाद्यान्न ढुवानी गर्ने तयारी छ ।
नयाँ मान्छे गाउँ पसे २५ हजार जरिवाना

नाम्खा गाउँपालिकामा कुनै नयाँ मान्छे प्रवेश गरे ५ देखि २५ हजार रुपियाँसम्म जरिवाना गरिने भएको छ ।

वडा नं ३ ले २५ हजार र २ ले ५ हजार रुपियाँ जरिवाना तोकेको छ । कोरोनाबाट बच्न यस्ता निर्णय गरेको वडा नम्वर ३ का अध्यक्ष पेमा लामाले बताउनु भयो ।
कोरोना भाइरसबाट सचेत र सतर्क रहन वडाको चार नाकामा गाउँले मिलेर पहरा दिन सुरु भएको स्थानीय छेपाल लामाले जानकारी दिनुभयो ।

उपकरण खरीद गर्दै खार्पुनाथ गाउँपालिका
कोरोना संक्रमणका लागि चेकजाँच गर्ने आवश्यक उपकरण नभएपछि खार्पुनाथ गाउँपालिकाले आफै खरीद गर्ने भएको छ ।

सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिलाई चेकजाँच गर्न सहज होस् भन्नका लागि पालिकाले आफै उपकरण खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनु भयो ।

थर्म गन, पिपिई, सर्जिकल मास्क, ग्लब्स, पिपिई चश्मा, एन नाइन्टिन मास्क, स्प्रिट लगायका सामग्री खरिदको प्रक्रिया सुरु गरिसकेको पालिकाको भनाई छ ।

संघीय सरकारबाट प्राप्त भएका उपकरण प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयका लागि मात्र उपलब्ध गराएपछि खार्पुनाथ गाउँपालिकाले उपकरण खरिद गर्ने भएको हो । हाल थर्मोमिटरका भरमा हेल्थ डेक्स राखेर सेवा दिइरहेको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार क्वारेन्टाइनमा रहेका ८७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ४३ जना थप गरेर क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ३० पुगेको छ ।
कोरोना संक्रमणको आशंकामा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएका निकुन्जका दुई जना कर्मचारीको स्वाब परीक्षणको लागि काठमाण्डौ पठाइएको छ ।

लकडाउनको कारण गाउँपालिकामा औषधि अभाव भएपछि शे–फोक्सुण्डो गाँउपालिकाले हेलिकप्टर चार्टर गरी औषधी ल्याएको छ ।

चैत २० गते ७ लाख २५ हजारमा हेलिकप्टर चार्टर गरेर ४ लाख रुपियाँ बराबरको औषधि पालिकाको केन्द्र साल्दाङ पु¥याइएको गाँउपालिका अध्यक्ष टासिटुण्डुप गुरुङले बताउनु भयो ।

माक्स, सेनिटाइजर, साबुन, क्वारेन्टाइन निर्माणको लागि ब्लाङकेट, लगायत स्वास्थ्य चौकीका लागि चाहिने अन्य औषधि र अक्सिजन कन्सनटेटर गरी करिब ३ क्वीन्टल औषधि र उपकरण ल्याइएको गाँउपालिकाले जनाएको छ ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार चामुण्डाबिन्द्रासैनी नपा १ सय १८, दुल्लू नपामा २०, आठबीस नपामा ८२ र महाबु गाउँपालिकामा ३४ जना गरी जम्मा २ सय २० जना क्वारेण्टाइनमा बसालिएको छ ।

पहिलेदेखि बस्दै आएका ३० जनालाई ज्वरो कम हुँदै गएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा घर फर्काइएको छ । कोरोनाकै बहानामा स्वास्थ्यकर्मीले उपचार गर्न इन्कार गर्ने गरेको स्थानीयको गुनासो छ ।
दुल्लू नपा–२ नाउलेकटुवालस्थित स्वास्थ्य चौकीमा सिअहेव नविन सुनारको निर्देशनमा बाँसको बार लगाएर सेवाग्राहीलाई रोकेको भन्दै सेवाग्राहीले आपत्ति जनाएका छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले बस्तुस्थिति बुझ्न चैत २० गते नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोतिराम आचार्यलाई घटनास्थल पठाएको बताउनुभयो ।
पीपीई सेट नभएको अवस्थामा बिरामी हेर्न पनि जोखिम भएकाले बार लगाउनुपरेको सिअहेव नविन सुनारको प्रतिक्रिया छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार मुगुको जनजीवन सामान्य छ । कालिका मालिका प्रहरी चौकीले १० जना लकडाउन उल्लङ्घनकर्तालाई नियन्त्रणमा लिई सम्झाएर पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमदत्त जोशीले जानकारी गराउनु भयो ।

यसैगरी मुगुम कार्मारोङ गाउँपालिकाले ९ वडामा प्रत्येक व्यक्तिलाई मास्क र सावुन वितरण गरेको छ ।

अन्य

भिडियो