INSEC Online

📅 २०८३ जेष्ठ २१

लक डाउनका कारण अलपत्र ४५ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण अलपत्र भएका ४५ जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले चैत २० गते उद्दार गरेको छ ।

लकडाउनका कारण धनकुटामा अलपत्र परेका मजदूरलाई चौविसे गाँउपालिकाको सहजीकरणमा आवश्यक यात्रा अनुमति पत्र जारी गरी उद्दार गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताउनुभयो ।

धनकुटा, पाँचथर र सुनसरी जिल्ला जोड्ने तमोर करिडोरका विभिन्न स्थानमा सडक निर्माणका क्रममा मजदुर खटिँदै आएका ४५ जना मजदूरको उद्धार गरिएको चौविसे गाँउपालिकाले जनाएको छ ।

पछिल्लो विषम अवस्थाका कारण उनीहरूको दैनिक मजदूरीको काम रोकिएपछि मजदूर अलपत्र परेका थिए । रौता सन्तोषी जेभी कस्न्ट्रक्सनमार्फत लावरबोटेदेखि नावा खोलासम्मको सडक निर्माणमा रहेका मजदुरलाई घर फर्काएको कम्पनीका सुपरभाइजर राजन थापाले बताउनु भयो । उद्धार गरिएका मजदुरहरू सिन्धुली, दोलखा, इलाम, पाँचथर, धनकुटा, गोर्खा, सिन्धुपाल्चोक लगायतका छन् ।

त्यस्तै सुनसरीको चतरामा रहेका ३० जना मजदूर भने अझै सोही स्थानमा अलपत्र रहेको सुपरभाइजर उदय कार्कीले जानकारी दिनुभयो । कतिपय पैदल हिँडेरै घरतर्फ फर्किएको कार्कीको भनाइ छ ।

शर्मा एन्ड कम्पनी कस्न्ट्रक्सनमार्फत सुनसरीको चतरास्थित बराहा क्षेत्रको १६ किलोमिटर क्षेत्रफलमा निर्माणाधीन सडकमा ती मजदुर रहेका छन । उनीहरू बाँके, रामेछाप, नवलपरासी, रुपन्देही, उदयपुर, सप्तरी लगायत जिल्लाका रहेका छन् ।

अपलत्र परेकालाई सम्बन्धित निर्माण कम्पनीले प्रशासनमा जानकारी गराएमा उद्दार गर्न सकिने धनकुटाका प्रमुख जिल्ला अधिकारी विमलीले बताउनु भयो । उहाँले अलपत्र परेका सबैलाई प्रक्रियागत रूपमा उद्दार गरिने बताउनु भयो ।

अन्य

भिडियो