INSEC Online

📅 २०८३ जेष्ठ २१

किटनाशक औषधि छर्किरहेको टिपर तोडफोड

कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण रोकथामका लागि किटनाशक औषधि छर्किरहेको राजविराज नगरपालिका कार्यालयको स १ ग ३३ नम्बरको टिपर राजविराज नगरपालिका९ बिहारपुर मलेठका युवाहरूले चैत १७ गते साँझ तोडफोड गरेका छन् ।

सडकको एक किनारबाट किटनाशक औषधि छर्कदै आइरहेका बेला समाजवादी पार्टीका नगर अध्यक्ष एवम् नगर प्रमुखका प्रत्याशी भिमराज यादवको घरअगाडि उहाँका छोरा, भतिजाहरूले गालीगलौज गर्नुका साथै सिसा फुटाएको नगरपालिकाका कर्मचारीहरूले बताएका छन् ।

किटनाशक औषधि सकिएकाले पुनः औषधि भरेर बाँकी रहेको स्थानमा छर्कने बताए पनि आरोपितहरुले गालीगलौज गर्दै टिपरको अगाडिको सिसा फुटाएको किटनाशक औषधि छर्किन खटिएका कर्मचारी बिजय देवले बताउनु भयो । तोडफोडबाट टिपरको अगाडिको सिसा फुटेर क्षति भएको टिपरका चालक मुकेश पाण्डेले जानकारी दिनु भयो ।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीका जिल्ला संयोजक हरेराम यादवले चैत १८ गते एक विज्ञप्ति जारी गरी समाजवादी पार्टीका नेता भिमराज यादवका छोराहरु न्युटन यादव, विलियम यादव, भतिजा कारी भनिने सरोज यादव, ललित भनिने कपिलदेब यादव, गौतम वर्मालगायतले ताडफोड गरेको जनाउनु भएको छ । कोभिड१९ बाट पीडित भई लकडाउनको सामना गर्नु परेका बेला हुलहुज्जत गरी सार्वजनिक सम्पति ताडफोड, गालीगलौज र आक्रमण गर्नेहरुलाई कानून अनुसार कारवाही गर्न उहाँले जोडदार माग गर्नुभएको छ ।

विज्ञप्तिमा सार्वजनिक सम्पति तोडफोड गर्ने र राजपा नेपालका युवा नेता रामजी यादवको घर प्रवेश गरी ज्यान मार्ने र अपहरण गर्ने धम्की दिँदै आक्रमण गर्ने भिमराजसहित उहाँका छोराहरुमाथि छानबिन गरी कानून अनुसार कारवाही गर्न माग गरिएको छ ।

राजविराज नगरपालिकाका कर्मचारीहरुका अनुसार सोही ठाउँका रामजीले टिपर तोडफोडको आलोचना गर्दै विरोध जनाएका थिए ।

भिमराज यादव समाजवादी पार्टीका नगर अध्यक्ष एवम् राजविराज नगरपालिका प्रमुखका निकटतम प्रत्याशी समेत हुन् ।

अन्य

भिडियो