विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम हुने कारण नेपालमा लकडाउनको अवस्था सिर्जना भएपछि स्वास्थ्यकर्मीहरुले सर्वसाधरणको स्वास्थ्य परीक्षण र अरु स्वास्थ्यसम्बन्धी सेवा दिन सकेका छैैनन् ।
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार म्याग्दे गाउँपालिका–२ जामुनेका ६६ वर्षीय शम्भुलाल श्रेष्ठलाई चैत १७ गते रक्तचाप (प्रेसर) बढेर एक्कासी चक्कर लागेर समस्या भएपछि घर नजिकैको जामुने स्वास्थ्यचौकीमा रक्तचाप परीक्षण र औषधि लिनकोलागि जानुभयो तर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले कारोनाको संक्रमण हुने भन्दै रक्तचाप परीक्षण नै गर्न नमानेको श्रेष्ठले बताउनुभयो ।
‘अहिले कुनै पनि बिरामीलाई छुन हुँदैन’ भन्दै स्वास्थ्यकर्मीले आफ्नो रक्तचाप परीक्षण गर्न नमानेको श्रेष्ठले बताउनुभयो । स्वास्थ्यकर्मीलाई बिरामीको उपचार गर्न बस्नु भएको होइन भन्दा उल्टै आफूलाई दुर्व्यवहार गरिएको श्रेष्ठले बताउनुभयो ।
आफूले ४० एमजीको रक्तचापको औषधि खाँदै आएपनि अहिले औषधिसकिएको तर स्वास्थ्य चौकीले रक्तचाप नै नगरिकन ५ एमजीको ट्याब्लेट औषधिदिएर पठाएको उहाँले बताउनु भयो । तर थोरै क्षमताको औषधिले काम नगर्ने भएको कारण रित्तै फर्किएको उहाँले बताउनु भयो ।
भटट्राईले यस विषयमा जानकारी लिन खोज्दा उक्त स्वास्थ्य चौकीका कुनै पनि स्वास्थ्यकर्मी सम्पर्कमा आउन चाहेनन् । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अहिलेको परिवेशमा स्वास्थ्यकर्मी सुरक्षा सामाग्रीको अभावमा उपचार गर्न डराउने बताउनुभयो ।
ज्वरो आएका बाहेक अन्य बिरामीलाई स्वास्थ्य परीक्षण गर्न कुनै समस्या नहुने भएपनि स्वास्थ्यकर्मी डराउने गरेको उहाँले बताउनुभयो । बिरामीको स्वास्थ्य परीक्षणमा कुनै आलटाल नगर्न सबै स्वास्थ्यकर्मीलाई सचेत गराइएको उहाँले बताउनुभयो ।
लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार सरकारले लकडाउन गरेपछि लम्जुङ जिल्लाका १ सय जना एचआईभी संक्रमितहरुलाई आवश्यक पर्ने अत्यावश्यक औषधि नपाएपछि मर्कामा परेको हेरचाह केन्द्रका जिल्ला प्रमुख एवं एचआईभी संक्रमित साधुराम पण्डितले बताउनुभयो ।
जिल्ला सामुदायिक अस्पतालमा उपलब्ध हुने र नियमित सेवन गर्ने अत्यावश्यक औषधि लकडाउनको कारण अभाव भएपछि संक्रमितहरुले सेवन गर्न नपाएर निराश भएको पण्डितको भनाइ छ ।
जिल्लामा ५२ जना महिला र ४८ जना पुरुष एचआईभी संक्रमितले नियमित औषधि सेवन गर्दै आइरहेका जिल्ला सामुदायिक अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठले बताउनुभयो । लकडाउनको प्रभावले संक्रमित औषधि लिन आउन नपाएको उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार एचआईभी संक्रमितलाई लकडाउनको समय भएपनि स्वास्थ्यकर्मीलाई खटाइ तत्काल सम्बन्धित पालिकामा भएकालाई औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाको अनुसार लकडाउनको अवस्था सिर्जना भएपछि मिर्गौला पीडित बिरामीहरुलाई डायलाइसिसमा समस्या भएको छ ।
जिल्लाको अस्पतालमा डाइलाइसिसको सेवा नभएको र अन्यत्रका विभिन्न अस्पतालहरुबाट डायलाइसिसको सेवा लिँदै आएका बिरामीहरुलाई समस्या भएको हो ।
पर्वतमा मिर्गौला पीडितको वास्ताविक तथ्याङक कुनै पनि निकायमा छैन । पर्वत जिल्लामा मिर्गौला पीडितहरुको तथ्याङक नभएपनि इन्सेककर्मीको सम्पर्कमा रहेका सात जना पीडितहरुसँग सम्पर्क गर्दा समस्यामा परेको गुनासो गरेका छन् ।
पर्वतको फलेवास नगरपालिका १० कुर्घाका त्रिलोचन शर्माको परिवारमा एकैपरिवारका तीन जना सदस्यहरु मिर्गौला पीडित रहेका छन् ।
उनीहरु लकडाउन अगावै गाउँ छाडेर पोखरामा डेरा गरेर बस्दै आएका छन् भने फलेवास नगरपालिका २ देविस्थानका ६१ वर्षीय विष्णु सुनारपनि पोखरामा डेरा नै खोजेर बस्न बाध्य हुनुभएको छ ‘घरबाटै आउने जाने गर्नुहुन्थ्यो’ छोरा मिनबहादुर सुनारले भन्नुभयो ‘पोखरामा नै गएको बेला लकडाउन भयो अनि डेरा खोजेर बस्न बाध्य भइयो’ उहाँले लकडाउनका कारण रगतको अभाव खड्किएको र अस्पतालले इन्जेक्सनबाट रगत बढाउने औषधि दिइरहेको बताउनुभयो ।
पर्वतको कुश्मा नपा ३ दुर्लुङकी अमृता शर्मा, मोदी गाउँपालिका २ देउपुरका रणबहादुर हमाललाई पनि लकडाउनले डाइलाइसिसमा समस्या भएको छ ।
हप्ताको दुई पटक डायलाइसिस गराउदै आएका देउपुरका मिर्गौला पिडित हमालले लकडाउनका कारण अस्पतालसम्म जान समस्या भएको बताउनुभयो ।
घरमा परिवारसँग बस्दै आउनुभएका हमाल अघिल्लो चैत्र ११ गते मङ्गलबार बागलुङ अस्पतालमा कष्टप्रद यात्रा गरेर उपचारका लागि गएको गुनासो गर्नुभयो । ‘एम्बुलेन्समा जाउँ खर्चले साध्य हुँदैन’ उहाँले भन्नुभयो ‘आफन्तको मोटरसाइकल मागेर जाँदा पनि बाटोमा दुःख पाइयो’
पर्वत जिल्ला अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पतालमा नै डायलाइसिस सेवा सुचारु गर्ने तयारी गरेपनि कोरोना भाइरसकै महामारीका कारण सञ्चालनमा ल्याउन सकेको छैन ।
आवश्यक उपकरणहरु अस्पतालमा ल्याइएको भएपनि सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।
अस्पतालले अहिले मिर्गौला पीडित बिरामीहरुको तथ्याङक संकलन गरिरहेको उहाँले बताउनुभयो ।
बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तले धौलागिरी अञ्चल अस्पतालमा प्रदेश स्वास्थ्य निर्देशनालयले पठाएको स्वास्थ्य सामाग्री अपुरो रहेको जानकारी दिनुभएको छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन कक्षमा कोरोना संक्रमण भएको पुष्टी भएकी एक युवतीलाई भर्ना गरेर उपचार सुरु गरिएको छ । गण्डकी प्रदेशमानै कोरोना संक्रमणको जोखिम उच्च बढ्दै गएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न उपककरण र जनशक्ति बागलुङ केन्द्रित गर्न थालेको छ ।
तर, प्रदेशले संवेदनशिल जिल्लाको रुपमा लिएर कोरोना परीक्षण र उपचारका लागि पठाएका सामग्री अपुरो र तत्काल प्रयोगमा ल्याउन नमिल्ने खालको भएको धौलागिरी अञ्चल अस्पतालले गुनासो गरेको छ ।
प्रदेशबाट अस्पतालका लागि चैत १७ गते पठाइएका स्वास्थ्य सामाग्रीमध्ये भेन्टिलेटर अस्पतालले लिन मानेको छैन । भेन्टिलेटरमा पूर्ण सामाग्री नरहेको भन्दै अस्पतालले लिन अस्वीकार गरेको हो ।
यसअघि कोरोना संक्रमित किशोरीको पुष्टि भएसँगै स्वास्थ्यकर्मीका लागि पठाइएको पाँच सेट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रयोग गर्न नमिल्ने थिए ।
कुनै सेटमा आइ सिल्ड, कुनैमा सेनिटाइजर र कुनैमा बुट नभएको पीपीई पठाइएको थियो । यद्यपी, धौलागिरी अस्पतालले आफै अरु सामाग्री थपेर २ सेट प्रयोग गर्न मिल्ने बनाएको र तीन सेट प्रयोगविहीन भएको बताएको छ ।
अहिले पठाइएको भेन्टिलेटर व्याट्री, व्याकअप, हावा नाप्ने मिटरलगायत केही सामाग्री अपूर्ण रहेकाले त्यसलाई अलग्गै राखिएको धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो । कोरोनाका बिरामीलाई श्वास प्रश्वासमा जुनसुकै बेला हुनसक्ने समस्याका लागि भेन्टिलेटरको आवश्यकता हुन्छ ।
सघन उपचार कक्ष (आइसीयु) नभएकाले भेन्टिलेटरको प्रयोग पूर्ण नभएपनि यसले उपचारमा भने सघाउने पुग्ने डा. पोखरेलको भनाई छ ।
भेन्टिलेटरको अपुरो सामाग्रीबारे अस्पतालले निर्देशनालयलाई जानकारी समेत गराइसकेको छ । निर्देशनालयले पठाएका २५ सेट पीपीई, ८ सेट भिटीएम, स्वाब संकलन किट, माक्स, सेनिटाइजरलगायतका सामग्री हस्तान्तरण गरेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले पनि भेन्टिलेटरमा केही अत्यावश्यक उपकरण छुट भएको स्वीकार गर्नुभयो । ’स्वास्थ्य विभागबाट प्राप्त भेन्टिलेटर नै पठाइएको हो, यसमा जरुरी डिभाइस छुट भएकाले तत्काल पठाउने व्यवस्था मिलाईदै छ,’ निर्देशक शर्माले भन्नुभयो, ’यो तत्काल भन्दा पनि संक्रमित कोशोरीको अहिले पहिलो स्टेज हो, भेन्टिलेटर तेस्रो स्टेजमा पुगेपछि प्रयोगका लागि हो, हामीले सामाग्री र जनशक्ति व्यवस्थापनमा कुनै कसर बाँकी राख्दैनौं ।’
प्रदेशमा बागलुङ बढी जोखिमपूर्ण देखिएकाले जनशक्ति र उपकरण अहिलेका लागि यहि केन्द्रित गर्ने उहाँको भनाई छ । अपुरो पीपीईको विषयमा पनि उहाँले तीनवटा क्याटोगारीको पीपीई आएको र सुरुवातमा कोरोना संक्रमितको उपचारका लागि नभइ परीक्षणका लागि प्रयोग हुने पीपीई पठाएको बताउनुभयो ।