जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बाह्र विगहा रंगभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेट लगायत सामग्रीहरुको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाला जिल्ला बताउने ती व्यक्तिहरु बार्ह विगहा रंगभुमि मैदानमा अलपत्र अवस्थामा प्लाष्टिकको टेन्टभित्र बसेका हुन् ।
अस्थायी टेन्टमा बस्दै आएका ३५ वर्षीय कृपाल भोसलेका तीन बच्चा र पत्नी रहेको छ । व्यापार गर्ने क्रममा परिवारसहित आएका भोसलेको बस्ने, सुत्ने र खाने लगायतका सरसफाइको बारेमा खासै ज्ञान छैन । जीवन जिउनुछ, जसरी पनि बाँचि रहेका छौँ, पाँच दिन अगाडि मोटरसाइकलले छोरी राजश्री भोसलेको खुट्टामा घाउ लागेर ५ हजार रुपियाँ उपचारमा खर्च गरिसकेको बताउनु हुन्छ । मोटरसाइकल चालक फरार भएपछि अहिले छोरीको उपचार गर्ने, खाना खाने समेत पैसा छैन्, भारत जाने कुनै उपाय नरहेकाले गर्दा जसोतसो आफुहरु जीवनयापन गर्दै आएको भोसलेले बताउनु भयो ।
विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सतकर्ता अपनाउँदै नेपाल सरकारले चैत ११ गतेदेखि लक डाउन घोषणा गरेपछि दैनिक गुजारा गर्दै जीवनयापन गर्दै आएका यी व्यक्तिहरुको अवस्था नाजुक भएको छ । दैनिक मजदुरी र व्यापार गरेर जीवनयापन गर्दै आएका यी ४० व्यक्तिहरु अहिले बिच्चलीमा परेका हुन् ।
अस्थायी टेन्टभित्र चर्को घाममा बस्नुपर्ने बाध्यता छ, वर्षा परेको खण्डमा आफुहरुलाई बस्न अझै समस्या हुने भएकाले आफुहरुलाई सहयोग गर्न ५५ वर्षीय कैलास भोसलेले आग्रह गर्नु भएको छ ।
कैलास भोसलेले भन्नुहुन्छ–“यो बन्दी कहिले सम्म रहन्छ ? कसरी हामी खाना खान्छौं ? हामीसँग अव खाने खाद्यान्न छैन, किन्न पैसा छैन, बजार खुलेको छैन, व्यापार व्यवसाय गर्न सकेको छैन, प्रहरीले बाहिर जान दिएको छैन, यस्तो अवस्थमा बालबच्चा र आफु भोक भोकै बस्नुपर्ने बाध्यता रहेको छ ।”
यता, अस्थायी टेन्टमै बस्दै आएका ३५ वर्षीय राजकुमार वासुदेव फुवारलाई घरमा छोडेर आएका तीन छोरीहरुको यादले निकै पिरोलिरहेको बताउनु भयो । उहाँले भन्नु भयो,–“अहिले हामी जे अवस्थामा छौँ, हामीले भोगि रहेका छौँ, आफुहरुलाई खाना खाने अन्न छैन, किन्ने रुपैया समेत छैन ।” ६ जना परिवारका सदस्यसहित आएका राजकुमारलाई चाँडो भन्दा चाँडो अवस्था सहज भए आफुहरुलाई सहज हुने बताउनु भयो ।
६ जना सदस्यको परिवारमा भोलिदेखि के खाने भनेर चिन्ता छ, उहाँहरुलाई भारतमा समेत २१ दिनको लक डाउन भएको थाहा छ, त्यसैले घरमा छोरीहरु समेत कसरी लामो लक डाउनमा बसेको होला भनेर अझै धेरै चिन्ताले पिरोलिदै गरेको बताउनु भयो ।
खुल्ला स्थानमा सामान्य पातलो प्लाष्टिक झुन्ड्याएर बालबच्चासहित बसोवास गर्दै आएकाले यी ४० व्यक्ति जुनसुकै बेलामा कुनै प्रकारको रोग र भाइरसको शिकार हुन सक्ने जोखिमपूर्ण अवस्थामा छ ।
सरसफाइदेखि लिएर शौचालय र खानेपानीको समेत कुनै व्यवस्था नरहेपछि २ महिनादेखि अस्थायी टेन्टमा बस्दै आएको रामकुमारी भोसलेले बताउनु भयो ।
अस्थायी टेन्टमा १० जना बालबालिका पाँच वर्ष मुनिका रहेका छन् । बालबालिकाहरुको सरसफाई र लुगाकपडा समेत अभाव रहेको छ ।
रामकुमारीले छिट्टै बन्दी खुले हामी काम गरेर जीवनयापन गर्ने थियौँ तर यसरी हामी बस्नुपर्दा कमाई हुँदैन अनि खानेकुराको अभावले हामी कसरी बाँच्ने विलौना गर्दै आएकी छिन् ।
यता, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरलाई बाह्र विगहा रंगभुमि मैदानमा ४० भारतीय व्यक्ति अलपत्र परेको बारेमा जानकारी गराउँदा उहाँले नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय गरेर आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
यता, ४० व्यक्ति निकै जोखिमपूर्ण रुपमा खुल्ला स्थानमा रहेपनि अहिलेसम्म कुनै पनि संघसंस्था वा व्यक्तिहरुले आफुहरुको अवस्थाबारे कुनै चासो नलिएको बताउँनु हुँदै राजकुमारले भन्नु भयो–“हामी भारत पनि जाने अवस्थामा छैनौँ । निकै चिन्ता लागि रहेको छ ।” हामीलाई भारत जाने वातावरण मिलाई दिएको खण्डमा जान चाहेको राजकुमारले बताउनु भयो ।