विश्वमा फैलिएको कोभिड—१९ भाइरसको कारण विश्व आतंकित भएको यो परिप्रेक्ष्यमा नेपाल सरकारको महामारी सम्बन्धी आफ्नो कानून नहुँदा स्थानीय सरकारलाई समस्या भएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
नेपाल संघिय सरकारले कानून बिना नै निर्देशन दिएकोले सरकारको निर्देशन पालना गर्दा सेवाग्राही मर्कामा परेको वरिष्ठ अधिवक्ता एवं नगरपालिकाका प्रमुख अर्यालको भनाइ छ । उहाँले सरकारको निर्देशनको पालना गर्नुपर्ने तर सेवाग्राहीमा पर्न जाने मर्काको जोखिम स्थानीय सरकारले नै लिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
सरकारको कानून अनुसार भन्दा पनि अहिले निर्देशन अनुसार महामारी रोकथाम र सचेतना अपनाउने बाध्यता रहेको अर्यालले बताउनुभयो । यो महामारीबाट सिकेर सरकारले छिट्टै विधायिकाबाट कानून निर्माण गर्नुपर्ने अर्यालको सुझाव रहेको छ ।
सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले सरकारको आफ्नै कानून नहुँदा अलमलमा परेको गुनासो व्यक्त गर्नुभयो । मिश्रका अनुसार विश्वभरि अचानक महामारीको संक्रमण फैलिएपछि सतर्कता अपनाउन समेत सरकारको कानून नहुनाले समस्या परेको भन्नुहुन्छ ।
राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले सरकारको निर्देशनले नगरपालिकाको दैनिक कामहरु प्रभावित भएको बताउनुभयाे ।