चितवन जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाटमा आउनेलाई प्रवेशमा कडाइ गरेको छ । कारागारमा रहेका जेष्ठ नागरिक तथा दीर्घरोगी कैदीबन्दीलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिन विशेष पूर्व सतर्कता र सावधानिका लागि उच्च कदम चालिएको जेलर कमल काफ्लेले बताउनु भयो । उहाँका अनुसार जेलभित्र आउनेहरूलाई हात धोएर तथा मास्क लगाएर मात्रै भित्र आउने व्यवस्था गरिएको छ ।
कारागारमा २ सय ८० जना कैदीबन्दी राख्ने क्षमता भए पनि ७ सय ३६ जना राखिएको छ । अहिले सबैतिर कोरोना भाइरस रोकथामको उपाय अपनाइएको समयमा कारागारमा आवश्यक सुरक्षाको प्रबन्ध अपनाएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो । देशका अन्य कारागारबाट दीर्घरोगी यहाँ पठाउने गर्दा चाप बढेको छ ।
जेष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरसको असर बढी हुने भएकोले पनि जेष्ठ नागरिक र दीर्घरोगी कैदीबन्दीको लागि विशेष सतर्कता अपनाइएको जेलर काफ्लेले बताउनु भयो । कारागार प्रशासनका अनुसार यहाँ ११ जना जेष्ठ नागरिक र २४ जना दीर्घरोगी कैदीबन्दीहरू छन् ।