INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार प्रसारणपछि रेडियोलाई भवन छोड्न दवाव

सिंजा गाउँपालिकास्थित नराकोटमा रहेको रेडियो सिंजा एफ.एमले आफू विरूद्व समाचार प्रसारण गरेको आरोपमा एफएमको कार्यालय रहेको भवन छोडन सोही गाउँपालिका अध्यक्ष देवलसिंह शर्माले चैत ७ गते दवाव दिएको एफएम कार्यालयले जनाएको छ ।

सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई स्थानीय देविकृष्ण शर्माले लाठी प्रहार गरी कुटपिट गरेको, गाउँपालिकामा अनियमितता र एम्बुलेन्स जनप्रतिनिधिले प्रयोग गरेको समाचार प्रसारण गरेपछि सिंजा गाउँपालिकाले रेडियोले प्रयोग गरेको भवन छोड्न चैत ७ गते अल्टिमेटम दिएको रेडियो सिंजा एफएमका स्टेशन म्यानेजर मोहनबिक्रम शाहीले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो गाउँपालिका विरुद्व, अनियमितता समाचार प्रसारण गरेपछि गाउँपालिका अध्यक्षले नै धम्की दिने र पत्रकारलाई त्रसित बनाउने गरेका छन् ।

जुम्लाको सदरमुकामदेखि ३२ कोष टाढा रहेको रेडियो सिजा एफएमले गएको एक महिनामा गाउँपालिकाले गरेका अनियमितताका समाचार प्रसारण गरेपछि विभिन्न धम्की खेप्दै आइरहेको स्टेशन म्यानेजर शाहीको भनाई छ ।

उहाँले भन्नुभयो चैत्र २ गते सिजा गाउँपालिका–२ रनुखानाका देविकृष्ण शर्माले गाउँपालिका अध्यक्ष रावललाई गाउँपालिका क्षेत्रमा बालुवा उत्खनन् कार्य किन नरोकेको भन्दै लाट्ठी प्रहार गरी दुव्र्यवहार गरेको समाचार रेडियो सिजा एफ एमले प्रसारण गरेपछि गाउँपलिका अध्यक्ष देवलसिंह रावलले रेडियो बन्द गर्न चेतावनी दिएको उहाँले गुनासो गर्नुभयो ।

अध्यक्ष रावलले चैत ७ गते वडा नं ३ को कार्यालयमार्फत १५ दिन भित्र रेडियो संचालन गरिरहेको साविक नराकोट गाविसको भवन खाली गर्न पत्र पठाएको छ । यस अघि पनि सिजा गाउँपालिकाको एम्बुलेन्समा जनप्रतिनिधिले प्रयोग गरेको समाचार प्रसारणपछि तत्काल रेडियो खाली नगरे मेसिनरी सामान उठाएर फाल्दिने समेत गाउँपालिकाले चेतावनी दिदै आएको उहाँको भनाई छ ।

सिंजा क्षेत्रका तीन गाउँपालिकाको एक मात्र सञ्चारको माध्यम रेडियो सिंजाले गाउँपालिकाका भ्रष्टाचार र बेथितिको समाचार प्रसारण गर्ने डरले बन्द गराउन लागिएको रेडियो सिजा एफ एमका अध्यक्ष लिलाराज रावतको आरोप छ ।

गाउँपालिकाको भवन छोड्न अल्टिमेटम दिएपछि अब रेडियो खुल्ला चौरमा पाल टाँगेर भएपनि नियमित प्रसारण गर्ने तयारी गरिरहेको उहाँले बताउनु भयो । प्रेस स्वतन्त्रता माथिको दमन भएको भन्दै सिंजा एमफएम परिवारले स्वच्छ पत्रकारितामाथि दादागिरी चलेको आरोप लगाएको छ । हाल सिंजा एफएम सञ्चालित भवन सिंजा गाउँपालिकास्थित साविकको नराकोट गाविसको भवन हो ।

यता वडाध्यक्ष तिलाचन्द्र चौलागाईका अनुसार पहिला गाविस भएको अवस्थामा एक बर्षका लागि भाडामा लिएको भवन हो । जो त्यति बेला जनप्रतिनिधि आएकै थिएनन उहाँले भन्नुभयो अहिले जनप्रतिनिधि आएको पनि तीन वर्ष भयो । पुरानो गाविसको भवन रेडियोले प्रयोग गरेपछि अहिले वडापालिका टहरामा राखेर काम चलाएको उहाँले बताउनुभयो ।

पहिला भाडा तिरेर रेडियो भवन प्रयोग गर्ने सम्झौता भएपनि अहिलेसम्म भाडा पनि दिएको छैन । अर्काे वडापालिका टहरामा चलाउनु परेको समस्याले भवन खाली गरेर वडापालिका सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।

रेडियोले अनियमितताको समाचार प्रसारण गरेपछि भवन छोड्न दवाव दिएको आरोप निराधार छ उहाँले भन्नुभयो यो पत्रसहित भवन खाली गर्न भनेर चार वटा पत्र पठाएका छौँ । रेडियो सञ्चालकले अटेर गरेका छन् । अहिलेसम्म भवन भाडाको हरहिसाव गरी १५ दिनभित्र भवन खाली गर्न रेडियोलाई पत्र पठाएको वडाध्यक्ष चौलागाईले बताउनुभयो ।

Photo20200320Jumla

अन्य

भिडियो