२३ वर्षीया स्वास्थ्यकर्मी आफूलाई बलात्कार प्रयास भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते आरोपित विरूद्ध उजुरी दिदाँ प्रहरीले बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता नगरी अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको आरोप लगाउनु भएको छ ।
पीडितले हरिनगर गाँउपालिका–४ का २७ वर्षीय श्रवणकुमार मेहताले चैत ५ गते बलात्कार प्रयास गरेको र सो शीर्षकमा चैत ६ गते प्रहरीमा उजुरी दिदाँ प्रहरीले अभद्र व्यवहार शीर्षकमा मात्र मुद्दा दर्ता गरेको आरोप लगाउनु भएको हो ।
आरोपितले पत्नी बिरामी भएको भन्दै हरिनगर स्वास्थ्य केन्द्रको क्वाटरमा चैत ५ गते राती आएको र आफूले सहयोग गर्न खोज्दा कोठाभित्र पसेर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।
प्रहरीले आफूलाई मुद्दाको प्रमाण जुटाउन सकस हुने भन्दै फरक शीर्षकमा मुद्दा दर्ता गरेको पीडितको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी यज्ञविनोद पोखरेलले पीडितले आरोपित विरूद्ध प्रहरीमा उजुरी दिएको र उजुरी विवरणका आधारमा अभद्र व्यहावर जस्तो देखिएकाले सोही शीर्षकमा मुद्दा दर्ता भएको बताउनुभयो ।
आरोपितलाई प्रहरीले चैत ६ गते गिरफ्तार गरी अनुसन्धान थालिएको एसपी पोखरेलले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ६ गते गरिएको छ ।