INSEC Online

📅 २०८३ जेष्ठ २२

रगत अभावले उपचारमा समस्या

चितवनमा रगत सङ्कलनमा कमी आएपछि बिरामीलाई रगत पाउन समस्या भएको छ । विगत १५ दिनदेखि घुम्ती रक्तदानका कार्यक्रमहरू नभएकोले चितवनमा रगतको अभाव भएको हो ।
उपचारको क्रममा नवलपुर गैडाकोटका रविन कुमालले रक्तसञ्चार केन्द्रमा रगत नपाएको गुनासो गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार आपतकालीन अवस्था टार्नलाई बाहेक केन्द्रमा रगत छैन । ‘कोरोनाको त्रासले घुम्ती रक्तदानका कार्यक्रमहरू नहुँदा बिरामीले समेत रगत नपाउने अवस्था सिर्जना भयो’ उहाँले भन्नुभयो ।
चितवनमा घुम्ती रक्तदानबाट हुने रगत सङ्कलनमा ७५ प्रतिशतले कमी आएको उहाँले बताउनु भयो । सरकारले सभा, सम्मेलन, भेला तथा वार्षिकोत्सवका कार्यक्रम गर्न रोक लगाउँदा अत्यावश्यक रगत सङ्कलन कार्यक्रम पनि रोकिएको प्रमुख पौडेलले बताउनु भयो । ‘यही अवस्था अझै केही दिन रहेर रक्तदानका कार्यक्रमहरू भएनन् भने भयावह अवस्था सिर्जना हुने देखिन्छ’ पौडेलले भन्नुभयो ।
अन्य सभा, सम्मेलनहरू रोके पनि रगत सङ्कलनका कार्यक्रमहरू नरोक्न र बाँच्ने बिरामीहरूले पनि अकालमा ज्यान गुमाउने अवस्था सिर्जना हुन नदिन आफूले विभिन्न संस्थाहरूलाई आग्रह गरेको उहाँले बताउनु भयो ।
कोरोनाबाट सतर्क रहन अन्य किसिमका सभा, सम्मेलन, भेलाहरू नगर्न आह्वान गरेको, तर रक्तदानजस्तो कार्यक्रम गर्न प्रोत्साहन गरिरहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार रक्तदान कार्यक्रम गर्दा भीडभाड हुँदैन, रगत दिने अनि आफ्नो गन्तव्यमा जाने भएकाले यस्ता कार्यक्रम गर्न कुनै रोक लगाइएको छैन ।
नेपाल रेडक्रस सोसाइटी चितवनका प्रमुख ज्ञानशाली न्यौपानेले चितवनमा रगत अभाव भएकाले विभिन्न संघसंस्थालाई रगतको माग पूरा गराउन आग्रह गरिएको बताउनु भयो । काठमाडौँपछि सबैभन्दा बढी रगत सङ्कलन हुने जिल्ला चितवन हो । यहाँ वर्षमा ३५ हजार युनिटसम्म रगत संकलन हुन्छ । सामान्य अवस्थामा चितवनमा दिनमा १ सय ५० युनिट रगत चाहिन्छ । सङ्कलनको दर पनि दैनिक १ सय ३५ युनिट थियो । हाल दैनिक सङकलन २० युनिट मात्रै हुने गरेको छ ।

अन्य

भिडियो