INSEC Online

📅 २०८३ जेष्ठ २२

लक्षित समूह स्वास्थ्य उपचारबाट वञ्चित

खुट्टा भाँचिएर घाइते सर्लाहीको श्रीनगर घर बताउने करिब ५० वर्षीय मानसिक रोगी भरोसी झा खर्च अभावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शैयामा छट्पटाईरहेका छन् ।

photo20200317

सडकमा वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन २१ गते उहाँलाई अस्पताल भर्ना गरे पनि एक्सरे र प्लास्टरका लागि पैसा नहुँदा १२ दिनदेखि उपचारविहीन अवस्थामा अलपत्र उहाँको उपचार हुन सकेको छैन । खुट्टामा प्लास्टर नलागेकोले समस्या बढ्दै गएको चिकित्सको भनाइ छ । आफ्नो थर कहिले झा त कहिले यादव बताउने उहाँको घरपरिवार सम्पर्कमा छैनन्  ।

हिँडडुल गर्न असमर्थ भई ओछ्यान पर्नुभएका उहाँको खुट्टामा मोटो कागजलाई काम्रो बनाएर कपडाले बाँधिएको छ भने अस्पतालको भान्सेले खान नदिए उहाँ भोकै पर्नु हुन्छ । तत्कालै गर्नुपर्ने उपचार हुन नसक्दा भरोसीको खुट्टा थप सुन्निएर अवस्था अझ विग्रँदै गएको अस्पतालकी स्टाफ नर्स कृष्णा यादवले बताउनु भएको छ ।

नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्य सेवा निःशूल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकअन्तर्गत राखिएको छ ।

सरकारले संविधानको भावनासमेतलाई दृष्टिगत गरी निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागू गरे पनि भरोसीजस्ता असहायले उपचार पाउन सक्नु भएका छैन ।

लक्षित समूहका बिरामीहरूलाई अत्यावश्यक औषधि तथा अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन अस्पतालमा सामाजिक सेवा एकाई छ । सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन मार्गदर्शन २०७६/०७७ मा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, दुर्घटनामा परेका, भूकम्प, बाढी, पहिरो, आगलागी आदि प्राकृतिक प्रकोपबाट पीडित लगायतलाई निःशुल्क तथा आंशिक छुटमा विशेषज्ञ सेवाहरू उपलब्ध गराउने भनिएको छ ।

गरिबअसहाय लक्षित समूहका बिरामीको पहिचान र उनीहरुको आर्थिक अवस्थाको मूल्याङ्कनका लागि चार जना सहजकर्ता भए पनि सक्रिय नहुँदा लक्षित समूहका बिरामीहरु अस्पतालभित्रै पनि अलपत्र पर्ने गरेका छन् । राजविराज नपा२ का नबिनकुमार झाका अनुसार स्वास्थ्य सेवामा समतामूलक पहुँच एवम् उपयोगवृद्धि गर्ने उद्देश्यले विभिन्न व्यवस्था भए पनि गरिब, असहायसहित लक्षित समूह उपचारबाटै वञ्चित हुनुपर्ने अवस्था कायम छ ।

अन्य

भिडियो