INSEC Online

📅 २०८३ जेष्ठ २१

लेखा परीक्षण नहुदाँ विद्यार्थीले दिवा खाजा र छात्रवृत्ति पाउन सकेनन्, शिक्षकहरू पारिश्रमिकबाट वञ्चित

मदाने गाउँपालिका– ३ स्थित सिद्धार्थ प्रावि र वडा– ५ मलागिरीस्थित बाल कल्याण प्राविको लेखा परीक्षण हुन नसक्दा विद्यार्थीहरूले पाउँन सकेका छैनन् भने शिक्षकहरू आठ महिनादेखि पारिश्रमिक पाउँनबाट वञ्चित भएका छन् ।

लामो समयदेखि विद्यालयको लेखा परीक्षण नगरेको भन्दै गाउँपालिकाले विद्यालयको खाता रोकेकोका कारण छात्रवृत्ति र पारिश्रमिक पाउँन नसकेका हुन् । पारिश्रमिक र छात्रवृत्तिसँगै  विद्यालयका अन्य क्रियाकलाप प्रभावित भएको सिद्धार्थ प्राविका  प्रध्यानाध्यापक धनबहादुर सेनले बताउनु भयो । दशै खर्चसहित पहिलो चौमासिकदेखिको रकम नपाउँदा अत्यन्तै समस्या भएको सेनले गुनासो गर्नु भयो । दोस्रो चौमासिकको तलब बुझ्ने बेलासम्म विद्यालयको खाता रोक्का भएकाले तलव, छात्रबृति, दिवा खाजाको पैसा समेत नआएको सेनले बताउनु भयो । विद्यालयमा तीन जना दरबन्दी, दुई निजि स्रोत, एक जना बाल शिक्षा,  कार्यालय सहायक कार्यरत छन् । विद्यालयमा ५१ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयले चार वर्षदेखि  लेखा परीक्षण गरेको छैन् ।

यसैगरी बाल कल्याण प्राविमा पनि प्रध्यानाध्यापक र समितिकैबीचमा विवाद हुदाँ लेखा परीक्षण नभएपछि गाउँपालिकाले विद्यालयको खाता रोकेको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खुमानसिंह खड्काले प्रध्यानाध्यापकले विद्यालयको लगानी र खर्च मात्रै देखाएर आम्दानी स्पष्ट नपारेका कारण विवाद भएको बताउनु भयो । समितिले आम्दानीलाई मात्रै प्राथमिकता दिने तर खर्चमा असन्तुष्टि देखाउने गरेको प्रध्यानाध्यापक थापाको भनाई छ । विवादका कारण आव  ०७४÷०७५ को लेखा परीक्षण भएको छैन् ।

सिद्धार्थ प्राविका प्रध्यानाध्यापक धिरेन्द्र भट्टराईले लेखा परीक्षण विवादकै कारण ०७६ वैशाख २६ गते राजिनामा दिनु भयो । बिद्यालय व्यवस्थापन समितिले शान्ति मन्त्रालयबाट भवन निर्माणमा आएको ८ लाख रूपियाँ सहित विद्यालयको हिसाब किताव प्रध्यानाध्यापकले सार्वजनिक नगरेको आरोप लगाउँदै आएको छ । तर तत्कालिन प्रध्यानाध्यापक भटराई आफु सबै हिसाब दिने पक्षमा रहेपनि समिति बुझ्न तयार नभएको बताउनु भयो ।

विद्यालयको हिसाव किताव सार्वजनिक नगरेसम्म खाता सञ्चालन नगर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनु भयो । विद्यालयले पाउने सबै निकासा खातामा पठाए पनि लेखा परीक्षण प्रतिवेदन गाउँपालिकामा नआएसम्म खाता सञ्चालन नहुने भण्डारीको भनाई छ । उहाँले बिद्यालयका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग पटक–पटक संवाद गर्दा समेत लेखा परीक्षण नभएकाले बाध्य भएर कार्यपालिकाकै निर्णय अनुसार खाता रोक्का गरिएको बताउनु भयो । ‘यो निर्णयले केहि शिक्षक र विद्यार्थी प्रभावित भएको बुझेका छौ, त्यो बिषयमा गाउँपालिका भन्दा प्रअ र समिति गम्भीर बन्नु प¥यो, चार वर्षको लेखा परीक्षण नगर्नु लज्जाष्पद  बिषय हो ।’, भण्डारीले भन्नुभयो ।

 

अन्य

भिडियो