१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा शम्भुनाथ नपा–३ का २० वर्षीय एटलाण्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरी, २० वर्षीय अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई जिल्ला अदालतले फागुन २६ गते जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले अभियोग दावी पुग्ने फैसला गर्दै थुनामा रहेका उक्त चार जनालाई जनही १० वर्ष कैद सजाय र फरार निम्न आरोपितहरुको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतले जनाएको छ । आरोपितहरु शम्भुनाथ नपा–३ का २० वर्षीय बबी चौधरी र १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पाल हालसम्म फरार रहेका छन् ।
आरोपितहरुले ०७४ फागुन २७ गते राति सामुहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा फागुन २८ गते उजुरी दिनु भएको थियो । छिमेकमा भइरहेको विवाहमा बुवाआमा गएका बेला कान दुखेको औषधी लिन पसल निक्लिएकी पीडितलाई घर छेउकै गहुँ खेतमा लगी आरोपितहरुले सामूहिक बलात्कार गरेर मोबाइलबाट भिडिओ बनाएको पीडितले बताइन् ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७४ फागुन २८ गते स्वास्थ्य परीक्षण गर्दै प्रहरीले आरोपितहरुविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एटलाण्टिक र अजयलाई ०७४ फागुन २८ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतको आदेशमा एटलाण्टिक र अजय ०७४ चैत २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । जिल्ला अदालतबाट ०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका आरोपितहरु मनोज र अर्जुन पनि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितहरु बबी, मिथिलेश र ओमप्रकाश हालसम्म गिरफ्तार वा हाजिर भएका छैनन् ।