INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सङ्क्रमितको परामर्श तथा प्राथमिक परीक्षणका लागि प्रदेश १ का चार स्थानमा हेल्थ डेक्स स्थापना

कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा प्राथमिक परीक्षणका लागि प्रदेश १,का चार स्थानमा हेल्थ डेक्स स्थापना गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सञ्चालन र व्यवस्थापनमा हेल्थ डेस्कको स्थापना गरिएको हो ।

मोरङको सिमावर्ती नाका रानी र विराटनगर विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । त्यसैगरी भद्रपुर नगरपालिका र स्वास्थ्य कार्यालय झापाको सञ्चालन र व्यवस्थापनमा भद्रपुर विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

सूर्योदय नगरपालिका इलाम र स्वास्थ्य कार्यालयको व्यवस्थापन र सञ्चालनमा इलामको पशुपतिनगरमा हेल्थ डेक्स स्थापना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भद्रपुर विमानस्थलमा फागुन २२ गते, इलामको पशुपतिनगरमा फागुन २५ गते,  विराटनगर रानीमा फागुन २६ र विराटनगर विमानस्थलमा फागुन २७ गते डेक्सको स्थापना गरिएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले बताउनुभयो ।

हवाईजहाजबाट ओर्लेका यात्रुहरू र सिमा नाकाबाट नेपाल प्रवेश गर्नेको इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र) बाट तापक्रम परीक्षण गरिने प्रमुख मेहताले बताउनुभयो ।

९८.६ डिग्रीभन्दा माथि तापक्रम भएका यात्रुलाई परामर्शसहित यात्रा नगर्न सल्लाह दिइने र १०० डिग्रीभन्दा बढी ज्वरो आएको, नाकमुखबाट र्याल सिँगान बगेको पाईएमा एम्बुलेन्समा राखेर प्रदेश १ सरकारले स्थापना गरेको शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन केन्द्रमा ल्याईने व्यवस्था मिलाईएको मेहताको भनाइ छ ।

प्रदेश सरकारले कोशी अस्पतालमा शङ्कस्पद व्यक्तिको नमूना सङ्कलन केन्द्र स्थापना गरेको छ । प्रदेश १ का ६ ओटा अस्पतालमा २८ ओटा आईसोलेसन वेड तयारी अवस्थामा राखिएको छ ।

कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न प्रदेश १ मा २८ ओटा वेड तयारी अवस्थामा राखिएको छ । विराट मेडिकल कलेजमा १२, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा १०, कोशी अस्पतालमा ५ ओटा वेड र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको एउटा आइसोलेसन वार्ड तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

 

 

अन्य

भिडियो