सुधारगृहका रूपमा सञ्चालनमा ल्याइएको जिल्ला कारागार , डडेल्धुरामा स्वास्थ्यकर्मी नहुँदा आफूहरू स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएको कैदीबन्दीहरूले गुनासो गरेका छन् ।
कारागारमा स्वास्थ्यकर्मी नहुँदा आफूहरू स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको कैदी मोहन ओझाले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘लामो समयदेखि कारागारमा स्वास्थ्यकर्मी नै छैनन् । कारागारको आफ्नो सवारी साधान पनि छैन । बिरामी भएको अवस्थामा स्वास्थ्य सेवा र चेकजाँचबाट वञ्चित हुनु परेको छ ।’
कारागारमा स्वास्थ्यकर्मी नहुँदा आफूहरूले सामान्य बिरामीहुँदा समेत स्वास्थ्य सेवा पाउन नसकेको अर्का बन्दी जयराज रोस्याराले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘कारागारमा स्वास्थ्यकर्मी नहुँदा समयमै स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । कारागार प्रशासनसँग स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै आएका छौँ । तर, सुनवाइ भएको छैन् ।’
कारागारमा स्वास्थ्यकर्मी नहुँदा र सवारी साधानको अभाव रहेकाले बिरामी भएका कैदीबन्दीहरूलाई दिनहुँ समस्या हुने गरेको कारागारका चौकीदार मोहन ओझाले बताउनु भयो ।
एक जना अहेवको दरबन्दी रहेको जिल्ला कारागारमा एक वर्षदेखि उक्त दरबन्दी रिक्त रहेपछि कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या भएको कारागार प्रमुख शिबराज भट्टले बताउनु भयो ।
जिल्ला कारागारमा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नका लागि कारागार व्यवस्थापन विभागमा पटकपटक आग्रह गरिएको भएपनि हालसम्म पदपुर्ति हुन नसकेको जेलर भट्टको भनाइ छ ।
उहाँले भन्नु भयो – ‘ कारागारमा कैदीबन्दी बिरामी हुँदा स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान कठिनाइ भएको छ । जिल्ला कारागारमा सवारी साधन नभएकाले बिरामी कैदीबन्दीलाई तत्तकाल स्वास्थ्य संस्थामा लैजान समस्या हुने गरेको छ ।’
२ सय ५० जनाको क्षमता रहेको जिल्ला कारागार,डडेल्धुरामा हाल ६ महिला र एक आश्रित बालक सहित ८२ जना कैदीबन्दी रहेका छन् ।