INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता

महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता व्यक्त गरिएको छ । १ सय १० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको  सन्दर्भ पारेर अनौपचारिक क्षेत्र सेवा (केन्द्र) इन्सेक प्रदेश  ५ ले फागुन २५ गते विज्ञप्ती प्रकाशन गर्दै उक्त चिन्ता व्यक्त गरेको हो ।

इन्सेक  प्रदेश ५ का संयोजक भोला महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि लगायत संयुक्त राष्ट्र सङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था विगतका वर्षहरूमा भन्दा सकारात्मकहुँदै आएको भएपनि सन्तोषजनक मान्न सकिने अवस्थामा नभएको उल्लेख गरिएको छ ।

मानव अधिकार अनुगमन र मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रदेश ५ मा सन् २०१८ को तुलनामा सन् २०१९ मा महिला तथा बालिका विरूद्ध भएका हिंसात्मक घटनाहरूमा वृद्धि भएको जनाएको छ ।

विज्ञप्ती अनुसार सन् २०१९ मा  नेपालमा सबै भन्दा बढी महिला हिंसाका घटना प्रदेश ५ मा  भएका छन् ।  सन् २०१९ मा  ९ सय ८६ जना महिला पीडित भए । बलात्कार तथा यौन दुर्व्यवहारबाट २ सय २० बालिका र १ सय २९ जना महिला पीडित भए । सन् २०१८ मा पनि सबै भन्दा बढी प्रदेश ५ मा ७ सय ३६  जना महिला हिंसा घटनामा पीडित भएका थिए ।

महिला विरुद्ध हुने हिंसाका घटनालाई न्यूनीकरण गर्न सरोकारवालाहरूको संयुक्त प्रयास, कानुनको प्रभावकारी कार्यान्वयन, गरिबी, अशिक्षा र आर्थिक परनिर्भरतालाई घटाउन सके महिलामाथि हुने हिंसाका घटनामा कमी ल्याउन सकिने विज्ञप्तीमा उल्लेख छ ।

संविधान प्रद्धत् अधिकारको पूर्ण प्रत्याभूति सहित समानताको पुस्ताःअन्त्य गरौं हिंसा, विभेद र असमानता भन्ने राष्ट्रिय नारा सार्थक पार्न  सम्वद्ध सबैलाई इन्सेकले आग्रह गरेको छ ।

 

 

अन्य

भिडियो