INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलाका पक्षमा सकारात्मक प्रयास भए पनि अपर्याप्तः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले महिलाका पक्षमा सकारात्मक प्रयासहरू भएका भएपनि पर्याप्त नभएकाले भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्न गराउन सुझावसहित महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

मार्च ८ को सन्दर्भमा इन्सेकले फागुन २४ गते यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

photo20200307kathmandu

‘महिलाविरूद्ध हुने सबैै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिलगायत संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था विगतका वर्षहरूमा भन्दा सकारात्मक हुँदै आएको भएपनि सन्तोषजनक मान्न सकिने अवस्थामा अझै पुगेको छैन ।’–प्रतिवेदनमा भनिएको छ ।

मानव अधिकार अनुगमन र मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०१९ मा महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूमा वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘सन् २०१९ मा विगतका वर्षहरूझैँ महिलामाथि हुने हिंसाका घटनामा प्रवृत्तिगत कमी आएन । घटनाको सङ्ख्यामा तलवितल भएपनि घटनाको प्रवृत्तिमा तात्विक भिन्नता पाइएन ।’–प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा महिला माथि भएका हिंसाका घटनामा ३ हजार ३ सय ६४ जना पीडित भएका अभिलेख गरिएको इन्सेकले जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा उल्लेख भएका विषयवस्तुलाई आधार मानी बालिका र महिलामाथि भएका हिंसाका घटनालाई प्रतिवेदनमा समावेश गरिएको इन्सेकले जनाएको छ ।

इन्सेकका अनुसार प्रसूति सेवाबाट वञ्चित चार जना महिलाको मृत्यु भएको घटनासहित अन्यपक्षबाट भएका घटनामा ३ हजार ३ सय ६० जना पीडित भएका अभिलेख गरिएको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० बाट
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० बाट

‘गत वर्ष २ हजार ८ सय २४ जना पीडित भएका अभिलेख थियो । यस वर्ष बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९ जना, घरेलु हिंसाका घटनामा २ हजार ७९ जना, कथित बोक्सीको आरोपमा ४२ जना, बलात्कारका घटनामा ५ सय ३० जना, बलात्कार प्रयासका घटनामा १ सय ४३ जना, यौन दुर्व्यवहारका घटनामा ६३ जना र बेचबिखन तथा ओसारपसार घटनामा ५१ जना महिला पीडित भएको अभिलेख भयो । परिवाजनका सदस्यबाट १ सय २९ जना महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १ सय २० थियो । भनेजति दाइजो नल्याएको आरोपमा १३ जना महिलाको हत्या भयो भने सोही कारणले ३ सय जना महिला हिंसामा परेको अभिलेख भयो ।’–प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी सन् २०१९ मा बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ४७ जना पीडित भएको अभिलेख राखिएको उक्त प्रतिवेदनमा जनाइएको छ ।

‘उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम छ । धेरै जसो बालविवाहका घटना प्रहरीसम्म आइपुग्दैन । प्रहरीसम्म आएका घटनामा प्रहरीले कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको पाइयो । विद्यालयमा दिइने शारीरिक दण्डका घटना अभिलेख भएकोमा सबैजसो घटना मिलापत्रमा टुङ्गिए ।’–प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१८ मा ८ सय १८ जना बालिका बलात्कारका घटनामा, बलात्कार प्रयासका घटनामा २ सय २६ जना पीडित भएकामा सन् २०१९ मा बलात्कारका घटनामा ८ सय ८४ र यौन दुर्व्यवहारका घटनामा ३ सय ६५ जना बालिका पीडित भएका इन्सेकले जनाएको छ ।

अन्य

भिडियो