सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एकका विद्यार्थी पुस्तक विना नै विद्यालयमा पढ्न जाने गरेका छन् ।
जुम्ला लगायत हिमाली जिल्लामा पर्ने मुगु, कालिकोट, डोल्पा र हुम्लामा नयाँ शैक्षिक सत्र २५ माघदेखि सुरु हुने भएपनि यहाँका सामुदायिक विद्यालयका विद्यार्थीले फागुन तेस्रो हप्तासम्म पुस्तक नपाएकाले पुस्तक विना विद्यालय जाने गरेका हुन् ।
सिंजा गाउँपालिकास्थित कैलाश माध्यमिक विद्यालय फुङग्रका प्रद्यानाध्यापक बिष्णुलाल रोकायाका अनुसार कक्षा एकको पाठ्यपुस्तक छापिएर नआएका कारण विद्यार्थीलाई वितरण गर्न नसकिएको हो । उहाँले भन्नुभयोे अरु सबै कक्षाका विद्यार्थीलाई पुस्तक वितरण भईसकेको छ । कक्षा एकको पुस्तक किन नआएको भन्ने प्रश्नमा प्रद्यानाध्यापक रोकायाले भन्नुभयो पहिला पुस्तक छापिएको तर पछि पुन पाठ्यक्रम परिवर्तन भएर आएपछि फेरी पुस्तक छाप्नु पर्ने भएकाले ढिलो भएको हो ।
त्यसैगरी कक्षा चारको सामाजिक र नेपाली केही पुस्तक अपुग भएकाले स्टेशनरीबाट ल्याउने व्यवस्थापन गरेका छौँ उहाँले भन्नुभयोे एक÷दुई दिनमै विद्यालयमा पुस्तक पुग्ने छ । यस विद्यालयमा ३ सय ३० जना जति विद्यार्थी छन् । पानीको समस्या छैन तर शौचालयको भने समस्या रहेको उहाँले बताउनुभयो । नजिक नजिक दुई ढोका गरेको छात्र छात्राको प्रयोजनका लागि शौचालय भएपनि नजिक भएकाले छात्रा शौचालय जान अप्ठ्यारो मानेर बाहिरै खुला दिसापिसाब गर्ने गरेको उहाँले बताउनु भयो ।
श्री माध्यामिक विद्यालय जोडुका प्रद्यानाध्यापक नरबहादुर बुढाका अनुसार कक्षा चारको नेपाली पुस्तक १५ जानलाई अपुग भएको बताउनुभयो । उहाँले भन्नुभयोे विद्यार्थीको संख्यामा थलमाथि भएकाले केही पुस्तक अपुग भएको हो । छिट्टै विद्यालयमा ल्याउने व्यवस्थापन गरेका छौँ । विद्यालयमा अरु खासै समस्या छैन । शिक्षक विद्यार्थी नियमित विद्यालयमा उपस्थित छन् पढाई निरन्तर भईरहेको छ ।
सिंजा गाउँपालिकाको तत्कालिन नराकोट गाविस अन्तरगत रहेका १२ विद्यालयमा पुस्तक वितरणको जिम्मेवारी पाएका पुस्तक विग्रेता मोहनविक्रम शाहीका अनुसार कक्षा एकको पुस्तक नै नछाएकाले वितरण नभएको हो । कक्षा–६, ७ र ८ को पुस्तक पनि रंगिन हुनु पर्ने हो तर छैनन् । केही २÷४ पुस्तक मात्रै रंगिन छन् अरु सबै पुरानो पठाएको अनुमान गरेको उहाँले बताउनुभयो ।
जुम्ला जिल्ला भरी पुस्तक बिक्री गर्दै आएका जिपी स्टेशनरीका बिक्रेता गणेश रोकायले भन्नुभयो कक्षा एकको पुस्तक आएको छैन । नयाँ पाठ्यक्रम परिवर्तन भएर आएकोले पुस्तक छाप्न समय लाग्ने भएको बुझिन आएको छ । अरु सबै कक्षाका पाठ्यपुस्तक आईसकेका छन् धेरै विद्यालयमा वितरण पनि भईसकेको छ । आवश्यक भएका विद्यालयलाई लैजान उहाँले अनुरोध समेत गर्नुभयो ।
पातारासी गाउँपालिका शिक्षा शाखा संयोजक झनमाया खत्रीका अनुसार विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । तर पाठ्यक्रम परिवर्तन भएकोले नेपाली माध्यममा पढाई हुने विद्यालयमा कक्षा एकको पुस्तक पुगेको छैन ।
जुम्लामा १ सय ७० सामुदायिक विद्यालय मध्ये कक्ष १ देखि ५ सम्म आधारभुत विद्यालय ९२, कक्षा १ देखि ८ आधारभुत विद्यालय ३१, कक्षा १ देखि १० सम्म माध्यमिक विद्यालय ३१ र कक्षा १ देखि १२ सम्म माध्यमिक विद्यालय १६ वटा रहेका छन् ।
