शम्भुनाथ नपा–१२ की ३६ वर्षीया सकलदेवी मण्डललाई कथित बोक्सीको आरोपमा गालीगलौज गरी कुटपिट गरेको आरोपमा शम्भुनाथ नपा–१२ का ३२ वर्षीय पवनकुमार मण्डलसमेतका विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन २१ गते उजुरी दर्ता गरेको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन ६ गते परमादेश जारी गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डल र अन्य नचिनेका तीन जना आरोपितविरुद्ध उजुरी दर्ता गरेको जनाएको छ ।
कथित बोक्सीको आरोप लगाई जेठ २७ गते आरोपितहरुले गालीगलौज र कुटपिट गरेको भन्दै पीडितले असार १ गते मण्डल र अन्य नचिनेका तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
प्रहरीले उजुरी दर्ता नगरेपछि पीतिड अदालतमा पुगेकी थिइन् । उच्च अदालत जनकपुर राजविराज इजलाशबाट फागुन ६ गते परमादेश जारी भएपछि प्रहरीले उजुरी दरखास्त सनाखत गराई उजुरी दर्ता गरेको छ ।