ईलाका प्रशासन कार्यालय सुपौली कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका–५ का २२ वर्षीय अजय महतो र १८ वर्षीय शिवशङ्कर महतोलाई फागुन २२ गते गिरफ्तार गरेको छ ।
जिराभवानी गाउँपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासन कर्यालयले सेवाग्राहीलाई सेवा नदिएको भन्दै उनीहरूले कार्यालयमा हुलहज्जा गर्नुका साथै कार्यालयको साइनबोर्ड तोडफोड गरेका थिए ।
आरोपित दुबै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर दिपक चोरवारले जानकारी दिनु भयो ।
ईलाका प्रशासन कार्यालयमा कर्मचारी समायोजनको नाममा भएको सरुवा पछि शाखा अधिकृत सहितको जनशक्ती नहुँदा सेवाग्रहीहरूको काम समयमा हुन सकेको छैन ।
इलाका प्रशासन कार्यालय सुपौलीमा विगत १ महिना देखि कर्मचारी अभाव रहेको छ । कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको स्थानियले बताएका छन् ।
इलाका प्रशासन कार्यालय अन्तर्गत ठोरी, जिराभवानी, जगरनाथपुर र पटेर्वा सुगौली गाउँपालिकावासीको नागरिकता, शान्ति र सुरक्षा लगायतका प्रशासनिक सेवा प्रदान हुँदै आएको हो ।