इनरूवा नगरपालिका–९ की २५ वर्षीया पुनितादेवी रामले आफू दलित भएकै कारण पतिको घरमा बस्न नपाएको गुनासो गर्नु भएको छ ।
०७३ मा २८ वर्षीय श्यामकुमार पण्डितसँग विवाह गर्नुभएकी पीडितले फागुन १५ गते पतिको घरमा बस्न जाँदा सासु,ससुरा र देवरले घरभित्र पस्न नदिएको बताउनुभयो ।
बिवाह गर्ने बित्तिकै पतिको परिवारले घरमा बस्न नदिएका कारण तीन वर्षयता पतिसँग माईती घरमा बस्दै आउनु भएकी पीडितले ५२ वर्षीय सुसुरा जगुनारायण पण्डित,५० वर्षीया सासु मोहनीदेवी पण्डित र २३ वर्षीय देवर राजकुमार पण्डितले दलित भएको भन्दै घरभित्र पस्न नदिएको बताउनुभयो ।
दुई वर्षीया छोरीसहित पत्नीलाई लिएर आफ्नो घरमा जाँदा दलितकी छोरीलाई बुहारी नमान्ने भन्दै आमाबुबाले घरभित्र पस्न नदिएको श्यामकुमार पण्डितले बताउनुभयो ।
दलित भएकै कारण बिवाह गरेको घरमा बस्न नदिएको भन्दै पीडितले फागुन १५ गते सासु,ससुरा र देवर विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयकी सई बिनु बस्नेतले पीडितले ढाडो उजुरी दिएको र आरोपित तीनै जनालाई फागुन १६ गते जिल्ला प्रहरी कार्यालय झिकाएर यर्थाथ बुझी कानुनी कारबाही अघि बढाउने बताउनुभयो ।