सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेश ५ मा १६ सय ३ जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जद्वारा फागनु ७ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० र प्रदेशको मानव अधिकार अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रममा इन्सेकले उक्त तथ्याङ्क प्रस्तुत गरेको हो ।
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सन् २०१९ मा राज्य पक्षबाट १ सय ७१ जना गैरराज्य पक्षबाट १४ सय ३२ जना पीडित भएको बताउनु भयो । इन्सेकको तथ्याङ्क अनुसार घाइते ३० जना, बेपत्ता २ जना, बाल अधिकार २ सय ८३ जना, अमानवीय व्यवहारमा ६ जना, आर्थिक समाजिक तथा सांस्कृतिक अधिकारका दुई, अपहरणमा ९ जना, महिला अधिकारमा ९ सय ८६ जना, भेला संगठित हुने अधिकारमा १० जना, कारगारमा मृत्यु एक जना, जातीय विभेद पाँच जना, गिरफ्तारी १ सय ४४ जना, यातनामा एक जना, कुटपिटमा ५९ जना, धम्की आठ जना पीडत भएका छन् । राज्य पक्षबाट दुई जना हत्या र अन्य पक्षबाट ५५ जनाको हत्या भएको तथ्याङ्क इन्सेकले सार्बजनिक गरेको छ । यस वर्ष बलात्कार र यौन दुर्व्यवहार घटनाबाट २ सय २० जना बालिका र १ सय २९ जना महिला पीडित भएको इन्सेकले जनायो ।
इन्सेकका साधारण सदस्य कृष्णमुरारी भट्टले वर्ष पुस्तकलाई समय सापेक्ष परिमार्जित गर्दै निरन्तरता दिने बताउनु भयो । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक सबैकालागि सहयोगी भएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले इन्सेकले समय अनुसार नयाँ विषयलाई उत्थान गरेको बताउदै इन्सेकले अभिलेख गरेको द्वन्द्व पीडितहरूको तथ्याङ्क राष्ट्रि«य र अन्तराष्ट्रिय सङ्घ संस्थाहरूले प्रयोग गरेको बताउनु भयो ।
नेपाल बारका उपाध्यक्ष सुनिल श्रेष्ठले सरकारी तथा गैससको पहुचमा नआएका घरेलु हिंसाका घटना घर घरमै भएको बताउदै न्यूनिकरणको उपाय अबलम्बन गर्नु पर्ने बताउनु भयो । उच्च अदालत बार तुलसीपुर,नेपालगञ्जका अध्यक्ष विकास आचार्यले समय सापेक्ष वर्ष पुस्तकलाई परिमार्जन गर्दै लैजानु पर्ने बताउनु भयो ।
फातिमा फाउण्डेसनकी कावा अध्यक्ष मैमुना सिद्दिकीले महिला विरूद्ध हुने हिंसाका घटनामा सबै पक्ष गम्भीर हुनु पर्ने बताउनु भयो ।
यसैगरी सन् २०१९ मा मानव अधिकार अनुगमन र प्रलेखन कार्य कुशलतापूर्वक सम्पन्न गरेको भन्दै गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालयलाई उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कारबाट पुरस्कृत गरिएको छ । अर्याललाई इन्सेक अङ्कित मायाको चिनो, सम्मान पत्र र ७ हजार रुपिँया सहित पुरस्कृत गरिएको हो ।
पुरस्कृत अर्यालले सम्मानले थप हौसला प्रदान गर्नुको साथै आगामी दिन काम गर्न उर्जा थपेको बताउनु भयो ।


