मानव अधिकार रक्षक दिवसको अवसर पारेर मानव अधिकार एलाइन्स र मानव अधिकार सञ्जालको संयुक्त अयोजनामा मङ्सिर २४ गते नेपालगञ्जमा मानव अधिकारकर्मी र सरकारी निकायका प्रमुखहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ ।

मैत्रीपूर्ण खेलमा मानव अधिकारकर्मीहरूले चार र सरकारी निकायको टोलीले एक गोल गरेका थिए । मानव अधिकारकर्मीका तर्फबाट इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले दुई गोल, बी ग्रुपका कर्णबहादुर थापाले एक र बहुमुखी सेवा केन्द्रका डोलराज भट्टले एक गरी चार गोल गर्न सफल भए भने सरकारी निकायको टोलीको तर्फबाट लवबहादुर खड्काले एक गोल गरेका थिए ।
सरकारी निकायका तर्फबाट निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेत, जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राई, सशस्त्र प्रहरीका एसपी दमसिंह ऐर, डीएसपी जगत डाँगी, पशु क्वारेनटाइनका डा. शङ्कर पाण्डे, क्षेत्रीय प्रहरी तालिम केन्द्रका सुधनकुमार पाण्डे, लव खड्कालगायतले खेलेका थिए भने मानव अधिकारकर्मीका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, इन्सेक क्षेत्रीय संयोजक भोला महत, बी ग्रुपका गोपाल नाथ योगी, प्रमोद रिजाल, मानव अधिकार एलाइन्सका प्रभात ठकुरी, फियानका सुरेश गौतम, इन्सेकका नारायण सुवेदी, एड्भोकेसी फोरमका बसन्त गौतम, पत्रकार महासङ्घका गोविन्द शर्मा, भगतराम चौधरी, अधिवक्ता विश्वजीत तिवारी, उच्च अदालत बारका बलबहादुर चन्द, सञ्चारकर्मी श्रीराम पौडेललगायतले खेलेका थिए ।
निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले मैत्रीपूर्ण खेलले अधिकारकर्मी र सुरक्षा निकायबिचको सम्बन्ध सुमधुर हुने धारणा राखेका थिए । मानव अधिकार एलाइन्सका प्रभात ठकुरीले खेलले मानव अधिकार रक्षकहरूको सुरक्षामा बल पुर्याउने धारणा राखेका थिए । उनले सरकारी निकाय र मानव अधिकारकर्मीहरूबिच सम्बन्ध र समन्वयलाई बलियो बनाउने बताए ।