सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटी स्थिती नेपाल विद्युत प्राधिकरणको चार ओटा भवनमा क्वारेन्टाईन निर्माण कार्य पुरा गरेको छ ।
चीनबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चार ओटा ब्लकमा १ सय ९९ ओटा बेड तयार पारेको भक्तपुरका एसपी सविन प्रधानले बताउनु भयो ।
प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाईन बनाएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले बताउनु भयो ।
नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको र चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकै पटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सिधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भए मात्रै घर पठाईने तयारी गरिएको छ ।
यता जहाजका पाईलटलगायतको टोलिलाई चाँगुनारायण–६ नगरकोटको खानेपानी तालिम केन्द्रमा राख्ने तयारी गरिएपछि स्थानीयले बिरोध जनाएका छन् । नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको मुख्य गेटमा कालो व्यानर टाँगिएको छ । व्यानरमा पाँच ओटा नाराहरु लेखिएका छन् । गेटको दायाँ बायाँ भित्ता र रुखहरुमा पर्चा, पम्पलेट टाँसिएका छन् । गेटमा प्रहरीहरु तैनाथ छन् । ‘हामी यही ठाउँमा बस्छौ, चीनबाट सरकारले फर्काउन लागेका नेपालीलाई यही राख्ने भएछ, यहाँ रोग फैलियो भने त हामी सबै सिधिन्छौ, सरकारले हाम्रो सुरक्षाको बेवास्ता किन गरेको ?’ स्थानीय ५६ वर्षीय राजाराम कार्कीले भन्नुभयो ।
स्थानीय बासिन्दालाई भाईरस संक्रमित होईन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने बारे जनचेतना मात्रै दिन सकेको भएपनि यति धेरै त्रास र आक्रोस नहुने चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधी कमला गिरीले बताउनुभयो । 
यसैबीच क्वारेन्टाईन निर्माणको काम भईरहेको स्थानमा सञ्चारकर्मी र मानव अधिकारकर्मीलाई प्रवेश निषेध गरेको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले समाचार संकलनमा गएका सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई रोक लगाएको भन्दै खेद व्यक्त गरेको छ । महासंघका सचिव कृष्ण नेपालले माघ २९ गते प्रेस विज्ञप्ति जारी गर्दै क्वोन्टाइनको अवस्था जानकारी लिने अधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ । महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे र भक्तपुरका एसपी सविन प्रधानले माथिको आदेश त्यस्तै भएकाले केही बोल्न र भित्र जान दिने अवस्था तत्काल नभएको प्रतिक्रिया दिएको बताउदै समाचार संकलन गर्ने अधिकारबाट बञ्चित गर्नु नहुने बताए । गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले प्रहरी, प्रशासन र सरकारले मानव अधिकार हनन् गर्दै सूचना लिने अधिकारबाट बञ्चित गरेको बताए ।