INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय नगिचै नहुँदा बालबालिकालाई समस्या

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ ले समावेशीकरण सम्बन्धी न्युनतम र अपेक्षित मापदण्डहरू शीर्षकमा बालबालिकाको घर र विद्यालयबीचको दूरी न्यूनतम आधा घण्टाको पैदल दूरीमा वा दुई किलोमिटरको पैदल दूरीमा हुनुपर्ने मापदण्ड तोकेको छ ।

त्यसैगरी साँगुरीगढी गाउँपालिका शिक्षा ऐन २०७६ को परिच्छेद २ को दफा ८ को उपदफा १५ मा पनि बालबालिकाको घर र विद्यालयबीचको दूरी न्यूनतम आधा घण्टाको पैदल दूरीमा हुनुपर्ने उल्लेख छ ।

तर,धनकुटाको साँगुरीगढी गाउँपालिका –७ सिङखोलाकी १४ वर्षीया निर्मला राई शिक्षाआर्जनका लागि दुई घण्टा हिँडेर साँगुरीगढी गापा–७स्थित महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयमा अध्ययन गरिरहनु भएको छ ।

कक्षा–९ मा अध्ययनरत राई दैनिक चार घण्टाको बाटो ओहोरोदोहोर गरिरहनु भएको छ । बालबालिकालाई मध्यनजर गरी राष्ट्रिय प्रारूप र स्थानीय तहले शिक्षा ऐन बनाएपनि ती व्यवहारिक नहुँदा साँगुरीगढी गापाका ५० जना भन्दा बढी बालबालिका दैनिक चार घण्टा धाएर शिक्षा लिईरहेका छन् ।

सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत साँगुरीगढी गापा–७ कै छिनामचोककी कोपिला राईको दैनिकी पनि उस्तै छ । उहाँ पनि विद्यालय जानकै लागि घरबाट बिहान साढे ७ बजे हिड्नुपर्छ र बेलुका साढे ६ बजे मात्र घर पुग्नुहुन्छ । विद्यालय टाढा हुँदा आउन र जान समस्या हुनुको साथै विद्यालय बाहेक अरू बेला पढ्ने समय नै नहुने कोपिलाको गुनासो छ ।

हिउँदमा भन्दा बर्खाको समयमा अझै सास्ती खेप्नुपरेको कोपिलाले बताउनुभयो । कोपिलाकी आमा मनमाया राई दैनिक बिहान ७ बजे नै खाना तयार गर्नुपर्ने बाध्यता रहेको बताउनु हुन्छ । विद्यालयमा खाजा र विद्यालय नजिकै डेराको व्यवस्था गर्न आर्थिक अवस्था कमजोर भएकाले नसकेको मनमायाको भनाइ छ ।

तीन सय जना विद्यार्थी अध्ययनरत गोलखाडी माविमा आधा भन्दा बढी बालबालिका एक घण्टा पैदल दुरीको आसकोट, हुटिटेन, खोरलुम्फु, सिंहखोला, छिनामचोक लगायत ठाउँबाट धाउने गरेको विद्यालयले जनाएको छ ।

टाढाबाट धाउनेमध्ये सबै भन्दा बढी कक्षा ६ देखि १० सम्मका विद्यार्थी रहेका छन् । टाढाबाट आएका बालबालिका ढिला गरी विद्यालय पुग्ने, थकाइ लाग्ने, छिटै भोकाउने तथा छिटै विद्यालय छाड्ने जस्ता समस्या भएकाले पढनपाठनमा समस्या हुने गरेको विद्यालयका शिक्षक रोगुम बहादुर राइले बताउनु भयो ।

सरकारले सहज रूपमा शिक्षा दिन भनि ल्याएका विभिन्न नारा र कार्यक्रमले पहाडी र हिमाली क्षेत्रका ग्रामीण भेगका विद्यार्थीलाई छुन सकेको छैन ।

घरभन्दा विद्यालय नजिक र पायक ठाउँमा नहुँदा कतिपय बालबालिका बीचमै पढाइ छाड्न बाध्य भएको शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख मोहना राई बताउले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकाले माध्यमिक तहको पढाई पूरा गर्नका लागि डेरा लिएर बस्नुपर्ने अवस्था आएपछि पढाइ नै छाड्ने गरेको राईको भनाइ छ ।

बालबालिकाले पढ्न पाउने अधिकार सुनिश्चित गर्न गाउँपालिकाले पहल गर्ने गाँउपालिका अध्यक्ष कुमारजङ्ग याखाले बताउनुभयो । उहाँले साँगुरीगढी गाउँपालिकाले शिक्षा ऐन २०७६ ल्याएको हुनाले सोही अनुसार कार्यान्यन गरिने बताउनुभयो ।

सरकारले केही वर्ष अघि कम विद्यार्थी भएको कारण देखाउँदै एक विद्यालय अर्को विद्यालयमा गाभेकाले बालबालिकालाई समस्या परेको र अब गाउँपालिकाको शिक्षा ऐन २०७६ कार्यान्वयन भएपछि यो समस्याको समाधान हुने वडाध्यक्ष याखाको भनाइ छ ।

 

अन्य

भिडियो