INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्यालामा विभेद भोग्दै आएको श्रमिक महिलाहरूको गुनासो

जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चलाइरहेका श्रमिक महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।

समान काममा पनि महिला र पुरूषबीच ज्यालामा विभेद हुँदा गरिबीको रेखामुनि रहेका दलित तथा जनजाति महिलाहरू थप मारमा परेका छन् ।

पुरुष मजदुरले काम गरे दैनिक ज्याला ८ सय रुपियाँ पाउने र महिला मजदुरले सोहि काम गरे वाफत ५ सय रुपियाँ मात्रै ज्याला पाउने गरेको अमरगढी नगरपालिका– ७ पोखराकी श्रमिक महिला शारदा कैनीले दुखेसो पोख्नु भयो ।

अमरगढी नगरपालिका– १ मालुमकी श्रमीक महिला धना टमट्टाको पिडा पनि उस्तै छ । चलनचल्तीमा दैनिक ज्याला ८ सय रुपियाँदेखि १ हजार ५ सय रुपैयाँसम्म चलेको भए पनि आफूले दैनिक ४ सयदेखि ६ सय रुपियाँसम्म मात्रै ज्याला पाउने गरेको उहाँले दुखेसो पोख्नु भयो ।

‘लोग्ने मान्छेभन्दा बढी नै काम गछौँ तर महिलाले लोग्ने मान्छे बराबर काम गर्न सक्दैनौँ भनेर कम पैसा दिन्छन’, धनाले भनिन् ।

महिलाको ज्याला पुरुषको जति हुन्न भन्ने गलत सोच हट्न नसकेका कारण धनाले पुरुष मजदुरको तुलनामा निकै कम ज्याला पाउने गरेकी हुन् ।

आफ्नो जमिनको अन्नले तीन महिना पनि खान नपुग्ने भएपछि ज्याला मजदुरी गर्दै आएको अमरगढी नगरपालिका–७ पोखराकी सरीता भण्डारी बताउनु हुन्छ  । तर, अहिलेसम्म पनि आफूसँगै काम गर्ने पुरुषसरह ज्याला नपाएको उहाँको गुनासो रहेको छ ।

उहाँले भन्नु भयो – ‘आफूसरह काम गर्ने पुरुषले आफ्नो दोब्बर ज्याला पाउँदा आफुमाथि अन्याय भयो भन्ने लाग्छ । गैँती र बेल्चा चालाउने काम पुरूष र महिला दुवैले गर्ने गरेका छौँ । तर, ज्यालामा पुरूषलाई बढी र महिलालाई कम दिने गरिन्छ ।’

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले नगर क्षेत्र भित्र समान कामको फरक ज्याला भएको जानकारी गराएमा सरकारले तोके बमोजिमको ज्याला श्रमिकले पाउने वातावरण बनाउनका लागि आफूले पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो –‘नगर क्षेत्र भित्र हुने सम्पूर्ण निर्माण कार्यहरूमा नगरपालिकाले अनुगमन गर्ने छ । ठेकदार र काम दिनेहरूले ज्यालामा विभेद नगर्ने गरी व्यवस्था मिलाउछौँ ।

 

 

 

अन्य

भिडियो