INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्युठान जिल्ला सदस्य चिमबहादुर कार्की (बुलेट कार्की) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले माघ २६ गते जिल्ला अदालत परिसरबाटै पुनःगिरफ्तार गरेको छ ।

 पीडितकी पत्नी भगवता ठेडीले माघ १३ गते सर्वोच्चअदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि सर्वोच्च अदालतका न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीकोे इजलासले माघ २६ गते कार्कीलाई थुनामुक्त गर्न आदेश दिएका थिए ।

 सर्वोच्च अदालतको आदेश पश्चात माघ २६ गते रिहा भएका कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले अदालत परिसरबाटै पुनःगिरफ्तार गरेको थियो ।

 ३७ वर्षीय कार्कीलाई ०७६ असार ४ गते कास्की प्रहरीले गिरफ्तार गरी असार ३० गते कास्की जिल्ला अदालतबाट १५ हजार धरौटीमा छुटाउने आदेश दिएको थियो ।

 धरौटी तिर्न नसकेर लामो समय सम्म कारागारमा सजाय भुक्तानी गर्दै आउनुभएका कार्कीलाई सजाय भुक्तान पछि पुस २३ गते स्याङजा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।

 जिल्ला प्रशासन कार्यालय स्याङजाबाट माघ २० गते साधारण तारेखमा रिहा भएका कार्कीलाई सोही दिन प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा कुश्मा नपा६ शिवालय चोकबाट जिल्ला प्रहरी कार्यालय पर्वतले  गिरफ्तार गरेको थियो ।

 कार्कीलाई प्रहरीले स्वास्थ्य जाँच नगराई पुनःगिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभयो ।

 

अन्य

भिडियो