अर्जुनधारा नगरपालिका–२ की ४७ वर्षीया सुशीला राइलाई धारिलो हत्या प्रहार गरी घाईते बनाएको कसुरमा अदालतले माघ ६ गते एक वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश नारायणप्रसाद पराजुलीको इजलासले घरेलु हिंसा गरेको कसुर ठहर गर्दै ४३ वर्षीय पति आईतबहादुर राइलाई एक वर्ष कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको छ ।
आरोपितले ०७६ जेठ १८ गते विवाद क्रममा पत्नीलाई धारिलो हत्यार प्रहार गरी घाईते बनाएका थिए ।
आरोपित विरूद्ध छोरीले जेठ १९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
आरोपित विरूद्ध प्रहरीले जिल्ला अदालतमा असार ४ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
अदालतको असार ४ गतेका आदेशमा एक लाख रुपियाँ धरौटी बुझाउन नसकेर आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडितको उपचार बि एण्डी सी अस्पतालमा जेठ १९ गते गरिएको थियो ।