INSEC Online

📅 २०८३ जेष्ठ २२

काङ्ग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध

माघ २३ गते  प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरुद्व भएको छ । प्रमुख विपक्षी नेपाली काङ्ग्रेसले ललिता निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते ललिता निवास प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाअवरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर काङ्ग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।

संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाएको बताउनुभयो । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचारछायाँ बनेको पुष्टि भएको छ’ उहाँले भन्नुभयो । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता गच्छदारलाई मुद्दा लगाउनु प्रतिशोधपूर्ण भएको काङ्ग्रेसको दाबी छ । गच्छदारलाई भ्रष्टाचार मुद्दा चलाएको विरोधमा काङ्ग्रेसले संसद बैठक चल्न नदिने नेतृ भुसालले बताउनुभयो ।

लगत्तै काङ्ग्रेस सांसदहरू उभिए । विपक्षी सांसद उभिएर संसद अवरोध गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २४ गते १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

अन्य

भिडियो