बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को परिच्छेद २ मा चौध वर्ष उमेर पूरा नगरेका बालबालिकालाइ काममा लगाउन नहुने व्यवस्था छ ।
कानूनी प्रावधान विपरीत बालश्रममा प्रयोग गरिएका पाँच जना बालकलाई उद्दार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट पाँच जना बालकलाई माघ १९ गते उद्दार गरेको छ ।
टोलीले विराटनगर –७ बाट ४ जना र विराटनगर –३ बाट १ जनालाई उद्दार गरिएको महानगरपालिका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले बताउनुभयो ।
महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गा खतिवडा, महिला तथा बालबालिका महाशाखा प्रमुख डिल्लीप्रसाद धिमाल, जिल्ला प्रहरी कार्यालय र सिविन विराटनगरको संयुक्त टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूमा काम गर्दा गर्दैको अवस्थामा बाल श्रमिकहरूलाई उद्दार गरेको हो ।
उद्दार गरिएका बाल श्रमिकहरू सिविनको संरक्षणमा राखिएको महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख धिमालले बताउनुभयो ।
बालश्रम प्रयोग नगर्न निरन्तर माईकिङ गर्ने र होटल तथा सार्वजनिक स्थानहरुमा स्टिकर टाँसेर अनुरोध गरिए पनि अटेर गरिएका कारण सरोकारवालाको टोलीले छड्के शुरू गरेको धिमालले बताउनुभयो ।
बालश्रम प्रयोग गर्नेहरुलाई सचेत गराउनुका साथै नियमानुसारको कारवाही हुने महानगरपालिकाले जनाएको छ ।
उद्दार गरिएका सबै बालकहरूको उमेर १४ बर्ष भन्दा मुनि रहेको र केही समय सिविनमा राखी अभिभावकको जिम्मा लगाउने सिविन विराटनगरका प्रमुख बासु अधिकारीले बताउनुभयो ।