१६ , १७ र १८ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले बर्दिया जिल्ला ठाकुरबाबा नपा–१ घर भई नेपालगञ्ज उपमनपा–१२ कोरियनपुर बस्ने २५ वर्षीया रन्जना थारूलाई माघ २० गते गिरफ्तार गरेको छ ।
बालिकाहरू ग्याँस चुलो किन्न भनेर माघ १९ गते भारतीर जादै गरेको अवस्थामा मानव बेचबिखनको क्षेत्रमा काम गर्ने सानाहातका कर्मचारीले सोधपुछ पछि प्रहरीमा बुझाएका थिए । उनीहरूले बयानको क्रममा आरोपित थारूको नाम लिए पछि प्रहरीले घरमा छापा हानेर थारूलाई गिरफ्तार गरेको थियो । पीडित दुई जना बालिकालाई माघ २० गते आफन्तको जिम्मा लगाइएको छ भने एक जनालाई सानाहातको परामर्स केन्द्रमा राखिएको छ ।
पीडित पक्षले आरोपित विरूद्घ माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।
थारूले प्रलोभन देखाएर यौन कार्यमा लगाउने गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले बताउनु भयो । एसपी वलीले आरोपित उपर थप अनुसन्धान भइरहेको बताउनु भयो ।