INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्ग शिक्षक कोटा सुनिश्चितताको माग गर्दै दृष्टिबिहिन अनशनमा

अपाङ्गकोटा सुनिश्चितताको माग गर्दै तनहुँ नेत्रहिन संघका अध्यक्ष कृष्णप्रसाद अधिकारी अनशनमा बस्नु भएको छ ।

व्यास नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका अपाङ्गता राहत शिक्षकको कोटालाई सामान्य राहत कोटा बनाएको विरोधमा अधिकारी माघ १९ गतेदेखी व्यास नगरपालिका भित्रै अनशनमा बस्नु भएको छ ।

व्यास नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुले पाउने अधिकार र सुविधा कटौती गरि अपाङ्गता राहत शिक्षकको कोटालाई सामान्य राहत कोटा बनाएको विरोधमा अनशनमा बसेको अधिकारीले बताउनुभयो ।

कार्यपालिकाको बोर्ड बैठकले उक्त निर्णय नसच्याएसम्म अनशन नतोड्ने अधिकारीले बताउनुभयो । अधिकारी नगरपालिका भवन भित्र रहेको शिक्षा शाखामा अनशन बस्नु भएको छ ।

आफुले कुनै एक व्यक्तिको लागि नभई समग्र अपाङ्गता भएका व्यक्तिहरुको हितमा अनशन बस्ने निर्णय गरेको भन्दै आफ्नो अडानमा समर्थन गर्न अपाङ्गता अधिकारकर्मी र मानव अधिकारकर्मीहरुसँग अनुरोध गर्नुभएको छ ।

उहाँलाई भेट्न गएका इन्सेक प्रतिनिधिसँग अधिकारीले आफुले माग पुरा नभई अनशन नतोड्ने हुँदा आफ्नो माग पुरा गर्ने विषयमा पहल गर्न अनुरोध गर्नुभएको छ ।

व्यास नगरपालिकाले दृष्टिबिहिन र बहिरा शिक्षकको दुई वटा कोटालाई सामान्य कोटा बनाएको उहाँको आरोप छ ।

हाल कार्यरत रहेको दृष्टिबिहिन र बहिरा कोटालाई सामान्य बनाएर दृष्टिबिहिन तर्फ एउटा कोटा बनाएको नगरपालिकाका शिक्षा अधिकारी नगेन्द्र रेग्मीले बताउनुभयो ।

अधिकारीको माग अनुरुप तीन ओटा कोटा अपाङ्गता भएका व्यक्तिहरुकोलागि सुरक्षित हुनु पर्ने रहेको भन्दै रेग्मीले यस विषयमा नगरपालिकाका प्रमुखसँग आवश्यक छलफल गर्ने बताउनुभयो ।

अधिकारीको मागको विषयमा माघ २१ गते नगरपालिकामा अपाङ्गता अधिकारकर्मी र मानवअधिकारकर्मीको रोहबरमा बार्ता गरिने रेग्मीले बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षा शाखाको प्रतिवेदन अध्ययन गरेर र मंगलबारको बैठकमा अपाङ्गता भएका व्यक्तिहरुसँग नै थप छलफल गरि समस्या समाधान गरिने बताउनुभयो ।

photo20200204Tanahun

अन्य

भिडियो